हिले: धनकुटाको व्यापारिक तथा पर्यटकीय नगरी हिले बजारमा सडक बत्ती जडान गरिएको छ । धनकुटा नगरपालिका–१ को सक्रियतामा धनकुटा नगरपालिका, वडा नम्बर १ को कार्यालय, हिले बजार व्यवस्थापन समिति, हिले ब्याडमिन्टन क्लबलगायत विभिन्न संघसस्थाको सहयोगमा सडक बत्ती जडान गरिएको हो । हिले बजारको दुई किलो मिटरको क्षेत्रमा करिब सात लाख ५० हजार रुपियाँको लागतमा एक सय बढी सडक बत्ती जडान गरिएको धनकुटा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष ओङ्दा तामाङले जानकारी दिनुभयो । धनकुटाको हिलेमा पाँच वर्ष यता सडक बत्ती जडान हुन सकेको थिएन । यो भन्दा पहिले जडान गरिएको सडक बत्ती पाँच वर्ष पहिले सडक विस्तार ढल निर्माणको क्रममा भत्काइएपछि हिले बजार रातको समयमा अन्धकार हुँदै आएको थियो ।
खोटाङ: दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ । हालै सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत रेग्मी निमित्त नतोकी तथा बिना जानकारी सोमबार बिहानै घर हिँडेपछि सबै काम रोकिएको गाउँपालिकाका सूचना अधिकारी पिएसपी चाम्लिङले बताउनुभयो । दसैँ अगाडि भुक्तानी पाउनुपर्ने तलब भुक्तानी नै नगरी रेग्मी कार्यालय छाडेर घर हिँडेपछि अन्य कर्मचारी आक्रोशित बनेका छन् । बिना जानकारी कार्यालय छाडेर हिँड्नुभएका रेग्मीलाई २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । “कर्मचारीले दसैँ अगाडि पाउनुपर्ने तलब पाएका छैनन् । काम सम्पन्न गरेका निर्माण व्यवसायीको भक्तानी दसैँ अगाडि नै भुक्तानी गर्नुपर्ने छ । यति धेरै काम अलपत्र छाडेर बिना जानकारी प्रमुख प्रशासकीय अधिकृत रेग्मी हिँड्नुभएछ”, उहाँले भन्नुभयो, “उहाँलाई सम्पर्क गरी २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छु । यो कुरा मन्त्रालयमा पनि जानकारी गराएको छु । हाजिर नभएको खण्डमा कानुन बमोजिम कारबाही हुन्छ ।” प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने घरमा जरुरी काम परेकाले अचानक सोमबार बिहानै विराटनगरस्थित घर गएको बताउनुभएको छ । “आइतबार राति अबेरसम्म कार्यालयमा बसेर अधिकांश काम सम्पन्न गरेको छु । बाँकी रहेको केही काम यहीँबाट गर्ने योजना बनाएको छु”, उहाँले भन्नुभयो, “दसैँ अगाडि फर्किने सम्भावना छैन । यहाँबाट सम्भव नहुने काम दसैँपछि कार्यालय गएर गर्छु ।” दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अहिलेसम्म भुक्तानीसम्बन्धी सम्पूर्ण काम चेकमार्फत गरिने भएकाले सबै कागजात प्रमुख प्रशासकीय अधिकृतको घर पु¥याउन नसकिने गाउँपालिकाले जनाएको छ । भुक्तानी तथा कुनै पनि कामजात बोकेर प्रमुख प्रशासकीय अधिकृत खोज्दै गाउँपालिकाको कार्यालय बाहिर नजान लेखापाल तथा अन्य कर्मचारीलाई भनिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत रेग्मीबिना जानकारी कार्यालय छाडेर हिँडेको थाहा पाएपछि सामाजिक सञ्जाल फेसबुकमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । केहीले गाउँपालिका प्रमुख राईले फर्जी बिलको आधारमा चेक काट्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत फरार भएको ‘स्टाटस’ लेखेका छन् । सामाजिक सञ्जालमा गाउँपालिका बारेमा टीकाटिप्पणी हुन थालेपछि गाउँपालिका प्रमुख राईले सोमबार राति नै विज्ञप्ति जारी गरी बिना प्रमाण भ्रमको खेती नगर्न र नगराउन अनुरोध गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी असोज–२९ गते बिहानबाट बेपत्ता भएकाले उहाँको ज्यान सुरक्षाकोसमेत संयमतालाई मध्यनजर गर्दै खोजी कार्य भइरहेको विज्ञप्तिमा भनिएको छ । “सामाजिक सञ्जालमा बिना प्रमाण सिङ्गो गाउँपालिकाको मानमर्दन हुनेगरी दुष्प्रचार भइरहेको छ । केही व्यक्तिद्वारा गलत तथा कपोकल्पित, मनोमानी, स्वच्छाचारी र भ्रमपूर्ण ढङ्गबाट भएको दुष्प्रचारप्रति गाउँपालिकाको गम्भीर ध्यानाकार्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानमा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने हक हुँदाहुँदै भ्रमपूर्ण सूचना प्रवाह नगर्न नगराउन अनुरोध छ ।”
