काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

काठमाण्डौ: सभामुख देवराज घिमिरेले इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।   सभामुख घिमिरे आज शोक वक्तव्यमार्फत् १० जना नेपालीको निधनमा दुःख व्यक्त गरी शव ल्याउन ढिलाइ नगर्न आग्रह गर्नुभयो । उहाँले आक्रमणमा परि घाइते भइ स्थानीय अस्पतालमा उपचाररत नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । साथै सम्पर्कविहीन रहेकाको खोजबिनका लागि पनि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । यसअघि इजरायलमा रहेको नेपाली दूतावासले जोखिमयुक्त क्षेत्रका १ सय २७ जना विद्यार्थीको उद्धार भइसकेको जनाएको छ ।   गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना विद्यार्थीलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको दूतावासले जनाएको हो । यस्तै, हमास समूहको आक्रमणमा परेर घाइते भएका चार जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको पनि विज्ञप्तिमा भनिएको छ ।   हराइरहेका एक जनाको खोजीका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कुटनीतिक संयन्त्रको सहयोग लिइएको छ । यसैगरी नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरुका लागि दूतावासबाट शुरु गरिएको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३ सय ५० भन्दा धेरै जनाले विवरण भरेका छन् ।   उनीहरुमध्ये धेरैले स्वदेश फर्काउन र केहीले सुरक्षित ठाउँमा स्थानान्तरण गराउन आग्रह गरेका छन् । 

सत्तारूढ नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई सरकारी खर्चमा स्वदेश ल्याउन सरकारसँग माग गरेको छ।   कांग्रेस संसदीय दलको मंगलबारको बैठकले इजरायलमा हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको भन्दै उक्त घटनाको निन्दा र भर्त्सना गरेको छ।   ‘हमासको आक्रमणमा परी घाइते भई उपचाररत दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरुको नेपाल सरकारले सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ,’ बैठकपछि प्रमुख सचेतक रमेश लेखकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।   आक्रमणमा परी जीवन गुमाउने नेपालीहरूको पार्थिव शरिर यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउन, सम्पर्कमा नरहेका कञ्चनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्न र इजरायलमा भएका नेपालीहरुको विवरण संकलन गरी जोखिममा रहेका नेपालीहरुको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखी आवश्यक आवास र भोजनको उचित व्यवस्था गर्न कांग्रेसले आग्रह गरेको हो। रोजगारी तथा अध्ययनका लागी इजरायल गएका नेपालीहरु इजरायलमा सुरक्षित रहने उपयुक्त व्यवस्था मिलाउने र स्वदेश फर्कन चाहनेहरुलाई अविलम्ब फर्काउने व्यवस्था मिलाउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ।

बाँके:     नेपालगञ्जको अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा र कर्फ्यू पूर्ण रुपमा हटाएको छ । आज बिहान ४ बजेदेखि निषेधाज्ञा पूर्ण रुपमा हटाएको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ । एक हप्ता अघि नेपालगञ्जमा दुई समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाएको थियो ।      

म्याग्दी:    मुस्ताङमा रहेको नेपाल(चीनबिचको कोरला नाका सञ्चालनका लागि  तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका खुलाउन तयार रहेको जनाएको थियो ।  कोरला नाका सञ्चालनको तयारी भएसँगै सीमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्र वितरण गर्ने प्रक्रिया अघि बढाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । “अनुमतिपत्र बुकलेट छपाइसम्बन्धी सबै काम पूरा भएको छ,” उहाँले भन्नुभयो, “गृह मन्त्रालयले पठाएको नमुनाअनुसार चीन प्रवेश पास छपाइ गरेर वितरणका लागि तयारी गरेका छौँ ।” चीनको सिमाना नजिकको उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाबाट प्रवेश पासको आवेदन सङ्कलन गरिएको छ ।  बोर्डर पास वितरणका लागि चार कर्मचारीलाई सोमबार लोमान्थाङस्थित इलाका प्रशासन कार्यालय पठाइएको प्रजिअ पन्तले बताउनुभयो । “नाका खोल्ने निर्णय भए पनि मिति तय भइसकेको छैन,” उहाँले भन्नुभयो, “चिनियाँ सुरक्षा अधिकारीसँग बैठक र गृह मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो नाका सञ्चालन गर्ने तयारीमा छौँ ।” कोरोना महामारी सुरु भएपछि कोरला नाकामा हरेक वर्षको दुई पटक सञ्चालन हुँदै आएको अन्तर्देशीय व्यापार मेला वि।सं।२०७६ देखि भएको थिएन । दसैँअघि नै व्यापार मेला आयोजना गर्ने मुस्ताङका सुरक्षा अधिकारी र जनप्रतिनिधिहरूले पहल गरेका छन् । प्रवेश पास भएका नागरिकहरू जुनसुकै समयमा पनि चीन जाने आउने सुविधा पाउने छन् । असोज ३ गते चिनियाँ दूतावासले पठाएको कूटनीतिक नोट गृह मन्त्रालयले मुस्ताङ प्रशासनलाई पठाएर नाका खोल्ने तयारी गर्न भनेको छ । प्रजिअ पन्तले १५ अक्टोबरमा नेपाल र चीनका अधिकारीबिच बैठक बस्ने तयारी भएको बताउनुभयो ।  सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण वि।सं।२०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो । वि।सं।२०५८ सालसम्म रोकतोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दाले दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने अपेक्षा गरेका छन् । यसै गरी, पस्मिना, जडीबुटी निकासी गर्न पनि सकिने लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्टले बताउनुभयो । 

