जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

बारा:  नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक वडाध्यक्षले प्रहरीमक्षम आत्मसर्मपण गरेका छन् । जबरजस्ती करणीको आरोप लागेका निजगढ नगरपालिका–२ का वर्ष ३९ को वडाध्यक्ष राजु श्रेष्ठ आइतबार राति पौने ९ बजे ईलाका प्रहरी कार्यालय निजगढमा आफैँ उपस्थित भएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । सोही ठाउँ बस्ने १४ वर्षीया नाबालिकालाई असोज १९ गते वडाध्यक्ष श्रेष्ठले आप्mनै घरमा बोलाएर जबजरस्ती करणी गरेको आरोप छ । नाबालिकालाई जबरजस्ती करणी गरेको भन्दै असोज २५ गते आफन्तले ईलाका प्रहरी कार्यालय निजगढमा किटानी उजुरी दिएका थिए । उजुरी परेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका थिए । नाबालिकालाई जबजरस्ती करनी गरेको अभियोगमा आत्मसर्मपण गरेका वडाध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि बारा जिल्ला अदातलबाट म्याद थप गरिएको डिएसपी थापाले जानकारी दिनुभयो ।

ताप्लेजुङ:   ताप्लेजुङस्थित फुरुम्बो–पालुङ्गा बंस प्रतिष्ठानले गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को अन्तिम चारमा पुग्न सफल सहिला फूरुम्बो लिम्बूलाई सम्मान गरेको छ । द भ्वाइस अफ नेपालमार्फत नवोदित कलाकारका रूपमा आफूलाई स्थापित गर्न सफल भएकोभन्दै प्रतिष्ठानले उहाँलाई सम्मानित गरेको हो ।   सदरमुकाम फुङ्लिङमा एक कार्यक्रमको आयोजना गरी फूरुम्बो पालुङ्गा बंस प्रतिष्ठानका साधारण सदस्यसमेत रहनुभएका फुरुम्बो लिम्बूलाई सम्मान गरिएको छ । फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका लिम्बूले भर्खरै सम्पन्न सिजन–४ मा अन्तिम चारमा पुग्दै चौथो स्थान हासिल गर्न सफल हुनुभएको थियो ।  आगामी दिनका लागि थप सफलताको शुभकामना दिँदै कदरपत्रद्वारा सम्मान गरिएको प्रतिष्ठानका सदस्य हर्कराज पालुङवाले जानकारी दिनुभयो । नवोदित कलाकार फुरुम्बो पछिल्लो समय सङ्गीत क्षेत्रमा समय दिँदै आउनुभएको छ ।   

काठमाडौं:   निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन माघ २५ गतेभित्र तोक्न सिफारिस गरेको छ । नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रिय सभामा एक सदस्य पद रिक्त छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचन आयोगका पदाधिकारीहरुले पद रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएका छन् । निर्वाचनको मिति तोक्न आयोगले सरकारलाई लिखित परामर्श दिने व्यवस्थाअनुसार २५ माघभित्र उपनिर्वाचन गर्ने गरी मिति तोक्न परामर्श दिइएको आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य राष्ट्रपति÷उपराष्ट्रपतिको मतदाता समेत हुन् । त्यसैले राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचन अघि नै उपचुनाव गर्न लागिएको एक आयुक्तले जानकारी दिए ।

