काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।      राष्ट्रपति पौडेलले उभौली पर्व २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले सबै समुदायका नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सांस्कृतिक ऐक्यबद्धताको भावना थप सुदृढ पार्न अभिप्रेरित गर्दै सभ्य, समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।       शुभकामना सन्देशमा भनिएको छ, “किरात समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।” वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँत समुदायले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृ पूजा गर्ने गर्दछन् ।       त्यसका साथै विभिन्न परम्परागत नृत्य गर्दै र मिष्ठान्न परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ । किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूमा यो पर्वलाई भव्यरूपमा मनाउने गरिन्छ । 

काठमाडौं:     शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।   प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।   बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।  यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो । उनान्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कनुभयो ।

काठमाडौं:       सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायत देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ। न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले बिहीबार उक्त आदेश गरेको हो। अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ। “नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी(परीक्षण भन्सार बिन्दुमा नै गरेर मात्र पैठारी गर्ने सम्बन्धी मिति २०७६-३-२ को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा भन्सार विन्दुहरूमा प्रयोगशाला स्थापना गर्नू”, आदेशमा भनिएको छ, “त्यसरी स्थापित प्रयोगशालामा सबै किसिमको विषादी परीक्षण हुनसक्ने अन्तर्राष्ट्रियस्तरको आधुनिक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउनू।” उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णुप्रसाद तिमल्सिनाले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि उक्त आदेश गरेको हो। “विषादीको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून एवं मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न के(कस्तो योजना बनेको छ रु कुनै योजना बनेको भए सो योजना कार्यान्वयनका लागि के(कस्तो तयारी भएको छ रु”, आदेशमा भनिएको छ, “योजना नबनेको भए आम उपभोक्ताले विषादी परीक्षण नगरी पैठारी गरिएका र अनियन्त्रित मात्रामा विषादी प्रयोग गरिएका तरकारी तथा फलफूल खान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गरी जनस्वास्थ्य र वातावरणमा गुणात्मक सुधार ल्याउन गर्नुपर्ने निर्णय तथा क्रियाकलापको सूचीसहित सम्बन्धित जिम्मेवार अधिकारीसमेत तोक्नुपर्ने देखिन्छ।” मानवको जीउ(ज्यान तथा स्वास्थ्य र वातावरणमा हानी पुर्‍याउने विषादीयुक्त वस्तुको बिक्री वितरणबाट सुरक्षित हुन पाउने नेपाली नागरिकको मौलिक हकको संरक्षणको सुनिश्चितताका लागि नेपालमा पैठारी हुने तरकारी तथा फलफूल विषादी परीक्षण गरेर मात्र पैठारी गर्ने भनी सूचना प्रकाशित भएको झन्डै चार वर्ष पुग्न लागेको छ। आदेशमा भनिएको छ, “यो अवधिमा के(कस्तो योजना तथा मापदण्ड बनी के(कसरी कार्यान्वयन भएको छ रु योजना कार्यान्वयनमा के(कति प्रगति भएको छ, अदालतमा त्यसको जवाफ पेस गर्नू।” स्पष्ट र कार्यान्वयनयोग्य कार्ययोजना बनाई यो आदेश प्राप्त भएको मितिले दुई महिनाभित्र अन्य विपक्षी एवं सरोकारवालाहरूसँग समेत आवश्यक समन्वय गर्नसमेत आदेशमा भनिएको छ। आदेशमा २०७६ साल असार २ को निर्णयबमोजिम पैठारी हुने तरकारी र ताजा फलफूलमा विषादीको अवशेष परीक्षण गरेर मात्र नेपाल भित्र्याइने भनी गरिएको निर्णय के(कति अवधिमा पूर्णरूपमा कार्यान्वयन हुने हो रु भनी सरकारलाई प्रश्न गरिएको छ।

काठमाडौं:    हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ ।       जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ । काठमाडौँको आकाशमा बिहानैदेखि बदली रहेको छ ।          दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागमा केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।   सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उक्त दिन अपराह्न ४ बजे आह्वान गरिएको छ।    प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा। भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।  वर्षे अधिवेशनका रूपमा रहेको यस अधिवेशनलाई बजेट अधिवेशनसमेत भनिन्छ । यो अधिवेशन प्रारम्भमै बजेटमाथि छलफल हुनेछ। यस अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आयव्ययको विवरण (बजेट) प्रस्तुत हुनेछ। अघिल्लो अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो ।

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गर्नुभएको छ । आज (बुधवार) राष्ट्रपति पौडेलले यो अध्यादेश जारी गर्नुभएको हो ।  मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो । त्यही अध्यादेशलाई राष्ट्रपतिले आज जारी गर्नुभएको हो ।

