काठमाडौं: निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ । उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार २६ राजनीतिक दल दर्ता भएका छन् । चितवन क्षेत्र नं २ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ । यसैगरी, उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘निर्णयबमोजिम चितवन जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ तथा बारा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा उम्मेदवार हुन चाहने वा उम्मेदवारको निर्वाचन प्रतिनिधि हुन चाहने व्यक्तिले मतदाता नामावलीको उतार लिन कुनै निर्वाचन कार्यालयमा पनि निवेदन दिनसक्ने र यसरी निवेदन प्राप्त भएमा सम्बन्धित निर्वाचन कार्यालयबाट तोकिएको प्रक्रिया पूरा गरी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–२ बमोजिमको ढाँचामा नामावलीको उतार उपलब्ध गराइनेछ ।’’
काठमाडौं: श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ। श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो। स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरले जानकारी दिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त निर्णय गरेका हुन्। अब स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने मन्त्रालयको भनाइ छ। आगामी वैशाख अगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको कार्य सञ्चालन गरिने प्रवक्ता घिमिरेको भनाइ छ। यसअघि सातवटै प्रदेशमा रहेका श्रम कार्यालयबाट श्रम स्वीकृतिको कामा अघि बढाइएको थियो । त्यसपछि पनि श्रमिकलाई दुःख दिने, फाइलहरु अनावश्यक रुपमा अल्झाउने गुनासाहरु मन्त्रालयमा पुग्ने गरेका थिए। सोही आधारमा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले जनाएको छ।
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन्। आजदेखि सुरु भएकोे परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६ विद्यार्थी रहेको प्रदेश शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिका आचार्यले जानकारी दिए। उनका अनुसार परीक्षामा प्राविधिकतर्फ एक हजार तीन सय ७६ विद्यार्थीले परीक्षा दिँदैछन् भने ग्रेड वृद्धिको परीक्षा दुई सय ७२ जनाले दिँदैछन्। कास्की जिल्लामा यस वर्षको एसइईमा १० हजार चार सय ४२ जना विद्यार्थी सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख नारायण सुवेदीले जानकारी दिए। उनका अनुसार जिल्लामा साधारणतर्फ १० हजार एक सय ४३ र प्राविधिकतर्फ दुई सय नौजना विद्यार्थी परीक्षामा सहभागी बन्दैछन् भने ग्रेड वृद्धि परीक्षा दिने ८६ छन्। एसइईको पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा सौहार्दपूर्ण रुपमा सञ्चालन भएको उनले बताए।
सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन्। नेकपा (एमाले),नेकपा(एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री भएका शर्माले माघ ६ गते विश्वासको मत लिएका थिए। राष्ट्रपतिको चुनावसँगै फेरिएको राष्ट्रिय समीकरणपछि केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएको छ। राप्रपाका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन्। शुक्रबार विश्वासको मत लिने प्रयोजनका लागि आज मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई आवश्यक व्यवस्थापन गरिदिन चिठी पठाएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए। 'उहाँले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिनु हुनेछ,' सचिव बुढाथोकीले भने, 'शुक्रबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक बसेलगत्तै मुख्यमन्त्री शर्माले विश्वासको मत लिनेगरी आवश्यक व्यवस्थापन गरिरहेका छौं।' नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीको विश्वासका मतका लागि अहिलेसम्म सत्ता साझेदार दल एमाले, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कसैसँग छलफल नभएको बताए। शुक्रबार लिइने विश्वासका मतका लागि सबै दलहरुसँग छलफल गरेर विश्वासको मत दिने वातावरण बनाइने उनले बताए। a कर्णाली प्रदेशसभामा नेपाली कांग्रसेका १४, नेकपा (माओवादी केन्द्र)का १३, एमालेका १०, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका एक-एक गरी ४० सदस्य रहेका छन्।
