काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

महेन्द्रनगर  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।   महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री महेन्द्रनगर आउन लागेका हुन।   सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा १७९ विद्यार्थी दीक्षित हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जानकारी दिए।   दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री अशोककुमार राईलगायतको सहभागिता रहने छ।  विश्वविद्यालयबाट पासआउट  भएका ८५५ जना विद्यार्थीमध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी हुने उपकुलपति जोशीले बताए।

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरूद्ध जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज हुने भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको एकल इजसालमा मुद्दाको पेशी तोकिएको छ।   यसअघि गत बुधबार लामिछाने विरुद्ध मुद्दा 'हेर्न नभ्याइने'मा राखिएको थियो। सो दिन मुद्दाको पेशी काठमाडौं न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको थियो।   यसअघि चैत्र १३ गते मुद्दाको पेशी तोकिएपनि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलास परेपछि सुनुवाइ स्थगित भएको  थियो। सन्दीपलाई थुनुमा पठाउने आदेश दिएका न्यायाधीश घिमिरेको इजलासमा मुद्दाको पेशी परेपछि  सुनुवाइ स्थगित गर्न सन्दीप पक्षका कानुन व्यवसायीले निवदेन दिएपछि स्थगित भएको थियो।   न्यायाधीश घिमिरेले नै गत कार्त्तिक १८ गते सन्दीपलाई मुद्दामा पुर्पक्षाका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर,पछि पाटन अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको  थियो।   यसअघि  सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान अनुमति दिएको थियो। सर्वोच्चको आदेश लगत्तै उनी दुबईमा क्रिकेट खेलेर फर्किएका थिए।

पोखरा:    नयाँ बर्षको अबसर पारेर पोखरामा हुने फेसन डिजाइनर कन्टेष्ट तथा फेसन शो कार्यक्रमको तयारी पूरा भएको छ।  वाऊ इभेन्ट्सको आयोजना एवम् वाऊ फेसन स्कुलको समन्वयमा पोखराको लेकसाइड स्थित त्रिपुरा लाउन्ज एण्ड बारमा चैत्र ३० गते हुने कन्टेष्ट तथा फेसन शो कार्यक्रमको तयारी पुरा भएको संयोजक रबिन गरुङले जानकारी दिए। फेसन शो कार्यक्रममा चर्चित कलाकार तथा नायक अनुप बिक्रम शाही, नायिका तथा मोडल आना शर्मा र फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धरले पनि सहभागी जनाउने वाऊ फेसन स्कुलकी सञ्चालक तारा गुरुङले बताइन। फेसन प्रति लगाव हुनेहरुको प्रतिभा प्रष्फुटन गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको  वाऊ फेसन स्कुलको सञ्चालक समते रहेका गुरुङले बताए। उनका अनुसार फेसन शो कार्यक्रम समाजमा समस्यामा परेका आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सहयोग पुग्ने उदेश्यका साथ आयोजना गरिएको हो। कार्यक्रम पश्चात् वाउ स्कुलले १० जना महिलालाई निशुल्क फेसन डिजाइन अध्यन गराउने पनि गरुङले बताए ।   फरक खालको थिममा पोखरामा नै पहिलोपटक हुन् लागेको फेसन सो कार्यक्रममा फेसन डिजाइनमा अध्यनरत डिजाइनरहरु काठमाडौं, पोखरा, धरान, इटहरी, बाग्लुङ लगायतबाट ९० जना फेसन बिधार्थी बीच डिजाइनर प्रधिस्पर्धा हुनेछ। फेसन सो कार्यक्रममा डिजाइनर प्रतियोगिता बिधामास् डिजाइनर अफ द इयर पोखरा, काठमाडौं, धरान, इटहरी, बाग्लुङ लगायतको बिधामा अवार्ड प्राप्त गर्ने कार्यक्रम संयोजक गुरुङले बताए । कार्यक्रममा शोको विभिन्न कन्सेप्ट अनुसार फ्ल्यास ब्याग, फ्युचर स्ट्रिक, बाइडल, स्पिरिङ्ग, समर र एथोनिक थिममा १८ जना मोडलहरुलाई प्रस्तुत गरिने फेसन शो कार्यक्रमका कोरियोग्राफर जयन्ती मोक्तानले जानकारी गराइन। यस्ता खालका फेसन शोले मोडल एवम् डिजाइनरको बिकासलाई पनि सहयोग पुग्ने र भोलीका दिनमा उनीहरुलाई अगाडी बढ्न आत्मविश्वासमा सकारात्मक भुमिका खेल्ने भएकाले आफुहरुले कार्यक्रमको आयोजना गरेको मोक्तानले बताइन् ।

