पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

पोखरा:   पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचाररत भेषबहादुर थारुको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।  माघमा अपरेशन गरिएको थारु अहिले भेन्टिलेटरमा उपचारत भएपनि केही दिन अस्पतालमा बस्नुपर्ने र परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपिल गरेको हो ।  थारुको माघमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेरुदण्डको अपरेशन गरिएको थियो । रुपन्देही सालझण्डी स्थायी घर भएका थारु परिवार पोखराको अमरसिंह चोकमा बस्दै आएका छन् । भेषबहादुरको बुबाले पोखराको एक फर्निचरमा र आमाले गृहिणीको काम गरेर छोराको उपचार गराइराखेका छन् ।  बिरामी भेषबहादुरलाई सहयोग गर्न उनको आमा जमुना थारुको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ३४०००००१३०४ मा सहयोग गर्न सक्नेछन् ।   

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक विज्ञमा पूर्वमन्त्री सुनीलबहादुर थापा नियुक्त हुनुभएको छ । राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसेले राष्ट्रपतिको राजनीतिक विज्ञमा थापा नियुक्त हुनुभएको जानकारी दिनुभयो ।    नेता थापा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय कार्य समिति सदस्य पनि हुनुहुन्छ । धनकुटालाई राजनीतिक थलो बनाउनु भएका उहाँ पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुनुहुन्छ ।    यसअघि राष्ट्रपति पौडेलले परराष्ट्र विज्ञमा अलेक्जेन्डर भोन हम्बोल्डटको अध्येयतासमेत रहनुभएका डा. चालिसेलाई नियुक्त गर्नुभएको छ । उहाँ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार पनि भइसक्नु भएको छ ।

स्याङ्जा : स्याङ्जाको दरौखोलामा माछा मार्दै गरेका ३ चिनियाँ नागरिक पक्राउ परेका छन्।  अर्जुनचौपारी गाउँपालिका- ३ स्थित दरौखोलामा बुधबार राति माछा मार्दै गरेको अवस्थामा ती नागरिक पक्राउ परेका हुन्।​   पालिकाले खोलामा करेन्ट लगाई माछा मार्न बन्देज लगाएको अवस्थामा माछा मारिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पक्राउ पर्नेमा ४१ ,३६ र ४० वर्षका तीन युवा रहेका छन्।   स्थानीयको खबरपछि अर्जुनचौपारी प्रहरी चौकीका प्रहरी टोलीले चिनियाँ नागरिकसहित खोलामा करेन्ट लगाउने अत्याधुनिक मेसीन, जाल,माछा समाउने जाली र बा १२ च २७७ नम्बरको हाइलक्स गाडीसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।   पालिकाले उनीहरुलाई जनही ५/५ हजार जरिवाना गरेको छ। पालिकाले पालिका अन्तर्गतका नदीखोलामा जाल हाली, करेन्ट लगाएर माछा मार्न निषेधसहित नगद जरिवाना गर्ने कानुनी व्यवस्था गरेको छ।    सामानसहित तीनजनालाई प्रहरी प्रशासन कार्यालय स्याङ्जा ल्याएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता समेत रहेका खनालले जानकारी दिए।