दमक:   झापाको शिवसताक्षी नगरपालिकास्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम मन्दिरको दानपेटिका चोरी भएको छ । आइतवार राति दानपेटिका चोरी भएको हो ।  सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार गोलोक गोवर्धन गौशालासहित तीन वटा दान पेटिका फुटाएर त्यस भित्रका भेटी रकम चोरी भएको छ । एउटा दानपेटिका हराएको छ । दानपेटिका फोरेर भेटी चोर्नेले फलामे साङ्लामा गर्भे ताला लगाइएको मुख्य दानपेटिका फोर्न नसकेपछि त्यहि लिएर भागेको हुनसक्ने राईले बताउनुभयो । यसरी दानपेटिका फोरेर भेटी चोरी हुनु र दानपेटिका नै हराउनु गम्भिर भएको जनाउँदै अनुसन्धान गर्न माग गरिएको पनि उपाध्यक्ष राईले जनाउनुभयो । बालचर्तुदर्शीका भेटीहरु संकलन गरेर दाखिला गरिएको र त्यसपछि जम्मा भएको भेटी हराएको जनाइएको छ । करिब एक महिना अवधिमा दानपेटिकामा हालिएको रकम चोरी भएको राईले बताउनुभयो ।   नेपाल र भारतबाट दैनिक संयौ भक्तजनहरु सताक्षीधाम मन्दिरको दर्शन र घुमघामका लागि यहाँ आउने गरेका छन् । दानपेटिकामा कति रकम थियो भन्ने खुलेको छैन । सताक्षीधामको दिगम्बेस्वर महादेव मन्दिरको दानपेटिका गत भदौमा पनि चोरी भएको  जनाइएको छ ।

गलकोट:  बागलुङ नगरपालिका–८ सिगानामा ट्र्याक खोलेको १५ वर्ष पछि सडक कालोपत्र हुँदैछ । अहिले टोलटोलमै यातायातका साधन पुग्छन् भने एक घण्टामै जिल्ला सदरमुकाम बागलुङ बजार पुग्न सकिन्छ । स्वास्थ्य चौकीको पहुँच नपुगेको सिगानाकै माथिल्लो क्षेत्र बौडैचौरमा शहरी स्वास्थ्य केन्द्रसमेत स्थापना भएको छ भने ‘एक घर, एक धारा’ निर्माणलेसमेत तीव्रता पाएको छ । सिगानाको उपल्लो भाग बौडैचौरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नेगरी बजेट व्यवस्थापन भइरहेको छ भने अबको दुई वर्षमा उक्त स्थानमै सडक कालोपत्र पुग्नेछ । तर सिगानामा विकास निर्माणले तीव्रता पाए पनि बसाइँसराइका कारण बस्ती भने क्रमशः खाली हुँदै गइरहेका छन् । बागलुङ नगरपालिका–८ सिगानाको उपल्लो लामाचौरमा ३० घरमध्ये १२ घर रित्तै छन् । लामस्चौरको कार्की थर, बाहुन थर र थापाथरका ३० घरमध्ये अधिकांशको सहर बजारमा घरसमेत छ । अधिकांश घर चाडपर्वमा मात्रै खुला हुने गरेका छन् । सिगानामा सबैभन्दा कम बसाइँसराइ लामीचौरको दलित बस्तीमा र बढी बसाइँसराइ उपल्लो लामीचौरमा रहेको स्थानीय शिक्षक कर्णबहादुर कार्कीले जानकारी दिए । ‘उपल्लो लामीचौरको कार्की, बाहुन र थापा थरमा ३०र३५ घर छन्, जसमध्ये १०र१२ घर त पूर्णरुपमा नै रित्ता छन्, केही घर चाडपर्वमा मात्रै खुल्छन् भने केही घरमा मात्रै मानिसको बसोबास छ’, कार्कीले भने, ‘सडक र माध्यामिक विद्यालय दैलोमै छ, खानेपानीका लागि काम थालिएको छ, वडा कार्यालयसम्म कालोपत्र सडक आउने भएको छ तर यहाँको बस्ती भने क्रमशः रित्तिँदै छ ।’ सिगानाको दूर्गम क्षेत्र मानिएको बौडेचौरले विकासमा मुहार फेरे पनि बसाइँसराइ भने नरोकिएको सिगानाका निर्वतमान वडाध्यक्ष जीतबहादुर जिसीले बताए । पाँच वर्षमा बौडैचोरका जम्मा ११ घरमध्ये तीन घर बन्द छन् । तर पछिल्लो समय बौडैचौरमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । सडक कालोपत्रका लागि धमाधम काम भइरहेको छ । खानेपानीको व्यवस्थापन भएको छ भने दलौमै नर्सिङ सेवासहितको विद्यालयसमेत रहेको छ । विकास थपिँदै जाँदा बस्ती बिस्तार हुनुपर्नेमा बिस्तारै बस्ती खाली हुने अवस्थामा पुगेको उनको भनाइ छ । ‘हामीले विकास त भित्र्याएका छौँ तर विकासले बसाइँसराइ नरोकिएको देखियो, यो समग्र बागलुङको चिनारी हो’, जिसीले भने, ‘हुनेखानेहरु बसाइँसराइ गर्ने नै भए हुँदा खाने अवसर र रोजीरोटीका लागि घर छोड्न बाध्य छन्, अब विकाससँगै गाउँमा उद्यमी बनाउन र गाउँ फर्काउन सकिने योजना ल्याउन आवश्यक देखिन्छ।’ बागलुङ नगरपालिका मात्रै हैन जिल्लाको गलकोट नगरपालिका–७ टोकरीगाउँ बसाइँसराइको नमुना नै बनेको छ । पाँच वर्ष अगाडिसम्म गाउँमा झण्डै ४० घरपरिवार बस्ने टोकरीगाउँमा बसाइँसराइका कारण अहिले १५ परिवार मात्रै बस्ने गरेका छन् । बसाइँसराइका कारण रित्तिएको बस्तीबाट अहिले सडक कालोपत्र पुग्नेगरी धमाधम निर्माण भइरहे भए पनि विकासले बसाइँसराइ रोक्न नसक्नु विषय दुःखद् रहेको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले बताए । यहाँका अधिकांश युवा जापान पुगेपछि बसाइँसराइले तीव्रता पाएको छ । यहाँका अधिकांश परिवार गलकोट नगरपालिकाको केन्द्र हटिया, बागलुङ बजार, पोखरालगायतका क्षेत्रमा बसाइँसराइ गर्ने चलन रहेको थापाले बताए । गलकोट नगरपालिकाले बसाइँसराइ रोक्न ग्रामीण क्षेत्रमा सहजरूपमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी काम गर्न थालेको भए पनि सडकको विकासले मात्रै बसाइँसराइ रोक्न समस्या देखिएको छ । सडकको पहुँच पुगेपनि उच्च शिक्षा, रोजगारी र स्वास्थ्य सेवाका लागि पछिल्लो समय बसाइँ गर्ने कार्यले तीव्रता पाएको छ । बसाइँसराइका कारण गाउँ उराठिँदा बाँदरको बिगबिगीलेसमेत सताउने गरेको छ । पछिल्लो समय बसाइँसराइका कारण गाउँका घर खाली हुँदै र जमिन बाँझो हुँदै गएपछि अन्य खेती भइरहेको जग्गामा समेत बाँदरको प्रकोपका कारण गाउँ छोड्नुपर्ने अवस्था रहेको छ । निर्वाचनका समयमा बागलुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालगायतका क्षेत्रका जनताले बाँदर नियन्त्रणको योजना ल्याउन आग्रह गरेको बताउँदै नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले बाँदरको समस्यासँग बसाइँसराइ जोडिएको बताउनुभयो । ‘बसाइँसराइका कारण केही घर खाली छन्, त्यहाँ बाँदरको बास हुन्छ, अन्य किसानको खेतबारीमा लगाएको खेतीपाती बाँदरले नाश पार्दा उनीहरुसमेत बाध्यताले बसाइँसराइ गर्नुपर्ने अवस्था छ’, सुवेदीले भने, ‘सडक चिल्लो बन्दै जाने नागरिकहरु बसाई सराईले घट्ने, विद्यालय भवन ठडिने विद्यार्थी घट्दै जाने अवस्थाको अन्त्यका लागि हामीले सोच्ने समय आएको छ, अब बसाइँसराइ रोक्नका लागि पूर्वाधारसँगै रोजगारी, शिक्षाको गुणस्तरमा सुधार, गाउँमै स्वास्थ्योपचार र घरेलु उद्यमलाई आधुनीकरण गराउँदै लैजानुपर्दछ ।’ बागलुङमा दुई राष्ट्रिय गौरवको आयोजनाका कारण यहाँको विकासमा मुहारै फेरे पनि बसाइँसराइ रोकिन नसक्नु दुःखद् विषय बनेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । बागलुङमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका कारण विकासले मुहारै फेरेको भए पनि बसाइँसराइ भने रोकिएको छैन । पछिल्लो समय विद्यालय भवन सुविधा सम्पन्न निर्माण हुने तर विद्यार्थीको सङ्ख्या घट्दै जाने, सडक, विद्युत्, सञ्चारलगायतको सुविधा बढ्दै गए पनि बसाइँसराइ रोकिन नसक्नु चिन्ताको विषय बनेको उनीहरुको गुनासो छ । स्थानीय तहले बसाइँसराइ रोक्नका लागि भौतिक विकासलाई तीव्रता दिए पनि औद्योगीकरण र स्वास्थ्यमा सुधार गर्न आवश्यक रहेको तमानखोला गाउँपालिकाका स्थानीय चूडामणि छन्त्यालले बताए ।

काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल नहुने बताएका छन् । सोमबार काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उनले आफ्नो पार्टी कुनै पनि शक्तिको पछि नलाग्ने बताए । ‘देशको राजनीतिक आफ्नै जटिलताहरु छन् । हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं । नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं’ उनले भने । अध्यक्ष नेपालले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको वस्तुनिष्ठ समीक्षा गरेर आफूहरु अघि बढ्ने तर आरोप प्रत्यारोपको राजनीति नगर्ने धारणा राखे । ‘यो आरोप प्रत्यारोप गर्ने बेला पनि होइन । कसैसामु लत्रिनु परेको पनि छैन । हामीले ठीक गरेको छौं । दृढताका साथ उभिएका छौं’ उनले भने । नेकपा एकीकृत समाजवादीको सोमबार सुरु भएको पोलिट्व्यूरो बैठकमा नेताहरुले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने पार्टीका प्रचार विभाग प्रभुा जगन्नाथ खतिवडाले बताए ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने भएका छन् ।  प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका छन् । संघीय संसद्को पहिलो बैठक पुस २५ गते बोलाइएको छ। 

सर्लाही: सर्लाही प्रहरीले यहाँको अति दुर्गम भेगस्थित लालबन्दी नगरपालिका –१४, नारायण खोला किनारमा आठ बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मलङ्गवामा नयाँ प्रहरी प्रमुख नरेशराज सुवेदीको नेतृत्वमा गाँजा खेती नष्ट गरिएको हो । गाँजा नष्ट गर्न सोमबार पनि जिल्ला प्रहरी कार्यालय मलङ्गवा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी टोली नारायण खोलातर्फ गएको छ ।  प्रहरी टोलीले आइतबार पहिलो दिन नारायण खोलास्थित सत्रकठ्ठा क्षेत्रमा ८ बिघा बढीको तयारी हुन लागेको गाँजा फडानी गरेको छ । प्रहरी उपरीक्षक सुवेदीले आफू गत शुक्रबार जिल्लामा हाजिर हुनासाथ कानूनद्वारा निषेध गरिएको गाँजाखेती नष्ट गरेको बताउनुभयो ।  सूचना पाएको र शनिबार आफै सुक्ष्म अनुसन्धानमा जाँदा सूचना बमोजिमकै गाँजा खेती भइरहेको देखेपछि आइतबारदेखि प्रहरी टोली पठाएर फडानी गर्न शुरु गरेको उहाँले बताउनुभयो ।  स्थानीयले गाँजा खेती गर्न छाडेका छैनन् । सडक नपुगेको र खोलाको बगर भएर जानुपर्ने जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने चुरे क्षेत्रस्थित नारायण खोलाका स्थानीयले केही वर्षदेखि अन्य बाली लगाउन छाडेर गाँजा खेती गर्दै आइरहेका छन् ।  अहिले त्यहाँ डाँडापाखाकामा गाँजा खेती गरिएको छ । नारायण खोला सत्र कठ्ठाका एक स्थानीयले तयार हुन लागेको गाँजा एक्कासी प्रहरी आएर नष्ट गरिदिँदा आफूहरु ठूलो मारमा परेको गुनासो गरेका छन् ।  गाँजा खेती कानुनद्वारा बर्जित हो भन्ने थाहा पाउँदा पाउँदै अन्य बालीको साटो आम्दानी राम्रो हुने देखेर स्थानीयले गाँजा खेती गर्दैआएका छन् । गोरखापत्र अनलाइन 

