काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

काठमाडौं:    प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया लामो समयदेखि  अघि बढ्न नसकेको भन्दै नेपाल बार एसोसिएसनले तत्काल प्रक्रिया अघि बढाउन निरन्तर दबाब दिँदै आएको छ ।       यसै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार संवैधानिक परिषद्को बैठक बोलाउनुभएकाले प्रधान न्यायाधीश  नियुक्ति प्रक्रिया अघि बढ्ने विश्वास बढेको छ ।            न्यायालयको इतिहासमा २०७९ साल कायम कामुकै नेतृत्वमा सर्वोच्च अदालतको सयम बितेको छ । विसं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि वरिष्ठतम न्यायाधीशले कार्यभार सम्हाल्दै आएकामा अहिले  वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश रहनुभएको  छ ।            बारले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाअघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेसँग आग्रह गरे पनि ठोसरुपमा काम अघि बढ्न सकेको छैन ।            बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया यथाशीघ्र अघि बढाउन माग गरिरहेकामा  सोमबार संवैधानिक परिषद्को बैठक बोलाइएकाले प्रक्रियाअघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । बारले प्रधानन्यायाधीशको तत्काल नियुक्तिलगायत विषयमा एकहप्ताअघिदेखि दबाबमूलक कार्यक्रम गर्दै आएको थियो ।             “ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनाका साथै न्यायालयको शुद्धीकरणका लागि निरन्तर आन्दोलन भइरहेको छ”, उहाँले भन्नुभयो, “संवैधानिक परिषद्को बैठक सोमबार बोलाइएको हुनाले प्रधानन्यायाधीश नियुक्तिको काम अघि बढ्ने विश्वास छ ।”      न्यायपालिका भित्रको भ्रष्टाचार, विकृति विसङ्गति अन्त्य गर्न तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नसमेत बारले माग गर्दै आएको छ ।             नेपालको संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । उक्त धाराको उपधारा ३ मा परिषद्ले प्रधानन्यायाधीश वा अन्य संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनु एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ तर सर्वोच्च अदालतमा महाअभियोगको प्रस्ताव निर्णयमा नपुग्दै तत्कालीन निलम्बित प्रधानन्यायाधीश राणाको अवकाश भएपछि वरिष्ठतम न्यायाधीशलाई  प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद्बाट सिफारिस हुनुपर्नेमा परिषद्को बैठक बस्न सकेको थिएन ।      

म्याग्दी:    म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ स्थित रुप्से झरनामा अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार बिहान एक जना पर्यटकको ज्यान गएको छ । बेनी जोमसोम सडकअन्तर्गत पर्ने पर्यटकीय स्थल रुप्से झरनाको अवलोकन गर्न पुग्नुभएका काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  प्रहरी निरीक्षक किरण लामाका अनुसार झरना अवलोकन गर्दा ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीको बेनी अस्पतालमा उपचारका क्रममा  चिकित्सकले मृत घोषणा गरेका थिए ।

चितवन:    पोल्ट्री व्यवसायी शंकर कँडेल मृत भेटिएको घटना तत्काल छानबिन गरी दोषीलाई पक्राउ गर्न माग गरी आज चितवन बन्द गरिएको छ । बन्दको प्रभाव पूर्व–पश्चिमको मुख्य राजमार्ग क्षेत्रमा नै परेको छ । पूर्व(पश्चिम आउने जाने गाडी र यात्रु बीच बाटोमै रोकिएका छन् । चितवनसँग जोडिएका क्षेत्र गैँडाकोट, लोथर, मुग्लिनलगायतका ठाउँमा गाडी रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द गरिएको हो । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका ठाउँमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् । पश्चिमबाट आएका धेरै गाडी गैंडाकोटमा रोकिएका छन् । पुल्चोकमा बन्दकर्ताले अत्यावश्यक बाहेकका गाडी चल्न नदिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मंगलबार आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

काठमाडौं:   सुडानबाट नेपाल फर्किएका १३ जना नेपाली स्वदेश आइपुगेका छन्।  इजिप्टस्थित कायरो दूतावासको सम्पर्कमा ३१ जना आएका थिए। उद्धार भएका १९ मध्ये छ जना रोजगारदाता कम्पनीको दुबई शाखामा स्थानान्तरण भएर काम थालेका छन्। चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपालीलाई पनि चीन सरकारको सहयोगमा उद्धार भएको छ। बाँकी १२ जनामध्ये थप नौ जना भारत सरकारको सहयोगमा पोर्ट सुडानको हवाईमार्ग हुँदै भारतको अहमदावाद उडेका छन्। तीन जनामध्ये एक जना स्वेच्छाले पोर्ट सुडानमा र दुई जना सुडान–इजिप्टको सीमानजिकको स्थानमा सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  मन्त्रालयले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली सैनिक तथा प्रहरीको यसअघि उद्धार गरी सुरक्षित स्थानमा लगिइसकेको छ। सुडानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्यमा परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगबाट सक्रिय रूपमा समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जानकारी दिएको छ। उद्धार प्रक्रियामा सहयोग पु(याउने छिमेकी मित्रराष्ट्र भारत, चीन र मित्रराष्ट्र साउदी अरेबिया सरकारको कार्यको नेपाल सरकारले सराहना गरेको छ।

