आचारसंहिता उल्लंघन  गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्।   आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैन...

  कञ्चनपुर । कञ्चनपुरमा किसान धान भित्र्याउनमा व्यस्त छन् । खेतमा लगाएको बाली तयार भएपछि काटेर भित्र्याउन उनीहरु जुटेका हुन् ।    “धान पाकिसक्यो, वर्षाले भिजाउला कि भन्ने पिरले धान काटेर भित्र्याइरहेका छौँ”, कृष्णपुर नगरपालिका–७ का किसान मोहन भट्टले भन्नुभयो, “पानीले अब क्षति नगरेमा बाली राम्रै लागेको छ, किरा पनि नलागेकाले यस वर्ष उब्जाउ विगतभन्दा राम्रै हुन्छ ।”     कञ्चनपुरमा उन्नत जातका बीउको प्रयोग र समयमै भएको वर्षाका कारण यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । “गत वर्षभन्दा यस वर्ष धानको उत्पादनमा २५ देखि ३० प्रतिशतले वृद्धि हुने अनुमान गरेका छौँ”, कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भन्नुभयो, “यसपटक नयाँ जातको बीउको प्रयोग र समयमै वर्षा भएकाले पर्याप्त सिँचाइ पुगेको छ, त्यसैले धानको उत्पादन बढ्ने अनुमान गरेका छौँ ।”     दुई/तीन वर्षको अन्तरालमा धानको बीउ बदलेर खेती गरेमा उत्पादन वृद्धि हुने गरेको उहाँले बताउनुभयो  । “विगतमा चार/पाँच वर्षसम्म एउटै बीउ लगाउने गरिन्थ्यो, अहिले कृषकमा  नियमितरूपमा उन्नत जातको बीउ प्रयोग गर्नेक्रम बढेको छ”, उहाँले भन्नुभयो, “यसले किरा लाग्न दिँदैन, त्यसले गर्दा बीउ बदलेर खेती गर्दा २० देखि २५ प्रतिशत उत्पादन बढ्छ ।”     उक्त केन्द्रका अनुसार केही वर्षयता उन्नत जातको बीउको प्रयोग बढेको छ । अहिले कृषकले हर्दीनाथ, सुक्खाको एकदेखि चारसम्म, राधा चार, साँवा मन्सुलीलगायत उन्नत जातका बीउ प्रयोग गरिरहेका छन् ।           गत वर्ष कात्तिकमा आएको बाढीले कञ्चनपुरमा धान बालीमा ठूलो क्षति गरेकाले गत वर्ष दुई दशमलव पाँच  मेट्रिकटन प्रतिहेक्टर अर्थात् एक लाख २१ हजार दुई सय ४० मेट्रिकटन मात्रै धान उत्पादन भएको थियो ।     “अहिले गत वर्षको जस्तो बाढी र वर्षाले धानमा क्षति पु¥याएको छैन, करिब पाँच÷सात प्रतिशत धानमा मात्रै क्षति पुगेको छ, पूर्वसूचनाले किसानले यसपटक धान काटेनन्”, सूचना अधिकारी जोशीले भन्नुभयो, “बेलौरी, लालझाडीतिर बढी क्षति छ तर गत वर्षभन्दा धान उत्पादन बढ्छ ।”     यस वर्ष कञ्चनपुरमा तीन दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । यस वर्ष किसानले मलखाद पनि समयमै पाएको सूचना अधिकारी जोशीको जिकिर छ ।      विसं २०७७ मा कञ्चनपुरमा धानको उत्पादन तीन दशमलव नौ मेट्रिकटन प्रतिहेक्टर थियो । कञ्चनपुरको बेलौरी, पुर्नर्वास, भीमदत्त, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय  ९६ हेक्टर जमिनमा धान खेती गरिन्छ ।

  तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पार्नुभएको छ । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो । व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उहाँले गठबन्धनलाई दिगोरूपमा अगाडि लैजान सकिए मात्र संविधानको रक्षामा सहयोग पुग्छ भन्नुभयो । व्यवस्था परिवर्तन भए पनि यसको सही व्यवस्थापन हुन नसकेकाले जनताको अवस्था बदलिन नसकेको बरिष्ठ नेता पौडेलको भनाइ थियो ।  हरेक नागरिकमा अनुशासन र आचरणमा राख्ने पद्धति आवश्यक परेको जनाउँदै उहाँले लोकतन्त्रको उपयोग गर्न सिक्नुपर्ने धारणा राख्नुभयो । गाउँमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नुपर्ने अहिलेको चुनौती रहेको र त्यसका लागि आफू क्रियाशील रहेको उहाँले बताउनुभयो ।  सो अवसरमा तनहुँ क्षेत्र नं १ प्रदेश (क)का उम्मेदवार अशोककुमार श्रेष्ठ, समानुपातिक उम्मेदवार चिनु पोख्रेललगायतले कांग्रेसको नेतृत्वमा विकास सम्भव रहेको बताउनुभयो । वरिष्ठ नेता पौडेलले विगत केही दिनदेखि जिल्लाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाटलाई तीब्रता दिनुभएको छ । यसक्रममा उहाँले व्यास,भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाट गर्नुभएको थियो ।