पोखरा:    नयाँ वर्षमा खपौदीमा मेलाको आयोजना गरिने भएको छ । फेवा पर्यटन विकास समितिले नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर ‘फस्ट खपौदी कार्नीवल’ नाम दिएर मेला गर्न लागेको हो ।   शनिबार चलचित्र पत्रकार संघ कास्कीको समन्वयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै फेवा पर्यटन विकास समितिका अध्यक्ष अर्जुन सुवेदीले चैत ३० र बैसाख १ गते दुई दिने मेलाको आयोजना गरिएको जानकारी गराए । मेला पहिले प्याराग्लाइडिङ ल्याण्डिङ हुने स्थानमा हुनेछ । ‘हामीले नेपाली नयाँ वर्षको अवसर पारेर ‘फस्ट खपौदी कार्नीवल’ नाम दिएर मेलाको आयोजना गर्न लागेका हौं । फेवा पर्यटन विकास समिति पाँच वर्षदेखि क्रियाशील संस्था भएता पनि कार्यक्रम भने पहिलो हो ।’,उनले भने ।  उनले मेला चैत ३० गते साँझबाट अनौपचारिक रुपमा सुरु गरिने र बैसाख १ गते नै औपचारिकता गर्ने गरी तयारी गरिएको बताए । फेवातालको उत्तर तर्फको गैह्राचौतारा देखि चंखपुर पामे सम्मको क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षण केन्द्रविन्दु भएका कारण पर्यटकहरुलाई नै आकर्षित गर्ने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको उनले उल्लेख गरे ।  मेलामा स्थानीय नौमती बजा सहित विभिन्न समुदायको झाँकीहरु प्रदर्शन गरिनेछ । ख्याती प्राप्त कलाकारद्वारा दुई दिन नै सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक अल्फान्जो रिर्सोटका संचालक सुभाष भट्टराईले जानकारी दिए । उनले उक्त कार्यक्रममा लाइभ ब्याण्ड र डिजे सेसन पनि रहने उल्लेख गरे । खानाका विभिन्न स्टलहरु मेलामा रहनेछन् । स्थानीय माछा तथा कृषि उत्पादनको प्रदर्शन सहित डुङ्गा दौड लगायतका खेलकुदका कार्यक्रमहरुलाई पनि प्राथामिकतामा राखिएको भट्टराईले बताए ।  फेवा पर्यटन विकास समितिमा हाल एक सय भन्दा बढी व्यवसायीहरु आबद्ध छन् । कोभिड महामारीको कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्न समितिले यसअघि सानातिना सामाजिक र व्यवसायिक कार्यक्रम गर्दै आएको छ । कोभिड पछि अर्थतन्त्रमा सुधार नहुँदा यस्ता मेला महोत्सव मार्फत अर्थतन्त्र चलायमान बनाउन मदत पुग्ने विश्वास आयोजकको छ ।  कार्यक्रमलाई सफल पार्न २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । मेला अवधिभर २० हजार भन्दा बढी दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । प्रवेश निशुल्क हुँदा पनि मेलाले सफलता प्राप्त गर्ने दाबी आयोजकको छ । सोहि समयमा पोखरामा फेवा नयाँ वर्ष महोत्सवको आयोजना गरिएता पनि आफुहरु भने उक्त कार्यक्रमको समेत समर्थनमा रहेको अध्यक्ष सुवेदीले बताए ।  हानले वर्षेनी गर्दै आएको फेवा नव वर्ष महोत्सवमा आफुहरुलाई समावेश नगरिएता पनि फेवा पर्यटन विकास समिति भने उक्त महोत्सवलाई समेत सफल बनाउन लागिपर्ने भनाई उनको छ । ‘खपौदी कार्नीवल’ बाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा फाइदा फेवा नव वर्ष महोत्सवलाई समेत हुने उनले बताए ।   

