पोखरा: बागलुङको गलकोट नगरपालिका १० स्थायी घर भएकी तारा सुनार पोखराबाट बेपत्ता भएकी छिन् । पोखरामा उपचारमा लागि आएकी तारा पोखरा १२ शितलदेवीबाट हराएकी हुन् । गत वैशाख ११ गते अस्पतालबाट फर्कने क्रममा पोखराबाट हराएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा १ बगरमा बहिनीसँग बस्दै आएकी तारा अस्पतालबाट फर्कने क्रममा हराएपछि खोजी गरिदिन परिवारले आग्रह समेत गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको छ। आइतबार दिउँसो सिंहदरबारमा किसान संगठनका प्रतिनिधिसँगको संयुक्त भेटमा प्रधानमन्त्रीले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोहीअनुसार तयारी गरिरहेको बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ। यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ। तपाईंहरूले दिनुभएको ध्यानाकर्षण पत्रले पनि सरकारलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने ठानेको छु। उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।’’ प्रधानमन्त्री प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन किसान आन्दोलनको जगमा उभिएको बताउनुभएको छ। प्रजातान्त्रिक आन्दोलनको जग पनि किसान आन्दोलन भएको उहाँले भनाइ छ। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘आजको परिस्थितिमा उत्पादन पद्धतिमा फेरबदल आएको छ। वैदेशिक रोजगारीले कृषिप्रतिको आकर्षक घटेको छ। तर, आज पनि अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि नै हो। यसलाई व्यवस्थित गर्नेतर्फ मेरो जोड छ।’’ सरकारले चार महिनामा राम्रो काम गरे पनि कतिपयले त्यो नदेखेको गुनासोसमेत प्रधानमन्त्रीले गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘चार महिनामा निकै राम्रा काम भएका छन्। लक्ष्यअनुसार नभए पनि राजस्व संकलनमा राम्रो सुधार आएको छ। विदेशी मुद्राको वञ्चिति उत्साहवर्द्धक रूपमा बढेको छ। पर्यटक आउने क्रममा सुधार आएको छ। अर्थतन्त्रका अधिकांश सूचकमा सकारात्मक सुधार आएको छ। म सम्पूर्ण रूपले अर्थतन्त्रमा सुधार ल्याउन छलफल र अन्तरक्रियामा छु। केही समयमा सकारात्मक नतिजा देखिन्छ ।’’ लघुवित्त र सहकारीलाई श्रम र उत्पादनमा केन्द्रित गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘‘लघुवित्त र सहकारी वित्तीय कारोबारमा संलग्न हुँदा एकातर्फ वित्तीय अराजकता र नियमनमा समस्या देखिएको छ, अर्कोतर्फ उत्पादनको क्षेत्र ओझेल परेको छ। यिनीहरूलाई श्रम र उत्पादनको क्षेत्रमा केन्द्रित गर्नुपर्छ। नीतिमा नै आवश्यक व्यवस्था गरेर यससम्बन्धी समस्या समाधान गर्छौं।’’ किसान संगठनमा आवद्ध किसान मोर्चाका नेताहरूले कृषि क्षेत्रलाई प्राथमिकता र किसानको सम्मानमा सरकारले ध्यान दिनुपर्ने बताउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पेश गर्नुभएको छ।
काठमाडौं: भारतमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेल आज नेपाल फर्किनुहुने भएको छ । वैशाख ६ गते उपचारका लागि भारत जानुभएका पौडेल आज दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट डिस्चार्जपछि स्वदेश फर्किन लाग्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार उहाँ आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किन लाग्नु भएको हो । प्रवक्ता आचार्यले राष्ट्रपतिलाई चिकित्सकले केही हप्ता आराम गर्न सुझाव दिएको जानकारी दिनुभयो ।
पोखरा: नेपाल भेटेरिनरी एशोसिएशन गण्डकी प्रदेशले विश्व भेटेरिनरी दिवस २०२३ को अवसर पारी पोखरा जुलोजिकल पार्क वन्यजन्तु उद्धार केन्द्रको अवलोकन संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दिवसको अवसर पारी एशोसिएशनले पशु चिकित्सा पेशामा विविधता, समानता र समावेशीताको प्रवद्र्धन भन्ने मुल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा बोल्दै नेपाल सरकार पशु सेवा विभागका उप महानिर्देशक डा. प्रेरणा सेढाइ भट्टराइले भेटेरिनरीमा आवद्ध चिकित्सिकहरुले पेशागत रुपमा विविध क्षेत्रमा काम गर्दै आइरहदा भेटेरिनरी दिवस २०२३ को अवसर पारी बन्यजन्तुको