काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी छ।   उनीहरूबीच छलफल भइरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ मनहरि तिमिल्सिनाले  जानकारी दिएका हुन् ।   छलफल संसद्मा विधाराधीन संवैधानिक परिषद्लगायत विधेयकहरू, सरकारको नीति कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। सरकार नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ।

पोखरा:    पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि योजना तर्जुमा सम्बन्धी तयारी बैठक ३३ वटै वडाहरूमा गर्ने गरी सुरु गरेको छ ।  अभियानको रूपमा महानगरका सबै वडाहरूमा गरिने यस प्रकारको तयारी बैठक नगरप्रमुख धनराज आचार्यले वडा नं।२५ बाट सुरु गर्नुभएको हो ।  पोखरा महानगरपालिका वडा नं. २५ मा आयोजित तयारी बैठकमा बोल्दै प्रमुख आचार्यले आगामी आवका लागि योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताको आधारलाई विशेष ख्याल गर्न अनुरोध गर्नुभयो । “वडा स्तरमा योजनाहरू तर्जुमा गर्दा सम्बन्धित वडाको आवश्यकता र प्राथमिकता पहिलो सर्त हुनुपर्दछ, उहाँले भन्नुभयो, वडामा रहेका सबै सरोकारवालाहरूको भेला मार्फत विधिसंगत तवरले तर्जुमा गरिएका योजनाहरू मात्र वडाको योजना बैङ्कमा सूचीकृत गरिनु पर्दछ ।”  योजना तर्जुमाका नाममा धेरै समय खेर जाने र परिणाममुखी योजनाहरू नबन्ने विगतका कमजोरीहरूलाई सुधार गर्दै अव चार वर्षका लागि आवश्यक योजनाहरू एकै पटक तर्जुमा गरी वडा वडामा योजना बैङ्क तयार गरिने उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा सम्पन्न गर्न सकिने र स्रोतको सुनिश्चितता हुने योजनाहरू मात्र छनौट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय विकासको दीर्घकालीन सोचलाई ध्यानमा राखी योजनाहरू निर्माण गर्ने बेला आएको प्रमुख आचार्यले बताउनुभयो ।  महानगरपालिकाका सबै वडाहरूको समुचित र न्यायोचित विकासका लागि वर्तमान नेतृत्व तत्पर रहेको बताउँदै उहाँले महानगरमा विभिन्न दातृ निकायहरुको सहयोगमा २३ अर्ब बढीको लगानीमा नयाँ परियोजनाहरू सञ्चालनको तयारीमा रहेको बताउनुभयो । सुस्त प्रायः बनेको पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगको समन्वयलाई महानगरको नयाँ नेतृत्वले तदारुकताका साथ पुनर्स्थापित गरी अरबौँ रुपैयाँ लगानीको वातावरण तयार गरेको उहाँले बताउनुभयो ।  समृद्ध महानगर निर्माणका लागि नयाँ बन्ने योजनाहरू समेत परिणाममुखी बन्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार वडामा हुने योजना छनौटको प्रक्रियालाई सहभागितामूलक बनाई सबै नागरिकहरूको पहुँच स्थापित गर्ने उद्देश्यले वडा वडामा यस्तो प्रकारको कार्यक्रम गर्न लागिएको हो । समग्र पोखराको समुचित विकास नयाँ नेतृत्वको स्वार्थ हुने भन्दै उहाँले यस अभियानमा हातेमालो गर्न महानगरवासीलाई आग्रह समेत गर्नुभयो । वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरूले आफ्नो वडाका योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा गर्ने बताएका छन् । सो क्रममा आवश्यक विधि, प्रक्रिया र पद्धतिको पूर्ण पालना गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।  तयारी बैठकमा सहभागी स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, बुद्धिजीवी लगायत स्थानीयहरूले नागरिकको आधारभूत आवश्यकता, भौतिक विकास, विपद् जोखिम न्यूनीकरण, पर्यटन विकास, कृषि, सामाजिक न्याय सहितको समतामूलक समाज निर्माणका लागि मानव संसाधनको विकास लगायतका विषयमा योजनाहरू केन्द्रित गरिनु पर्ने बताए ।  वडा नं. २५ बाट सुरु भएको योजना तर्जुमा तयारी बैठक हालसम्म वडा नं. २४ र ५ मा समेत सम्पन्न भैसकेको छ । महानगरका अन्य वडाहरूमा यो कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।  

