मध्यविन्दु: नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गर्नुभएको छ । उहाँले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । यस क्षेत्रमै पहिलो पटक रु. दुई लाखको लगानीमा व्यावसायिकरुपमा स्ट्रबेरी खेती सुरु गरिएको उहाँले बताउनुभयो । “प्लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी सिँचाइ सुविधा पु¥याउनका लागि थोपा सिँचाइको समेत व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “चार महिनाअघि प्लाष्टिक टनेलमा रोपिएको स्ट्रबेरीले फल दिन सुरु गरेको छ ।” हालसम्म तीन क्विन्टलभन्दा धेरै स्ट्रबेरी स्थानीय बजारमा बिक्री भइसकेको किसान पराजुलीले बताउनुभयो । प्रतिकिलो रु. छ सयका दरले स्ट्रबेरी स्थानीय बजारमा सहजै बिक्री भएको छ । “स्थानीय बजारसगै बाह्य क्षेत्रबाट समेत माग आउन थालेको छ”, उहाँले भन्नुभयो, “कात्तिकमा लगाएको स्ट्रबेरी माघबाट उत्पादन भएको र बिक्री गर्न सुरु भएको छ, सुरुमा आठ सय प्रतिकेजी बिक्री गरेको र अहिले छ सय प्रतिकेजी बिक्री भइरहेको छ । माग धेरै आउन थालेको छ । धान्नै गाह्रो भइसकेको छ ।” दुई कट्ठा क्षेत्रफलमा लगाइएको स्ट्रबेरीको उत्पादनबाट सन्तोषजनक आम्दानी हुन थलोको छ । अहिलेसम्म रु दुई लाख आम्दानी भइसकेको र अझै स्ट्रबेरी बिक्री गर्न बाँकी रहेकाले आगामी दिनमा क्षेत्रफल विस्तार गरी उत्पादन बढाउनका लागि काम अगाडि बढाइएको पराजुलीको भनाइ छ । “इन्टरनेटको माध्यमबाट खेती गर्ने तरिका सिक्यौँ, कृषि विज्ञको सल्लाह लिएर प्लाष्टिक टनेलमा चितवनबाट गत वर्ष आठ सय स्ट्रबेरीका बोट ल्याई रोपेका हौँ”, उहाँले भन्नुभयो, “यसरी फस्टाउने कल्पना नै गरेका थिएनौँ अहिले दुई हजारभन्दा बढी स्ट्रबेरीका बिरुवा लगाएका छौ राम्रैसँग फल्न सुरु गरेको छ ।” एउटै बोटमा एक केजीसम्म स्ट्रबेरी फल्ने गरेको छ । आफ्नो घर परिवारसगै एक जनालाई रोजगार दिएको पराजुली बताउनुहुन्छ । स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ । उत्पादन भएको सबै फल बिक्री नभएमा प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्कसेक बनाई बजारमा बेच्ने फार्म सञ्चालकको योजना छ । आफ्नो जमिन नभए पनि दुई बिघा जग्गा भाडामा लिएर स्ट्रबेरी, खरवुजा, ड्रागन खेती, कागती, बयर, शीतलचिनी खेती गरेको पराजुलीले बताउनुभयो । ठाउँ र जातअनुसार स्ट्रबेरीका बिरुवा हुर्कन सक्ने कृषि ज्ञान केन्द्र नवलपुरका सुचना अधिकारी शङ्कर पौडलले बताउनुभयो । “फूल फुलेको करिब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिनपछि फल टिप्नलायक हुन्छ”, उहाँले भन्नुभयो, “हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र सातदेखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ ।” पौष्टिकताका हिसाबले महत्वपूर्ण मानिएको यस फलमा एन्टिअक्सिडेन्ट, भिटामिन सी, प्रोटिन र खनिजलगायतका तत्व पाइन्छ । स्ट्रबेरीलाई भुइँकाे फल भन्ने गरिए पनि स्थानीय भाषामा भने बुढी काफल भन्ने गरिन्छ । यो फल पिसाबसम्बन्धी रोग भएका बिरामीका लागि उपयोगी मानिने जनाइएको छ ।
