पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

काठमाडौं : शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।   अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।    बिहीबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।     त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।    बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं:  आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिएको छ ।   निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा आज (बिहीबार) मुख्य निर्वाचन अधिकृतको नियुक्ति गरेको हो ।   आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालले चैत १८ गते शनिबारदेखि लागू हुने गरी निर्वाचन अधिकृतहरूको नियुक्त गरिएको जानकारी दिनुभयो ।   प्रवक्ता पौड्यालका अनुसार नियुक्त हुनुभएको मुख्य निर्वाचन अधिकृतहरूमा चितवन क्षेत्र नं. २ का लागि जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं. २ का लागि जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि माननीय जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य हुनुहुन्छ ।   मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ भने उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको छ । अब निर्वाचनका सबै कार्यक्रम ती कार्यालयहरूबाट सञ्चालन हुनेछ ।  

झापा : झापाको मेचीनगरमा लागु औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।    पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१३ घर भई हाल मोरङ जिल्ला लेटाङ नगरपालिका-३ निवासी ४६ वर्षीय विशाल शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।    मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दा टोलमा इलाका प्रहरी कार्यालय नकलबन्दा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नकलबन्दाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको शर्मालाई शंकाका लागि चेकजाँच गर्दा उनको साथबाट खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ १० ग्राम र नगद २८ हजार ६१५ रुपैयाँ फेला परेको थियो।    पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा पठाइएको छ।  

काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा वन विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्दै जानु चिन्ताको विषय भएको बताएका छन्।   चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री एवं कुलपति प्रचण्डले कृषि, वन तथा पशुपालनसम्बन्धी विज्ञको आवश्यकता बढिरहेको बेला विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्नु चिन्ताको विषय भएको बताए।   'देशको लागि कृषि, वन तथा पशुपालन सम्बन्धी विज्ञको आवश्यकता दिन प्रतिदिन बढ्दो छ तर कृषि तथा वन विज्ञान विश्वविद्यालयमा यी विषयमा अध्ययनका लागि भर्ना हुने विद्यार्थीको संख्या क्रमिक रुपमा घट्दै जानु गम्भीर चिन्ताको विषय बनेको छ,'प्रधानमन्त्री प्रचण्डले भने,' यो समस्या एक विश्वविद्यालयको मात्र नभई अन्य विश्‍वविद्यालयहरुमा समेत देखिएकोले यो विषयको मुल समस्या पहिचान गरी  समस्या निर्मुल गर्न नेपालको शिक्षा नीतिमा नै परिमार्जन गर्नुपर्ने हो कि भन्ने मेरो बुझाइ छ।'   प्रधानमन्त्री प्रचण्डले विद्यार्थीलाई स्वदेशमा उच्च शिक्षा अध्ययन, अनुसन्धान र उद्यमशिलता विकासमा प्रोत्साहन गर्न आजको विश्‍वव्यापिकरणको युगमा निकै चुनौतिपूर्ण रहेको बताए।  उच्‍च शिक्षाको क्षेत्रमा देखिएका विभिन्‍न समस्या यथासमायमा नै समाधान गर्न सकियो भने उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी विदेशिनुपर्ने बाध्यतालाई पक्कै कम गर्न सकिने उनको भनाइ ।   