जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

काठमाडौं:   उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ। राजदूत थम्पसन शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई बधाई दिन पुगेका थिए।  राजदूत थम्पसन तीन महिना पहिले मात्रै काठमाडौँस्थित दूतावासमा जिम्मेवारी सम्हालेका हुन्। राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच पुरानो र मजबुत सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे।

 सुर्खेत:  सुर्खेत वीरेन्द्रनगरको मध्यभागमा अवस्थित घडी भवन अर्थात् घण्टाघर । यसका पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर वर्गाकार घडी । समय दिन्छन् तर गलत दिन्छन् । बाह्र वर्षअघिसम्म घण्टाघरमा जति बज्यो त्यतिपल्ट धुन बज्थ्यो र घडीको सुई सर्दथ्यो । त्यसयता घडीका सुई घुम्दैनन् । वीरेन्द्रनगरको पहिचानका रूपमा रहेको घण्टाघरको चारवटै घडी बिग्रिएका छन् । कुनै पनि घडीले समयको जनाउ दिँदैनन् । मर्मतमा कसैले ध्यान नदिँदा मिठो धुनसँगै समयको जनाउँ दिने यी घडी अहिले चल्दैनन् । बाह्र वर्षअघि घण्टाघरका घडीमा टिङटिङ टिङटिङ आवाज आउँथ्यो । सोही आवाज सुनेर कति बज्यो भनेर थाहा पाउँथे । बाटो हिँड्ने बटुवा, घण्टाघर हेर्न पुगेका पर्यटक र स्थानीयले समय सहजै थाहा पाउँथे तर घण्टाघरको चार दिशामा रहेका चार घडीका सुईले १२ वर्षदेखि कहिल्यै समय फेरेका छैनन् । घडी सधैँ स्थिर छन्, सुई जाम भएर समय सधैँ उही देखाइरहेका छन् । यहाँ रहेका चारवटै घडीले १०ः५० को समयमात्र देखाउँछन् । घण्टाघर रहेको स्थानमा उद्यान छ । घण्टाघरको माथिबाट वीरेन्द्रनगर उपत्यकाको ९० प्रतिशतभू–भाग दृश्यावलोकन गर्न सकिन्छ । विसं २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल बिताइसके । उहाँहरुले पनि घण्टाघरमा नयाँ घडी राख्न सक्नुभएन । यसपटकको स्थानीयतह निर्वाचनमा पनि मतदाताले ‘घण्टाघरको सुई कहिले घुम्छ ?’ उम्मेदवारसँग प्रश्न गरेकै हुन् । विसं २०४५ मा चीन सरकारको सहयोगमा घण्टाघर निर्माण गरी जडान गरिएका चार वटा घडी बिग्रिएको वर्षौैं भएको छ । प्रदेशमुकाम रहेको वीरेन्द्रनगर नगरपालिका–६, मा रहेको घण्टाघरका घडीले समय देखाउन छाडेपछि अहिले पर्यटकीय स्तम्भका रुपमा रहेको घण्टाघरकै पहिचान हराउन थालेको ६५ वर्षीय बेदुराम केसीले बताउनुभयो । वीरेन्द्रनगर उपत्यकाको एक महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा रहेको घण्टाघरको सुई बन्द हुँदा घण्टाघरकै पहिचान सकिन थालेको बताउँदै उहाँले भन्नुभयो, “नाम घण्टाघर भएर के गर्ने, घडीको सुई सर्दै सर्दैनन् । घडीमा टिङटिङ आवाज बजे कम्तीमा कति बज्यो भनेर आन्दाज त हुन्थ्यो । अहिले मोबाइलको जमाना भए पनि घडीको महत्व छुट्टै छ ।” वीरेन्द्रनगर नगरपालिका–६, का ७१ वर्षीय लालवीर चपाईले पहिले साक्षर नभएका मानिसका लागि घण्टाघरका घडीको महत्व छुट्टै रहेको बताउनुभयो । “घण्टाघरमा प्रत्येक घण्टामा धुन बज्थ्यो र घडीको सुई घुमेको थाहा हुन्थ्यो । घण्टाघरको सुई बन्द हुँदा घण्टाघरको पहिचान नै सकिने अवस्थामा पुगेको थियो । नयाँ घडी राख्ने कुरा सुनेको छु”, उहाँले भन्नुभयो । उहाँका अनुसार यहाँको काँक्रेविहार, देउतीबज्यै र बुलबुलेपछि घण्टाघर नै पर्यटकीय गन्तव्य हो । “उतिबेला सबैले घडी किनेर लगाउन सक्दैन्थे । पहिला घडीको घण्टीले समयको अड्कल दिन्थ्यो, अहिले दिन र रात भन्ने मात्र आँकलन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “घण्टाघरको घडीको ध्वनिले कुनै बेला बेग्लै आनन्द दिन्थ्यो ।” अहिले सबैको हातहातमा घडी छन् । समय हेर्न मोबाइल फोनलगायत अन्य साधन पनि छन् तर घण्टाघरको समय हेर्दाको सम्झना गर्ने पनि उत्तिकै छन् । वीरेन्द्रनगर–१३ लामीडाँडाका छविलाल सार्कीले पहिले घण्टाघरका घडी राम्रोसँग चले पनि लामो समयदेखि सबै घडी बन्द रहेको बताउनुभयो । “दिउँसो १२ बजे ठूलो धुुन सुनिन्थ्यो, अनिमात्र हामीले १२ बज्यो भनेर थाहा पाउँथ्यौँ”, उहाँले विगत सम्झिँदै भन्नुभयो, “बाटोमा हिँड्ने बटुवाले पनि घडीको धुन सुनेर कति बज्यो भन्ने थाहा पाउँथे ।” घण्टाघरको संरक्षण गर्ने जिम्मा वीरेन्द्रनगर नगरपालिकाको भए पनि हालसम्म संरक्षणमा उचित ध्यान नदिँदा अस्तित्व नै सङ्कटमा परेको उहाँले बताउनुभयो । मजदुरी गर्नेका लागि पनि घण्टाघरको सुई र घण्टी महत्वपूर्ण रहेको वीरेन्द्रनगर–६ कै बास्मती भण्डारीले बताउनुभयो । “घण्टाघरले काम जाने र फर्कने समयको ख्याल हुन्थ्यो”, उहाँले भन्नुभयो, “घण्टाघरको सुई चल्दासम्म सुर्खेत बजारभरि आवाज सुनिन्थ्यो ।” विसं २०७७ मा परेको चट्याङले घण्टाघरको संरचनामा क्षतिसमेत पु¥याएको छ । भेरी नदीमा पक्की पुल निर्माण सकिएपछि त्यहाँ बचेको निर्माण सामग्रीबाट चीन सरकारले उपहारस्वरुप वीरेन्द्रनगरको मध्यभागमा घण्टाघर बनाइदिएको हो । घण्टाघर निर्माणपछि यहाँका पर्यटकीय गतिविधिले समेत फड्को मारेको केसीले बताउनुभयो । नगरवासीले पटकपटक घण्टाघरका घडी चलायमान गराउनुपर्ने माग राख्दै आएका थिए । त्यसो त घण्टाघर घुम्न आउने सयौँ पर्यटकलाई त्यहाँ रहेका चारवटा घडीले कहिल्यै सही समय देखाएनन् । घण्टाघर हेर्न आउने सयौँ पर्यटक टावरमा चढेर सुर्खेत उपत्यका नियाल्दै खिन्न भएर प्रश्न गर्छन्, “यति राम्रो उपत्यका नियाल्न शिर चढाउने घण्टाघरका सुईले कहिले चल्लान् र सही समय देखाउँलान् ?” नगरवासीले राख्दै आएको उक्त माग भने अब पूरा हुने चरणमा देखिएको सुर्खेत उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घकै पहलमा वीरेन्द्रनगर नगरपालिकाले रु १२ लाखको लागतमा पुराना घडी हटाएर नयाँ घडी जडानको काम गरिरहेको छ । घडी जडान भएपछि घण्टाघरका घडीले १२ वर्षपछि अब सही समय दिनेमा नगरवासी ढुक्क छन् । पुराना घडी मर्मतसम्भार हुन नसकेपछि विदेशबाट नयाँ घडी मगाएर जडान कार्य सुरु भएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले नयाँ घडी जडान गर्न प्राविधिक टोलीले घण्टाघरका पुराना घडीलाई विस्थापित गरी नयाँ जडान गर्ने तयारी गरेको हो । प्रमुख प्रशासकीय अधिकृत तिवारीले नयाँ घडी जडान गर्नका लागि प्राविधिक टोलीले तीव्रताका साथ काम गरिरहेको जानकारी दिनुभयो । घण्टाघरमा राखिने चारवटा घडी भारतबाट ल्याइएको र विश्वकै सबैभन्दा राम्रो कम्पनी अमेरिकन टेक्नोलोजीका घडी भएको पनि उहाँको दाबी छ । वीरेन्द्रनगर उपत्यकाकै एक प्रमुख विशेषताका रुपमा रहेको घण्टाघर सुर्खेत जिल्लाको प्रमुख पर्यटकीयस्थल मात्र नभई कर्णाली प्रदेशकै पहिचानका रूपमा विकास गर्न सकिने स्थानीय बताउँछन् । पर्यटकीय गन्तव्यका रुपमा रहेको घण्टाघर उद्यान यहाँ घुम्न आउनेका लागि पहिलो गन्तव्यका रुपमा समेत रहेको छ ।