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर विमानस्थल विस्तार बागमती प्रदेशकै लागि गौरवको आयोजना भएको बताउनु भएको छ ।   चितवनको भरतपुरमा रहेको विमानस्थल विस्तार एवम् नयाँ बन्ने अत्याधुनिक टर्मिनल भवनको बिहीबार बिहान शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताउनु भएको हो ।   भरतपुरमा रहेको सेनाको ब्यारेक भरतपुर -१ मा रहेको नेपाल ट्रष्टको नाममा रहेको दियालो बङ्गला क्षेत्रमा र घोडा फार्मलाई भरतपुर ११ गणेशस्थान क्षेत्रमा  स्थानान्तरण गरी विमानस्थललाई विस्तार गर्न लागिएको हो ।   लामो समयको प्रयास, छलफल र प्रतीक्षापछि विमानस्थल विस्तारको काममा सहमति भएको बताउँदै प्रधानमन्त्रीले यो कामलाई सार्थकतामा परिणत गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।   विमानस्थलमा नयाँ बन्ने टर्मिनल भवनको लागि भ्याट बाहेक एक अर्ब २८ करोड रुपियाँमा ३६ महिनामा सम्पन्न गरी चैत ६ गते केसीश्यामदेवी–प्रतिष्ठा जेभीसँग सम्झौता भएको छ ।   उक्त अवसरमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुजन किरातीले सेनाको ब्यारेक र घोडा फार्म स्थानान्तरण गर्ने निर्णय भइसकेको र कार्यान्वयनको काम मात्र बाँकी रहेको बताउनुभयो । उहाँले गुणस्तरीय काम गर्न र समयमा काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।   कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले १९५८ सालमा स्थापना भएको भरतपुर विमानस्थल एटिआर ७२ र सोही किसिमका जहाज सहज अवतरण गर्न मिल्ने गरी विस्तार गरिने बताउनुभयो ।   उहाँले हाल रहेको ५८ बिघा विमानस्थलसँगै जोडिएको ७६ बिघा ब्यारेक क्षेत्रको घोडा फार्म रहेको १९ बिघा जमिनसहितमा धावनमार्ग बनाइने र बाँकी क्षेत्रमा आकर्षक पार्क निर्माण गरिने जानकारी दिनुभयो । शिलान्यास गरिएको टर्मिनल भवन १४ कट्ठा जमिनमा दुई तलाको सुविधा सम्पन्न प्रकृतिको हुने जानकारी दिनुभयो ।   कार्यक्रमको अध्यक्षता गर्नुभएकी भरतपुर महानगर प्रमुख रेणु दाहालले विमानस्थल विस्तारसँगै उक्त स्थानमा आकर्षक पार्क निर्माण गरिने पनि जानकारी दिनुभयो । उहाँले आफ्नो पहिलो कार्यकालदेखि नै विमानस्थलको विस्तारका लागि गरिएको प्रयास सफल गराउन सहयोग र समर्थन गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।   कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमरकट्टेल, बागमती प्रदेशसभा सदस्यहरू हरि सापकोटा र उत्तम जोशीले पनि बोल्नुभएको थियो ।

सल्यान:  दार्मा गाउँपालिका - ३ फारुलाचौरका ६३ वर्षीय भोटु खत्रीको घरमै धारा बनेपछि दैनिकी फेरिएको छ । पानीका लागि बिहानै दार्माखोला नजिकै पुग्नु पर्ने उहाँको दैनिक फेरिएको हो । उहाँले भन्नुभयो, ‘पशुचौपायालाई खुवाउने पानीको व्यवस्था भए पनि मान्छेका गाह्रो थियो । अहिले घरमै खानेपानी धारा हुँदा सजिलो भएको छ ।’     उहाँ जस्तै फारुलाचौरकै विमला रोकायले घटौँ हिँडेर कुवा र मूलको पानीको पानी प्रयोग गर्दै आएकोमा अहिले गाउँपालिकाले लिफ्ट प्रविधिबाट खानेपानी आयोजना सञ्चालन गरेर घर घरमा निर्माण भएपछि दैनिक जीवनमा सहजता आएको बताउनुभयो ।   उहाँका अनुसार खानेपानी लिन सामुदायिक धारा र कुवामा जानुपर्ने र लाइन लाग्दा घरको दैनिक काममा ढिला हुने गरेको बताउँदै अहिले घर घरमा खानेपानीको धारा निर्माण हुँदा लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।   दार्मा गाउँपालिकाको एक करोड, नेपाल रेडक्रस सोसाइटीको ३४ लाख ६० हजार र १० लाख बराबरको जनश्रमदान गरी १ करोड ७३ लाख ६० हजार रुपियाँको लागतमा तीन खानेपानी योजना सम्पन्न गरिएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो ।   उहाँका अनुसार पालिकाको एक घर एक धाराको नीति र स्थानीयलाई स्वच्छ खानेपानीको पहुँच भित्र ल्याउन एकै पटक ३२४ घरमा खानेपानी विस्तार गरिएको छ ।   दार्मा गाउँपालिका र रेडक्रस सोसाईटीको सहकार्यमा दार्मागाउँपालिका ३ का फारुलाचौरका १४०, वडा नम्वर ४ मालिकाका ३८ र ६ का मलिक्चाका ८०, टिकेपातलमा ६६ घरधुरीमा एक घर एक धाराको खानेपानी योजना सञ्चालन गरिएको छ ।    दार्मा गाउँपालिका सबै घर धुरीमा खानेपानी योजना सञ्चालन गर्न १८ करोड रुपियाँ बराबरको विस्तृत योजना तयार भएको गाउँपालिकाले जनाएको छ ।     

