काठमाडौँ: कम्बोडियामा भएको आगलागीको घटनामा ज्यान गुमाएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन ढिलाइ भएको छ । शव ल्याउन नेपालबाट आवश्यक डकुमेन्ट कम्बोडिया पुगिसकेपनि त्यहाँको सरकारी पक्षबाट प्रमाणीकरण नहुँदा ढिलाइ भएको हो । एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले आवश्यक डकुमेन्ट नेपालबाट पठाइसकेको जानकारी दिँदै घटना भएको मुलुकले प्रमाणीकरण गरेसँगै शव ल्याइने बताए । त्यसका लागि कम्बोडियाको आन्तरिक मन्त्रालयमा फाइल पेस भइसकेको छ । तर, अधिकारीहरुले डकुमेन्ट प्रमाणीकरणमा ढिलाइ गर्दा शव नेपाल पठाउन नसकिने उनको भनाइ छ । आन्तरिक मन्त्रालयका अधिकारीले बिहीबारका लागि पुनः फाइल प्रमाणीकरणका लागि बोलाएको बताइको छ। आज फाइल प्रमाणीकरण भएमा तीन–चार दिनभित्र शव नेपाल पुग्नसक्ने उनको भनाइ छ । पाण्डेको थाइल्याण्डको सीमा नजिकै पर्ने पोपेइ सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगालागीमा मृत्यु भएको थियो । आगलागीबाट ज्यान जोगाउन १२ औं तलामाथिबाट हामफाल्दा उनको मृत्यु भएको हो । डकुमेन्ट प्रमाणीकरण भएपछि घटनास्थलस्थित अस्पतालबाट कम्बोडियाको राजधानी फेनाम पेन हुँदै नेपाल ल्याइने बताइएको छ । घटनास्थलबाट राजधानी शव पठाउनै करिब १० घण्टा लाग्ने बताइएको छ । निराकारको मृत्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले चासो दिँदै छिटो शव नेपाल ल्याउन अधिकारीहरुलाई निर्देशन दिएका थिए । शव नेपाल ल्याउन सरकारले नै खर्च बेहोर्ने निर्णय गरिसकेको छ । शव नेपाल ल्याउन कम्बोडिया समेत हेर्ने थाइल्याण्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ। दूतावासलाई एनआरएनए कम्बोडियाले पनि सहजीकरण गरिरहेको छ।
पोखरा: गण्डकी प्रदेशका विना विभागीय मन्त्री पञ्चराम गुरुङले १६ वर्ष पछी राज्यले पृथ्वी नारायण शाहमाथी न्याए गरेको बताए । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले शाहको जन्म जयन्ती मनाएर राम्रो काम गरेको उनले सुनाए । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आयोजना गरेको ३ सय १ औं पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा पोखरा १८ को जामुनबोटमा रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्ण गर्दै गुरुङ पृथ्वीको भानाई अहिले पनि अनुशरण गर्नुपर्ने रहेको बताए । “नेपाल दुई ढुङ्गाबिचको तरुल हो’’ “घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्’’ यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । आज भन्दा ३ सय वर्ष अघिको पृथ्वीको दिब्य उपदेश अहिले लागू गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ । स्वाभिमान नेपाली र स्वतन्त्र नेपालीको लागि पुष २७ हर्सको दिन हो‘गुरुङले भने,‘ राजा मात्र थिएनन दुर्दशाी मात्र थिएनन देश र जनताको लागि इमान्दार भएर देश र जनताको लागि राष्ट्र निर्माता पनि थिए ।’ ईतिहास भुल्न हुदैन भन्दै पृथ्वीले राष्ट्र निर्माणमा दिएको योगदान संबिधानमा नै समावेश गर्नुपर्ने बताए । विशाल नेपाल बनाउन अभियान गर्नु भयो । यो अभियान कुनैपनि हालतमा बिर्सन हुदैन । डाक्टर दिल बहादुर क्षेत्रीले राष्ट्रिय प्रजान्त्र पार्टीले मात्र नभइ सम्पुर्ण नेपाली जनताले पृथ्वीलाई सम्झनुपर्ने बताए । पृथ्वीलाइ जाती र संस्कार र समुदाय भन्दा माथी राखेर सबैको साझा बनाएर सम्मान गर्नुपर्ने हुन्छ । आजभन्दा लगभग ३०० वर्षअघि २२ से अनि २४ से राज्यहरूका रूपमा नेपाल एउटा विभाजित अनि स–साना राजा रजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, स्वीकारोक्ति अनि गोर्खाली वीर सिद्धान्तका प्रतिपादक यिनै महान् राजालाई मानिन्छ । विक्रम संवत् १७७९ पौष २७ मा पिता राजा नर भूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधुनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधीन रहेको तत्कालीन पन्जाबदेखि सिक्किम सम्मका नेपाली भूभाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उति बेला रहेको थियो । यी राजालाई नेपाल मात्र नभई दक्षिण एसियासम्म एउटा दूरदर्शी अनि राष्ट्रियताको प्रतीक नेतृत्वका रूपमा हेरिन्छ । हरेक वर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । केवल एउटा राजाको जन्मदिन मात्र नभई सिङ्गो नेपालको पहिचान अनि नेपालीपनको बिगुल फुकिएको र झकझक्याउने दिनका रूपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाइन्छ ।
