काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

तनहुँ:   इनारमा डुबेर तनहुँमा एक युवकको मृत्यु भएको छ । इनार सफा गर्ने क्रममा व्यास नगरपालिका-१३ पोखरीभञ्ज्याङमा काम गर्ने २७ वर्षीय विपिन भन्ने छत्रबहादुर आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँमा सुमन एन्ड सचिन पोल्ट्री फार्ममा काम गर्दै आएका ऋषिङ गाउँपालिका-७ निवासी आलेको इनार सफा गर्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानबहादुर आलेले सञ्चालन गरेको सो फार्ममा डोरीको सहायतामा इनारभित्र पसी सफा गर्ने क्रममा अक्सिजनको कमीले गर्दा आलेको मृत्यु भएको हो । अक्सिजनको कमीले अचेत भएपछि उपचारको दमौली अस्पतालमा लगिएकोमा त्यहाँ चिकित्सकले आइतबार मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

काठमाडौं:    बङ्गालको खाडीमा विकसित भएको ‘मोखा’ चक्रवातको असर नेपालको मौसममा परेको छ । गत बुधबार सिर्जना भएको चक्रवातको असरले आइतबारदेखि कतिपय स्थानमा वर्षा सुरु भएको छ भने यो क्रम आगामी तीन दिनसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार मोखा अति शक्तिशाली चक्रवात का रूपमा परिणत हुँदै उत्तर र उत्तरपूर्व दिशातर्फ अघि बढिरहेको छ । जसको सोझो असर बङ्गलादेश र म्यान्मारको तटीय क्षेत्रमा अत्यधिक परेको छ । भारतको पूर्वी क्षेत्र नेपालमा भन्दा अधिक असर परेको छ । बङ्गलादेशमा चव्रmवातका कारण झन्डै पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।  चक्रवातका कारण वायुको बहाव सात माइल प्रतिघण्टाका दरले उत्तरपूर्व सरिरहेको छ । १७० माइल प्रतिघण्टाको उच्च वेगमा यो जमिनतर्फ सोझिएको थियो । जसको प्रभावले १२ फिटमाथिसम्मको आँधी र हावाहुरीको सिर्जना भएको छ । मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो, “त्यहाँको जस्तो कडा प्रभाव नेपालमा पर्दैन तर बदलीसहित छिटपुटदेखि हल्का वर्षा केही दिन रहने छ ।” उहाँका अनुसार उच्च हावाहुरी र जलवाष्पसहित घुमिरहेको ‘मोखा’ चक्रवात  आइतबार जमिनमा झर्ने प्रव्रिmयामा अग्रसर रहेकाले यस क्रममा यसको जलवाष्पको शक्ति नेपालसम्म आइपुगेको हो । नेपालमा पश्चिमी र स्थानीय वायुको चाप पहिल्यै रहेकाले पनि उत्तरपूर्वबाट आइरहेको चक्रवातको वायु कमजोर बनेको हो ।  तीनदेखि चार दिनसम्म हल्का बदली र वर्षा भएपछि नेपालमा चक्रवातको असर साम्य हुनेछ । बुधबारदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।  चक्रवातले समुद्रको तातो पानीलाई आफ्नो फेरामा बढी लिएको छ । चक्रवात  वैज्ञानिक जेफ मास्टर्सले यसको असरस्वरूप यो विकास भएको र अवसान हुने आसपासका क्षेत्रमा पनि एक सातायता तापक्रम वृद्धि उच्च रहेको औँल्याउनुभएको छ । असामान्य रूपमा यसले ग्रहण गरिरहेको ३१ डिग्री सेल्सियस हाराहारीको तातो पानीको वाफका कारण यसको असर पनि दक्षिणपूर्वी एसियामा अत्यधिक तातो मात्रा बढाउनमै केन्द्रित रहेको अनुमान गरिएको छ । जसको असर नेपालमा थोरै जोडिन्छ । चक्रवातको थप असरका विषयमा जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखा र मौसम पूर्वानुमान महाशाखा दुवैले अध्ययन गरिरहेको छ । यसले नेपालमा मनसुन भित्र्याउन थप वातावरण बनाउने सम्भावना देखिएको छ । आगामी जुन ११ मा नेपालमा मनसुन भित्रिने समयअगावै हुने यस्ता मौमसी प्रणालीले वायुमण्डलमा परिवर्तन ल्याउन सहायक भूमिका निर्वाह गर्छ । बङ्गालको खाडीको जलवाष्पयुक्त वायुले नेपालमा मनसुनी प्रणाली सबल बनाउने गर्छ ।