काठमाडौं:   गैरआवसीय नेपाली संघ एनआरएनए जापानको अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । एनआरएनए जापानको आसन्न नेतृत्वका लागि श्रेष्ठले उम्मेदवारी दिने पक्का भएको हो ।  विगत १५ वर्षदेखि जापान रहेर व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । बाग्लुङ समाज जापानको अध्यक्ष भैसकेका श्रेष्ठ एनआरएनए जापानको सल्लाहकार, मानर्थ सदस्य, प्रवक्ता हुदै अहिले महासचिव पदमा कार्यरत छन् ।  एनआरएनको अन्तराष्ट्रिय अभियानमा श्रेष्ठ सुशासनको क्षेत्रमा काम गर्ने नेताको रुपमा चिनिन्छन् । प्रवक्ता रहदा एनआरएनए जापानमा भएको करोडौ भ्रष्टाचारबिरूद्ध उनले आवाज उठाएका थिए । सो भ्रष्टाचारको घटना सार्वजनिक गरेपछि सत्य तथ्य पत्ता लगाउन संस्थापक अध्यक्ष राजन प्रधाङ्गनको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन भएको थियो । सो समितिले झन्डै दुई करोड़ भन्दा माथिको रकम अनियमिता भएको प्रतिवेदन सार्वजनीक गरेको थियो ।  श्रेष्ठलाई एनआरएनए जापानको नयाँ नेतृत्वका लागि दाबेदार मानिदै आएको थियो । उनले आसन्न नेतृत्वका लागि उम्मेदवारी दिने पक्का गरेका हुन् । बाग्लुङ स्थायी घर भएका श्रेष्ठ तेक्वान्दोका राष्ट्रिय स्तरका खेलाडी समेत हुन् । 

काठमाडौं:     काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले संहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका हुन्।  ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ मेयर बालेनले फेसबुकमा लेखेका छन्। 

पोखरा:    पोखरा महानगरपालिका वडानम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले मापदण्ड मिचेर संरचना बनाए भत्काइदिने चेतावनी दिएका छन् ।  हवेली मार्ग हुदै मान्द्रेढुङ्गा जाने ढलान बाटोको शुक्रबार उद्याटन गदै वडाध्यक्ष कार्कीले कानुन विपरीत काम गरेमा खरो रुपमा उत्रने चेतावनी दिएका हुन् । जनताको दुखःसुखमा सथै छु, समस्या लिएर आउनुहोस् आफ्ना वडावासीहरुलाई सहज रुपमा फछ्यौट गर्छु, तर सार्वजनिक सम्पतीमा हुने हस्तक्षप र मिचाह प्रबृतीविरुद्ध निर्मम भएर काम गर्छु, कार्कीले भने ।   भित्री सडक मर्मत र विस्तारका क्रममा सडक हडपेको पाइएकाले डोजर लिएर आउनुपर्ने अवस्था सृजना नगर्न आग्रह गरे । घर बनाउदा मापदण्ड मिच्ने, कम्पाउण्ड र गेट बनाउने गरेको भन्दै कार्कीले नक्सा पास गर्ने बेलामा कडाई गरिएको बताए ।  वडामा २५ करोड बरावरको बजेट भित्रीएको बताउदै अध्यक्ष कार्कीले कार्यान्वयनमा गएका योजना सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए । १८० वटा भन्दा बढि योजनामा अहिले काम भईरहेको उनले जानकारी दिए । वडाध्यक्ष कार्कीले योजना नभएको कुनै पनि टोल नरहेको दाबी गरे ।  उपभोक्ता समितिले काम गर्दा गुणस्तरमा ध्यान दिन पनि उनले आग्रह गरे । कमसल काम भएको जानकारी भए कुनै पनि योजनाको सम्पन्नतामा हस्ताक्षर नगर्ने कार्कीले बताए ।  उक्त अवसरमा कालिका क्याम्पस अगाडीको हवेली मार्ग ढलानमा उपभोक्ता र वडाको सहलगानीमा बाटो ढलान गरिएको उपभोक्ता समितिका सचिव किरण अधिकारीले जानकारी दिए ।  वडाको २० लाख र उपभोक्ताले ३ लाख ५४ हजारको सहलगानीमा २०८ मिटर बाटो ढलान गरिएको अधिकारीले बताए ।   उपभोक्ता समितिका अध्यक्ष देव बहादुर कार्कीले हवेली मार्ग हुदैँ मान्द्रेढुङगासम्म जोड्ने सडक ढलानका लागि बजेटको व्यवस्था गर्न माग गरे ।   