काठमाडौँ : राष्ट्रियसभा सदस्य डा.विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् ।   बिहीवारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य डा.पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरुले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गरिन् । उनले मिटरब्याजीहरुलाई दलका कार्यकर्ताले संरक्षण गरे, नगरेको विषयमा दलहरु बोल्नुपर्ने बताइन् । उनले दलहरुले आफ्ना मतदाता र समर्थकबाट मिटरब्याजीको संरक्षण हुन दिनु नहुने बताइन् । त्यसैगरी उनले मिटरब्याज पीडितहरुलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरिन्  ।    उनले भनिन्– ‘खुल्लामञ्चमा बस्न दिइएन उहाँहरुलाई । खुल्लामञ्च काठमाडौँको मात्रै पेवा रहेछ । मधेसबाट आउने मधेशी महिलाहरुले त्यहाँ खुट्टा टेक्न नपाउने । कार्यदल बनाएको सरकारले भन्ने कुरा हामीले सुनेका छौँ । कार्यदलले के गर्दैछ, यो कुरा एकदमै प्राथमिकतामा राखेर कानून कहाँनिर संशोधन गर्नुपर्छ, कानून संशोधन गर्नुपर्यो । मेरो विचारमा मिटरब्याजलाई संविधानले पनि चिन्दैन । अर्थतन्त्रले नि चिन्दैन । कानुनले पनि चिन्दैन । नचिन्ने मिटरब्याजी कहाँबाट आयो ? हामीले किन त्यसलाई औपचारिकता दिइराखेका छौँ ? मलाई थाहा छैन । कानुन छैन भने ल्याउनुपर्यो । तुरुन्तै ल्याउनुपरयो ।’    पौड्यालले भनिन्, ‘हिजो हामी जाँदा त्यहाँका महिलाहरुले के भन्नुभयो भने नि, उहाँहरु दलका कार्यकर्ता हुन्, दलका नेताहरु हुन्, उहाँहरुले सिडिओ, पुलिसलाई चिन्नुहुन्छ त्यसकारण हामीले न्याय पाउँछौँ ? प्रश्न त्यो हो । दलका कार्यकर्तालाई हामीले संरक्षण गरिरहेका छौँ ? दलहरुले बोल्नुपर्यो । सबै राजनीतिक दलहरुलाई चुनौती हो यो । सबै राजनीतिक दलहरुले आफ्ना दलबाट त्यस्ता कामहरु भएका छन् भने, आफूले संरक्षण गरेका आफ्ना भोटरबाट आफ्ना समर्थकबाट भएका छन् भने त्यो हुन दिनुभएन । त्यो काम राजनीतिक दलहरुले गर्नुपर्यो ।’    डा.पौड्यालले मिटरब्याज गैरकानूनी भएको भन्दै त्यसका विषयमा जनचेतना जगाउनुपर्ने बताइन् ।