क्षेत्रलाई समेत समेटेर अगाडी लैजान खोजेकोमा धन्यवाद ब्यक्त गरे । संधै घरपालुवा जनवारको क्षेत्रमा काम गर्दै आइरहेको चिकित्सकहरुले वन्यजन्तुको क्षेत्रमा समेत अगाडी बढिरहँदा उनीहरुले आफ्नो क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने बताउदै भट्टराइले पोखरामा निर्माणाधिन जुलोजिकल पार्कको प्रवद्र्धनमा समेत कार्यक्रमले टेवा पु¥याउने बताइन । त्यस्तै पोखरा जुलोजिकल पार्कका भेटेरिनरी अफिसर डाक्टर किशोर आचार्यले पोखरामा निर्माणाधिन जुलोजिकल पार्कमा आएर नेपाल भेटेरिनरी एशोसिएशन गण्डकी प्रदेशले अवलोकन संगै कार्यक्रम गरी त्यहां रहेका जीवजन्तुको बारेमा जानकारी लिएकोमा धन्यवाद ब्यक्त गरे । गण्डकी प्रदेशमा घाइते अवस्थामा फेला परेका वन्यजन्तुलाई उद्धार गरी राखिएको पोखरा जुलोजिकल पार्कलाई लक्षित गरी एशोसिएशनले प्रदान गरेको औषधीजन्य सामाग्रीले त्यहां रहेका घाइते वन्यजन्तुलाई राहत पुग्ने उनको भनाइ रहेको थियो । पोखरामा रहेको युनाइटेड क्लबको पहलमा २०७२ सालमा सिलन्यास भइ सुरु भएको जुलोजिकल पार्कमा हाल २२ प्रजातिका वन्यजन्तु रहेको बताउदै आचार्यले उद्धार गरी ल्याइएका वन्यजन्तुलाई उपचार पछि खुल्ला वासस्थानमा छोडिने गरेको बताए । यसैगरी जुलोजिलक पार्कलाई अध्ययन केन्द्र बनाइ लोप हुन लागेको वन्यजन्तुको प्रजनन केन्द्रको रुपमा समेत जुलोजिकल पार्कलाई लक्षिगरिएको आचार्यले बताए । आगामी आर्थिक वर्षमा उक्त क्षेत्रमा बाघ र भालु समेत ल्याएर राख्ने योजनामा आफुहरु रहेको उनको भनाइ रहेको थियो । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापमा कार्यरत भेटेरिनरी डाक्टर सुरेश नेपालीले घरपालुवा जनवारको मात्र नभइ वन्यजन्तुको संरक्षणमा भेटेरिनरीयनहरु लाग्नुपर्नेमा जोड दिए । घरपालुवा भन्दापनि पछिल्लो समय मानिस र जंगली जनावर बीच द्धन्द्ध बढेका कारण बन्यजन्तुहरु घाइते अवस्थामा भेटिने क्रम बढ्दो रुपमा रहेको बताउदै नेपालीले त्यसतर्फ सम्पूर्ण भेटेरिनरीयनहरु लागेको खण्डमा समयमानै जन्यजन्तुको उद्धार हुन सक्ने बताए । वन्यजन्तुकै माध्यमबाट घरपालुवा जनवारहरुमा विभिन्न सरुवा रोगहरु आउने भएकाले वन्यजन्तुको संक्रमणबाट घरपालुवा जनवारलाई जोगाउनुपर्ने उनको भनाइ रहेको थियो । नेपाल भेटेरिनरी एशोसियसन गण्डकी प्रदेशका अध्यक्ष डाक्टर राजेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष डाक्टर भाजुराम महतोले स्वागत मन्तब्य राखेका थिएभने संस्थाका सचिज डाक्टर अविनाश भट्टराइले कार्यक्रमको सञ्चालन गरेका थिए । सो अवसरमा नेपाल भेटेरिनरी एशोसियसनमा आवद्ध सदस्यहरुलाई पोखरा जुलोजिकल पार्कका भेटेरिनरी अफिसर डाक्टर किशोर आचार्यले वन्यजन्तु उद्धारको वेलामा प्रयोग गरिने डार्ट गनको प्रयोगको वारेमा प्रयोगात्मक प्रशिक्षण समेत प्रदान गरिएको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ डेभिजफलमा गुप्तेश्वर महादेव गुफा र छोरेपाटन मावि पार्किङ ब्यबस्थापन समितिद्धारा नवनिर्मित सार्वजनिक शौचालयको पोखरा– १७ की वडा अध्यक्ष राधिका शाही योगीले उद्घाटन गरेकी छिन् । वडा अध्यक्ष योगी शौचालयको उद्घाटन गर्दै कर्मचारी राखेर शौचालयको नियमित सरसफाइ गर्न, पार्किङको सौन्दर्यकरणमा विशेष ध्यान दिन, पÞmोहोरको व्यवस्थापन, पर्यटकको लागि चमेना गृह, कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बताईन । निवर्तमान वडा अध्यक्ष तिर्थराज अधिकारीले अध्ययन गरेर परियोजना अनुरुप काम गर्न अनुरोध गर्दै देशविदेशका पर्यटक आउने भएकोले वगैंचा सहितको नमुना पार्किङ बनाउन सुझाव दिए । त्यसै गरी गुप्तेश्वर महादेव गुफा ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोला, छोरेपाटन माबी ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण लम्साल, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस ब्यबस्थापन समिति अध्यक्ष श्रीराम सुवेदी लगाएतले बोलेका थिए । समितिका सदस्य इश्वरी प्रसाद लम्सालले शौचालय निर्माणको आयव्यय प्रस्तुत गर्दै ३५ लाख खर्च भएको बताउँदै उक्त शौचालय निर्माणको लागि मुख्य गरी छोरेपाटन मावि, गुप्तेश्वर महादेव गुफा र वडा कार्यालयबाट आर्थिक सहयोग प्राप्त भएको बताए । समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समितिका सदस्य युवराज लामिछाने (युवक) र संचालन हरिप्रसाद लम्सालले गरेका थिए ।