इजरायलमा विद्रोही समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय जहाजमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो। परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको उद्धार जहाजमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए। ‘१९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ उनले भने। परराष्ट्र मन्त्रालयले स्थानीय समयअनुसार तेल अभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ। मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए। नयाँ दिल्लीस्थित नेपाली दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याउने छ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ। उनीहरू मंगलबार बेलुकी ६-७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ।
पोखरा: नेपाल निगमले आजदेखि लागु हुने गरी पेट्रोल तथा डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र ५ रुपैयाँ घटाएको थियो । पेट्रोल र डिजेलको मूल्य घटेको दिन नै पोखराको केही पेट्रोल पम्पहरुले पेट्रोल नभएको सूचना टाँस गरेर आधा सटर लगाएका छन् । पेट्रोल तथा डिजेलको मूल्य घटेको समयमा पम्प बन्द गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ । नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराका सूचना अधिकारी श्रीधर लामिछानेले भने दुईदिनको छुट्टीले डिपोबाट पेट्रोल पठाउन नपाउँदा पम्पहरुमा भएको मौञ्जाद सकिँदा बन्द भएको हुन सक्ने प्रतिक्रिया दिए । ‘दुईदिनको लगातार बिदाले डिपोबाट पेट्रोल तथा डिजेल बजार तथा पम्पमा पठाउन सकिएको थिएन, अस्ती शनिबार, हिजो घटस्थापनाको छुट्टी थियो’, सूचना अधिकारी लामिछानेले भने, ‘पेट्रोल तथा डिजेल डिपोबाट पास हुँदै छन्, अबको एक, दुई घण्टाको सहज हुन्छ ।’ उनले पोखराका लागि १ लाख ८० हजार पेट्रोल बजारमा पठाउन लागेको बताए । ‘अबको आधा–एक घण्टामा पम्पमा पेट्रोल पुग्छ, पोखराका लागि १ लाख ८० हजार लिटर पेट्रोल पठाउँदै छौं’, उनले भने, ‘तनहुँ, बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा ३ लाख लिटर पेट्रोल आजै पठाउँदै छौं, मूल्य घटेर होइन, पम्पमा मौञ्जाद सकिएकाले पम्प बन्द भएको हुन सक्छ ।’
काठमाडौं: दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।
पोखरा: पोखराकै ठुलो शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा शोभायासहित नवदुर्गा महोत्सव–२०८० शुरु भएको छ । वडा दशैँको स्वागतार्थ शोभायात्रासहित आज (आइतबार) घटस्थापना पुजा गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नवदुर्गा महोत्सव शुरु भएको हो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले नवकन्या आरुढ नौ रथ सहितको शोभायात्रा सहित पुजा गरि वडा दशैँको स्वागत गरेको बताए । नवदुर्गा महोत्सवको अवसरमा विन्ध्यवासिनी मन्दिरबाट शोभायात्रामा नवकन्या, आरुढ नौ रथसहित विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरु, जलकलश