म्याग्दी: आजदेखि बेनीमा सुरु हुने म्याग्दी महोत्सवको सातौं संस्करणको तयारी पूरा भएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्ने म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवलाई लक्षित गरेर बजारवासीले तुल ब्यानर, धोजापताका, स्वागतद्धारले बजारलाई झकिझकाउ र चिटिक्क पारेका छन् । बजारलाई सरसफाई गरेर पाहुनाको स्वागत गरेका छन् । पुस २८ देखि माघ ८ गते सम्म बेनीको खुल्ला मञ्चमा सुरु हुने सातौं म्याग्दी महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएका छन् । कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्ने उद्देश्यले संघले प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागेको संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । माघे संक्रान्ति पर्वको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धन र सम्भावनाहरुको उजागर गर्न आयोजित महोत्सवको सबै तयारी पूरा भएको आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालले जानकारी दिनुभयो । महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन पूर्व विभिन्न जातजातिको भुषभूषा, कलासंस्कृति र झाँकीसहित बजारमा र्याली निकालिने आयोजकले जनाएका छन् । महोत्सवले जिल्लामा रहेको सम्भावनाहरुको उजागर गर्ने र यहाँका उत्पादनहरुको बजारीकरण र प्रचार प्रसारमा समेत सघाउ पुग्ने संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको अवसरमा म्याग्दीका पर्यटकीय स्थलहरुमा हेलिकप्टरमार्फत दृष्य अवलोकनका लागि हेली सयर र कालीगण्डकी नदीमा जलयात्राको लागि र्याफ्टिंगसमेत सञ्चालन गरिने भएको छ । महोत्सवमा खुला लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी आइडलको रुपमा लोकनृत्य प्रतियोगिता, जिल्ला स्तरीय अन्तरपालिका महिला र पुरुष भलिबल लगायतका प्रतियोगिताहरु समेत सञ्चालन हुनेभएका छन् । महोत्सवमा म्याग्दीका उत्पादन र पहिचान झल्कने सामाग्रीहरुको स्टलहरु समेत राखिनेछन् । महोत्सवमा बेनीको पुरानो हनुमान नाच समेत देखाउने तयारी गरिएको संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय र स्थानीय कलाकारहरुबाट साङ्गेतिक प्रस्तुति रहने महोत्सवलाई संगीतमय बनाइने भएको छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा एक करोड २५ लाख रुपियाँ आम्दानी र एक करोड खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा दुईसय ५८ वटा व्यवसायिक स्टल रहेका छन् । स्थानीय उत्पादनलाई विक्री र प्रचारप्रसार गर्नका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा करिव डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक र करिव १० करोड बराबरको व्यवसायिक आर्थिक कारोबार हुने संघले बताएको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०६० सालदेखि संघले महोत्सव लगाउन सुरु गरेको थियो ।
काठमाडौँ: नेपाल टेलिकमले बिहीबारदेखि लागू हुने गरी विन्टर अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत प्रिपेड मोबाइल प्रयोगकर्ताले १९९ देखि ६९९ रुपियाँसम्मको २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन् । स्टे कनेक्टेड अफरअन्तर्गत १३० रुपियाँमा पाँच दिनका लागि सबै नेटवर्कमा दुई जीबी र फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने चार जीबी डेटासहित सबै नेटवर्कमा कुराकानी गर्न सक्ने गरी १५० मिनेट भ्वाइस सुविधा पनि उपलब्ध गराएको छ । टेलिकमले आफ्नो एफटीटीएच सुविधाअन्तर्गत ४० र ८० एमबीपीएस इन्टरनेट ब्यान्डविथसहितको प्याक नवीकरण गर्दा क्रमशः १६ हजार ६८२ र २१ हजार ५४१ रुपियाँ मूल्य निर्धारण गरेको छ । पोस्टपेड कम्बो प्याकअन्तर्गत उपलब्ध भइरहेको ३७३ रुपियाँमा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।