  सुर्खेत । वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ वर्षअघि निर्माण सुरुआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ । वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको थियो ।  कर्णाली प्रदेशको राजधानी कायम भइसक्दासमेत वीरेन्द्रनगर उपत्यकामा निर्माणाधीन चक्रपथको काम पूरा हुनसकेको छैन । सत्र वर्षअघि सुब्बाकुनाबाट घुस्रा हुँदै दक्षिण भागबाट बाङ्गेसिमल जोड्न चक्रपथ निर्माण थालिएको थियो ।   करिब २९ किलोमिटर लामो सो चक्रपथको हालसम्म २२ किलोमिटरमा मात्रै काम भएको छ । चक्रपथअन्तर्गत व्यक्तिगत घर, जग्गा र संरक्षित वन क्षेत्र पर्ने हुँदा बेला–बेला विवाद हुँदै आएको छ । अरू त अरू चक्रपथको सुरुको विन्दु सुब्बाकुनामै व्यक्तिको घरजग्गा परेका कारण सो ठाउँमा काम हुनसकेको छैन ।  चक्रपथअन्तर्गत संरक्षित वन क्षेत्र र व्यक्तिगत घरजग्गा परेकै कारण अझै ४० प्रतिशत काम हुन बाँकी छ । निर्माण भएको सडकमध्ये पनि करिब दुई किलोमिटर कालोपत्र हुन बाँकी छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नं १, २, ८ र १२ को क्षेत्रमा पनि व्यक्तिगत घर, जग्गा पर्ने हुदाँ विवाद सुल्झिनसकेको छैन ।  स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै लामो समयदेखि आयोजना निर्माणमा अवरोध गर्दै आएका छन् । “जनताका लागि विकास हो भने सही तरिकाले विकास हुनुपर्यो । विकासका नाममा उठिबास त लगाउनु भएन नि”, वीरेन्द्रनगर–२ की अमृता कार्कीले भन्नुभयो, “हामी जग्गा दिन्छौँ, तर हामीलाई उठिबास लगाएर विकास गर्न खोज्दा समस्या भएको छ ।” उहाँले क्षतिअनुसार सरकारले क्षतिपूर्ति दिनुपर्छ भन्ने स्थानीयवासीको माग रहेको बताउनुभयो । निर्माणाधीन चक्रपथ हेरिरहेको रुकुम–पश्चिम चौरजहारी सडक डिभिजन कार्यालयले भने ६० प्रतिशत काम सकिएको जनाएको छ । विवाद नभएको क्षेत्रमा निर्माण सकिए पनि विवादित क्षेत्रको काम बाँकी रहेको कार्यालयका इञ्जीनियर सुरेश बस्यालले जानकारी दिनुभयो ।  “विवाद नभएको ठाउँहरूमा त काम सकिसकेको छ । केही ठाउँमा जग्गा र संरक्षित वन क्षेत्रको विवादले काम रोकिएको छ”, उहाँले भन्नुभयो, “जग्गा र वनको विवाद नभएका ठाउँमा करिब ६० प्रतिशत काम सकिएको छ ।” निर्माण कम्पनी र कार्यालयले समय सीमाभित्रै काम सक्ने गरी लागे पनि विवादका कारण कठिनाइ भएको उहाँको भनाइ छ । सम्झौताविपरति साँघुरियो सडक  चार वर्षभित्र सक्ने गरी चक्रपथ निर्माणको सम्झौता भएकामा पटक–पटक म्याद थप भइरहेको छ । पछिल्लोपटक म्याद थप भएअनुसार २०७८ चैत मसान्तभित्र निर्माणकार्य पूरा गर्नुपर्ने सम्झौता थियो । तर अवरोध कायमै रहेकाले काम सकिने कुनै टुङ्गो छैन । सङ्घीय सरकारले निर्माण थालेको चक्रपथको काम अहिले प्रदेश सरकारमातहत छ ।   रु १३ करोड बजेटमा निर्माण सम्झौता हुँदा चक्रपथ १५ मिटर चौडा हुने उल्लेख थियो । तर जग्गा अभावकै कारण ११ मिटरमा मात्रै सडकको काम भइरहेको छ । पर्याप्त जग्गा उपलब्ध नहुँदा सडकको चौडाइ घटाउनुपरेको सडक डिभिजन कार्यालयका इञ्जीनियर सुरेश बस्यालले जानकारी दिनुभयो ।    वीरेन्द्रनगर नगरपालिकाले छिट्टै विवाद समाधान भएर काम अघि बढ्ने जनाएको छ । सरोकारवालाबीच विवाद समाधानका लागि छलफल भइरहेकाले केही समयमै समस्या समाधान हुने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो । उहाँले प्रभावित नागरिकलाई मर्का नपर्ने गरी सहमतिबाटै चक्रपथको काम अघि बढ्ने जानकारी दिनुभयो ।   “समस्या समाधानका लागि सम्बन्धित व्यक्ति र निकायबीच विभिन्न चरणमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “वीरेन्द्रनगर नगरपालिकाको मात्रै नभएर प्रदेशकै गौरवका रूपमा रहेको ‘वीरेन्द्रनगर चक्रपथ’ निर्माणको कामलाई प्रदेश र सङ्घीय सरकारले पनि प्राथमिकतामा राखेको हुँदा अब छिट्टै काम अघि बढ्छ ।”

