काठमाडौं: प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ । बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारण बैठक १ बजेलाई सारिएको उल्लेख छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठकसमेत बस्न सकेको छैन । कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ । आजै बिहान बसेको एकीकृत समाजवादीको बैठकले भने प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ ।
दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिका–४, हुनैनाथका ७४ वर्षीया अनिता धामीको घरमै पुगेर उहाँलाई नागरिकता प्रदान गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाको टोलीले घरमै आएर नागरिकता दिएपछि धामी निकै खुसी हुनुभएको छ। स्थानीय कृष्ण धामीका अनुसार धामीलाई नागरिकता दिलाउन एक दशकअघिदेखि पहलकदमी भएको थियो। वृद्धावस्थामा नेपाली नागरिकता प्राप्त भएपछि राज्यबाट प्राप्त हुने सेवासुविधा लिन धामलाई सहज भएको छ। विभिन्न कारणले जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुग्न नसकेका नागरिकलाई घरदैलोमा पुगेर सेवा दिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले गरिरहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार मालिकार्जुन गाउँपालिकाको आग्रहअनुसार तीन जना नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ। मालिकार्जुन गाउँपालिका–३ का ५५ वर्षीय केशवसिंह धामी, वडा नं. ४ का ज्येष्ठ नागरिक ७४ वर्षीया अनिता धामी र मानसिक रूपमा अस्वस्थ रहेका वडा नं. ४ कै करवीरसिंह धामीको घरमा पुगेर जिप्रकाले नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष हीरासिंह धामीले जानकारी दिनुभयो। प्रशासन कार्यालयले विगतदेखि नै समस्यामा परेका नागरिकलाई घरदैलोमा नै गएर सेवा दिने गरेको सहायक प्रजिअ साउदले बताउनुभयो। अरू स्थानीय तहमा पनि नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय पुग्न नसकेर समस्यामा परेका नागरिक भए सूचना दिन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहलाई आग्रह गरेको छ। गाउँघरमा धेरै नागरिक उमेर पुग्दासमेत विभिन्न कारणले नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित रहेका छन्। नागरिकता वितरणका लागि पालिका र प्रशासनले थप ध्यान दिनु आवश्यक रहेको स्थानीयवासीको भनाइ छ।
काठमाडौंः सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्ले आज दुई वटा निर्णय गरेको छ, एउटा पृथ्वी जयन्तीको अवसरमा पुस २७ मा सार्वजनिक बिदा दिने र अर्को सरकारको न्यूनतम कार्यक्रम मन्त्रिपरिषद्बाट पास गर्ने र कार्यान्वयन गर्ने निर्णय गरेको छ ।” सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राख्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले २७ पुसमा बिदा दिने निर्णय गरेको हो । आज सार्वजनिक गरिएको सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहेको थियो । तर २०६२/६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरिसकेको राप्रपाले न्यूनतम् साझा कार्यक्रम, कम्तीमा तीन मन्त्रालय र पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्ने माग गर्दै आएको थियो ।
काठमाडौंः सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि रु सात हजार पाँच सय दश कायम भएको छ । काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा रु १६ हजार एक सय ४० कायम भएको छ । काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा रु छ सय ८५ भाडा घटेर अधिकतम रु १४ हजार दुई सय पाँच कायम भएको छ । काठमाडौँ–सिमरामा रु एक सय ८० भाडा घटेको छ । त्यस्तै काठमाडौँ–भद्रपुरमा रु छ सय, काठमाडौँ–विराटनगरमा रु चार सय ८५, काठमाडौँ–जनकपुरमा रु दुई सय ६०, काठमाडौँ–भरतपुरमा रु दुई सय १५ र काठमाडौं–पोखरामा रु तीन सय २० भाडा घटेको छ ।