तनहुँ:    डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको (खोर) पासो प्रभावकारी बन्दै गएको छ । फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो । चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।    चितुवाले जनमानसमा त्रास बढाएकोले यसको नियन्त्रण गरी सुरक्षित किसिमले वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन पासो थाप्ने काम गरिएको उहाँले बताउनुभयो । एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः पटक–पटक आक्रमण गर्ने सम्भावना बढी हुने भएकाले यसलाई नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको उहाँले बताउनुभयो । पानीको पोखरी बनाएपछि विगतको तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी आएको बताइएको छ । खोला खोल्सीका पानी बस्तीमा लैजाँदा प्यास मेटाउन वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणलाई प्राथमिकता दिइएको हो ।  चितुवाको आक्रमणमा परी छ वर्षमा तनहुँमा १४ बालबालिकाको मृत्यु र  १७ जना चितुवाको आक्रमणबाट घाइते भए । जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाले सताएको थियो । चितुवाबाट भानु नगरपालिका धेरै प्रभावित बनेकोमा  अहिले बन्दीपुर गाउँपालिकामा त्रास बढ्ेको छ । जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी दश बालक र चार बालिकाको मृत्यु भएको वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  

पोखरा:   पोखराको नदीपुरमा रहेको प्रतिभा माविमा पुरस्कार वितरण तथा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ । २०७९ को शैक्षिक क्रियाकलाप अन्र्तगत उत्कृष्टता हाँसिल गरेका विद्याथीलाई शुक्रबार पुरस्कार वितरण गरिएको हो ।  कक्षामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई अबिर लगाई शिल्ड प्रदान गरेको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेल, संस्थापक एवं वित्त निर्देशक विश्वगोपाल पराजुली, प्रबन्ध निर्देशक बलबहादुर थापा, प्राचार्य किरण सापकोटा, कन्या क्याम्पस पोखराका प्रमुख सुरेश मानन्धर, पत्रकार रञ्जन अधिकारी लगायतले पुरस्कार वितरण गरे । अध्यक्ष नारायण पौडेलले प्रतिभा मावि गुणस्तरीय शिक्षाका लागि सदैव प्रतिबद्ध रहेको बताए । उनले विद्यालयसँग अभिभावकको सामिप्य सम्बन्धले मात्र विद्यार्थीको प्रगति र वृत्तिविकास हुने भन्दै आफ्ना बाबुनानी विद्यालयका के गरिरहेका छन् भन्नेबारे ख्याल गर्नुपर्ने उल्लेख गरे । ‘सानो ठाउँ र थोरै विद्यार्थीका साथ सुरु भएको प्रतिभा मावि अहिले धेरै विद्यार्थी भर्ना हुन नपाएर फर्कनुपर्ने अवस्थामा पुगेको छ ।’ पौडेलले भने – ‘समाजमा यसरी स्थापित हुनुमा विद्यालयको वातावरण, शिक्षकहरुको मेहनत, विद्यार्थीहरुको परिश्रम नै हो ।’ विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यालयको प्रगति विवरण तथा भावी योजनाहरु प्रस्तुत गर्दै विद्यालयभित्र अझ नवीनतम सोच र नवीनतम कार्यक्रमका साथ सम्पूर्ण छोराछोरीहरुको समुज्ज्वल भविष्यलाई अगाडि बढाउनका लागि विद्यालय सदा प्रतिबद्ध रहेको जनाए । ‘यही वर्ष अत्याधुनिक सुविधासहितको भवन निर्माण कार्य अघि बढ्दैछ । अण्डरग्राउण्ड सभाहलदेखि टपफ्लोरमा फुटसल ग्राउण्डसम्म बन्नेछन् । ’ विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य प्रदीप खनालले सञ्चालन एवं विद्यार्थी जस्विना मल्लले स्वागत मन्तव्य राखिन् । कार्यक्रममा विद्यार्थीले गीत, नृत्यलगायतका विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । विद्यार्थीकै हातबाट शैक्षिक तालिका समावेश भएको २०८० सालको भित्तेपात्रोसमेत विमोचन गरिएको थियो ।   

सङ्खुवासभा:     सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ मा सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।   दुर्घटनामा स्थानीय भविन गुरुङको मृत्यु भएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले जानकारी दिए ।  हेलिकप्टरमा रहेका चार जना गम्भीर घाइते भएका उनले बताए । आज शुक्रवार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला-४ हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।   मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल, को-पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । 

सङ्खुवासभा:    सङ्खुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।गम्भीर घाइते भएका पाईलट सुरेन्द्र पाण्डे र स्थानीय भविन गुरुङलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको हो । पाइलट पाण्डेलाई सिम्रिक एयरको हेलिकप्टरबाट र स्थानीय गुरुङलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गुरुङ अचेत अवस्थामा छन् भने पाण्डे सामान्य बोल्न सक्ने अवस्थामा रहेका छन् । हेलिकप्टरमा सवार स्थानीय दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।   भोटखोला गाउँपालिका –५ को राप्साबाट उडेको हेलिकप्टर भोटखोला –४ नम्बरको दिदिङ्खा भन्ने स्थानमा अवतरणको क्रममा आज शुक्रबार दिउँसो १ः२० बजे दुर्घटना भएको हो । उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको प्रहरी कार्यालयले जनाएको छ ।  हेलिकप्टर अवतरणको क्रममा पङ्खा पहाडीको भीरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, डिएस्पी बिरेन्द्र गोदारले जानकारी दिए ।

पाल्पा:   सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–५, चर्चरे नजिकै सुख्खा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । शुक्रवार बिहान ५ बजेतिर सडकमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक बन्द भएपछि पाल्पाबाट बुटवलतर्फ जाने र बुटवलबाट पाल्पातर्फ आउने यात्रु बिच बाटोमै रोकिएका छन् ।