तनहुँ:    तनहुँको बन्दिपुर गाउँपालिका-५ आँधीखोला, याम्पामा ट्रक अनियन्त्रित भएर दुई घरमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।    पृथ्वीराजमार्ग अन्तर्गत पर्ने उक्त सडकखण्डमा बुधबार विहान ९:२० बजे अनियन्त्तित भएर घरमा ठोक्किएको प्रहरीको भनाइ छ । डुम्रेबाट मुग्लिनतर्फ जाँदैगरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना हुँदा घाइते भएको आठमध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा पैदल यात्रीहरु र सोही घरमा बस्ने तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । घाइतेहरुको तत्काल उद्धार गरी उपचारका लागि हाडजोर्नी अस्पताल आबुँखैरेनी तनहुँमा प्राथमिक उपचारका लागि लगिएको थियो । घाइतेहरुको थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएको उनले जानकारी दिए ।  बन्दीपुर वडा -१ स्थायी घर भई हाल सोही पालिकाको वडा-५ निवासी, वर्ष १२ को आयुस भुजेल, वर्ष ६ कि आयुसा भुजेल, बर्ष ५० को चेतबहादुर घर्ती, वर्ष ५५ को सनबहादुर भुजेलको मृत्यु भएको प्रनाउ खाणले जानकारी दिए । सोही ठाउँका वर्ष १० कि जस्मिन भुजेल, वर्ष १० को ईश्वर भुजेल, वर्ष ८ को समिर भुजेल, वर्ष ५ को सन्तोष भुजेल घाइते भएका छन् ।    पृथ्वीराजमार्ग चार घन्टापछि पुनः सञ्चालनमा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घन्टापछि पुनः सञ्चालनमा आएको छ ।  बुधबार बिहान १० बजेदेखि अवरुद्ध रहेको याम्पा-आँबुखैरेनी सडकखण्ड दिउँसोबाट सञ्चालन भएको हो ।  सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजनमा बसेको घाइतेका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले घाइतेलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपश्चात् राजमार्ग सञ्चालन भएको हो ।   

दार्चुला:    दार्चुलाको व्यास गाउँपालिका-१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ ।  मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो । पाँच जना सम्पर्कविहीन भएका थिए । दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाई किलोमिटर तल हिउँभन्दा बाहिर मृत अवस्थामा तीन शव भेटिएको जानकारी दिनुभयो । “शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ ।” उहाँले भन्नुभयो, “शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन ।” मङ्गलबार दिउँसोबाट सशस्त्र प्रहरीको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो । “हिजो पनि राति ९:३० बजेसम्म खोजीमा जुट्यौँ ” उहाँले भन्नुभयो, “ आज पनि बिहानबाट टोली खटिएको छ ।” उहाँका अनुसार सो क्षेत्रमा यार्सा सङ्कलकहरू त्रिपालमा बसिरहेका थिए ।

बलेवा:    कक्षा कोठामा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा यहाँका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  बागलुङ नगरपालिका–७ स्थित सरस्वती प्राथमिक विद्यालयको कक्षा ३ मा अध्यनरत आठ वर्षीय आविष्कार विकलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका शिक्षक केशवराज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यही वैशाख १७ गते आइतबार विकलाई निज शिक्षकले कुटेको भन्दै पीडित पक्षले बागलुङ नगरपालिका–७ छरिखोला निवासी गौतमविरुद्ध १९ गते साँझ प्रहरीमा निवेदन दिएका थिए ।  पीडितको निवेदनपछि शिक्षकलाई नियन्त्रणमा लिएर दुवैपक्ष बीचमा छलफल गराइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताउनुभयो । शिक्षक गौतमले विद्यार्थीले पानी पिउँदा धारामा लगाइएको सकेट हराएको आरोप लगाउँदै कुटपिट गरेका थिए । कुटपिटबाट बालकको निधारमा गहिरो चोट लागेको छ । वैशाख १६ गते शनिबार विद्यालयको धारामा पानी पिउँदा शिक्षक गौतमको घरतर्फ लैजाने पानीको पाइमा लगाउँदै आएको सकेट हराएको भन्दै आइतबार कक्षाकोठामै ती विद्यार्थीलाई कुट्दा उनको टाउँकोमा चोट लागेको पीडित पक्षको आरोप थियो ।  यस विषयमा मङ्गलबार दिउँसो बागलुङ नगरपालिकाको नगर शिक्षा शाखामा शिक्षक र पीडित पक्षबीच छलफल भएको थियो । शिक्षकले गल्ती स्वीकार गर्दै पीडित पक्षसँग माफी मागेको, क्षतिपूर्तिसँगै सम्पूर्ण उपचार खर्च व्यहोर्ने र गौतमलाई सो विद्यालयबाट अन्यत्र सरुवा गर्ने निर्णय भएपनि पीडित पक्षले अस्विकार गर्दै प्रहरीमा जाने निर्णय गरेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।  पीडित पक्षको निवेदनपछि आरोपित शिक्षकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । बालकलाई  वैशाख १८ गते बागलुङस्थित धौलागिरि अस्पतालमा उपचार गरिएको  थियो ।