मनाङ:  जाडो बढेसँगै मनाङको जनजीवन प्रभावित बनेको छ । चिसोले जीवनयापन अझ कष्टकर हुनुका साथै विकास निर्माणका काम अघि बढ्न सकेका छैनन् । चिसो बढे पनि यसपटक हिउँ परेको छैन । मौसम विज्ञान विभागले हिमपात हुनसक्ने अनुमान गरेको भए पनि हालसम्म हिमपात भएको छैन । चिसो बढ्दै गएपछि यहाँका कतिपय बासिन्दा घर, गोठ र व्यापार हेर्ने मान्छे राखेर चिसो छल्न पहाड तथा तराईतर्फ झर्न थालेका छन् । गत वर्ष निरन्तरको वर्षाले क्षति पुर्‍याएको भौतिक संरचनाको निर्माण कार्य चिसोकै कारण रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । विशेषगरी माथिल्लो मनाङका सडक, पुल, जलविद्युत्लगायतका विकास निर्माणका काम रोकिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले बताए । ‘सदरमुकाम चामे, नासो गाउँपालिका क्षेत्रमा सिमेन्ट प्रयोग हुने कार्य रोकिएको छ, तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा संरचना निर्माणको काम गर्न सकिँदैन’, उनले भने । हिउँ नै नपरे पनि चिसोका कारण अहिले जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम गर्न सकिने अवस्था नरहेको पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर जय विष्टले बताए । ‘हिउँका कारण सिमेन्ट प्रयोग गरी निर्माण गरिने माथिल्लो मनाङको संरचनाका काम गर्न सकिँदैन, यहाँको काम वर्षमा तीन महिना मात्रै गर्न पाइन्छ’, उनले भने । मनाङको मेरुदण्डका रुपमा रहेको चामे–बेँसीशहर सडक खण्डको निर्माण कार्य पनि मौसम प्रतिकूलताका कारण रोकिएको उनले बताए। अन्य जिल्लाको दाजोमा प्रायःजसो मनाङको विकास निर्माणको काम गर्न कठिन रहेको उनको भनाइ छ । सो सडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ । मनाङको सहज यातायातका लागि सङ्घ सरकारले विशेष रुपमा सडक तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । रु तीन करोड १४ लाख बजेट विनियोजन भएर तल्लो मनाङ तालगाउँको संरक्षणका लागि तटबन्धन निर्माणको काम भने भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलानको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सकिने अवस्थामा मौसम प्रतिकूल भएपछि केही ढिलाइ हुने भएको कार्यालयले जनाएको छ। सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि रु छ÷छ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले जनाएको छ । डुम्रे–बेँसीशहर–चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन सङ्घ सरकारले कूल रु ६० करोड विनियोजन गरेको छ । बहुवर्षीय रुपमा मनाङको मेरुदण्डको विकासका लागि बजेट विनियोजन हुँदै आएको छ । आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेँसीशहर–चामे