काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

काठमाडौं:  संघीय संसद अन्तर्गत दुबै सदनको बैठक आज बस्दै छ।   संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक र प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ।    राष्ट्रिय सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/२०७९ र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बत्तिसौं प्रतिवेदन, २०७८÷०७९ पेस गर्ने कार्यसूची रहेको छ।    त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।    प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन  २०७८÷०७९ पेस गर्ने कार्यसूची छ।    त्यस्तै  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक  २०७८ मापत विचार गरियोस्,’ भनी प्रस्ताव पेस गर्ने कार्यसूची छ। 

सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।   आइतबार एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।   नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा तोकिएको छ।    आइतबार युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३१ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो  १८ पैसा घटेको हो।   त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६२ रुपैयाँ २९ पैसा र बिक्रीमा १६३ रुपैयाँ ३ पैसा पाइन्छ।   आइतबार पाउण्ड एकको खरिददर आज १६२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तोकिएको थियो।   त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ १८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९७ रुपैयाँ २१ पैसा पाइन्छ।   यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ६९ पैसा र बिक्रीमा २९ रुपैयाँ ८३ पैसा पाइन्छ।   सोमबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३२ पैसा तोकिएको छ।

काठमाडौं :  सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।    गत कारोबार दिन अर्थात् आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला सात सय रुपैयाँ घटेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।    आइतबार छापावाल सुन प्रतितोला एक लाख दश हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।     त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।  आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा किनबेच भएको थियो।   आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सप्तरी : सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्।   पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को १५ प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको मृत्यु भएको हो।  मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका छन्।    घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए। घाइते ध्रुवको उपचार भइरहेको छ।   पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३ च ५२९३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।  इलाका प्रहरी कार्यालय कल्याणपुरले कारका चालकलाई नियन्त्रणमा लिएको छ।

काठमाडौं:  कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ।   मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार एमालेका तीन जना मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन्।   आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज प्रछाई र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा बुझाएका हुन्।   बदलिएको राजनीतिक परिस्थितिमा मुख्यमन्त्रीलाई काम गर्न सहजताका लागि आफूहरूले राजीनामा दिएको उनीहरूको भनाइ छ।   यसअघि चैत १७ मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिँदा एमालेले उनलाई विश्वासको मत दिएको थियो।

काठमाडौं:  हाम्रोबजार डट कम अनलाइन वेबसाइटमा आइफोनको विज्ञापन राखेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी रविन्द्र रेग्मीले जानकारी दिए।    हुम्ला सिमिकोट गाउँपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २४ वर्षीय उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो।    उनले हाम्रोबजार डट कम नामको अनलाइन वेबसाइटमा आइफोन १४ प्रो म्याक्स जस्ता महंगा मोबाइल सेटलाई सस्तोमा दिने भन्दै विज्ञापन हालेका थिए।   मोबाइलको डेलिभरी, कुरियर चार्ज जस्ता विभिन्न प्रयोजनको लागि रकम लाग्छ भनी विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाता, इसेवा, खल्ती वालेटहरूमा रकम पठाउन लगाएको एसपी रेग्मीले बताए।    त्यसरी रकम लिएपछि सम्पर्कबिहीन भएको भन्दै जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले पीडितबाट एक लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।   ठगी कसूरमा अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी परिसर टेकूमा पठाएको छ।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक कोटामा सांसद बनेका ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे ध्यानाकर्षण भएको जनाएको छ।   रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति ध्यानाकर्षण भएको जनाएको हो।   रास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचारण समितिलाई निर्देशन दिएको छ।   स्वास्थ्य मन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई छानबिन पूरा नहुन्जेलसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यको हैसियतले कुनै पनि काम नगर्न  निर्देशन दिएको छ।   केन्द्रीय अनुशासन तथा आचारण समितिले सो अडियो प्रकरणबारे २४  घन्टाभित्र स्पष्टिकरण पेश गर्न श्रेष्ठलाई निर्देशन दिएको छ।    रास्वपाले घुस मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ । पार्टीको आइतबार बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरि निलम्बन गर्ने निर्णय गरेको हो ।   सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्र बन्न व्यापारी प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको छ।

काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक  दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २८.३१ अंकले घटेर १८३८.४८ विन्दुमा पुगेको छ।   आज २६८ वटा कम्पनीको ३८ लाख ४३ हजार सात सय १३ कित्ता सेयर  १ अर्ब १५ करोड ९४ लाख ४८ हजार बराबरको कारोबार भयो।  आज सबै उपसमूहको उपसूचक राताम्मे देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा उपसमूह १७९ दशमलव ९४ र निर्जीवन बीमा समूह १५३ दशमलव ३६ अंकले घटेको छ ।     बैंकिङ समूह १५.११,विकास बैंक समूह ६१ .५२,वित्त समूह २७.७३, होटल तथा पर्यटन समूह ४३.०४ र जलविद्युत् समूह ५७ .९० अङ्कले घटेको छ । त्यस्तै लगानी समूह  ०.६६,उत्पादन तथा प्रशोधन समूह ४९. ८१, लघुवित्त ४४. ३५,म्युचुअल फन्ड ०.१०,अन्य समूहको १७.३ र व्यापार समूहको २७.३३ अङ्कले घटेको हो ।   आजको कारोबारमा कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट माछापुच्छ्रे बैंक डिबेन्चर–२०८५ को सेयरमूल्य ७ .७५ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै नविल बैंक लिमिटेडको ५ करोड ७८ लाख ५५ हजार र शिवम् सिमेन्ट  लिमिटेडको ५ करोड ७८ लाख ३७ हजार बराबरको सेयर कारोबार भयो ।   कारोबार भएको सेयर सङ्ख्याका आधारमा भने ग्लोबल बैंक लिमिटेडको प्रमोटर सेयर २ लाख २३ हजार चार सय ३७ कित्ता खरिद बिक्री भएको छ। 

म्याग्दी: म्याग्दीमा शिक्षण पेसाप्रति महिलाको आकर्षण बढेको छ । शनिबार प्राथमिक तहमा एक सय जना शिक्षकले स्थायी नियुक्त पत्र लिँदा ४८ जना महिलाले स्थायी नियुक्ति पत्र लिएका छन् । महिलाका लागि अन्य सरकारी सेवाभन्दा शिक्षा सेवा सहज र सुरक्षित भएकाले यो पेसा रोजाइमा परेको हो  ।    पुरुषहरूको पहिलो रोजाइ वैदेशिक रोजगारी र निजामती सेवातर्फ भएकाले महिलाहरूलाई शिक्षा सेवामा प्रवेश गर्न सहज भएको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले बताउनुभयो । धेरै जसो घरपायक पर्ने भएकाले पनि महिलाहरूलाई सहज हुने उहाँको भनाइ छ ।    "शिक्षक सेवाको परीक्षामा ४८ प्रतिशत महिला उत्तीर्ण हुन सफल हुनुभएको छ यो सकारात्मक पक्ष हो," हिकाई प्रमुख थापाले भन्नुभयो, "पछिल्लो समय स्थानीय स्तरमा करार र राहत कोटामा शिक्षक भर्ना हुँदा पनि महिला नै छनौटै हुने गरेका छन् । शिक्षक सेवाको परीक्षामा पनि महिला र पुरुष करिब बराबरी सङ्ख्यामा उत्तीर्ण हुनुले शिक्षा सेवामा महिलाको आकर्षण बढेको देखाउँछ ।"   यसले शिक्षा सेवालाई समावेशी बनाउँदै शैक्षिक गुणस्तरमा पनि वृद्धि हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । म्याग्दीमा युवाहरू प्रायजसो वैदेशिक रोजगारीमा जाने भएकाले पनि शिक्षा सेवामा महिलाहरूको आकर्षण बढेको उहाँ बताउनुहुन्छ । अन्य सरकारी सेवाभन्दा शिक्षक सेवा आफ्नो पहिलो रोजाइ भएको नियुक्ति पत्र बुझ्न आउनुभएकी रघुगंगा गाउँपालिका ३ मौवाफाँटकी उर्मिला रेग्मी खत्रीले बताउनुभयो । महिलाका लागि शिक्षक पेसा सुरक्षित र सहज भएको अनुभव गरेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, "मैले विगत ४ वर्षदेखि करार शिक्षकका रूपमा विद्यालयमा अध्ययन गराइराखेकी छु । शिक्षक पेसा अन्य सरकारी सेवा भन्दा सहज भएको अनुभूति गरेको छु।"   शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परीक्षा उत्तीर्ण गरेका प्राथमिक तहका एक सय जनालाई शनिवार एक कार्यक्रमकाबीच नियुक्ति पत्र प्रदानसँगै शपथ ग्रहण गराइएको थियो । शिक्षा विकास तथा समन्वय हिकाई म्याग्दीले नवनियुक्त स्थायी शिक्षकहरूलाई एक समारोहकाबीच नियुक्ति पत्र प्रदान गरेको हो ।    यस वर्ष शिक्षक सेवा आयोगले लिएको तीन चरणकै परीक्षामा उत्तीर्ण भएर म्याग्दीमा प्राथमिक तहमा एक सय जना, निमाविमा ३२ र मावि तहमा १३ जना शिक्षक स्थायी हुन सफल भएका छन् । म्याग्दीमा प्रावि तहमा एक सय २६, निमाविमा ५९ र माविमा २६ जनाको कोटा निर्धारण गरिएको थियो । तीन वटै तहमा माग भएको कोटाभन्दा कम सङ्ख्यामा सिफारिस भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख थापाले बताउनुभयो ।