यसका लागि विद्यार्थीहरूले अध्ययन गर्न चाहेको विषयमा गुणस्तरीय शिक्षा प्रदान गरी नेपालको समग्र विकासका लागि आवश्यक जनशक्ति उत्पादनमा विश्‍वविद्यालय प्रयासरत रहनुपर्नेमा जोड दिए।   प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्‍ट्रियस्तरको उच्चशिक्षा एवं प्रतिष्पर्धी विद्यार्थी उत्पादन गर्न सकेमात्रै दिगो विकासका लक्ष्य पूरा गर्न सकिने बताए।   उनले विश्‍वविद्यालयले कृषि र वन विज्ञान शिक्षामा शैद्धान्तिकभन्दा पनि अनुसन्धानबाट आएका व्यावहारिक ज्ञानको पठन/पाठनमा ध्यान दिँदै त्यसलाई विद्यार्थीबाट कृषि र वनसँग सम्बन्धित जन समुदायमा पुर्‍याउन सकेमा फलदायी हुने बताए।

 काठमाडौं:  अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् ।   बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक बिरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् ।   पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको वाग्लेले उल्लेख गरेका छन् । ‘जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ’ उनले भनेका छन् ।   कांग्रेसमा ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा रहेर आर्थिक नीति र योजना, वौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा काम गरेको वाग्लेले बताएका छन् ।   राष्ट्रिय योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवाले दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गरेको उनले बताएका छन् ।   हेर्नुहोस् स्वर्णिमको फेसबुक स्टाटस ​​  

भक्तपुर:  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि (शुक्रबार) बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।   “परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा  सम्पन्न गराउन सबैमा आह्वान गर्दछौ ।”   उहाँले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्‍याउनेलगायतका सबै काम सकिएको जानकारी दिनुभयो ।   एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सात प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरू, सातै प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशकहरू, ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरू, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश र शाखा कार्यालयका प्रमुखहरु, बोर्डका अध्यक्ष, सदस्य सचिव, परीक्षा नियन्त्रण, उपनियन्त्रक कर्मचारीलगायतको भर्चुअल बैठक सम्पन्न भएको बताउनुभयो ।   उहाँले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेश भित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने बताउनु भयो ।   त्यस्तै, प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्नपत्र प्रहरी निकायसम्म पुर्‍याउने, उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पुर्‍याउने र आवश्यक समन्वय गर्ने कामसमेत पूरा भएको उहाँको भनाइ छ ।   करिब पाँच लाख परीक्षार्थी   एसइई परीक्षाका सहभागिता जनाउनका लागि यस वर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा नौमा रजिस्ट्रेसन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवेदन दिनेमा कूल चार लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेको जानकारी दिनुभयो ।   परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन् ।   यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसइईमा सहभागी हुँदैछन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।   