काठमाडौं:  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट यही पुस २४ गतेदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवलबाट केही समय अघिदेखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रदान हुँदै आएको छ । श्रम तथा रोजगार कार्यालय सुर्खेत र कैलालीको धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन थालेको छ । आगामी आइतबारदेखि विराटनगर र जनकपुरमा रहेका श्रम तथा रोजगार कार्यालयबाट समेत सबै किसिमका श्रम स्वीकृति पाइने व्यवस्था हुने भएको सहसचिव तथा प्रवक्ता डण्डुराज घिमिरेले बताए । उनका अनुसार योसँगै अब सातै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गरी श्रम स्वीकृति लिनका लागि भौतिक रुपमा कार्यालयमै उपस्थित हुनुपर्ने र विभिन्न झन्झट हुने समस्यालाई हटाउँदै अनलाइनमार्फत नै सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको जनाउँदै श्रम कार्यालय विराटनगर र जनकपुरबाटसमेत सहज रुपमा सेवा लिन अनुरोध गरेको छ । कम्प्युटर प्रणालीबाट नै निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणाली भएकाले समयमै आवेदन नदिने र अन्तिम समयमा श्रम स्वीकृति लिन खोज्दा समस्या हुँदै आएको छ । त्यसैले श्रम स्वीकृतिका लागि समयमा नै अनलाइन आवेदन दिएर बिना झन्झट सेवा लिन मन्त्रालयद्वारा प्रकाशित उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । पछिल्लो समय श्रम मन्त्रालय र यस मातहतका निकायबाट प्रदान हुने सेवालाई छिटो र सरल रुपमा लिन मिल्ने गरी अनलाइन प्रणालीको विकास गरिएको जनाइएको छ । अनलाइनमार्फत नै नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न सफल भएकै कारण वैदेशिक रोजगार विभागले लिभिङ विथ आइसिटी नामक संस्थाबाट सर्वोत्कृष्ट पुरस्कारसमेत पाएको श्रम मन्त्रालयको उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै मन्त्रालयले उक्त विज्ञप्तिमार्फत आउँदा दिनमा समेत थप सुधारको प्रक्रिया अघि बढाउने जनाएको छ ।

बेनी:   म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको सो आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको हो ।  प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्धक रहेको सो आयोजनाले करिब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ । राहुघाट जलविद्युतमा कुल छ हजार दुई सय ७० मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म तीन हजार सात सय मिटर  निर्माण सकिएको आयोजनाका योजना प्रबन्धक राजबहादुर विष्टले जानकारी दिनुभयो । मासिक एक सय ८० मिटर सुरुङ निर्माण गर्ने योजनाअनुसार कामलाई गति दिएको उहाँको भनाइ छ ।  आयोजनाको आगामी एक वर्षभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य छ । अहिलेसम्म ४० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको आयोजनामा सुरुङमार्गसँगै बाँध र विद्युतगृहतर्फको पूर्वाधार निर्माण धमाधम भइरहेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको सिमानामा बाँध रहने उक्त आयोजनाको पानी बग्ने ठाउँ, पानी थिग्राउने स्थल, पावर इन्टेक, मुख्य सुरुङमार्गलगायत पूर्वाधार निर्माण भइरहेको विष्टले बताउनुभयो । वडा नं ३ पिप्लेको तिल्केनीचौरमा विद्युतगृह रहने क्षेत्रमा पूर्वाधार निर्माण जारी छ । दैनिक झण्डै तीन सय मजदुर परिचालन गरिएको छ ।  भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । ठेक्का अवधि सन् २०२२ फेब्रुअरीमा सकिएपछि सन् २०२३ अगस्तसम्मका लागि पुनः म्याद थप भएको छ । अर्ध जलाशययुक्त बाँध रहने यस आयोजनाले वार्षिक चौबीस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको थियो । प्राधिकरणले सन् १९९८ मा सम्भाव्यता अध्ययन गरेको यस आयोजनालाई २०७० मा नै सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी आइभिआरसिएल प्रोजेक्ट्स लिमिटेडले ठेक्का लिएको थियो । आइभिआरसिएल कमजोर आर्थिक अवस्थाका कारण चार वर्षमा दश प्रतिशत पनि काम नगरी पन्छिएको थियो । यसअघि ३२ मेगावाट मात्र उत्पादन गर्ने गरी अघि बढाएको आयोजनाको क्षमता आठ मेगावाट बढाएर अहिले ४० मेगावाट पु¥याइएको छ ।