काठमाडौं:  नेपाल एपिएफ क्लबले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप २०२३ को फाइनलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै उपाधिमा ह्याट्रिक गरेको छ । एपिएफले लगातार तीन संस्करणको उपाधि जितेको हो ।   जितको लागि १ सय ५५ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय रन बनायो । कोशीकी कप्तान रुविना क्षेत्री बेलबासेले ४१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाइन् । स्पिनर बिनु बुढामगरको १४ औं ओभरको दोस्रो बलमा रुविना बोल्ड भएपछि कोशीको जितको सम्भावना सकिएको थियो ।   रेखा रावलले तेस्रो ओभरमै काजोल श्रेष्ठलाई ६ रनमा बोल्ड गरेकी थिइन् । अप्सरी बेगम २४ बलमा १ चौकासहित १० र स्मृति कटवाल ८ रनमा आउट भइन् । लखिता राजवंशी २१ बलमा २ चौकासहित २१ रनमा अविजित रहिन् । नमिता श्रेष्ठ ११ बलमा १ चौकासहित ७ रनमा रन आउट भइन् ।   एपिएफकी बिनु बुढाले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । नेरी थापाले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिइन् । रेखा रावलले एक विकेट लिइन् । सोनु खड्काले एक विकेट लिइन् ।   त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । ललितपुर मेयर्स प्रतियोगिता इतिहासमा एकै इनिङमा बनेको यो हालसम्मकै उच्च योगफल हो । यसअघि पहिलो संस्करणको ललितपुर मेयर्समा ललितपुर ११ ले लुम्बिनीविरुद्ध ५ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । त्यो नै उच्च योगफल रहँदै आएको थियो ।   एपिएफको जितमा कप्तान सीता ६८ बलमा ९ चौका र २ छक्कासहित ७८ रनमा अविजित रहिन् । उनको यो टि२० घरेलु क्रिकेट करिअरको उत्कृष्ट प्रदर्शन हो । उपकप्तान इन्दु बर्मा ४१ बलमा ५ चौका र १ छक्कासहित ५१ रनमा अविजित रहिन् ।   ललितपुर मेयर्स कपमा एक ब्याटरले बनाएको सबैभन्दा उच्च योगफल हो । सीताले सुमन खतिवडाको कीर्तिमान तोडेकी हुन् । पहिलो संस्करणमा ललितपुरकी सुमन खतिवडाले ५२ बलमा ९ चौका र २ छक्कासहित ७७ रन जोडेकी थिइन् ।   दोस्रो विकेटका लागि सीता र इन्दुले १ सय ३६ रनको सानदार अविजित कीर्तिमानी शतकीय साझेदारी गर्दै विशाल योगफल बनाएका थिए । जुन ललितपुर मेयर्स कपको कुनैपनि विकेटको लागि भएको उच्च साझेदारी हो । पहिलो संस्करणमै सुमन खतिवडा र अश्मिना कर्माचार्यले छैटौं विकेटका लागि लुम्बिनीविरुद्ध १ सय ८ रनको अविजित साझेदारी गरेका थिए । उक्त कीर्तिमान सीता र इन्दुले तोडेका हुन् ।   कोशीकी एलिसा खडियाले एक विकेट लिइन् । यसअघिका दुबै संस्करणको उपाधि एपिएफले फाइनलमा सुदूरपश्चिमलाई समान ८ विकेटले हराउँदै जितेको थियो ।

काठमाडौं : सांसदहरूले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।   राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद शर्माले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले आवश्यक कानुन बनाउने कार्य स्वागत योग्य रहेको भन्दै पीडितहरूसँग तत्काल वार्ता गरी समाधान खोज्न आग्रह गरे।   सरकारले मिटरब्याजलाई अपराध मान्दै कानुनी दायरामा ल्याउन मुलुकी अपराधसंहिता,२०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ ।   यस्तै सांसद तारामान स्वाँरले गत कत्तिक २२ देखि सुदूरपश्चिममा निरन्तर भूकम्प गइरहेको,कैयौँको ज्यान जानुका साथै घर चर्किएर,भत्किएर बस्न नसक्ने अवस्थामा रहेको भन्दै त्रसित अवस्थामा रहेका नागरिकको सुरक्षा र राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरे । उनले भूकम्पको उच्च जोखिममा रहेको क्षेत्रको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाउन पनि आग्रह गरे।       सांसद तुलसाकुमारी दाहालले भूकम्पबाट क्षति पुगेको नेपाल राष्ट्रिय पुस्तकालयको संरचना हाल पुरानो ठिमीमा व्यवस्थापन गरिएको र त्यहाँ रहेका बहुमूल्य पुस्तक धमिरा लागेको र कुहिएको पुस्तकको संरक्षण गर्न माग गरे। उनले पुस्तकालयका एक लाख ५० हजार बढी सामग्रीको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