त्यस्तै, बागमती प्रदेशमा सबैभन्दा बढी ४३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १७९ परीक्षा केन्द्र कायम गरिएको छ । कोशी प्रदेशमा ३७८, मधेश प्रदेशमा २७९, गण्डकी प्रदेशमा २२३, लुम्बिनी प्रदेशमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसइईमा अघिल्लो वर्ष देशभरबाट पाँच लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिएपनि परीक्षामा भने चार लाख ९५ हजार ६४८ जना परीक्षामा सहभागी भएका थिए ।   तस्बिर लिन निषेध   परीक्षा नियन्त्रक श्रेष्ठले विद्यार्थीलाई कुनै डरत्रास नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गर्नु भएको छ । परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि बस्तु लगेको पाइएमा र जबरजस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुने गलत गतिविधि भएका प्रचलित कानुन अनुसार कारबाही हुने बताउनु भयो ।   परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने भएको छ । परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाइने भएको छ । यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरूको तस्बिर लिन पाइने तर परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “अनुगमन तथा तस्बिर लिने नाममा परीक्षा हलभित्र मानिस पस्दा विद्यार्थीको मनोबल गिर्छ, परीक्षार्थीलाई अवरोध हुने गरी तस्बिर लिँदा, विद्यार्थी टोलाउने, को आयो भनेर हेर्दा लेखिरहेको उत्तर पनि बिग्रने सम्भावना र गुनासा आएकाले यसवर्ष परीक्षा हलभित्र तस्बिर दिन नपाइने व्यवस्था गरेका छौँ ।”   विद्यार्थीका लागि एक मिनेट, एक सकेण्डको पनि महत्त्व हुने भएकाले परीक्षा हलभित्र तोकिएको व्यक्ति र परीक्षा समिति तथा सम्बन्धित निकायको व्यक्ति बाहेक पसेर अन्यलाई अनुगमन तथा तस्बिर लिने नाममा जथाभाबी परीक्षा हलमा नपठाइने भएको हो ।   ७८ हजार जनशक्ति   एसइई परीक्षाका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन् । प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति परिचालन हुने नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो ।   परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका  जनक शिक्षा सामग्री केन्द्रमा छपाई सकेर जिल्ला जिल्लामा पुर्‍याइसकिएको छ । यस वर्षको परीक्षामा ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्नपत्र छपाइ गरी सोहीअनुसार ढुवानी गरिएको हो । विद्यार्थीको अनुपातमा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाइ भएको जनक शिक्षाले जनाएको छ ।   जापानमा पनि परीक्षा केन्द्र   बोर्डले यसवर्ष जापानमा पनि एसइई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा  जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसइई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो ।    त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाउने भएको छ ।   परीक्षाको तालिका   एसइई परीक्षा चैत १७ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजे सुरु भएर ११ बजेसम्म हुनेछ । परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने र सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अङ्ग्रेजीको परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनु भयो ।   त्यसैगरि चैत १९ गते आइतबार अनिवार्य गणित, चैत २० गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ । त्यसैगरी चैत २२ गते बुधबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने भएको छ । चैत २३ गते बिहीबार अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट एण्ड मार्केटिङ, इन्जिनियरिङ ड्रईङ्, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ ।   