  तनहुँ । को बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो । “घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ”, उहाँले भन्नुभयो । बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत छिन् ।  पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।  चितुवाको आक्रमणबाट बन्दीपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए । पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

पोखरा : दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।    नवौं राष्ट्रिय खेलकुदका प्रमुख अतिथी प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बि.सी.लाई राष्ट्रिय खेलकुको झण्डा हस्तान्तरण गरे ।   यस अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको जानकारी गराए । परिषद्को ११५ औं बैठकबाट दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गते सम्म कर्णालीमा आयोजना हुने निर्णय गरेको हो ।   नवौं राष्ट्रिय खेलकुदमा पहिलो पटक निर्माण गरिएको रनिङ्ग ट्रफी समापन समारोहका प्रमुख अतिथी  प्रधानमन्त्रीले नेपाली सेनाका प्रधान सेनापतीलाई प्रदान गरे । १७२ स्वर्ण, ११० रजत र ८९ कास्य पदक सहित कुल ३९१ पदक प्राप्त गर्दै आर्मी टिम च्याम्पिन बन्न सफल भएको हो ।   समापन समारोहका विच प्रतियोगिताका दौरान दुर्घटनामा परि निधन भएका पाराग्लाईडिङ्गका खेलाडी निसिम थापाको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो ।   औपचारिक रुपमा असोज २८ गते देखि कार्तिक ३ गते सम्म सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद भब्य रुपमा सम्पन्न भएको छ । समापनका अवसरमा विविध साँस्कृतीका कार्यक्रम, विभिन्न प्रदेशका झाँकीको आयोजना गरिएको थियो । सो क्रममा भव्य आतिसबाजी समेत गरिएको थियो ।

पोखरा : नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौंमा देखिएका समस्यालाई दशौंमा सुधार गर्ने बताए । उनले नवौं खेलकुदले धेरै कुरा सिकाएको र यसलाई खेलकर्मी तथा पदीय जिम्मेवारीमा बसेकाले पनि ख्याल गर्नुपर्नेमा जोड दिए ।    यो प्रतियोगिताले विभिन्न विधाका खेलाडीहरूले स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट उत्कृष्ट खेलकौशल प्रदर्शन गर्दै उच्च मनोवलका साथ प्रतिस्पर्धामा सहभागी भई पदक प्राप्त गर्ने तथा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने काम समेत भएको उनले सुनाए ।     नवौंबाट प्राप्त ज्ञान, सीप र क्षमताले आगामी दिनमा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको उपस्थिति अझ सशक्त हुनेमा आफु आशावादी रहेको बताए । खेलकुद क्षेत्रको २० वर्षे गुरुयोजना निर्माण तथा खेल विश्वविद्यालय स्थापनाको चरणमा रहेको उनले सुनाए ।   

पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध भएको बताएका छन् ।   नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले विभिन्न सिमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताए ।   चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राष्ट्रिय खेलकुद लगायतका प्रतियोगिता नियमित तवरमा आयोजना हुने विश्वास व्यक्त गरे ।   राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो क्षमता र खेलकौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै भने “यसले हाम्रा खेलाडीको खेल कौशललाई थप निखार्दै अन्तराष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितामा मुलुकको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्छ । अतः यो निश्चित समयको अन्तरालमा नियमित तवरमा भइरहनु आवश्यक हुन्छ ।”   नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल र सहभागी खेलाडी संख्याका आधारमा नेपाली खेलकुद इतिहासमा हालसम्मकै ठूलो प्रतियोगिता भएको भन्दै प्रधानमन्त्रीले “प्रतियोगितामा दुई प्रदर्शन खेलसँगै ३६ वटा खेल समावेश गरिएकोमा छ हजार भन्दा बढी खेलाडीले ३९६ स्वर्ण लगायत पदकका लागि प्रतिष्पर्धा गरेका थिए” उनले भने ।  

काठमाडौं : हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताउनुभएको छ ।    उहाँ अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उहाँले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गर्नुभयो । “मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउँछु”, अभिनेता श्रेष्ठले भन्नुभयो । महापुरुष नेपाली चलचित्र भाइटिकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ ।    उहाँ पछिल्लो समय आफ्नो अभिनय र गायनमा सक्रियता घटेको स्वीकार्नुहुन्छ । यद्यपि महसञ्चारबाट बनेका भिडियो सामग्रीमा सकेको समय काम गरिरहनुभएको छ । “बाहिर काम गर्न केही असहज भने हुन्छ, महसञ्चारमा भने सुविधाअनुसार काम गर्ने गरेको छु । यो फिल्ममा हाम्रै टेलिशृङ्खलाबाट निर्देशनको सुरुआत गर्नुभएका प्रदीप भट्टराई निर्देशक भएकाले काम गरेको हुँ”, अभिनेता श्रेष्ठले भन्नुभयो ।   लेखकसँगै निर्देशकसमेत रहनुभएका भट्टराईले अभिनेता श्रेष्ठको स्वास्थ्यलाई ख्यालमा राख्दै दृश्य तयार गरिएको जानकारी दिनुभयो । “काठमाडौँमै छायाङ्कन हुने भएकाले उहाँको सुविधाअनुसार अभिनय गराएको हुँ । मदन दाइ र हरि दाइ मेरा लागि स्कुल हुनुहुन्छ । उहाँहरूलाई ठूलो पर्दामा दोस्रोपटक निर्देशक गर्न पाउँदा खुसी लागेको छ”, निर्देशक भट्टराईले भन्नुभयो ।   उहाँहरूले यस अगाडि ‘शत्रु गते’ मा काम गर्नुभएको थियो । पत्रकार सम्मेलनमा हास्यकलाकार एवम् अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको इच्छाशक्तिको चर्चा गर्नुभयो । “मदन दाइलाई पर्दामा सँगै पाउँदा छुट्टै ऊर्जा प्राप्त हुन्छ । यसअगाडिका फिल्महरूझैँ यसमा पनि उहाँ जोडिँदा धन्य भएको छु”, अभिनेता आचार्यले भन्नुभयो । फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहजीकरण हुनु अतिआवश्यक रहेको बताउनुभएको छ ।   राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रमा उहाँले जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा धेरै काम गर्नुपर्ने उल्लेख गर्दै यसबाट नेपाल र नेपालीले धेरै लाभ लिनसक्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले नेपालको मनोरम हिमशृङ्खला, तराईदेखि हिमालसम्मको भौगोलिक विविधता एवं संस्कृति र यहाँ पाइने वन्यजन्तु तथा चराचुरुङ्गीजस्ता प्रकृतिको गहनाका रुपमा रहेको उल्लेख गर्दै प्रकृति संरक्षण तथा जैविक विविधताको माध्यमबाट नेपालको पर्यटन विकास र समृद्धिको महत्वपूर्ण आधार हुन पुगेको बताउनुभयो ।   