काठमाडौं: प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएको थियो । पितृ आज्ञा पालना गर्न राम वनवास जाँदा सँगै जानुभएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको कथा पुराणमा उल्लेख छ । रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रुपमा सम्झना गरिन्छ । अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाइ अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । अयोध्यामा आएका लव, कुशले रामायणको कथा एवं सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो । दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरे पनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप हुनुभएको वर्णन वैदिक ग्रन्थमा गरिएको छ । प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागे पनि उहाँ धर्तीको कोखमा लुप्त हुनुभएको प्रसङ्ग रामायणलगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ । यसरी माटोबाट उत्पत्ति हुनुभएकी सीता माटोमै लुप्त हुनुभएको थियो । सीता उत्पत्ति हुनुभएको भए पनि आजको दिनलाई सीता जयन्तीका रुपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ । सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूतिका रुपमा सम्मान दिएको छ ।
काठमाडौं: सङ्घीय संसदको चालु अधिवेशन आज (शुक्रबार) राति १२ बजेबाट अन्त्य हुने भएको छ। सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिनुभयो। सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार संघीय संसदको चालु अधिवेशन आज राति १२ बजेपछि अन्त्य हुनेछ। चालु अधिवेशन २०७९ पुस २५ गतेबाट सुरु भएको थियो। आगामी जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले चालु दुवै अधिवेशन अन्त्य गरिएको हो। केही दिनभित्रै बजेट अधिवेशनका रुपमा सङ्घीय संसदको बजेट अधिवेशन आह्वान हुनेछ। कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले दुवै अधिवेशन अन्त्य भएको जनकारी पत्रमार्फत् सभामुखलाई जानकारी गराउनुभएको हो ।
काठमाडौं: वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित दुईजना प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथग्रहण गरेका छन् । चितवन-२ बाट निर्वाचित लामिछाने र तनहुँ-१ बाट निर्वाचित वाग्लेले आज (शुक्रबार) शपथग्रहण गरेका हुन् । निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराए । बारा-२ बाट निर्वाचित उपेन्द्र यादवको शपथग्रहण भने आज हुन सकेन । गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो । साथै बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि र चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले उपनिर्वाचन भएको थियो । उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिएका हुन ।
संघीय सरकारको ढुकुटी रित्तिदै गएपछि स्थानीय तह र प्रदेशमा पठाउनुपर्ने बजेटमा ५० प्रतिशत कटौती हुने भएको छ । सरकारले वैशाख २ गते पठाउनुपर्ने अन्तिम किस्ता (चौथो किस्ता) बापतको रकम ५० प्रतिशतसम्म कटौती गरेको छ । यो रकम वैशाख १५ गते भइसक्दा पनि हालसम्म पठाएको छैन । यो अनुदान कटौतीपछि प्रदेशमा ९ अर्ब ९३ करोड ६८ लाख रूपैयाँ र स्थानीय तहमा १३ अर्ब २० करोड १५ लाख रूपैयाँमात्र हस्तान्तरण हुने अर्थमन्त्रालयले जनाएको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनअनुसार विभिन्न अनुदान प्रदेश तथा स्थानीयत तहमा हस्तान्तरण हुने व्यवस्था छ । सरकारले अहिले समानीकरण, समपुरक, विशेष र सशर्त गरी ४ किसिमको अनुदान दिँदै आएको छ । यो अनुदानको रकम वार्षिक बजेटमै व्यवस्था गरिदै आएको छ । यो वर्ष संघीय सरकारको राजस्व निकै प्रभावित बनेको छ । तर, अनिवार्य दायित्व भने निरन्तर बढ्दै जाँदा सरकारी कोषको घाटा फराकिलो हुँदैछ ।