यसैगरी, चैत २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकधारतर्फ जलीयकृषि तथा मत्स्यपालन, ईलेक्ट्रिकल म्यानेजमेण्ट एण्ड इन्स्टल्मेण्ट, कम्प्युटर नेटवर्किङ, इन्जिनियरिङ सर्भेईङ्ग र म्युजिक अफ नेपालको परीक्षा हुनेछ ।   यस्तै, चैत  २५ गते शनिबार साधारण तथा संस्कृततर्फ : ऐच्छिक प्रथमपत्रका सबै विषयहरू, वेदविद्याश्रम तर्फ वेद तथा नीति शास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ । चैत २६ गते आइतबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयपत्रका विषयहरू, वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितियपत्रका सबै विषयहरू, प्राविधिक धारतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी एण्ड डेरी प्रडक्सन, युटिलाईजेसन अफ इलेक्ट्रिक इनर्जी, डाटाबेस म्यानेजमेण्ट सिस्टम, बिल्डिङ कन्स्ट्रक्सन, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ ।   चैत २७ गते सोमबार प्राविधिक धारतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, इलेकट्रोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस इन्जिनियरिङ र इन्स्ट्रयुमेण्ट किबोर्डको परीक्षा हुनेछ । चैत २८ गते मंगलबार प्राविधिक धारतर्फ इण्ड्रष्ट्रियल इन्टोमोलोगी एण्ड मसरुम, एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाइवे इन्जिनियरिङ, म्युजिक बिजनेस एण्ड प्रोग्राम म्यानेजमेन्टको परीक्षा हुनेछ ।   परीक्षाको अन्तिम दिन चैत २९ गते बुधबार प्राविधिकतर्फनै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, ईण्ड्रष्ट्रियल ईन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेण्टेड प्रोग्रामिङ्, इष्टिमेटिङ् कस्टिङ् एण्ड सुपरभिजन र ऐच्छिक विषयको गायन, सङ्गीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ ।

पोखरा: पोखरामा अवस्थित सहारा क्लब पोखराले संञ्चालन गर्दै आईरहेको सुर्य बहादुर केसी मेमोरियल सहारा छात्रबास फुटबल एकेडेमीका लागि चौंथो ब्याचको प्रशिक्षार्थी बालकहरुको नयाँ भर्ना गर्ने भएको छ ।   सहारा क्लब पोखराले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै २०८० साल बैशाखबाट नयाँ भर्ना गर्ने निर्णय गरिएको जनाएको छ ।   यस अघि तीन ब्याज ०५८ र ०६१ र ०७० सालको एकेडेमीको सफल अनुभबलाई सँगाल्दै यस पटक चौंथो ब्कोयाच बालक प्रशिक्षार्थीहरु भर्ना गर्न लागिएको क्लबले जनाएको छ ।   तेश्रो ब्याचको पहिलो चरणमा १२ कक्षा उत्तिर्ण भएका १० प्रशिक्षार्थी बालकहरुलाई पास आउट गरेको र  ०७० सालको तेश्रो ब्याचका अब बाँकी १३ जना प्रशिक्षार्थीहरु उनीहरुको कक्षा १२ को परीक्षा समाप्त भएपछि जेठ महिनाको अन्तिम हप्ता पास आउट गरी आगामी नयाँ शैक्षिक सत्र देखि चौंथो ब्याच भर्ना गर्ने कार्य योजना बनाएको क्लबले जनाएको छ ।   एकेडेमीबाट उत्पादित प्रशिक्षार्थीहरुमध्ये पूर्व राष्ट्रिय फुटबल कप्तान अनिल गुरुङ एक हुन् । त्यस्तै नेपाल पुलिस क्लबमा अजित भण्डारी, नेपाली सेनामा कार्यरत नविन श्रेष्ठ,नेपालको ए डिभिजन सातदोबाटो क्लब अनुबन्धित सुशिल लामा,मनाङ मर्स्याङ्दी  क्लबका  अनिल पोमु लिम्बु सहारा एकेडेमीकै उत्पादन हुन् ।   हाल एकेडेमी प्रशिक्षक प्रल्हाद हिराचन, हालका उदयवान प्रशिक्षक बिष्णु गुरुङ र पूर्व राष्ट्रिय फुटबल खेलाडी लक्ष्मण जिसी पनि एकेडेमीका उत्पादन हुन् ।   नेपालको फुटबल ईतिहासका नक्षत्र स्व डम्बरसिह गुरुङ,  पूर्व राष्ट्रिय फुटबल खेलाडी स्व.