न्युयोर्क : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग लागेको छ । लामो अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उनलाई फौजदारी अभियोग लगाएको हो । अमेरिकाको इतिहासमा पूर्वराष्ट्रपतिलाई फौजदारी अभियोग लागेको यो पहिलो घटना हो । फौजदारी अभियोगबारे ग्रान्ड जुरीले स्पष्ट नगरे पनि विवाहेत्तर यौन सम्बन्धलगायत दुई दर्जन मुद्दा पूर्वराष्ट्रपतिलाई लाग्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । जुरीको उक्त निर्णयसँगै उनको राजनीतिक एवम् व्यापारिक कारोबार प्रभावित हुनाका साथै पुनः राष्ट्रपतिमालड्ने उनको योजना चकनाचुर भएको छ । सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अघि ट्रम्पले अश्लिल चलचित्रकी नायिका स्टर्मी डेनियलसँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न उनलाई भुक्तान गरिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ । ट्रम्पविरुद्धका मुद्दाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । डेनियलले पनि आफूलाई ट्रम्पले मौन रहन रकम दिएको दाबी गरेकी छन् । पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएको उक्त आरोपको खण्डन गरेका छन् । उनले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक स्वार्थबाट प्रेरित भनेका छन्। उनका छोरा एरिकले आसन्न राष्ट्रपतिको चुनावलाई लक्ष्य गरेर विपक्षीले उक्त आरोप लगाएको आरोप लगाएका छन्। म्यानहाटनस्थित सरकारी वकिलको कार्यालयले पूर्वराष्ट्रपतिको आत्मसमर्पणको सहजीकरणका निम्ति उनका वकिलसँग सम्पर्क गरिएको बताएका छन् । हाल फ्लोरिडामा रहेका ट्रम्प आगामी मंगलबार न्युयोर्कको अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ । अदालतमा उनले आफू निर्दोष रहेको दलिल प्रस्तुत गर्दै अपील गर्ने सम्भावना छ । उनलाई अदालतले धरौटीमा रिहा गर्ने सम्भावना पनि रहेको छ । शुक्रबार नै उनलाई आत्मसमर्पण गर्न भनिएको थियो तर उनका वकिलहरूले केही समय माग गरेका थिए ।
पशुपतिनगर: इलाम कारागारबाट एक कैदी फरार भएका छन् । देशकै नमुना सुधारगृह बनाइएको इलाम कारागारबाट थुनुवाका रुपमा रहेका झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय मनराज राई फरार भएका हुन् । विहीबार साँझ कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको कारागार प्रशासनले जनाएको छ । गणनाका क्रममा उनी फेला नपरेपछि फरार थुनुवाको खोजतलास भइरहेको इलामका एसपी दिलिप घिमिरेले जानकारी दिनुभयो । उहाँले सिसि टिभी फुटेज हेर्दा बिहिबार नै कैदी भागेकोसमेत देखिएको बताउनुभयो । "हामी कारागारबाट कैदी फरार कसरी भयो भन्ने अनुसन्धान गर्दैछौ," एसपी घिमिरेले भन्नुभयो । डाँका मुद्दामा सजाय भोगीरहेका राई २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा कारागार चलान भएका थिए । इलाम कारागारमा केहि दिनअघि कारागारभित्रै मादकपदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियो सार्वजनिक भएको थियो । जिल्ला प्रशासन कार्यालय इलामको अगुवाईमा छानविन गरिए पनि उक्त भिडियो १० महिना अगाडीको रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो समय नमुना मानिएको इलाम कारागार विवादित बन्दै गएको छ ।
काठमाडौँ: आज (शुक्रवार) देश सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) को तथ्याङकनुसार देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले परीक्षामा सहभागिता जनाएका छन् । परीक्षा बिहान ८ बजेबाट सुरु भएको छ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । परीक्षाका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित सरकारमा संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजैबाट सत्तारुढ हुने भएको छ । नवनियुक्त मन्त्रीहरूले आजै ३ बजे राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मन्त्री पदको शपथ ग्रहणको समय तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सञ्चारकर्मीहरूलाई २ः३० बजे नै राष्ट्रपति भवनमा आउन निमन्त्रणा पनि गरिएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले शपथ ग्रहणको तयारी सुरु भएको जानकारी दिनुभयो । यसैबीच, प्रधानमन्त्री प्रचण्डले आजै राष्ट्रपति पौडेलसँग भेट गरी नयाँ मन्त्रीहरूको शपथ ग्रहणका लागि समय लिनु भएको जानकारी प्राप्त भएको छ । राष्ट्रपतिसँग प्रधानमन्त्रीको यो नियमित भेट हो ।
काठमाडौं: शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आइतबार एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ ४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा तोकिएको छ। बिहीबार युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६७ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो। बिहीबाररको तुलनामा आज युरो ३८ पैसा बढेको हो। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ६ पैसा र बिक्रीमा ८८ रूपैयाँ ४७ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १६३ रूपैयाँ १२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४८ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २ पैसा र बिक्रीदर ३५ रूपैयाँ १८ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रूपैयाँ ९५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ७२ पैसा र बिक्रीमा २९ रूपैयाँ ८६ पैसा पाइन्छ। शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ ६४ पैसा र बिक्रीमा ४३० रूपैयाँ ५९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५० रूपैयाँ २० पैसा तोकिएको छ।

