काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा रहेका विभिन्न संरचनाको अवलोकन गरेका छन् । प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निक्षण तथा अवलोकन गरेका हुन् । यस्तै प्रधानमन्त्रीले भवनको छतमा पुगेर सिंहदरबास्थित अन्य भवन तथा संरचनाहरुको समेत अवलोकन गरेका छन् । मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिरकल्पना गरिएका संरचनाका बारेमा विस्तृत जानकारी दिएका थिए ।
कावासोती: पूर्वी नवलपरासी जिल्लामा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिक रूपमा बढ्दो छ । दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७र०७८ मा जिल्लामा ५२ दुर्घटना हुँदा १३७ जनाको मृत्यु भएको जिल्ला कार्यालयको तथ्याङ्कमा देखिन्छ । यही अवधिमा दुर्घटनाबाट ८२ गम्भीर र १३९ सामान्य घाइते भएका छन् । गत आव २०७८र७९ मा ९५ दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको थियो । यो चालु आवभन्दा कम हो । आव २०७९र०८० को पाँच महिनामा ३६ सवारी दुर्घटनामा १८ जनाको मृत्यु भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लङ्घन, बढ्दो सवारी चापका कारण दुर्घटना हुने र दुर्घटनाबाट मानिसको मृत्युदर बढेको हो । दुर्घटनाको अनुसन्धान गर्दा जिल्लामा भएका अधिकांश सवारी दुर्घटनामा चालककै बढी गल्तीका कारण हुने गरेको प्रहरीले जनाएको छ । यसका कारण वार्षिक धेरै मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ । जिल्ला सबैभन्दा बढी दुर्घटना मोटरसाइकल, साना चारपाङ्ग्रे सवारीसाधन, यात्रुवाहक बस र टिपर रहेका छन् । यसबाहेक अटो, रिक्सा, साइकलयात्री पनि दुर्घटनामा परेर ज्यान गुमाउनुपरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
कालीकोट: पुस २० गते । कालीकोटमा चिसो निकै वढेको छ । चिसोका कारण केही स्थानीय तहका बिद्यालय समेत बन्द भएका छन् । आउजाउ गर्न समेत कठिन भइरहेको छ । रास्कोट नगरपालिका –८ का सुना सुवेदी घरबाट सदरमुकाम मान्म आउँदा पाँचदेखि सात ठाउँसम्म आगोको साहरा लिनुपरेको बताउनुभयो । दिनमा घाम लागेको छ, तर हावा पनि उतिकै चलेकाले चिसो हुँदा गाडी रोकेर यात्रुले आगो ताप्ने गरेको उहाँले सुनाउनुभयो । चिसोका कारणले जिल्लाका तिलागुफा नगरपालिका भित्रका सबै बिद्यालय माघ १५ गतेसम्मका लागि बन्द भएका छन् । कोरोना पछि जिल्लाभरी एक शैक्षिकसत्र अर्थात वर्षातको समयमा मात्र बिदा गर्ने पालिकाहरुले निर्णय गरे पनि चिसोका कारणले तिलागुफा नगरपालिकाले हिउँदे बिदालाई निरन्तरता दिनुपरेको बताएको छ । नगरपालिका शिक्षा शाखामा कार्यरत बिद्यालय निरिक्षक नविन हमालले जुम्लासँग सीमा जोडिएको र यो समयमा बग्ने पानी समेत जम्न थालेपछि बिद्यालय बन्द गर्नुको बिकल्प नभएको बताउनुभयो । कालीकोटमा तापक्रम माइनस ५ रहेको छ । अत्यधिक चिसो बढेकाले जिल्ला प्रशासन कार्यालयले समेत सचेत हुन सार्वजनिक सूचना गरेको छ । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले चिसो देशभरी बढिरहेकाले सूचनाअनुसार जिल्लामा पनि सचेत हुन सूचना जारी गरिएको बताउनुभयो । पुस महिना जान लाग्दा समेत पानी नपरेकाले झन चिसो बढेको स्थानीयको भनाइ छ । खाँडाचक्र नगरपालिका वडा ३ का भक्ती पाण्डेले पानी मात्र होइन हिमपात भएर मौसम सफा हुने बितिकै तातो हुने बताउनुभयो । उहाँले पानी नपर्दा हुस्सु लाग्ने र हावा पनि उस्तै चल्ने भएकाले अनुमानभन्दा वढी चिसो हुनेगरेको सुनाउनुभयो । गोरखापत्र अनलाइन