सडकखण्डलाई चौँडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बाटो बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे–बेसीशहर–चामे सडक योजना रहेको कार्यालयले जनाएको छ । मनाङका विद्यालय तीन महिना बन्द मनाङका विद्यालयले गत मङ्सिर अन्तिम सातामा परीक्षा सकाएर अहिले जाडो बिदा भएको छ । मौसम प्रतिकूलताले गर्दा यहाँका विद्यालय सञ्चालन गर्न सकिँदैन । यहाँका विद्यार्थीले अर्धवार्षिक परीक्षा दिएर जाडो छल्न बेँसी गएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईले बताउनुभयो । ‘परीक्षा सकाएर विद्यार्थी जाडो छल्न बेँसी झरेका छन्, अब करिब चैतको पहिलो साता मात्रै पठनपाठन गर्न आउँछन्’, उनले भने, ‘जाडोमा अभिभावकसँगै विद्यार्थी जाडो छल्न जान्छन्, जाडो छल्न जाने यहाँका मानिसको प्रचलन जस्तै बनेको छ । अर्धवार्षिक परीक्षा सकाएर बेँसी झरेका छन्, जाडो सकिएपछि फागुनको अन्तिम वा चैतको पहिलो साता मनाङ फर्किन्छन्।’ चामेमा दुई सय ४५ विद्यार्थीका लागि ३४ शिक्षक, नासोंमा एक सय ५८ विद्यार्थीका लागि ७७ शिक्षक र नार्पाभूमिमा २५ विद्यार्थीका लागि नौ गरी कूल एक सय ६१ शिक्षकले उनीहरूलाई पठनपाठन गराउँदै आएको एकाइले जनाएको छ । पर्यटकको आगमनमा कमी हिमपात नभए पनि यहाँ बढी चिसो हुँदासम्म पर्यटक आउने क्रम जारी छ । प्रतिदिन करिब १० देखि १५ जनाका दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । ‘चिसो अत्याधिक बढेको छ, पर्यटक प्रतिदिन १० जना आउने क्रम जारी छ, सुरक्षित भएर यात्रा गर्न सुझाएर गन्तव्यतर्फ पठाउने गरेका छौं’, गौतमले भने, ‘हिमपात नभए पनि चिसो अत्याधिक छ, खानेपानी जमेको अवस्था छ, तर पर्यटक आउन पूर्ण रुपमा रोकिएको छैन।’ पर्यटक आउँदा मनाङमा बसोबासका लागि समस्या हुनसक्ने भएकाले सचेत भएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । हिमपात नहुँदासम्म पर्यटकको आगमन जारी रहने बताइएको छ । हिमपात भएपछि भने मनाङ गाउँबाट माथि जान सक्ने अवस्था नहुने स्थानीयको भनाइ छ । ‘प्रायःजसो समूहमा आएका विदेशी पर्यटकलाई तिलिचो ताल, थोराङ्लापास जान अनुमति दिएका छौँ, हिउँ नपर्दा सुख्खापन बढेको छ, यसले कृषि बालीमा समेत समस्या हुने देखिएको छ’, प्रमुख जिल्ला अधिकारी खनालले भने, ‘पुसमा हिमपात हुने अवस्था देखिएको छैन, माघमा मात्रै हिमपात पर्न सक्ने मौसम विभागको अनुमान छ, सोहीअनुरुप पर्यटकको आवागमनलाई स्वीकृति दिइरहेका छौं।’ तिचिलो तालतर्फ एउटा होटल हिउँ नपरेकाले चिसोमा पनि सञ्चालनमा रहेको उनले जानकारी दिए । त्यस्तै थोराङ्लापासतर्फ पनि एउटा मात्रै होटल सञ्चालनमा रहेको जानकारी पाइएको एक्यापका प्रमुख गौमत बताउँछन् । होटेल व्यवसाय हेरचाहका लागि कुर्ने मान्छे राखेर यहाँका व्यवसायी बेसी झर्ने गरेका छन् । कम मात्रामा आएका पर्यटक तथा पाहुनालाई बस्न कुर्ने मान्छेले व्यवस्थापन गर्दै आएका छन् । मुख्य आम्दानीको स्रोत यहाँको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय र जङ्गली जडीबुटी