कोषका संरक्षकसमेत रहनुभएका उहाँले नेपालले बाघ संरक्षणको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको जनाउँदै पछिल्ला वर्षमा नेपालबाट अन्तर्राष्ट्रिय समुदायसामु सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गर्नुभयो । “सन् २०१० मा बाघको सङ्ख्या एक सय २१ लाई दोब्बर बनाएर दुई सय ५० पु¥याउने नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता थियो । त्यसमा नेपाललाई अपार सफलता मिलेको छ । अब, हामीले बाघको सङ्ख्या त बढायौँ पछिल्ला दिनमा मानव–वन्यजन्तुद्वन्द्व बढिरहेको अवस्थामा यस चुनौतीका बिचमा हामीले असिमित सम्भावना खोज्न जरुरी छ ”, उहाँले भन्नुभयो ।    प्रधानमन्त्री देउवाले मुलुकको दिगो विकाससँग प्रकृति र जैविक विविधता संरक्षण प्रत्यक्ष रुपमा जोडिएको उल्लेख गर्दै योसँग जोडिएर संरक्षणसम्बन्धी ठोस् तथा उपलब्धिमूलक कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले कोषले समुदायमा आधारित संरक्षणको अभ्यास गर्दै नयाँ अभ्यास अपनाउन सफल भएको बताउदैँ संरक्षण क्षेत्रको व्यवस्थापनमा अन्नपूर्ण संरक्षण क्षेत्रको मोडेल विश्वप्रसिद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।    कोषले संरक्षण क्षेत्र व्यवस्थापनमा जनसहभागितामा आधारित संरक्षण र वन्यजन्तुको अध्ययन अनुसन्धानमा पु¥याएको योगदान विश्वमै ख्याति रहेको बताउदैँ उहाँले नेपालको कूल भू–भागमध्ये संरक्षित क्षेत्रले ओगटेको २३ दशमलव ३९ प्रतिशत भू–भागलाई वृद्धि गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । कोषले आफ्््नो गौरवशाली इतिहासमा सदरचिडियाखानाको व्यवस्थापनमा पु¥याएको योगदान स्मरणीय रहेको बताउँदैँ उहाँले यो चिडियाखानालाई संरक्षण शिक्षा केन्द्रका रुपमा राख्दै भक्तपुरको सूर्यविनायकलाई अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यानमा विकास गर्नेगरी कार्य भइरहेकामा यसलाई तदारुपताकासाथ अघि बढाउन निर्देशन दिनुभयो ।   कोषले जलवायु परिवर्तनको क्षेत्रमा जलवायु वित्त संयन्त्रमा प्रवेश गरी यस क्षेत्रको हरित जलवायु कोषको रुपमा मान्यता प्राप्त गरिसकेको सन्दर्भमा सम्बन्धन प्राप्त निकायका रुपमा मुलुकको जलवायु अनुकूलन र न्यूनीकरणका लागि परियोजना भित्र्याउन सहज वातावरण निर्माण भएको उहाँको भनाइ छ ।    कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रकृति संरक्षण, वन्यजन्तु एवं जैविवि विविधताको प्रवद्र्धनमा कोषले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अन्तर निकायबीच समन्वय गरेर प्रकृति संरक्षणको कामलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।   कार्यक्रममा पूर्वमन्त्री दीपक ज्ञवाली, वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेल, कोषका अध्यक्ष डा कृष्णप्रसाद आचार्य र सदस्यसचिव शरद अधिकारीलगायतले संरक्षणको क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि विश्व समुदायका लागि उदाहरणीय रहेको भन्दै आगामी दिनमा प्रकृति तथा जैविक विविधता सम्पदाको संरक्षणलाई आधुनिक ढङ्गले अघि बढाइनुपर्ने बताउनुभयो ।   प्रकृति तथा प्राकृतिक सम्पदाको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यले विसं २०३९ मा राष्ट्रिय प्रकृति कोष स्थापना गरिएको थियो । अन्नपूर्णलगायत तीन संरक्षित क्षेत्रको व्यवस्थापन कोषबाट हँुदै आएको छ । ‘संरक्षणका चार दशकः गौरवमय इतिहास र अबको बाटो’ भन्ने नाराका साथ कोषले वार्षिकोत्सव मनाएको हो ।   सो अवसरमा प्रकृति, वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विश्वनाथ उप्रेतीलाई रु एक लाख २५ हजार राशिको कोषको संरक्षक संरक्षण पुरस्कारबाट सम्मान गरिएको छ । पुरस्कृत उप्रेतीलाई प्रधानमन्त्री देउवाले नगदसहित दोसल्ला र कदर–पत्रद्वारा सम्मान गर्नुभएको थियो । कोषले वंयजन्तु संरक्षणमा योगदान पु¥याउने विभिन्न निकाय तथा व्यक्तिलाई पनि कदर–पत्रबाट सम्मान गरेको छ ।