काठमाडौं:   नेकपा एमालेका नेता टोप बहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।  

काठमाडौं:    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले प्रहरीलाई अनुमति दिएको छ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुलेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री खाणसहितका १२ जनामाथिको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाण्डौले थप समय हिरासतमा राख्न अनुमति मागेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री खाणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई लगायत १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पुर्जी जारी भएका तत्कालीन उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजीत राईका छोरा निरज राई फरार रहेका छन् । यस्तै आज (आइतवार) नेपाली कांग्रेसका नेता एवम् पूर्वसभासद् आङटावा शेर्पा र पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । दुवै जनालाई जिल्ला अदालत काठमाण्डौले पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ । रामेछापका शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरूबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ । यस्तै रामबहादुर थापा गृहमन्त्री हुँदा उहाँका सल्लाहार रहेका इन्द्रजीत राई पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतीक पनि संलग्न रहेका प्रमाणहरू भेटिएपछि थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

बागलुङ:    वर्षापछि आएको बाढी र पहिरोका कारण बागलुङ-कुश्मीशेरा सडक बन्द भएको छ। बागलुङ नगरपालिका-१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ-कुश्मीशेरा सडक बन्द भएको हो। आज दिउँसोदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको छ। तीन वर्षअघिदेखि सुरु भएको पहिरोले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो। आजको वर्षापछि पहिराले उक्त सडक अवरुद्ध भएको वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर खड्काले जानकारी दिए।   सदरमुकाम बागलुङ बजारदेखि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन्। सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सवारीसधानहरुले प्रयास गरिरहेका छन्। ‘पहिरो अहिले नै हटाउन सम्भव नभएको बागलुङ नगरपालिकाले बताएको छ’, खड्काले भने, ‘भोलि दिउँसोको समयमा मात्रै पहिरो पन्छाउने काम हुनेछ।’

काठमाडौं:   वैदेशिक रोजगारीमा ६ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै २ वटा मोबाइल फोन ल्याउन पाउने भएका छन्। विभागका निर्देशक पुण्यविक्रम खड्काले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउने बताएका छन् ।   उनका अनुसार अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले भने एक थान मात्रै फोन ल्याउन पाउनेछन्। “श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिनासम्म काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्छ”, जारी सूचनामा भनिएको छ, “अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले एक थान मोबाइल फोन सेटको घोषणा भने भन्सार कार्यालयमा गर्नुपर्दैन।” यही वैशाख २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो। सोही व्यवस्थाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि अवैध फोन नियन्त्रण गर्ने प्रणाली एमडीएमएस लागू गर्दैछ र उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणका प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ। दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किंदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने हुन्छ।   यसअघि गत पुस १५ गतेदेखि प्राधिकरणले  अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू गर्ने तयारी गरेको र प्राधिकरणले उक्त सिष्टम लागू गर्ने तयारी गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा तत्कालका लागि उक्त काम समेत रोकिएको थियो। रासस  

काठमाडौं:    नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद् आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  शेर्पाले अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका सानु भण्डारीलाई भेटेको आरोप लागेको छ । 

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।    बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बङ्गलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको छ ।   हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रासस

काठमाडौं:   थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गर्नुभएको हो । त्यस्तै नेपाली आरोही पासाङतेम्बा शेर्पाले सगरमाथा आरोहण गर्नुभएको छ । दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए । कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रि पर्वतारोहीबाट भएको बताउनुभयो । उहाँका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथकोल र आसपास छन् । आज साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिनुभयो । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिबारबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । रोप फिक्सिङपछि पहिलो औपचारिक आरोहण सुरु भएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीले जनाएको छ । यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौँ सङ्ख्यामा आरोही प्रतिक्षारत छन् । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन् । RSS