स्याङ्जा: भीरकोट नगरपालिका–१, सिसौघारी आँधीखोला किनारमा निर्माण गरिएको पार्क पछिल्लो समय सबैको आकर्षणको केन्द्र बनेको छ। यो पार्क बालक, युवा, प्रौढदेखि वृद्धसम्म सबैको मनै लोभ्याउने गरी निर्माण गरिएको छ। सिद्धार्थ राजमार्गबाट करिब पाँच सय मिटरभित्र रहेको यस पार्कमा आउने सर्वसाधारणको सुरक्षाका लागि सीसी क्यामरासमेत जडान गरिएको छ। देशकै पहिलो बालमैत्री नगरपालिका भीरकोटमा बालवाटिकाको कल्पनाअनुरूप बालवाटिका एवं भीरकोट पार्क बनाएको हो। सबै वर्गका लागि सहज रहेको पार्क निर्माणको कल्पना तत्कालीन भीरकोट नगरप्रमुख छायाराम खनालले गर्नुभएको थियो। बालवाटिकाको सोचले निर्माण गरिएको पार्क अहिले नमुना र रमणीय बनेको बताउँदै नगर प्रवक्ता दीपेन्द्र केसीले अवलोकन, वनभोज र भेटघाटका लागि सार्वजनिक बिदाका दिन सर्वसाधारणको भीड लाग्ने गरेको बताउनुभयो। नगरपालिकाले ४४ रोपनी क्षेत्रफलमा २०७६ सालमा पार्क निर्माण सुरु गरेर दुई करोड रुपियाँको लागतमा दुई वर्षमा निर्माण सकेको हो। पार्कको प्रवेशद्धार गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको हो। सो पार्कमा फूलबारी, साना हरियाली रुखहरू, क्यारी, दुबोका बगैँचा, बस्न र खेल्नका लागि कुर्सी, ट्रस्ट, पोखरी, रमणीय र सुन्दर बगैँचा रहेको छ।
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्। उनले चितवन- २ बाट उम्मेदवारी दर्ता गराएका हुन्। उपनिर्वाचनपश्चान रास्वपाले र्याली निकालेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म दलहरूलाई उम्मेदवारी दर्ताका लागि समय दिइएको छ। आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ। गत मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन हुन लागेको हो।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव महाराजगन्ज पुगेका छन्। शनिबार साँझ पेटमा समस्या भएपछि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव गएको सचिवालयले जनाएको छ। भेटमा उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। यादवले पौडेलको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। पौडेललाई चिकित्सकको निगरानीमा राखिएको शिक्षण अस्पतालले जनाएको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
काठमाडौं: नेकपा एमालेबाट बारा–२ मा पुरूषोत्तम पौडेललाई उम्मेदवार बनाउने भएको छ। सोमबार पूर्वमन्त्रीसमेत रहेका पौडेललाइ बारा–२ को उपनिर्वाचन लड्न टिकट दिने निर्णय गरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। पौडेललाई उम्मेदवार बनाउने सम्बन्धमा आइतबारकाे बैठकमा भएकाे छलफलअनुसार सोमबार बिहान निर्णय भएको रिजालले बताए। बारा–२ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने भएका छन्। गठबन्धनका प्रमुख दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि यादवलाई सहयोग गर्ने निर्णय गरिसकेको छ। गठबन्धनकै अर्को दल जनमत पार्टीले भने शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शिवचन्द्र केही दिनअघि मात्रै माओवादी परित्याग गरेर जनमत प्रवेश गरेका थिए। चुनाव प्रचारका लागि जनमत अध्यक्ष सिके राउत केही दिनदेखि बारामै छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले भने रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ। वैशाख १० गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ।