काठमाडौंः सङ्घीय संसद्को पहिलो बैठक सुरु भएको छ । गएको मङ्सिर ४ गतेको चुनावपछि आज सोमवार प्रतिनिधि सभाको पहिलो बैठक बसेको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको भयो । उहाँले भन्नुभयो, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत् २०७९ साल पुस २५ गते सोमवारको दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।’ त्यसैगरी राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनबारे संसद्लाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको छ । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको जानकारी गराएको छ । तर ठाउँ अभावका कारण सबै दलका संसदीय दलका नेतालाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताउनुभयो । सङ्घीय संसदमा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । आजको पहिलो बैठकमा सबै दलका संसदीय दलका नेताले बोल्ने कार्यसूची तय गरिएको छ । बैठकको सुरुमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले सदस्यहरुलाई स्वागत गर्नुहुनेछ । प्रतिनिधि सभामा नेपाली कांग्रेस ८९, नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एकरएक तथा स्वतन्त्र पाँच सांसद छन् । आजको बैठकमा ज्येष्ठ सदस्य जबराले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनुहुनेछ । राष्ट्रपति भण्डारीले पठाउनु भएको पत्र पढेर सुनाउँदै उहाँले भन्नु भयो, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत २०७९ साल पुस २५ गते सोमबारको दिन १३ः०० बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।’ त्यसैगरी राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ती र मन्त्रीपरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको छ ।
काठमाडौंः मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ । उद्धार भएकामध्ये ६ जना भोलि मङ्गलवार स्वदेश फर्किने भएका छन् । नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरुको अवस्था बुझी तत्काल रिहाइ तथा उद्धारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिनुभएको थियो । निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत् मलेसियामा रहेको नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो । बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्धारका लागि पहलपछि मलेसियाको पीआरएस फरेस्ट म्यानेजमेन्ट (PRS Forest Management) कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका हुन्। मलेसियामा रहेको नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार, यो कम्पनीमा काम गर्न गएका १३ जना सबै श्रमिकहरुलाई म्यानपावर कम्पनीले खर्च बेहोर्ने गरी र एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ । दूतावासको पहलमा उनीहरुमध्ये ६ जना भोलि र आउँदो शुक्रवार ७ जना नेपाल फर्कने भएका छन् । यसैगरी मलेसियाको एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरुको समस्या हल गर्न समेत पहल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
काठमाडौंः सरकारले मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न पहल सुरु गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपाली विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरुको उद्धारका लागि पहल सुरु गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत् निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
काठमाडौंः सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर तीनरतीन रुपैयाँका दरले घटाएको छ । यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमशस् २० र ३० रुपैयाँले घटेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । योसँगै अब पेट्रोल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएको छ । आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर एक हजार चार सय २० डलर कायम भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् राखेको छ । यसअघि भारतले पेट्रोलियम पदार्थको मूल्यसूची घटाएर पठाए पनि निगमले भने नघटाएको भन्दै उपभोक्ताले विरोध गर्दै आएका थिए । गएको बिहीवार प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि निगमले भने आज मूल्य घटाएको हो ।
रौतहट: शीतलहरका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि जिल्लाको कटहरिया नगरपालिकाले स्थानीयका लागि दाउराको प्रबन्ध गरेको छ । आगो तापेर जाडोबाट जोगिन दाउराको प्रबन्ध गरिएको हो । नगरपालिका प्रमुख अजयप्रकाश जयसवालले डिभिजन वन कार्यालयसँग समन्वय गरी पालिकाको नौ वटै वडामा दाउरा उपलब्ध गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपलब्ध दाउरा सर्वसाधारणको जमघट हुने सार्वजनिक स्थल वा चोकमा बालिने गरी वितरण गरिएको छ ।” एक सातादेखि घाम नलागेपछि जाडोले कठ्याङ्ग्रिएका नागरिक दाउराको आगो ताप्न पाउँदा खुसी भएका छन् । जिल्लाको कटहरिया नगरपालिकाले अघिल्लो सातादेखि वडामा दाउरा वितरणको काम गरेको थियो ।