काठमाडौँ: नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरेका छ । नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्क आपसमा गाभिएर बनेको नेपाल इन्भेस्टमेन्ट बैङ्कले ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नाराका साथ बुधबारदेखि एकीकृत कारोबार सुरु गरेको हो । काठमाडौँमा बुधबार आयोजित कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट बैङ्कका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैङ्क नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गर्नुभयो । नेपाल इन्भेस्टमेन्ट र मेगा बैङ्कबीच सेयर स्वाप अनुपात १००ः९० रहने गरी मर्जर भएको हो । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपियाँ, कुल सम्पत्ति चार खर्ब ७१ अर्ब रुपियाँ र कुल पुँजी ५८ अर्ब रुपियाँ पुगेको छ । त्यस्तै कुल निक्षेप तीन खर्ब ६० अर्ब र कुल कर्जा तीन खर्ब २९ अर्ब रुपियाँ रहेको सो बैङ्कले जनाएको छ । मर्जरपछि यो बैङ्कको शाखा सञ्जाल २९६, एक्सटेन्सन काउन्टर ५९, एटीएम २७९ र ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी रहेको पनि बैङ्कले जनाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको अध्यक्षमा साबिक इन्भेस्टमेन्ट बैङ्कका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहनुभएको छ । नयाँ सञ्चालक समितिमा दुवै बैङ्कका सञ्चालकको प्रतिनिधित्व रहनेछ ।
काठमाडौँ: बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेल लाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वारा बधाई दिनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्री जमरकट्टेललाई बधाई दिनु भएको हो ।
सुर्खेत: कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा बिहानैदेखि छलफलमा जुटेका नेकपा माओवादी केन्द्र र एमालेका नेताहरुबीच यस्तो सहमति भएको हो । प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने शीर्ष नेतृत्वले निर्णय गरे पनि प्रदेशमा त्यसलाई उल्ट्याइएको छ । ‘केन्द्रकै निर्णय अनुसार अघि बढ्न धेरै प्रयास गर्यौं । तर मान्दै नमानेपछि आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छौं,’ माओवादीका एक नेताले भने । सहमति पछि पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री बन्ने छन् र उनले आजै दाबी पेश गर्दै छन् । देश प्रमुख तिलक परियारले सरकार गठनका लागि आज ५ बजे भित्र दावी पेश गर्ने समय दिएका छन् ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन राजा पुथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो छ । बुधबार पुथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा शुभकामना वक्तव्य जारी गर्नुहुँदै सभापति देउवाले सो कुरा बताउनुभएको हो । शाहले अवलम्वन गर्नुभएका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरु आज पनि उत्तिकै सान्दर्भिक रहेको सभापतिको भनाइ छ । वक्तव्यमा भनिएको छ, ‘‘तत्कालीन समयमा छरिएर रहेका स–साना राज्यहरुलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनु भएका शाहले अवलम्वन गर्नु भएका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरु आज पनि उत्तिकै सान्दर्भिक रहेका छन् ।’’ सभापति देउवाले राष्ट्रिय एकता दिवसले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्रदान गर्न सकोस् भन्नुहुँदै सुख, शान्ति र समृद्धिको शुभकामना समेत व्यक्त गर्नुभयो ।
काठमाडौँ: स्ववियु परिषद्ले स्ववियु निर्वाचन गर्ने निर्णय छिटो गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरेको छ । परिषद्ले बुधबार एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि विभिन्न बहानामा स्ववियु निर्वाचनको मिति घोषणा गर्न आलटाल भएका भन्दै यस्ता गतिविधिले त्रिभुवन विश्वविद्यालयको चरित्र र नैतिकतामाथि प्रश्न उठेको जनाएको हो । परिषद्का अध्यक्ष निराजन नेपालद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल, स्ववियु निर्वाचनका लागि सदैव तयार रहेको भन्दै विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेर गरेको पत्राचारको अक्षरंश पालना गर्न त्रिविलाई ध्यानाकर्षण गराएको छ । स्ववियु चुनावको कार्यतालिका जारी अगावै स्नातक तहको परीक्षाको नतिजा प्रकाशित गर्न पनि परिषद्ले माग गरेको छ । स्ववियु निर्वाचनको कार्यतालिका यथाशीघ्र निकाल्न र निर्वाचन भव्य, सभ्य तरिकाले सम्पन्न गर्न पनि परिषद्ले त्रिविलाई आग्रह गरेको छ । त्रिवि शैक्षिक क्यालेन्डरमा २र२ वर्षमा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । तर, चैत २०६५ यता त्रिविमा नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु )को निर्वाचन गर्न प्रस्ताव गरेको छ । कार्यकारी परिषद्ले निर्वाचन मिति घोषणा गरेपछि क्याम्पस प्रमुखले निर्वाचन अधिकृत र सहयोगी तोकेर निर्वाचन सम्पन्न गराउने व्यवस्था छ । २०७५ मा स्ववियु निर्वाचन तयारी थालिए पनि अन्तिम समयमा स्थगित हुन पुगेको थियो । २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएदेखि स्ववियु निर्वाचन बिथोलिँदै आएको छ ।