धनगढी: नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयन गर्नका लागि आज निर्वाचन गरिदैंछ । सर्वसम्मतले दलको नेता चयन गर्न नसकिएपछि चुनाव हुन लागेको सो दलले जनाएको छ । दलका नेताका लागि सात जना आकाङ्क्षी रहनुभएको छ । संसदीय दलका नेताका लागि शिवराज भट्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा, दिवानसिंह विष्ट, बहादुरसिंह थापा, मेघराज खड्का र मानबहादुर रावलको दाबी छ । दलको नेता सर्वसम्मतले चयन गर्नकालागि मङ्गलबारसम्मको समय सीमा दिइएको थियो । तोकिएको समय सीमाभित्र संसदीय समितिले दलको नेता चयन गर्न नसकेपछि निर्वाचनबाट नेता चयन गर्न लागिएको प्रदेश सभा सदस्य प्रकाश बमले जानकारी दिनुभयो । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश दलको नेता एवम् संसदीय दल कार्यसमितिको निर्वाचन गराउन कांग्रेस प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिले आज अपराह्न ४ देखि ५ बजेसम्म मतदान हुने कार्यपालिका प्रकाशन गरेको छ । प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १९ जना सदस्य हुनुहुन्छ ।
काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको बैठक २३ पुसमा बस्ने भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएपछि त्यसको दुई दिनअघि कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
धरान: धरान उपमहानगरपालिका १७ पटनालीका एक युवा ८ दिनदेखि बेपत्ता छन् । गत पुस १२ गते बिहान घरबाट ट्युसन पढ्न जाने भन्दै हिंडेका १९ वर्षीय पुष्कर बराइली विश्वकर्मा बेपत्ता भएका हुन् । शारीरिक रुपमा सामान्य समस्या भएका, स्पष्ट बोल्न नसक्ने कक्षा १० मा अध्ययनरत पुष्कर हालसम्म सम्पर्कमा नआएको आमा पुष्पाले बताइन् । हातखुट्टा राम्ररी नलागे पनि, मानसिक समस्या नभएको आमा पुष्पाको भनाइ छ । बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै परिवारजनले खोजीकार्य गरिदिन संचारकर्मीमार्फत् आम समुदायलाई अपिल गरेका छन् । ‘आफन्तजन, साथीभाइ सबैसँग सोधीखोजी गरिसक्यौ, कही कतै छ भनेर भन्दैनन,’ बुवा भीम बराइलीले भने, ‘पुलिसले खोजी गर्दैछौ भन्छ, के कस्तो अवस्था छ, एउटै छोरो हो मेरो ।’ प्रहरी प्रशासनमा रिपोर्ट दिएको आठ दिन बितिसक्दा पनि छोराको अवस्था थाहा पाउन नसकेको बुवा भीम बराइलीले बताए ।
चितवन: बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो । गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो । गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार दुई घण्टाको बीचमा बौलाहा कुकुरले टोकेर उनीहरू घाइते भएका थिए । घाइतेमध्ये २० जनाको कुरिन्टार स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको र सख्त घाइते पाँच जनाको थप उपचार भरतपुर अस्पतालमा भइरहेको उहाँले जानकारी दिनुभयो । बौलाहा कुकुरले टोकेको खबर आएसँगै पालिकाले सो कुकुर नियन्त्रणमा लिई मारेर परीक्षणका लागि पठाइएको उपाध्यक्ष सिलवालले बताउनुभयो । बौलाहा कुकुरले टोकेका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको त्यहाका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिनुभयो ।
पोखरा: एघारौं पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुलाई घोडसवार गराइने भएको छ । युनाईटेड क्लबको आयोजनामा आगामी पुषको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा हुने एघारौं संस्करणको पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुलाई घोडसवार गराइने भएको हो । घोडसवारको माध्यामबाट महोत्सवको अवलोकन संगै अमरसिंह नजिक रहेको पर्यटकीय गन्तब्यहरुमा पुग्न सकिने महोत्सव आयोजक संस्था युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । बख्रेलका अनुसार हरेक महोत्सवहरुमा नया पन दिदै आइरहेको र एघारौं संस्करणको महोत्सवमा पनि घोडसवार संगै अन्य मनोरञ्जनका गतिविधी समेत रहने वताए । बख्रेलका अनुसार पोखरा महोत्सवको आयोजना गरी क्लवले मुख्य उद्देश्यका साथ अगाडि वढाएको खुल्ला चिडियाखाना (पोखरा जुलोजिकल पार्क) पोखराको पचभैयामा निर्माणाधिन अवस्थामा रहेको छ । एघारौ पोखरा महोत्सव स्थल अमरसिंह चौरबाट महोत्सव अवधिभर चिडियाखाना अवलोकनको समेत ब्यवस्था मिलाइने बख्रेलले जानकारी दिए । महोत्सवको तयारी अन्तिम चरणमा पुगिसेको र महोत्सवमा स्थानिय उत्पादनको प्रदर्शनी एवं बिक्री, होमस्टेको प्रवद्र्धन, कृषि, हस्तकलाका सामाग्रीको प्रवद्र्धन एवं बिक्री संगै गण्डकी प्रदेशको कला संस्कृति झल्कने प्रस्तुतीहरु समेत रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