हुन् । अझ मुख्य स्रोतका रुपमा जङ्गली जडीबुटीलाई लिने गरिएको छ । यहाँ देशकै महँगो जडीबुटी यार्सागुम्बा, वन लसुन, गुची च्याउलगायत पाइन्छन् । जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन हुने गरेको छ । सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन हुँदै आएको छ । मनाङ ङिस्याङको खाङ्सार, पिसाङ लेक, आइस लेक, याकखर्क, भ्राका लेक, छोङ्करलगायतका स्थानबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छ । चामे गाउँपालिकामा गुची च्याउ, वन लसुनलगायत पाइन्छन् । नासों गाउँपालिकामा नाम्गे, भिमताङ क्षेत्र, ड्रोना ताल, तिलिचे भीमथाङ क्षेत्र र नार्पाभूमि गाउँपालिकामा फु, नार, काङला, हुलाकी ओडार लगायतका क्षेत्रबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छ । ठेकेदारले जङ्गली जडीबुटी सङ्कलनका लागि ठेक्का लिने र बाहिरबाट सङ्कलनकर्ता ल्याएर टिपिने गरिन्छ । घर नजिकै गोठ लेकमा लगेर पालिँदै आएका पशुको गोठ जाडोमा घर नजिकै सारिएको छ । चिसो बढ्दै गएपछि यहाँका गाउँ रित्तिदै जान्छन् । चिसोमा भेडाच्याङ्ग्राका पाठापाठी र चौरीका बाच्छाबाच्छीलाई बचाउन बेँसी घर नजिकै गोठ बनाएर पाल्ने गरिन्छ। चिसोले जमेको पानी भेडाच्याङ्ग्रालाई खुवाउनै मुस्किल हुने गरेको मनाङ ङिस्याङ–१ का ७४ वर्षीय पशुपालक किसान याङ्दुङ गुरुङ बताउँछन् । भेडाच्याङ्ग्रा र चौँरीलाई यतिबेला सुकेका घाँस खुवाएर पालिने गरिएको उनी बताउँछन् । भेडाच्याङ्ग्रा र चौरीसहित गोठाला बेँसी झरेर घर नजिकै आएका छन् । नार्पाभूमिका निवर्तमान अध्यक्ष मिङ्मार छिरिङ लामा भन्छन्, ‘वस्तुभाउको व्यवस्थापन गरेर गाउँबाट यहाँका बासिन्दा बेँसी झरिसकेका छन्।’ जाडोमा पशुलाई गहुँ, फापरका नल खुवाएर राखिने गरिएको छ । मनाङका अधिकांश स्थानीय पशुपालनमा आवद्ध छन् । त्यसले गर्दा उनीहरू वर्षमा दुई पटक लेकबेँसी गर्ने गर्छन् । वर्षातको समय लेक र हिउँदको समय बेसी झर्ने उनीहरूको परम्परा जस्तै हो । अब चैत पहिलो साता मात्रै लेक चढ्ने गर्दछन् । घर नजिक ल्याइएका चौरी, भेडाच्याङ्ग्रा हिमलुङ हिमालको फेदी, आइसलेक, नाम्के लेकको फेदीसम्म चराउन लैजाने गरिन्छ । पुस र माघ दुई महिना भेडीगोठ गाउँ नजिकै राखिने र फागुन लागेपछि गाउँभन्दा माथिका खर्कमा लैजाने गरिन्छ । पानी नपरे पनि गोठ नै पुरिने गरी तुसारो परेपछि पशुपालक बेँसी झर्ने गर्दछन् । यसवर्ष छिट्टै चिसो बढेको मनाङवासीको भनाइ छ । विगतमा गाउँका अधिकांश मानिसले भेडाच्याङ्ग्रा र चौंरी पाल्ने गर्थे । युवाहरू पर्यटन व्यवसायतर्फ लाग्न थालेपछि पशुपालन कम हुँदै गएको छ । अरु व्यवसायको तुलनामा पशुपालन निकै चुनौतीपूर्ण भएकाले अहिलेका युवाले गोठमा नबस्ने र पशुचौपाया पाल्नतिर चासो दिन छाडेका छन् । यहाँका अधिकांश युवा वैदेशिक रोजगारीमा जान्छन् भने केहीले पशुपालन छाडेर पर्यटन व्यवसायतर्फ लागेका छन् । पर्यटन व्यवसाय सञ्चालनका लागि पनि पशुपालन आवश्यक हुने हुँदासम्म यहाँका युवा कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् ।