गोरखा:  गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । विद्युत् आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो ।  केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान झिकाएर केबलकार मर्मत गरी सञ्चालनमा ल्याइएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । गए राति मर्मतको काम सम्पन्न भएकाले आज बिहानैदेखि केबलकार सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । विद्युत् आपूर्तिमा भएको गडबडीले क्षति पुगेको केबलकारको प्यानल बोर्ड नै परिवर्तन गर्नुपरेको श्रेष्ठले बताउनुभयो ।  सामान जडान गरेर परीक्षण गरेपछि केबलकार नियमित सञ्चालनमा आएको स्टेशन म्यानेजर उज्ज्वल शेरचनले जानकारी दिनुभयो । यही पुस ११ गते प्यानल बोर्डमा आगलागी भएलगत्तै पुस १२ गते मङ्गलबारदेखि मनकामना केवलकार पूर्णरूपमा बन्द भएको थियो । बन्द भएको ११ दिनपछि केबलकार सञ्चालनमा आएपछि केबलकार चढेर मनकामना मन्दिर जाने भक्तजनको घुइँचो लागेको छ । 

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उहाँले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।  प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा गए राति बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको थियो ।  दुर्घटनामा परी १८ जना घाइते भएका छन् । प्रधानमन्त्री दाहालले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल गर्नुभएको छ ।

काठमाडौँ:  सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नुपरेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन ।  विश्वविद्यालय अलुम्नाई एशोसिएशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार प्राडा पेशल दाहालले पेन्सन खुवाउन नसकिएको बताए । विश्वविद्यालयले गत आर्थिक वर्षमा रु २८ अर्ब बजेट विश्वविद्यालय सभाबाट पारित गरेको थियो भने सरकारले रु नौ अर्ब बजेट दिएको उनले जानकारी दिए ।  विश्वविद्यालयले रु १० अर्ब तलब र भत्ता तथा रु चार अर्ब पेन्सनमा खर्च गर्दै आएको रजिष्ट्रार दाहालले बताए । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा।धर्मकान्त बास्कोटाले विश्वविद्यालयमा १६ हजार ६५ जना शिक्षक र कर्मचारीको दरबन्दी रहेकोमा सरकारले १३ हजार जनाका लागि मात्रै तलब भत्ता पठाउने गरेको बताए । कार्यक्रममा पूर्व उपकुलपतिहरू प्राडा तीर्थराज खनियाँ र केदारभक्त माथेमा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलगायतका वक्ताले विश्वविद्यालयले समयअनुसार परिमार्जन गर्न नसकेको धारणा राखे । विश्वविद्यालयले आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा विद्यार्थीहरु उच्च शिक्षाका लागि बिदेसिन बाध्य भएको उनीहरूको भनाइ थियो । सम्मेलनले एशोसिएशनको नयाँ कार्य समिति चयन गर्नेछ । कार्यक्रममा ग्लोबल आइएमइ बैंकले डिजिटल बैंकिङसम्बन्धी कक्षासमेत सञ्चालन गरेको थियो । सम्मेलनमा एसोसिएसनका महासचिव प्राडा ऋदिशकुमार पोखरेलले संगठनका गतिविधि समेटिएको प्रतिवेदन तथा कोषाध्यक्ष डा कुश्मिला आचार्यले कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

काठमाडौं:   जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘टाइम कार्ड’ लागू भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि चार किसिमका सेवामा टाइम कार्ड लागू गरेको हो । जिप्रकामा ‘टाइम कार्ड’ लागू भएसँगै उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले वलोकन–निरीक्षण गर्नुभएको छ । कुन सेवालाई कति समयभित्र दिइसक्ने भनेर कागजातका आधारमा ‘टाइम कार्ड’ लागू गरिएको छ ।