काठमाडौं: इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन भनेका छन् ।   मोबाइल नम्बरसमेत भन्दै डाँगीले भनेका छन्, ‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’ दाङको दंगीशरण गाउँपालिका–३ हेकुली घर भई इजरायलमा रहेका २२ वर्षीय प्रविण डाँगीलाई खुट्टामा गोली लागेको थियो । गत भदौ २६ गते बीएस्सी एजी पढेर थप ११ महिने प्रयोगात्मक अध्ययनका लागि उनी इजरायल गएका थिए ।   दंगीशरण गाउँपालिका–३ का वडाअध्यक्ष सुकलाल चौधरीले पनि प्रविणको अपरेसन सफल भएको जानकारी पाएको बताए । प्रविण र उनका बुवा निमबहादुर डाँगीबीच अपरेसनपछि पनि कुराकानी भएको आफूले थाहा पाएको वडाध्यक्ष चौधरीले बताए ।  

काठमाडौं:   इजरायलमा हमासको आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।   मन्त्रिपरिषद्को सोमबारको बैठकले हमासको आक्रमणबाट इजरायलमा मृत्यु भएकाको परिवारलाई राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।   मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘यस घटनामा निधन भएका नेपालीहरूको परिवारलाई राहतस्वरप प्रतिपरिवार दस लाख रुपैयाँ उपलब्ध गराउने । उक्त रकम अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत निकासा दिने ।’   यस्तै सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा हमासको मिसाइल आक्रमणमा मृत्यु भएका सुदूरपश्चिमका ७ जनाको परिवारलाई जनही दुई लाख रकम दिने निर्णय गरेको छ ।   इजरायल आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले आज​ (मंगलबार) राष्ट्रिय शोकको घोषणा गरेको छ ।   भने आज सरकारले देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने  छ।    परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी थाालेकाे छ ।   इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँग समन्वय र सहयोगमा बेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।   दूतावासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइनमाध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउन भनेको छ ।   यसरी नेपाल फर्किन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने निर्णय पनि भएको छ ।  

लमजुङ:   लमजुङको सुन्दरबजार नगरपालिका-५ गहतेका ३५ वर्षीय गमबहादुर गुरुङको दक्षिण कोरियाको फाजु क्षेत्रमा मृत्यु भएको छ ।  रोजगारीको शिलशिलामा ६ वर्षअघि दक्षिण कोरिया गएका गुरुङको असोज १७ गते कोरियामा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।  गहतेस्थित कालिका युवा क्लबका पूर्वअध्यक्ष समेत रहेका गुरुङ गत साता सम्पन्न लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिवेशनबाट महासचिवमा निर्वाचित भएका थिए । लमजुङ परिवार दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबाले गमबहादुर गुरुङको रातिको काममा जानुअघि निधन भएको बुझिएको बताए । गमबहादुरले काम गर्ने ठाउँ फाजुस्थित कम्पनीमा गएर बुझ्दा उनको गत बुधबार राति ६ बजेतिर निधन भएको बुझिएको बताए । कम्पनीले वाइबालाई दिएको जानकारी अनुसार गमबहादुरसँग एक जना भियतनामी कामदार सँगै बस्दै आएका थिए । उनीहरु दुवै सँगसँगै काम गर्ने समय राति थियो । अध्यक्ष वाइबालाई ‘साहुनी’ ले दिएको जानकारी अनुसार बेलुकाको नियमित ड्युटी समय सुरु हुनु अगावै भियतनामी साथीले खाना खाएर गमबहादुरलाई जोडले बोलाएका थिए । तर उनमा कुनै हलचल नदेखिएको पाएपछि भियतनामी साथीले साहुसँग कुरा गरेर एम्बुलेन्स र प्रहरीलाई खबर गरेको कम्पनीकी साहुनीले जानकारी गराएको वाइबाले बताए । गमबहादुर गुरुङको निधनबारे नेपालमा घरपरिवारलाई जानकारी गराइसकेको र परिवारको निर्णय अनुसार शवलाई छिट्टै नेपाल पठाइने उनले बताए । मृतक गुरुङका श्रीमती, एक छोरी, एक भाइ र बुबाआमा गाउँमै छन् । एक जना दिदी र एक जना बहिनीको विवाह भइसकेको छ ।