काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान महाराजगञ्जस्थित अस्पतालमा पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरेका हुन्। पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिबार साँझ अस्पताल भर्ना भएका हुन्।
काठमाडौं : प्रतिनिधिसभा बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने कार्यसूची छ। त्यस्तै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तु गर्ने कार्यसूची छ। मस्यौदा प्रतिवेदनमा पर्ने संसोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने छ। त्यसपछि समितिका सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
साउदी : बैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेर हत्या अभियोगमा अलपत्र परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन्। साउदीको अल अन्सारी प्लाजा नामक कम्पनीमा कार्यरत उनीहरू लामो समयदेखि एक भारतीय नागरिक सँगै रुममा बसेका थिए तर भारतीय नागरिकको २०१८ नोभेम्बरका दिन शंकास्पद मृत्यु भएलगत्तै उनीहरूलाई कानुनी रुपमा सोधपुछ गरि शंकास्पद हत्या भएको र अन्य कुनै सन्दिग्ध अपराधी फेला नपरेको कारण उक्त हत्या अभियोगमा चार वर्ष जेल सजाय भएको थियो। पिडीत नेपालीले आफू निर्दोष रहेको र उद्दार गरिदिन नेपाली राजदुतावास र एन आर एन लाई आग्रह गरेका थिए। नेपाली दूतावासको निरन्तर प्रयासपछि साउदी अदालतले ३ अगस्ट २०२२ का दिन निर्दोष सावित गरी जेलमुक्त गर्न आदेश दिएको थियो। त्यसपश्चात उनीहरूलाई मध्यपूर्व संयोजक राजेन्द्र अर्याल तथा हेल्प मधेसीको सहयोगमा खान बस्नसहित एन आर एन को अस्थायी शिविरमा राखिएको थियो। पिडीत नेपालीलाई स्वदेश फिर्ताको लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी बहिर्गमन भिषा उपलब्ध गराइएको थियो। हत्या अभियोगमा इन्द्रजित मन्डल (महोत्तरी), बासुदेब ठाकुर (सिरहा), धनबहादुर तामाङ (इलाम), कृष्ण बहादुर घन्सी (भक्तपुर) र रामप्रसाद ठाकुर (धनुषा)का रहेका छन्। १ अप्रिल २०२३ का दिन उनीहरू स्वदेश फिर्ता भएका छन्।
काठमाडौँ: इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले १५/१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घद्दै गएकाले नयाँ मूल्य घटेर आएको हो । मूल्य घटेर आए पनि शनिबार सार्वजनिक बिदा परेकाले निगमले मूल्य यथावत् राखेको जनाएको छ तर मूल्य घटाउने तयारी भने निगमले गरेको जनाइएको छ । हाल बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८ रुपियाँ र डिजेलको १७५ रुपियाँ कायम छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ र डिजेलमा प्रतिलिटर १५ रुपियाँ नाफा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा बैङ्किङ क्षेत्रमा देखिएको मन्दी र समस्याका कारण कच्चा तेलको खपतमा कमी आएको र त्यसले मूल्यमा गिरावट ल्याउँदै आएको छ । खपत कम हुनुले गर्दा पेट्रोलियम पदार्थ रिफाइनरी गर्ने कम्पनीहरूको लागतमा पनि कमी आएकाले नेपाल आउने पेट्रोलियम पदार्थको पनि मूल्य घटेको निगमको भनाइ छ । निगमले पछिल्लो समय पेट्रोलियम पदार्थ खरिदबापत आईओसी र सरकारको ऋण गरेर १६ अर्ब बक्यौता तिर्नुपर्ने थियो । हाल नाफामा रहेका कारण उक्त बक्यौता घटेर १२ अर्ब हाराहारीमा आइपुगेको छ ।
काठमाडौं:हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो कोशी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यताय सफा रहने जानकारी दिएको छ। आज राती पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने र कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यस्तो रहनेछ आगामी तीन दिनको मौसम २०७९ चैत १९ गते (आइतबार) दिउँसोː कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया आंशिक बदली देखि सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। रातीː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। २०७९ चैत २० गते (सोमबार) दिउँसोː सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेश पहाडी भू-भागका थोरै स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। रातीː सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। २०७९ चैत २१ गते (मंगलबार) दिउँसोː सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। रातीː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल बिरामी भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ। पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पताल लगिएको थियो। उनको उपचार भइरहेको छ। राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ। राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएको र चिकित्सकको निगरानीमा राखिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यसलगत्तै उनको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो।