काठमाडौं: सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि प्रतितोला छ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो। आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं : नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार राती कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। सोमबार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भाग, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मंगलबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
चितवन : एलपी ग्यास बोकेको ट्याङकर पल्टिदा एकजनाको मृत्यु भएको छ । आफै अनियन्त्रित भइ ट्यांकर पल्टिदा एकजनाको मृत्यु भएको हो भने अर्का एकजना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन । बिहान ६ बजे इच्छाकामना गाउँपालिका वडा नम्बर ४ पृथ्वीराजमार्गको लेवटारमा मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डीटी ६०५५ नम्बरको भारतीय ट्याङकर अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हो । घाइतेको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको चितवन प्रहरीका प्रवक्ता डीएसपी बिजय पन्डितले बताए ।
पोखरा: नेपाल मगर संघ गण्डकी प्रदेशले प्रदेश सरकारको सरकारी कामकाजको भाषाको रुपमा मगर भाषालाई प्रयोग गर्न माग गरेको छ । नेपाल मगर संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट निर्वाचित समितिले ६ बुदे घोषणा पत्र जारी गर्दै प्रदेश सरकारको कामकाजको भाषाको रुपमा मगर भाषालाई राष्ट्रिय भाषा आयोगले सिफारिस गरेको मगर ढुट भाषालाई कार्यान्वयन गर्न माग गरेको हो । मगर संघ गण्डकीले जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशी राज्य व्यवस्था हुनुपर्ने, प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको नवनिर्वाचित तारामाया थापामगरले बताईन । घोषणापत्रमा पोखराको लखनचोकस्थित सहिद लखन थापामगरको शालिकलाई विस्थापित गर्ने षड्यन्त्र अनुसार पृथ्वीनारायाण शाहको शालिक तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । गण्डकी प्रदेशको नाममा मगरात पहिचान जोड्न गण्डकी प्रदेश सरकार र प्रदेश सांसद समक्ष माग गर्ने समेत घोषणा पत्रमा उल्लेख गरेको छ । मगर संघ गण्डकीको अध्यक्षमा तारामाया थापामगर नेपाल मगर संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट तारामाया थापामगरको अध्यक्षतामा सर्वसम्मत ४२ सदस्य कार्यसमिति चयन भएको छ । पोखरामा चैत १८ र १९ गते सम्पन्न भएको अधिवेशनले थापामगरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा प्रथम उपाध्यक्ष मनिराज थापामगर, उपाध्यक्ष दानबहादुर थापामगर, महिला उपाध्यक्ष पवित्रा थापामगर, भाषिक उपाध्यक्ष जगन पुनमगर, प्रमुख सचिव नन्दु थापामगर, कृष्णबहादुर थापामगर, महिला सचिव संगिता पुनमगर, कोषाध्यक्ष उत्तमप्रसाद बडावलमगर, सह कोषाध्यक्षमा ज्ञानीसरा रानामगर र यामकुमारी गर्बुजामगर चयन भएका हुन् । यस्तै संघको सदस्यहरुमा याम कुमारी गर्वुजा मगर, टकसरा राना मगर, हिरा बहादुर पुन मगर, विर वहादुर थापा मगर, हिरा देवी मगर, युवराज पुन मगर, खिम पुनमगर, देउकुरमारी थापा मगर, बलविर रानामगर, सगुन रानामगर, डिलबहादुर थापा मगर रहनुभएको छ । यस्तै शुुभ रानामगर, खेम बहादुर सारुमगर, शिव पुनमगर, मान बहादुर थापामगर, कलाकार रानामगर राजन आलेमगर, हिमला आले मगर, मन बहादुर पुनमगर, नरमाया आलेमगर, बेलमाया राना मगर, शोभा राना मगर, भुपेन्द्र मास्की मगर, रेवती थापा मगर चयन हुुनुुभएको छ । संघले बाँकी सदस्य पहिलो बैठकले मनोनित गर्ने जनाएको छ ।