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका-१० किम्चे गाउँका बालबालिका कक्षा ९ पढ्न घान्द्रुक जानुपर्छ । किम्चेबाट हिँडेर घान्द्रुक पुग्न एक घण्टा लाग्छ ।  गाउँमै कक्षा ८ सम्म पढाइ हुने जनप्रेमी आधारभूत विद्यालयको शैक्षिक अवस्था पनि खस्किरहेको भन्दै गाउँबासी चिन्तित छन् । ‘शिक्षकलाई गाउँपालिकाबाट अनुगमनमा आउँदामात्रै पढाऊँ है भन्ने छ । तर, कहिलेकाहीँ अनुगमनमा आउँदामात्रै राम्रो पढाउने हो ?’ किम्चेकै विद्या विक भन्छिन्, ‘विद्यदालयमा नियमित अनुगमन गर्दिए राम्रो हुन्थ्यो । विद्यालय व्यवस्थापन समितिमा खिचातानी (राजनीतिक) गर्छौं । कसरी शिक्षा राम्रो बनाउने भन्ने सोच्नुप¥यो ।’ किम्चेमा शुक्रबार आयोजित गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाईमा उनको कुरा सुनेपछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सरकारी विद्यालयमा कमजोरी रहेको स्वीकारे । उनले आफूले कक्षा ८ को नतिजा हेर्दा सन्तोषजनक नभएको र सुधार गर्न विद्यालयका प्रधानाध्यापकलाई भनिसकेको बताए ।  अध्यक्ष केसीले सरकारी विद्यालय बिगार्ने छुट कसैलाई नभएको अध्यक्ष केसीले बताए । ‘हामी एकदिन अनुगमनमा आउँला । तपाईं (अभिभावक) सधैं जानुपर्छ,’ उनले भने, ‘ती विद्यालय हाम्रा सम्पत्ति हुन् । हुने खानेले बोर्डिमा पढाउँछन् । गरिबका बच्चा पढ्ने विद्यालय बिगार्ने, नपढाउने छुट कसैलाई छैन ।’ एउटा विद्यालयको उत्तर पुस्तिका अर्को विद्यालयले परीक्षण गर्न थालेपछि विद्यालयको वास्तविक शैक्षिक अवस्था पत्ता लाग्न थालेको उनले बताए । ‘पहिला आफैं प्रश्न निकाल्थे, कापी जाँच्थे । अहिले पालिकाले कक्षा ५ र ८ को प्रश्न निकाल्छ,’ उनले भने, ‘कापी अर्कै विद्यालयकोले जाँचेपछि अवस्था थाहा भएको छ ।’ कृषक अनिल विकले पशु प्राविधिक आउँदा शुल्क लिने गरेको गुनासो गरे । उनले पशु प्राविधिकलाई पैसा तिर्नुपर्ने हो वा होइन भन्ने जिज्ञासा राखे । जवाफमा पशु सेवा शाखा प्रमुख ऋषिराम दाहालले कृषकसँग छुट्टै औषधि दिएकोबाहेकको शुल्क लिन नमिल्ने बताए । ‘गाउँपालिकाले ३२ थरीका औषधि कृषक दर्ता भएपछि निशुल्क दिन्छ । त्योबाहेक औषधि पशु प्राविधिकले दिए पैसा तिर्ने हो,’ उनले भने, ‘नभए यति पैसा नदिई म आउँदिनँ भन्न मिल्दैन ।’ स्थानीय गमप्रसाद गुरूङले पहिला किम्चे गाउँमै खोप सेवा दिने गरिएको भए पनि अहिले छोडिएको बताए । जवाफमा स्वास्थ्य शाखा प्रमुख ऋषि पौडेलले गाउँमा धेरै बिरामी र सुत्केरी महिला नभएकाले स्वास्थ्यचौकी अर्को ठाउँमा सारेको बताए । ‘औषधि मात्र खेर जाने भयो । सेवाग्राही भए फेरि त्यसलाई स्थापना गर्न समस्या छैन,’ उनले भने ।  कार्यक्रममा ९ जना सहभागीले घान्द्रकु जाने सडक समयमै सक्नुपर्ने, गाउँमा खानेपानी आयोजनाको काम हुन नसकेको, यातायात सुविधा नभएको गुनासो गाउँपालिका नेतृत्वसँग गरेका थिए । जवाफमा अध्यक्ष विष्णुबहादुर केसीले गाउँपालिकाको आफ्नै स्रोत निकै कम भएकाले चाहेअनुसार काम गर्न सम्भव नभएको बताए । ‘जनताले भनेका काम गर्न पाए हुन्थ्यो भन्ने हामीलाई पनि हुन्छ । तर, हामीसँग साधनस्रोत कम छ,’ उनले भने, ‘संघ र प्रदेश सरकारसँग योजनाका लागि बजेट छुट्याइदिन आग्रह गरेका छौं ।’ जनताका काम र समस्या जतिसक्दो छिटो सक्न उनले वडाध्यक्ष र कर्मचारीलाई आग्रह गरे ।​   गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँबासीलाई स्वास्थ्य बिमा गर्न आग्रह गरिन् । आफैं बिमा गर्न नसक्नेको हकमा वडाबाट सिफारिस प्राप्त भएमा पालिकाले नै बिमा गर्न लाग्ने शुल्क भुक्तान गरिदिने उनले बताइन् । जुन वडामा जे खेती हुन्छ त्यो ठाउँलाई पकेट क्षेत्र घोषणा गर्ने योजना रहेको उपाध्यक्ष अधिकारीले सुनाइन् । ‘जहाँ जुन किसिमको खेती हुन्छ त्यसलाई पकेट क्षेत्र बनाउने सोच छ । प्राविधिक पठाएर त्यो ठाउँबारे बुझेपछि यो काम अघि बढ्छ,’ उनले भनिन् ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले दोस्रो चौमासिकको कार्य प्रगति प्रस्तुत गरेका थिए । उनले गाउँपालिकाले क्यू–आर कोडबाटै राजस्व तिर्ने व्यवस्था मिलाएको देवकोटाले बताए । ‘इ–सेवा, कनेक्ट आइपीएसबाटै व्यवसाय, मालपोथ लगायतको राजस्व भुक्तानी गर्न मिल्ने गरी गाउँपालिकाको सूचना प्रविधि रोडम्याप बनाउँदै छौं,’ उनले भने ।    ६१ जनालाई अपांग परिचयपत्र र ७९ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको अधिकृत देवकोटाले जानकारी दिए । उनकाअनुसार ५७ जना अनाथ विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।   