मोरङ:    सडक किनाराको पर्खाल (रिटेनिङ वाल) बलियो र गुणस्तरीय बनाउन माग गर्दै एक युवाले १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलमा चढेका छन् । युवाको उद्धार गर्न सुरक्षाकर्मी लागे पनि सफल भएका छैनन् ।   पोलमा चढेर विरोध गरिरहेका बुढीगंगा-७ डंग्राहाका ४० वर्षे युवा दिनेशकुमार माझीलाई त्यहाँबाट उद्धार गर्न प्रहरीलाई माथि चढाउँदा जोखिम हुनसक्ने भन्दै प्रहरीले युवाको माग पूरा गर्न आग्रह गरेको छ ।   माझीले गुणस्तरीय निर्माणको विश्वास दिलाउनु पर्ने र त्यसका लागि गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार तथा वडाध्यक्षसमेत उपस्थित भएर आफूसँग छलफल गर्न तयार हुनुपर्ने माग राखेका थिए ।  हाई भोल्टेज विद्युत प्रवाह भइरहेको पोलमा बिहान ६ बजेदेखि माझी पोलमा चढेर बसेको प्रहरीले जनाएको छ । उद्धारका लागि पोलका तल सुरक्षाकर्मी र स्थानीयको बाक्लो उपस्थिति रहे पनि युवा पोलबाट उत्रन मानेका छैनन् ।   सुरक्षाकर्मीले माझीलाई तल झार्न निरन्तर प्रयास गरिरहेको छ । तर युवा पोलबाट झर्न नमानेको मोरङ प्रहरीले जनाएको छ । अहिले पनि प्रसारण लाइनमा १ लाख ३२ हजार भोल्ट विद्युत प्रवाह भइरहेको छ । हाइटेन्सन पोलमा मानिस चढेको जानकारी गराएको भए पनि नेपाल विद्युत प्राधिकरणले बिजुली काटेको छैन ।  झापालगायत मेची पहाडका जिल्लामा विद्युत अवरुद्ध हुने भएकाले उद्धारको सबै तयारी पूरा नभई प्राधिकरणले विद्युत प्रसारण बन्द नगरेको जनाएको छ । उद्धार गर्न  १५–२० मिनेटका लागि विद्युत बन्द गर्न सकिने तर लामो समय विद्युत बन्द गर्न नसकिने प्राधिकरणले सुरक्षाकर्मीलाई जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालले युवकलाई पोलबाट तल झार्ने प्रयास भइरहेको बताए  । उनले भने, ‘हामी माथि चढेर उनलाई झार्न सक्छौँ, तर उद्धारका लागि माथि चढ्दा उनी हाम्फाल्ने जोखिम छ ।’  पोलको ३० मिटर माथि पुगेर ती माझी युवा बसेको प्रहरीले जनाएको छ ।  गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिहरूले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने विषयमा छलफल गर्न तयार भए पोलबाट झर्ने सर्त माझीले राखेको प्रहरीको भनाइ छ । गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर आज धनकुटा जानुभएको छ ।  प्रहरीले अध्यक्ष र वडाध्यक्षलाई त्यहाँबाट फर्काउने पहल थालेको छ । अध्यक्ष आएपछि माझीको माग सम्बोधन गराएर सहज रूपमा तल झार्ने विकल्प प्रहरीले रोजेको छ । आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी माझीले दिएको प्रहरीले जनाएको छ । 

म्याग्दी:     धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिए । ‘गत असोज २० गतेदेखि बेपत्ता लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको छु,’ उनले भने, ‘नेपाली सेनाको हेलिकोप्टरले लामाको शव आजै काठमाडौँ लगेको छ ।’ शेरचनसहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली फ्रेञ्च पासमा पुगेर शव ल्याएका हुन् । काठमाडौँको फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत विदेशी पर्यटक लिएर धवलागिरि आधार शिविर पुगेका लामा बेपत्ता भएका थिए ।