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भइसकेको बताउनुभएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १७ औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्नसके मात्र मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउनसकिने बताउनुभयो । उहाँले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि नेपाल सरकारले ध्यान दिन जरुरी रहेको जिकिर गर्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘आजको प्रतिस्पर्धी विश्वमा कतिपय अवसरका ढोकाहरू छोटो समयका लागि मात्रै उपलब्ध हुनसक्छन् भने कतिपय अवसरका लागि उत्पादनको विविधीकरण एवम् उपभोक्ताको रुचीमा निरन्तर ध्यान दिनुपर्छ । नेपाल सरकार र उद्यमीहरूबिचमा पर्याप्त साझेदारी निर्माण भई नेपाली उत्पादनको बजार विस्तार एवम् निर्यात अभिवृद्धिमा ठोस उपलब्धि हासिल गर्नका लागि यो प्रदर्शनी उपयोगी माध्यम हुने मैले विश्वास लिएकी छु ।  मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक छ । नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्नसके मात्र हाल मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ । यसका लागि फुटवेयर उद्योगले पनि महत्त्वपूर्ण भूमिका खेल्नसक्छ ।’’ उहाँले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन कृषि उत्पादन बढाउने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू नेपाल सरकारले अवलम्बन गर्नु अति आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले सरकारले नेपालको अर्थ व्यवस्था विकास गर्न योगदान गर्ने तुलनात्मक लाभका क्षेत्रहरू पहिचान गरिसकेको उल्लेख गर्नुहुँदै उल्लेखित क्षेत्रहरूमा लगानी बढाउन सहजीकरण गर्ने, उद्योगमैत्री नीतिहरू अवलम्बन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरी प्रतिस्पर्धी क्षमता बढाउन सहयोग गर्ने जिम्मेवारी सबैको दायित्व भएको बताउनुभयो । ‘‘स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि नेपाल सरकारले ध्यान पुर्‍याउनुपर्छ । यसका लागि कृषि उत्पादन बढाउने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने, तथा पर्यटन प्रवर्द्धन जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू नेपाल सरकारले अवलम्बन गर्नु अति आवश्यक छ । नेपालको अर्थ व्यवस्था विकास गर्न योगदान गर्ने तुलनात्मक लाभका क्षेत्रहरू पहिचान गरिसकेका छौँ ।,’’ राष्ट्रपति भण्डारीले थप्दै भन्नुभयो, ‘‘ती क्षेत्रहरूमा लगानी बढाउन सहजीकरण गर्ने, उद्योगमैत्री नीतिहरू अवलम्बन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरी प्रतिस्पर्धी क्षमता बढाउन सहयोग गर्ने जिम्मेवारी हामी सबैको उत्तिकै दायित्व हो । तसर्थ, निजी क्षेत्र र सरकारले आपसमा उच्चस्तरको समझदारी विकास गरी मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउनका लागि सहकार्य गर्नु अत्यावश्यक भएको छ ।’’ निजी क्षेत्र र सरकारले आपसमा उच्चस्तरको समझदारी विकास गरी मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउनका लागि सहकार्य गर्नु अत्यावश्यक छ । राष्ट्रपति भण्डारीले मुलुकको अर्थ व्यवस्था बलियो बनाए केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरू निर्माण हुनुकका साथै रोजगारी र उद्यमशीलताको नयाँ अवसरहरू सिर्जना गरी पुँजी र प्रतिभाको पलायनसमेत रोक्न सकिने उल्लेख गर्नुभयो । उहाँले अर्थ व्यवस्थाको सबलीकरणका लागि राष्ट्रका उद्यमी र किसानको मनोबल सधैँ उच्च राख्न अति आवश्यक रहेको र आफ्नो इतिहासमाथि न्याय गर्नसमेत आफ्नो क्षमताको पहिचान र प्रयोग गर्नु आवश्यक भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले घरेलु उत्पादनको रूपमा रहेका नेपाली फुटवेयर उत्पादनहरूले स्वदेशी जुत्ताचप्पल बजारमा ठूलो स्थान ओगट्न सफल भएको र यसले आधा लाख बढी मानिसलाई रोजगारी प्रदान गरेकोप्रति खुसी प्रकट गर्नुभयो । उहाँले नेपाली उत्पादनलाई गुणस्तरसहित ब्राण्डिङ गर्नसकेको खण्डमा नेपाली फुटवेयर उत्पादनका लागि बजार उपलब्ध हुनसक्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले बजार विस्तारमा प्राप्त हुने अवसरहरूको खोजी गर्दै अवसरको सदुपयोग गर्न उद्यमीहरूलाई आग्रह गर्नुभयो ।