बिल तामाङ,पूर्व राष्ट्रिय फुटबल प्रशिक्षक किरण श्रेष्ठ एकेडेमीका प्रशिक्षक थिएँ ।   वार्षिक कुल ३० लाखको हाराहारीमा खर्च हुने उक्त एकेडेमीको मुलश्रोत सुर्य बहादुर केसीको परिवारजनबाट १५ लाख वर्षेनी प्राप्त भईरहेको र क्लबले आयोजना गर्ने आहा रारा पोखरा गोल्डकप, देउसी भैलो कार्यक्रम,विभिन्न शुभेच्छुक शुभचिन्तक दाता र बिशेषतः सहारा युके, सहारा हङकङ र सहरा अष्ट्रलिया समेतको बिशेष सहयोग र एकेडेमी कै निरन्तरताको निम्ति गठन गरिएको अक्षय कोषमा संकलित रकम नै यो एकेडेमीको मुलश्रोत रहेको क्लबले जनाएको छ ।

पोखरा:  अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाको लोगो अङ्कित झन्डा हस्तान्तरण गरिएको छ ।  महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफाइ टोलीको नेतृत्व गर्नुभएका क्या.भीम बहादुर भुजेललाई महानगरपालिकाको लोगो अङ्कित झन्डा हस्तान्तरण गर्नुभएको हो ।  सो क्रममा प्रमुख आचार्यले पोखराको पहिचानसँग जोडिएका हिमालहरूको सफाइ अभियानमा पोखरा महानगरपालिका साथ मै रहेको बताउनुभयो । “पोखरा माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि लगायतका हिमश्रृखलाहरुको काखमा रहेको सहर हो, प्रमुख आचार्यले भन्नुभयो, हिमाल विनाको पोखरा हामी कल्पना सम्म पनि गर्न सक्दैनौँ ।” पछिल्लो समय हिमालमा बढेको मानवीय क्रियाकलापका कारण भइरहेको वातावरण प्रदूषण गम्भीर चिन्ताको विषय भएको उहाँले उल्लेख गर्नुभयो ।  सर्वसाधारणहरूको सहज पहुँच नपुग्ने र भौगोलिक तथा वातावरणीय अवस्थाका कारण पनि सफाइमा कठिनाइ हुने भएकाले यस कार्य लागि नेपाली सेनाले देखाएको तत्परता सह्रानीय भएको प्रमुख आचार्यले बताउनुभयो । सफा हिमालका लागि थालिएको यस अभियानमा सफाइकर्ताहरूको हौसलाका लागि पोखरा महानगरपालिकाको तर्फबाट नगद रु।१५ लाख सहयोग गरिने उहाँले बताउनुभयो । पोखरा सफा हिमाल अभियानको साथमा रहेको उहाँले विश्वास दिलाउनुभयो । नेपाली सेनाको पश्चिम पृतना विजयपुरका पृतनापति एवं उपरथी ९मेजर जनरल० दीपक कुमार बानियाँले नेपाली सेनाको स्वच्छ हिमाल अभियान अन्तरगत यस वर्ष अन्नपूर्ण हिमालको पनि सफाइ गर्न लागिएको बताउनुभयो । हिमाल र ती हिमालहरूको बेस क्याम्पहरूमा बढिरहेको मानवीय क्रियाकलापका कारण थुप्रिएको फोहोर व्यवस्थापन वातावरणीय दृष्किोणले पनि चुनौती र चिन्ताको विषय बनिरहेको उहाँले उल्लेख गर्नुभयो । सगरमाथाबाट सुरु गरिएको सफा हिमाल अभियानलाई ८ हजार मिटर भन्दा माथिका सबै हिमालहरूमा सञ्चालन गरिने उपरथी बानियाँले बताउनुभयो । “नेपालका हिमालहरूमा थुप्रिएको फोहोर समयमा नै व्यवस्थापन गर्न सकियो भने गम्भीर प्रकृतिका वातावरणीय प्रभावबाट जोगिन सकिन्छ” उहाँले भन्नुभयो ।  यसअघि नेपाली सेनाले २०२१ मा धौलागिरि र सन २०२२ मा मनासलु हिमालको सफाइ गरिसकेको छ । १९३० को दशकदेखि सगरमाथाको आरोहण पूर्व आरोहीहरूले गर्ने पुर्वअभ्यासका क्रियाकलापहरू ८ हजार मिटर माथिका विभिन्न हिमालहरूमा केन्द्रित भएपछि बढेको फोहोर विगत ७० वर्षदेखि डम्प भइरहेको नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीले बताउनुभयो । अन्नपूर्ण हिमाल आरोहण गर्नेहरू सङ्ख्यामा वृद्धि हुनु र हिमालमा धेरै फोहोर डम्प भइरहेको शेर्पाहरूको सुझावका आधारमा १० जनाको टोलीले सफाइ अभियान सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।  नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियानमा वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष नेपालको आर्थिक र नेपाल पर्वतारोहण सङ्घ, हिमालयन उद्धार सङ्घ, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल लगायतका सङ्घसंस्थाहरूले प्राविधिक सहयोग गरेका छन् ।   “AN ENDEAVOUR TO SAVE THE HIMALAYAS”  भन्ने मूल नाराका साथ सञ्चालन हुने उक्त अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालहरूबाट करिब ३५ टन फोहोरहरू सङ्कलन गर्ने लक्ष्य लिइएको छ । नेपाली सेनाले विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ । विश्व वातावरण दिवसमा समापन गरिने उक्त अभियानले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