सहित मातृशक्ति, बिभिन्न आमा समुहहरु, सामाजिक धार्मिक तथा जातिय साँस्कृतिक शैक्षिक संस्थाहरु, भजन समुहहरु शोभायात्रामा सहभागी भएका थिए । आजबाट सुरु भएको नवदुर्गा महोत्सव नवमीसम्म सञ्चालन हुने समितिका सचिव श्रेष्ठले बताए । ‘हामीले विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०६४ सालदेखि संस्थागत ढङ्गले सञ्चालन गर्दै आएका छौं, केही वर्ष कोभिडका कारण गर्न सकेनौं’, सचिव श्रेष्ठले भने, ‘घटस्थापनासँगै आज विन्ध्यवासिनी मन्दिरबाट नवदुर्गा शोभायात्रासहित महोत्सव सञ्चालन गरेका छौ, शोभायात्रा सम्पन्न भइसकेको छ, महोत्सव नवमीसम्म सञ्चालन हुन्छ ।’ उनले धर्म संस्कृतिको संरक्षण र सामाजिक सद्भाव कायम राख्न महोत्सव आयोजना गरेको बताए । ‘महोत्सवको पहिलो उद्धेश्य धर्म संस्कृतिको संरक्षण हो, हाम्रो धर्म संस्कृति बारे सन्तन्तीलाई जानकारी र पुस्तान्तरण गर्ने दोस्रो उद्धेश्य हो’, उनले भने, ‘ सामाजिक सद्भाव कायम गर्न सकिन्छ भनेर महोत्सव आयोजना गरेका हौ ।’ उनले महोत्सवबाट अर्थ संकलन नै प्रमुख उद्धेश्य नभएपनि मन्दिर, महोत्सवमा आएका भक्तजनले आफ्नो खुशीले भेटी चढाउन पाउने बताए । श्रेष्ठले महोत्सव अवधिभर रात्रिकालिन आरती श्रीमद्देवी भागवतको कथा ,महायज्ञ प्रस्तुत हुने बताएका छन् । श्रेष्ठका अनुसार प्रत्येक दिन बिहान ९ देखी १२ बजे सम्म र मध्यान्नदेखी अपरान्ह ४ बजे सम्म महायज्ञ हुनेछ । उनले बिजयादशमीको दिन बिहान ४ बजेदेखी नित्य पूजा आरम्भ भई ५ बजेबाट भक्तजनहरुका लागि खुला गरिने बताए । त्यसपश्चात वाल गोपाल भजन मण्डल तथा बिन्ध्यबासिनी महिला भजन समुहबाट भजन कीर्तन हुने समितिले जनाएको छ ।
काठमाडौं: आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । नौ दिन नौ दुर्गाको पूजा नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रीको भनाइ छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । वडादसैँको सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । आगामी कात्तिक ४ गते बिहान ९ बजेर ३५ मिनेटमा फुलपातीको साइत रहेको समितिले जनाएको छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा नवरात्र भनेर समेत चिनिने दसैँ नौ रात र दश दिनको हुन्छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गर्ने गरिन्छ । कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा विसर्जन गरिन्छ ।
ढोरपाटन: बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन सकेको छैन । शुक्रबार राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
काठमाडौं: मनाङ एअरको ‘एन–एनजे’ कलसाइन हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेडाईँ खतरामुक्त रहेका अस्पतालले जनाएको छ । उहाँको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एअरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो । घाइते पाइलटलाई फिस्टेल एअरको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो । हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो । हेलिकप्टरमा पाइलट सेडाईं मात्र हुनुहुन्थ्यो । दुर्घटना भएको हेलिकप्टरमा आगो लागेका कारण क्षति भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हेलिकप्टर दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान प्रक्रिया थालिएको छ । हिमाली क्षेत्रमा तीव्र हावा चल्ने भएकाले हेलिकप्टर अवतरणको क्रममा हावाको बेगका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

