काठमाडौं, चैत २३ गते। १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरागर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलबीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति गरेको जानकारी दिनुभयो। उहाँले साना केही सुझाव बिहीबार साँझ ५ बजेसम्ममा प्राप्त भएपछि सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको बत्ताउनुभयो । उहाँले भन्नुभयो, ‘‘राजनीतिक दलबीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो। मोटामोटी रूपमा सहमति भएको छ।सानातिना सुझाव केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ। लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको बारेमा, सुशासनका बारेमा मूलभूत रूपमा सहमति भएको छ।’’ महासचिव गुरुङले आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको उहाँले प्रष्ट पार्नुभएको छ।
स्याङ्जा: समयमै विद्युत महसुल नबुझाउने ५३३ ग्राहकको नेपाल विद्युत प्राधिकरण स्याङ्जाले लाइन कटान गरेको छ । ११ पालिका रहेको स्याङ्जा प्राधिकरण स्याङ्जा शाखाले गत साउन १ गतेबाट अभियान अगाडि बढाएर कारबाही गरेको हो । विद्युत प्राधिकरण महसुल सङ्कलन विनियमावली २०७८ अनुसार लाइन कटान गरिएको हो । विद्युत बालेर ६० दिन सम्म महसुल नबुझाउने ग्राहकको विना सूचना लाइन काट्न मिल्ने महसुल सङ्कलन विनियमावली भित्र रहेर लाइन कटान गरिएको कार्यालय प्रमुख प्रताप बरालले बताउनुभयो । महसुल नबुझाउने धेरै साना ग्राहक रहेको बताउँदै बरालले लाइन कटान पश्चात् ४८९ ग्राहकले ४० लाख ३३ हजार ४७२ रुपियाँ ९६ महसुल बुझाएर पुनः लाइन जडान गरेका छन् । लाइन कटान गरेका ४४ जनाले जडान नगरेका हुन् । प्राधिकरणको स्याङ्जामा २४ हजार र मिर्मीमा सात हजार ३७८ गरी ३१ हजार ३७८ ग्राहक रहेका छन् । यहाँ ग्राहकबाट दुई करोड ६२ लाख ३६२ रुपियाँ ५४ पैसा महसुल बक्यौता रहेको प्रमुख बरालले बताउनुभयो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १० गते हुने उपनिर्वाचनका लागि एजेन्डामा आधारित भई बहस गर्नुपर्ने बताएका छन्। उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न उनले आग्रह गरेका हुन्। ‘उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो,’ फेसबुकमा आज लेख्दै उनले उल्लेख गरेका छन्, ‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु।’ उनले गत मंसिरको आमचुनावका बेला पनि आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एजेन्डामा आधारित बहसका लागि आउन आह्वान गरेको उल्लेख गरेका छन्। तर सभापति देउवा बहसका लागि तयार नहुँदा आफ्नो प्रयास सफल हुन नपाएको अध्यक्ष ओलीको भनाइ छ। ‘अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ। चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना,’ उनले भनेका छन्। वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ।
धरान : सशस्त्र प्रहरीले धरानबाट ठूलो परिणामको प्रतिबन्धित लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको टोलीले बुधबार राती धरान- १६ नौलो बस्तीबाट एक युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय राजेश परियार रहेको सशत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले बताए। पक्राउ परेका परियारको साथबाट स्पास्पिन ७ सय २३ ट्याब्लेट, ट्रमाडोल ७ सय १८, ट्याब्लेट, गाजा ५० ग्राम र घरेलु हतियार बरामत गरिएको रिजालले बताएका छन्। धरान लागू औषध कारोबारको अखडा बनेपछी सशस्त्र प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको सप्रनाउ रिजालले बताए। पक्राउ परेका परियारलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको रिजालले बताए।
काठमाडौं: बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भयो। उक्त दिन सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गर्न सफल भयो। सो दिन सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार रुपैयाँ बढेर प्रतितोला मूल्य एक लाख ११ हजार रुपैयाँ पुग्यो। बिहीबार भने नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। याे मूल्य अघिल्लाे दिनकाे तुलनामा प्रतितोला आठ सय रुपैयाँ घटेकाे हाे। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं: चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ। उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यही चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ३० गते निर्वाचन गराउन सहमति गरेका हुन्। ‘देशभरि निर्वाचन हुन बाँकी रहेका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन गर्ने, निर्वाचन विथोलिने खालका गतिविधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरियो भने प्रशासनको सहयोगमा ताला तोडी चुनावी प्रक्रिया अगाडि बढाउन प्रतिबद्ध छौँ,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ। भर्ना विवादका कारण स्ववियु निर्वाचन रोकिएका क्याम्पसमा विवादित विषयमाथि सत्यतथ्य छानबिनका लागि अध्ययन र अनुगमन गर्न विश्वविद्यालयको केन्द्रीय अनुगमन समितिलाई अनुरोध गरी निर्वाचन प्रक्रिया अगाडि बढाउनसमेत उनीहरूको माग छ। उपत्यकाका अमृत साइन्स, त्रिचन्द्र, पाटन संयुक्त क्याम्पस, विश्वभाषा, रत्नराज्य र नेपाल कमर्श क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ। यस्तै उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ बहुमुखी क्याम्पसमा निर्वाचन गर्न बाँकी छ। यही चैत ५ गते १४ वर्षपछि त्रिविका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो। केही क्याम्पसमा भर्ना र विद्यार्थी सङ्गठनबीच विवादका कारण निर्वाचन हुन सकेको थिएन।
काठमाडौं: वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्दैछ। आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तर्गत बिहीबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी उनीहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ। उम्मेदवारी फिर्ता लिनका लागि आयोगले बिहीबार दिउँसो १ बजेसम्मको समय निर्धारण गरेको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। आयोगका अनुसार चितवन–२ मा २४ जना, तनहुँ–१ मा ९ जना र बारा–२ मा ३६ गरी कुल ६९ जनाले मनोनयन दर्ता गराएका छन्। मनोनयन दर्ता गराउनेहरूमध्ये ३३ जना राजनीतिक दलका उम्मेदवार छन् भने ३६ जना स्वतन्त्र उम्मेदवार छन्।
काठमाडौं: मोरङको ग्रामथानमा एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। विहीबार बिहान जिल्लाको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए। ‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी दाहालले भने,‘घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली पुगेको छ।’ नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने रहेको परीक्षा केन्द्रअध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानध्यापक अशोक लुईटेलले बताए। सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर रहेको छ। ‘प्रवेशपत्रको फोटोमा शंका लागेपछि परीक्षार्थीको जन्म मिति सोधेको थिए। भन्न नसकेपछि केरकार गर्दा नक्कली रहेको थाहा भयो,’ परीक्षा केन्द्र अध्यक्ष लुईटेलले भने। सरस्वती स्कुलमा ११ वटा कोठमा परीक्षा भइरहेको छ। ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएको हो।
काठमाडौं: बिहीबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ९१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ८९ पैसा घटेको हो। युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ २२ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८७ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५८ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ १७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ७६ पैसा र बिक्रीमा २९ रुपैयाँ ९० पैसा पाइन्छ। बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ५८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ५४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ८१ पैसा तोकिएको छ।