काठमाडौँ: लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । पूर्वी र पश्चिम खण्डमा गरी समग्र भौतिक प्रगति २८ प्रतिशत पुगेको छ ।    पूर्वी खण्डमा अहिले मासिक साढे तीन प्रतिशत प्रगति रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ । यसलाई बढाएर अर्को मासिक चारपाँच प्रतिशत पु¥याउने लक्ष्य लिइएको आयोजनाका प्रमुख प्रदीपराज शाक्यले बताउनुभयो ।    सो सडकको विभिन्न खण्डमा कालोपत्रको काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ चार लेनमा कालोपत्र गरिने भएपनि पहिले दुई लेनमा गरेर पछि अर्कोतर्फ गरिने योजना बनाइएको छ । एकै पटक सबैतिर साइट पनि खाली भइनसक्ने हुँदा एकातिर गरेर पछि अर्कोतर्फ हुनेछ । ”   सडक विस्तारको गति बढाउन अहिले जनशक्ति थप गरिएको र निर्माण सामग्री थप गरिरहेको प्रमुख शाक्यले जानकारी दिनुभयो । अहिले गिटी बालुवा केही मात्रामा अहिले पनि पाइरहेको र आगामी दिनमा विभिन्न पालिकाबाट पाइने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयो, “दिन्छु भनेका पालिकाले दिएमा समस्या हुँदैन ।”    तत्काल अरु समस्या अरु नआएमा प्रगति बढ्ने देखिएको आयोजनाले जनाएको छ । निर्माणस्थल खाली भइरहेको र निर्माण कम्पनीले पनि जनशक्ति बढाएकाले गति बढ्ने देखिएको हो । अहिलेको अवधि साउनसम्म रहेकाले थपका लागि निर्माण कम्पनीले निवेदन दिएको आयोजनाले जनाएको छ । यस विषयमा पहिले अन्तराष्ट्रिय परामर्शदाताले मूल्याङ्कन गरेर टुङ्गो लगाउनुपर्ने उहाँले बताउनुभयो ।    काम गरिरहँदा थप्नुपर्ने कारण छ भन्ने परामर्शदाताको सुझाबका आधारमा मात्रै थप हुनसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “परामर्शदाताले नै थप्न पर्छ वा पर्दैन र थप्ने भए कति थप्नुपर्छ भनेर प्रतिवेदन दिनुपर्छ ।” विभिन्न ठाउँमा पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ । बाटो सजिलो हुन अझै केही समय लाग्नसक्ने प्रमुख शाक्यले बताउनुभयो । वर्षा सुरु हुनु पहिले नै सबै डाइभर्सन हटाउने प्रतिबद्धता निर्माण व्यवसायीले गरेको उहाँले जानकारी दिनुभयो । विगतका वर्षको वर्षाभन्दा यो वर्ष केही सजिलो हुने उहाँको भनाइ छ ।  दुई वर्ष पहिले वर्षाको समयमा सो सडक भएर यात्रा गर्न धेरै समस्या रहेको थियो । गत वर्ष पनि एकदुई ठाउँमा डाइभर्सन रहेकाले समस्या भए पनि आगामी वर्षामा त्यो नदोहोरिने उहाँले बताउनुभयो ।     निर्माणस्थल खाली गराउन प्रक्रिया सकिए पनि काम भइसकेको छैन । निर्माण कम्पनीले सडकमा रहको बिभिन्न कुरा हटाउँदै खाली भएको खण्डमा निर्माणको काम गरिरहेको हो । विद्युतको पोल सार्ने, खानेपानीको पाइप सार्ने सबै काम निर्माण कम्पनीलाई नै जिम्मेवारी दिइएको । उहाँले भन्नुभयो, “उसले आफ्नो तालिकाअनुसार काम गरिरहेको छ ।”    अहिले तत्काल एकातिरबाट काम गर्ने र खाली भएपछि अर्कोतर्फ गर्ने गरी तत्काल एकातर्फको सडक मात्रै कालोपत्र भइरहेको छ । अहिलेको चुनौती भनेको निर्माण कम्पनीको व्यवस्थापन गरेर कामको प्रगति बढाउनु मात्रै रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले अरु पक्षबाट बिभिन्न अवरोध भए पनि त्यो सबै सामाधन भइसकेको छ अब जसरी पनि कामको प्रगति बढाउनुपर्ने छ ।”   झण्डै छ दशकपछि अहिले विस्तार भइरहेको छ । एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा विस्तार सुरु भएको सडक निर्माणको लागतमध्ये ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ । सडक चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग सहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ ।    सरकारले पूर्व–पश्चिम राजमार्ग एशियाली राजमार्गको मापदण्डमा विस्तारको काम अघि बढाएको छ । विभिन्न खण्डमा कतै विस्तार अघि बढीसकेको छ भने कतै विस्तारको तयारी अघि बढेको छ । विसं २०७५ मा सो सडक निर्माण सुरु भएको थियो । एक सय १४ किमी लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई योजनाअन्तर्गत काम अघि बढाइएको छ । दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्सट्रक्सन कर्पोरेशनलाई दिइएको थियो ।