काठमाडौं: नेपाली कांग्रेसले चितवनस्थित रामपुर कृषि क्याम्पसमा भएको स्ववियु चुनाव रद्द गर्न माग गरेको छ। क्याम्पस प्रमुख र निर्वाचन समिति संयोजकले नेविसंघलगायत अन्य विद्यार्थी संगठनसँग समन्वय नगरी निर्वाचन गराएको भन्दै कांग्रेसले यस विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यहाँ चैत १७ गते स्ववियु चुनाव भएको थियो। ‘स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनु क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको प्रमुख जिम्मेवारी हो । नेपाल विद्यार्थी संघको उपस्थितिबिना क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको मिलोमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिनु अत्यन्त खेदजनक छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ। यस्तै अवैधानिक कार्यको विरोध गर्दा नेविसंघका २ जना घाइते भएको समेत विज्ञप्तिमा उल्लेख छ। ‘क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले निर्मम तवरले पिट्दा, नेविसंघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाइ अध्यक्ष सुरज यादव गम्भीर घाइते हुनु भएको छ। उहाँहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ,’ मुख्यसचिव पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। साथै यो घटनाको छानबिन गर्नसमेत कांग्रेसले माग गरेको छ। ‘घटनाको यथार्थ छानविन गरी अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गर्न सम्बद्ध सबै पक्षसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ । साथै घाइते विद्यार्थीहरुको उचित उपचारको प्रबन्ध गर्न पनि नेपाली कांग्रेस माग गर्दछ,’ उनले भनेका छन्। सभापतिका उम्मेदवार आशिष देवकोटाले अवैधानिक कार्यको विरोध गर्दा आफूमाथि कुटपिट र प्रहरीले हटकडीसमेत लगाएको बताएका छन्। ‘क्याम्पस प्रमुख मिलन सुवेदी र निर्वाचन अधिकृत सूर्यप्रसाद भट्टले प्रशासनको दुरूपयोग गरी बुथ क्बजा गरी स्ववियु निर्वाचन गर्न खोज्दा मैले औंला उठाएँ, बोलेँ, रोक्न खोजेँ तर मेरो केही सिप चलेन,’ उनले भनेका छन्, ‘मलाई प्रहरीले कुट्यो। क्याम्पस प्रशासनले रोकेन। सबै टुलुटुलु हेरेर बसे।’ स्ववियु चुनावका लागि २४१ जना मतदाता भए पनि शुक्रबार जम्मा १२० जनाले मतदान गरेका थिए। क्याम्पस प्रशासनले भने गत चैत ५ मै गर्ने तयारी रहेको चुनाव नेविसंघले तालाबन्दी गरेका कारण रोकिएको प्रतिक्रिया दिएको छ। नेविसंघका केहीले मतपत्र च्यात्न खोज्दा धकेलाधकेल भएको क्याम्पस प्रशासनको भनाइ छ। चुनावमा नेविसंघले भाग लिएको थिएन।
काठमाडौं: उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतालाई आवश्यक पर्दा सरकारले नै ऋण उपलब्ध गराउने योजना रहेको बताएका छन्। मिटरब्याज पीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा सरकारी वार्ता टोली र पीडित पक्षबीच भएको सहमतिमा हस्ताक्षर गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याजी समस्या समाधान गर्दै आवश्यक पर्दा सरकारले नै ऋण उपलब्ध गराउने तयारी रहेको बताएका हुन्। पीडितहरू सरकारले सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, मिटरब्याज विरूद्ध कानुन निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुटा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर्नुपर्ने लगायतका मागसहित आन्दोलनमा छन्। उपप्रधानमन्त्री श्रेष्ठले मिटर ब्याजको समस्या साझा सरोकारको विषय भएको बताउँदै सरकार गम्भीर रहेको र चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘प्राविधिक रूपले अहिलेको सन्दर्भका कारणले दुई पक्षबीच सहमतिको हस्ताक्षर गर्नुपरेपनि यो विषय साझा सरोकारको विषय हो,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘मुलुक लोकतान्त्रिक गणतन्त्रमा पुगिसक्दा पनि मिटरब्जायको समस्या हुनुले आर्थिक पाटो मात्रै नभई बहुआयामिक पाटोमा असर पर्छ। हामी हरहालतमा समाधान गर्छौँ।’ उनले मिटरब्याज पीडितको आन्दोलन न्यायपूर्ण आन्दोलन भएको र पीडित पक्षसँग गरिएको सहमति चाँडै कार्यान्वयन हुने विश्वास दिलाए। ‘सहमति कार्यान्वयनको प्रक्रियामा फेरि मिलेर काम गर्नुपर्ने हुन्छ, समन्वय गरेर काम गर्नुपर्ने हुन्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने। उनले सबै प्रकारका शोषण र उत्पीडनलाई अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समाज निर्माण गर्नु सरकारको प्राथमिकता रहेको बताए।
काठमाडौं: ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन चलाउने चार जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वर क्षेत्रमा गरेको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने चार चालकलाई गए राति नियन्त्रणमा लिएको हो। ट्राफिक प्रहरीेले बा ५ ख ८४५५ नम्बरको टिपर चालक दोलखाका २४ वर्षीय कुमार कार्की, बा ४ ख ७३४७ नम्बरको टिपरका चालक काभ्रेपलाञ्चोकका ३३ वर्षीय विजय तामाङ, बा १ ज ८९६१ नम्बरको ट्याक्सीका चालक सिन्धुलीका २३ वर्षीय ईन्द्रबहादुर बस्नेत र बागमती प्रदेश–०३–००१ ख १००४ नम्बरको लहरीका चालक नुवाकोटका २६ वर्षीय अर्जुन लामालाई पक्राउ गरेको हो। ट्राफिक प्रहरी, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले गए राति १० बजेदेखि १२ बजेसम्म २१ सवारी साधनमा गरेको जाँचका क्रममा चार चालकलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। नियन्त्रणमा लिएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको प्रवक्ता भट्टले बताए। मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागुऔषध सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागुऔषध जाँच अभियानलाई तीव्रता दिइएको सो कार्यालयले जनाएको छ।

