बैतडी : बैतडीका तीन युवती बेपत्ता भएका छन्। जिल्लाको मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन्। मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन्। सोमबार बिहान ३ बजेतिर १ वर्षीय छोरा कोठामा एक्लै रुँदै गरेको भेटिएको र लक्ष्मी कोठमा नभेटिएकी उनका देवर निराजन पोखरेलले बताए। भाउजू सम्पर्कविहीन भएपछि खोजीका लागि तस्वदेही इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको छ। सम्पर्कविहीन भएकी लक्ष्मीका श्रीमान् राजेन्द्र पोखरेल रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरमा छन्। उक्त दम्पतिका दुई छोरा छन्। यस्तै मेलौली नगरपालिका –१ जर्कु सैनी निवासी २० वर्षीया पार्वती खत्री नायक गएको छ दिनदेखि बेपत्ता भएकी छतन्। यही चैत १६ गते घरबाट हिंडेकी उनी अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ। पार्वतीका श्रीमान् सागरसिंह नायक रोजगारीको सिलसिलामा मलेसियामा छन्। पार्वतीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरिएको छ। जिल्लाको पाटन नगरपालिका–४ जेउड्याकी १५ वर्षीया गोमती लाबड पनि छ दिनदेखि बेपत्ता छिन्। यही चैत १५ गतेदेखि छोरी सम्पर्कविहीन भएकी गोमतीका बुबा दिलीप लाबडले जानकारी दिए। चैत १५ गते देहिमाण्डौँ जात्रामा जान्छु भनेर घरबाट हिँडेकी गोमती अहिलेसम्म घर फर्किएकी छैनन्। इलाका प्रहरी कार्यालयका प्रमुख नारायण पन्तले युवतीहरु बेपत्ता भएको जानकारी प्राप्त भएकाले खोजी जारी रहेको बताए।
सिड्नी : अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ। सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो। देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन्। साथै उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताएका छन्। यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्याण्डले उक्त एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका छन्। युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली सङ्घका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन्। ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ। चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो स्वामित्वको टिकटकमा आवद्ध व्यक्तिका विवरण चीन सरकारलाई उपलव्ध नगर्ने जनाउँदै अमेरिकी प्रयोगकर्ताका विवरणलाई पनि चीनको पहुँच बाहिर राख्ने बताएको छ। अन्य सामाजिक सञ्जाल कम्पनीभन्दा धेरै प्रयोगकर्ताको विवरण सङ्कलन गरेको आरोपमा टिकटकको मातृ कम्पनी विवादमा पर्दै आएको छ। यद्यपि उसले आफ्नो व्यवस्थापन स्वतन्त्र रहेको र टिकटकका विवरण सुरक्षित रहेको दाबी गर्दै आएको छ। गोपनीयता र सुरक्षा चिन्ता जनाउँदै भारतले सन् २०२०मा टिकटक र ‘मेसेजिङ एप वी च्याट’लगायत दर्जनौँ चिनियाँ एपमा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो। चीन र भारतबीचको सीमा क्षेत्रमा दुवै देशका सैनिक आमनेसामने भएपछि नयाँदिल्लीले उक्त निर्णय गरेको थियो। चिनियाँ र भारतीय सेनाबीचको भिडन्तमा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए। अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएकामा चीनले त्यसको आलोचना गर्दै त्यसलाई राज्यशक्तिको दुरुपयोग भनेको छ। साथै उसले अन्य देशका कम्पनीलाई अमेरिकाले दबाइरहेको आरोप पनि लगाएको छ।
रसुवा : बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ। केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन्। चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म सक्रिय रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार १५ करोड बराबरको नेपाली सामग्री चीनको केरुङतर्फ निर्यात भइसकेको छ। निर्यात भएका सामग्रीमा बाँसका मुढा, कपडा, कार्पेट, भाँडाकुँडा, हातेकागज, हस्तकलाका सामग्रीसमेत छन्। उक्त सामग्रीमध्ये बाँसको मुढा मात्रै साढे तीन करोड मूल्य बराबर निकासी भएको प्रमुख भन्सार अधिकृत भण्डारीले जानकारी दिनुभयो। यस्तै, आयात तथा निर्यात वस्तुको शुल्कबाट रसुवा भन्सार कार्यालय रसुवाले चालू आवको आठ महिनामा रु चार अर्ब १८ करोड राजस्व आर्जन गरेको छ। आयात कमी हुँदा सामानका शुल्क बापतको राजस्व कमी भएको र अबका दिनमा केरुङबाट काठमाडौँसम्म नेपाली कन्टेनर सिधा आवतजावतको वातावरणले आयात सामग्रीको परिमाण बढ्न गई राजस्व बढ्ने आशा गरीएको छ। चीनबाट स्याउ, ओखर, अदुवा, लसुन जस्ता वस्तु आयातमा कमी हुँदै गएको बताइएको छ। जुत्ता, चप्पल, तयारी पोसाक, बच्चाका खेलौना, मोटरका पार्टपुर्जा, विद्युतीय कार, जिप, स्काभेटर, टिपर, थर्मस, रोल कपडा, इलेक्ट्रिक सामान, जलविद्युत् उत्पादनका उपकरणलगायत विविध सामग्री आयात भएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए।