पोखरा:   मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले पालिकाका स्थानीयले सेवा सुविधासहितका विषयमा दुख पाएको गुनासो गरेका छन् ।  आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले बुधबार आयोजना गरेको लोमान्थाङ गाउँपालिकाको समृद्धि र सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गुरुङले गाउँपालिकाका नागरिकले प्रायः सुविधा पाउन नसकेको गुनासो गरेका हुन् ।  ‘हामीले यहाँका आम नागरिकका दुख र पीडाका विषयमा केन्द्रमा बारम्बार जानकारी गराएका छौं,’ उनले भने, ‘हाम्रो समस्याका विषयमा केन्द्रबाट वेवास्ता भइरहेको छ ।’ कार्यक्रममा अध्यक्ष गुरुङले ठेकेदार र सरकारको प्रणालीले गर्दा जिल्ला लगायत गाउँपालिकाको विकासको काम सम्पन्न गर्न ढिलाई भइरहेको गुनासो गरे । नेपाल तथा चीनको नाका कोरलामा लामो समयदेखि दुवै देशका नागरिकलाई मध्यनजर गर्दै मेला हुने भए पनि कोरोना महामारी पछि हुन नसकेको उनले बताए । ‘हरेक २ वर्षमा आयोजना हुने मेलालाई विषेश प्राथमिकता दिएर सञ्चालनका लागि पहल गर्न केन्द्र सरकारले समन्वय गर्नुपर्छ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने । अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले गाउँपालिकामा हाल नियम, कानुन र ऐन बनाउने प्रक्रिया जारी रहेको र छिट्टै लागू गर्ने तयारी भइरहेको जानकारी दिए । गाउँपालिकाका आम नागरिकसँग नजिकको सम्बन्ध बनाउने प्रयास जारी रहेको बताए । ‘यहाँ आलु, उवा, जौ लगायत खाद्यान्नको राम्रो उत्पादन हुन्छ, यसलको प्रवद्र्धनका लागि पकेट क्षेत्र बनाउने तयारी भइरहेको छ,’ उनले भने, ‘कृषकलाई कृषि सम्बन्धी तालिम दिइरहेका छौं ।’ गाउँपालिकामा ५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गरेर गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने लक्ष्य गाउँपालिकाले लिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिएका छन् । आफूहरु आम नागरिकले अनुभुति गर्ने खालको विकास तथा समृद्धिका लागि प्रतिबद्ध रहेको उनले बताए ।  फोनिज गण्डकी प्रदेशका इन्चार्ज एमबी आस्था मगरले लोमान्थाङ गाउँपालिकाका हरेक स्थान आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय हिसाबमा उत्कृष्ट गन्तव्य भएको बताउँदै यहाँको भौतिक विकासका लागि पत्रकारले समेत भूमिका खेल्नुपर्ने बताए । फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीस र महासचिव धनबहादुर गुरुङले लोमन्थाङको समृद्धि र समस्या समाधानका लागि फोनिज कलम चलाउन र आवाज उठाउन तयार रहेको बताए ।