काठमाठडौं: सरकार र मिटरब्याज पीडितबीचको छलफल सकारात्मक देखिएको छ।    बिहीबार सिंहदरबारमा भएको मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीचको छलफल सकारात्मक भएको मिटरब्याज पीडित एक सदस्यले बताए। सरकारसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मिटरब्याज पीडित समूहका सहयोगी संघर्ष दाहालले मिटरब्याज साहुलाई अधिकांश रकम तिरिसके पनि उनीहरुले तमसुक फिर्ता नगरी अदालतमा पेस गरेर जेल पठाएको भन्दै जेलमा परेकालाई तत्काल स–सम्मान रिहा गर्नुपर्ने माग गर्नुभयो।    उहाँले जमीन जफत गर्नेगरी कानुन निर्माण गर्नुपर्ने माग गर्नुभयो। उहाँले स्थानीय सरकारको समन्वयमा मिटरब्याजसम्बन्धी परेका उजूरीमाथि छलफल गर्ने भन्ने सम्झौता स्वीकार्य नरहेको बताउनुभयो।    उहाँले सरकारले उजूरी सम्बोधनका लागि अधिकार सम्पन्न आयोगको माग गरिएको बताउनुभयो। उहाँले मिटरब्याजमा पैसा लिनेमध्ये अधिकांश विदेश जानको लागि रहेकाले सरकार–सरकार मिलेर विदेश पठाइदिनुपर्ने नत्र विदेश जान चाहनेलाई सरकारले सहुलितयत कर्जा दिएर विदेश पठाउने र उनीहरुले विदेशबाट कमाएकोमध्ये सरकारबाट लागत रकम असुल गर्नुपर्ने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो।    उहाँले भन्नुभयो, ‘‘हामीसँग जो पीडित हुनुहुन्छ, कतिपय पीडित जेलको पूर्जी लिएर आउनुभएको छ। उहाँले धेरै गुणा रकम पैसा साहुकारलाई फिर्ता गरेपछि पनि साहु महाजनले तमसुक फिर्ता नगरी अदालतमा पेस गरेर उहाँहरुमाथि जेल सजायको पूर्जी कटाएको छ। उहाँहरुलाई तत्काल ससम्मान रिहा हुने व्यवस्था, नेपाल सरकारले गर्नुपर्छ। जमिन जफत गरिएको छ, जफत गर्नेगरी कानुन निर्माण गर्नुपर्छ। स्थानीय सरकारको समन्वयमा उजूरीमाथि छलफल गर्ने भन्ने सम्झौता भएको थियो, त्यो हामीलाई स्वीकार्य छैन। त्यसको लागि हामीले अधिकार सम्पन्न आयोगको माग गरेका छौँ। मिटरब्याजमा पैसा लिनेमध्ये अधिकांश विदेश जानको लागि पैसा लिने गरिन्छ, सरकारले कि ‘जीटुजी’बाट पठाउनुपर्छ, नत्र सरकारले विदेश जान पैसा दिनुपर्छ, बरु उसले विदेशमा कमाएपछि तिर्छ।’’   मिटरब्याज विरुद्धको संघर्ष समिति, नेपालले तमसुक व्यवस्था खारेज गर्न, पीडितको पक्षमा कानुन निर्माण गर्न, चेक वा तमसुकबाट लेनदेनको मुद्दा दर्ता भएपछि सम्पत्तिको श्रोत खोजी गरेर कानुन निर्माण गर्न, साहुकारहरुको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था वा जसले आफ्नो सम्पत्ति ठगी गरेको दाबी गर्छ उसकै नाममा फिर्ता हुने कानुनी व्यवस्था गर्न माग गरेको छ। त्यस्तै पीडक साहुकारमाथि ठगी र विश्वसघातका मुद्दा दर्ता सहज ढंगबाट हुने व्यवस्था गर्न, अदालतबाट पक्राउ पूर्जी काटेको हकमा उल्लेखित प्रक्रिया पूरा भएपछि मात्र कार्यान्वयनमा जाने व्यवस्था गर्न, तमसुकका आधारमा अदालतमा चलाइएको मुद्दा तत्काल स्थगन गर्न, बैंकहरुबाट सहज र सरल रुपमा ऋण पाउने व्यवस्था गर्न, वैदेशिक रोजगारीमा जान चाहनेको लागि सरकारको ग्यारेन्टीमा बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्न र कानुन निर्माण गरी राजपत्रमा प्रकाशित नगरेसम्म र अधिकार सम्पन्न आयोग गठन नगरेसम्म आन्दोलन जारी रहने चेतावनीसमेत दिएको छ।