चितवन : बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन् । पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा४ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटना आज बिहान १० बजे भएको हो । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा ट्याक्सी चालक आन्दोलित बनेका छन्। विमानस्थलमा पार्किङ भाडा महँगो भएको विरोधमा ट्याक्सी चालकहरुले मंगलबार बिहानबाटै सेवा बन्द गरेका छन्। सोमबार दिउँसो पनि पार्किङको गेटमा उनीहरुले ट्याक्सी राखेर विरोध गरेका थिए। उनीहरुले यस अगाडि देखिनै पार्किङ शुल्क महंगो भएको भन्दै विरोध गर्दै आएका थिए। चालकहरुले शुल्क घटाउनुपर्ने माग राखेका छन्। विमानस्थलको जग्गा निजी कम्पनीलाई दिएर पार्किङ व्यवस्थापन हुँदै आएको छ। पार्किङ गर्दा महँगो शुल्क तिर्नु परेको गुनासो ट्याक्सी चालकबाहेक अन्य नीजी सवारी धनीले समेत गर्दै आएका छन्। पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिँदै आएकोमा हाल ८० रुपैयाँ पुगेको छ। पार्किङ शुल्क थप बढाउने कम्पनिको धम्की पछि चालकहरु आन्दोलित बनेका हुन्।
काठमाडौं : मंगलबार सुदूरपश्चिम प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। मंगलबार राती देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।
काठमाडौं : चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ। मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गर्ने जानकारी दिएको छ। 'लघु चलचित्र निर्माण गर्नेलाई प्रोत्साहन र उचित अवसर मिलोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो। चलचित्रकर्मीलाई सरल र सहजताका लागि बोर्ड सदैव साथ मै छ', बोर्ड अध्यक्ष भुवन केसीले भने। प्रतियोगितामा सहभागी हुनका लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम २०८० वैशाख १० गतेसम्ममा बोर्डको कार्यालय अथवा इमेलमार्फत पेस गर्नुपर्नेछ। प्रतियोगितामा उत्कृष्ट हुने तीन चलचित्रले क्रमशः प्रथम हुने चलचित्रले एक लाख ५० हजार, द्वितीय हुनेले एक लाख र तृतीय हुनेले ७५ हजार प्राप्त गर्नेछन्। पुरस्कृत चलचित्रलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिकरूपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, विशेष प्रदर्शनीमा सहभागी गराउनेछ। प्रतियोगितामा सहभागी हुने चलचित्र कम्तीमा ५० प्रतिशत नेपालमै छायाँङ्कन भएको र चलचित्रकर्मी नेपाली भएको हुनुपर्नेछ। साथै सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका चलचित्रले मात्र भाग लिन पाउनेछन् र ती चलचित्रले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ।
बैतडी: बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान ११ बजे पञ्चेश्वर गाउँपालिका–५ तिलकपुरस्थित भिटा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा सोही ठाउँमा ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पञ्चेश्वरबाट देहीमाडौं जाँदै गरेको से १ ज २९५ नम्बरको जिप ब्रेक फेल हुँदा सडकबाट करिब ६० मिटर तल खसेको थियो। सो जिपमा चालकसहित १५ जना सवार थिए। घाइते १४ जनामध्ये कुन्ती भट्टको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। उनका अनुसार गम्भीर घाइतेको थप उपचारका लागि जिल्ला अस्पतालबाट रेिफर गर्ने काम भइरहेको छ। साथै, घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन्। । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताए। प्रधान सेनापति शर्माले नेपालको स्वतन्त्रता,सार्वभौम सत्ता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे। विकास निर्माण र पर्यावरण संरक्षण गर्नुसमेत सेनाको दायित्व भएको उनको भनाइ छ। 'हामी कमजोर हुनु भनेको राष्ट्रिय सुरक्षा र हितलाई खलल पुर्याउने तत्व सलबलाउनु हो । तसर्थ, नेपाली सेना यस विषयमा सदैव सजग र सतर्क रहिआएको छ ।' समयानुकूल आफूलाई तयार गरेर मुलुकको आवश्यकता अनुसार परिचालित हुन हरहमेसा सेना तत्पर रहेको उनको भनाइ छ । 'समपर्ण भाव, चेन अफ कमाण्ड तथा एकता नै सेनाको शक्ति हो,'यी कुरालाई सधैं सबैले स्मरण गरेर अघि बढ्नुपर्ने प्रधान सेनापति शर्माले उल्लेख गरे। प्रधान सेनापतिले लामो सैनिक जीवनको दौरान प्राप्त ज्ञान र सीपलाई आफू बसोबास गरिरहेको स्थानमा प्रयोग गर्दै सदैव राष्ट्रको हित साथै नेपाली जनताको सेवामा आ-आफ्नो क्षेत्रबाट समर्पित रही आफूलाई सदैव एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकको रुपमा प्रस्तुत गर्न आग्रह गरे। प्रधान सेनापतिले मधेश प्रदेशका हरेक जिल्लाबाट सर्वसाधारण नागरिकका जेहेन्दार १ छोरा र १ छोरी गरी १६ जनालाई सैनिक विद्यालय बर्दिबासमा पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने जानकारी गराए। सम्बोधनकै क्रममा प्रधान सेनापतिले भूतपूर्व सैनिकहरूको जीवनलाई थोरै भएपनि सरल,सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहेको बताए। मधेस प्रदेशका बासिन्दालाई नेपाली सेनामा भर्नामा आकर्षण बढाउन सिराहा,पर्सा र सर्लाहीमा तैनाथ नेपाली सेनाका युनिटहरूमा भर्ना छनौट भइरहेको र निकट भविष्यमा अन्य जिल्लामा पनि भर्ना छनौट केन्द्र तोकिने बताए। हाल निवृत्तिभरणमा राजीनामा स्वीकृत भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ जना रहेको छ । सम्मेलनमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा स्थायी बसोबास गर्ने करिब दुई हजार भूपू सैनिकको सहभागिता रहेको थियो।