काठमाडौं:    मर्मतका लागि मेलम्चीको पानी वितरण कार्य आउँदो सोमबारदेखि रोकिने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले यहि जेठ १ गतेदेखि दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिए । यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाण्डौ उपत्यकामा वितरण गरिएको थियो । तर जेठ मसान्तमा मेलम्ची खोलामा आएको बाढीरपहिरोले मुख्य सुरुङ बाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मर्मत सम्भार गरेर पुनः २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी वितरण गरिएको थियो । त्यसपछिको वर्षामा बन्द गरिएको पानी वितरण कार्य गएको मंसिरदेखि पुनः सुरु गरिएको थियो ।

काठमाडौं:    नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रवार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस हुनेहरूको नाम सार्वजनिक गरेको हो ।  

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उहाँले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताए।   प्रधानमन्त्री दाहालले उक्त प्रकरणमा भइरहेको छानविनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता पनि जनाए  र उहाँले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने  समेत बताएका छन्।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री दाहाललाई बुझाएका थिए, र प्रधानमन्त्रीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि यो महत्वपूर्ण अवसर रहेको भन्दै कुनै पनि कमी कमजोरी हुन नदिने बताएको उनले जानकारी दिएका छन्।

झापा:   पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ।   चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिएका छन् ।   यस नाकाबाट सोही अवधिमा रू १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी रहे पनि राजस्व सङ्कलनको लक्ष्यसमेत पूरा नभएको कार्यालयले जनाएको छ । उक्त अवधिमा रू १४ अर्ब ८४ करोड ५८ लाख ६७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रू १० अर्ब ४३ करोड २९ लाख ५७ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताए ।   त्यस्तै जुट रू दुई अर्ब ९६ लाख ४१ लाख, प्राकृतिक ग्यास रू दुई अर्ब तीन करोड ९८ लाख, भटमासको पिना रू एक अर्ब ६० करोड २९ लाख, तरकारी रू एक अर्ब ४४ करोड ८३ लाख, जिप्सन रू ९८ करोड १९ लाख, कोइलाजन्य पदार्थ रू ९५ करोड ५६ लाख, दाल रू ८४ करोड ४१ लाख, कपडा रू ८२ करोड ३९ लाख र अल्किड रेजिन र अन्य पिभिसी रेजिन रु ८० करोड ५५ लाखको आयात भएका सोही कार्यालयका कर्मचारी चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।   सो अवधिमा काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये सबैभन्दा धेरै रू छ अर्ब ३३ करोड ७१ लाख बराबरको अलैँची निर्यात भएको छ ।   फलामजन्य सामग्री रू दुई अर्ब ९८ करोड ९९ लाख, चिया रू दुई अर्ब ६६ करोड ५४ लाख, प्लाइउड रू एक अर्ब २९ करोड ४६ लाख, अम्रिसो रू ७२ करोड ९० लाख, अदुवा रू ४३ करोड ५२ लाख, पशु आहार रू ४० करोड ९५ लाख, धाउ, धतुमुल र खरानी रू २८ करोड ८४ लाख, दलहन रू २७ करोड ४६ लाख र पशु आहारको कच्चा पदार्थ रू २१ करोड ३७ लाख बराबरको निर्यात भएको कार्यालयले जनाएको छ ।

जाजरकोट:    भेरी नगरपालिका-७ मा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्कीको मृत्यु भएको हो । भेरी नगरपालिका-७ का वडाध्यक्ष दीपबहादुर शाहीले  आगो निभाउने क्रममा  सामुदायिक वनका अध्यक्ष कार्कीको मृत्यु भएको जानकारी दिए । बिहीबार दिउँसो सामुदायिक वनमा आगो फैलिए पछि अध्यक्ष लगायत उपभोक्ताहरू आगो निभाउन सामुदायिक वनमा गएका थिए ।   दिनभरि प्रयास गर्दा पनि आगो नियन्त्रण गर्न नसकेपछि राती गाउँलेहरूले आगो नियन्त्रण गरेका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकृत प्रहरी निरीक्षक नवीन चुदालीले  क्रममा सामुदायिक वनका अध्यक्षको जलेर मृत्यु भएको खबर पस्चात प्रहरी घटनास्थलमा पठाइएको बताए ।