काठमाडौं । नेपालीहरुको महान् पर्व विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ । रोजगारीका लािग भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड लागेको हो । एक सातायता कञ्चनपुरको गड्डाचौकी नाकाबाट दश हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार एक दिनमा मात्रै एक हजारभन्दा बढी नागरिक भारतबाट नेपाल फर्किंदै छन् । सोमबार मात्रै एक हजार २० जना स्वदेश फर्किएका छन् भने मङ्गलबार एक हजार एक सय ६५ जना स्वदेश फर्किएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामसिंह चौधरीले नाकामा भारतबाट आउने नेपालीको भीड लागेको बताउनुभयो । “रोजगारीका लागि भारतमा रहेका नेपाली घर फर्किने क्रम बढेको छ, नाकामा भीडभाड छ”, उहाँले भन्नुभयो, “भीडभाड बढेपछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छौँ ।” उहाँले अहिले भारत जानेभन्दा नेपाल आउनेको सङ्ख्या बढी रहेको बताउनुभयो । भारतबाट घर फर्किनेको चाप बढेपछि प्रहरीले आपराधिक गतिविधि न्यूनीकरणका लागि नाकामा तालीम प्राप्त कुकुर परिचालन गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीस्थित कुकुर शाखाबाट ‘लिली’ नामको कुकुरसहितको सुरक्षा टोली परिचालन गरिएको उहाँले बताउनुभयो । “चाडपर्व सुरक्षा योजनाअन्तर्गत नाकामा तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो, “भारतबाट आउने यात्रुको सुरक्षित यात्राका लागि र आपराधिक गतिविधि न्यूनीकरणका लागि नाकामा कुकुर परिचालन गरिएको हो ।” उहाँले चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको बताउनुभयो । उहाँका अनुसार लिलीले नियमित रुपमा नाकामा जाँच गर्ने बताउनुभयो । भारतको हिमाञ्चलबाट घर फर्केका लम्कीचुहाका रामबहादुर भण्डारीले दसैँ मनाउनका लागि घर फर्केको बताउनुभयो । “भारतको हिमाञ्चलमा रोजगारीका लागि गएको १० वर्षभन्दा बढी भइसक्यो, हरेक वर्ष दसैँ मनाउन घर आउँछौँ”, उहाँले भन्नुभयो, “दसैँ तिहार मनाएर फेरि रोजगारिका लागि भारत फर्किन्छौँ, नेपालमा रोजगारी छैन ।” भारतको दिल्ली, मुम्बई, महाराष्ट्र, पञ्जाब, बैङ्गलोर, सिमला, हिमाञ्चल, हरिद्वार लगायतका सहरमा नेपाली रोजगारीका लागि जाने गरेका छन् । भारतबाट आउनेमा विभिन्न रोग सङ्क्रमणको जोखिम रहेकाले नाकामै जाँचको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतबाट फर्किनेहरु नाकामा कोरोना परीक्षण र खोप लगाउने डंङ्गु, मलेरिया जाँच भइरहेको छ ।
सुर्खेत । दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ । पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्वपूर्ण माध्यम थियो ‘लिङ्गे पिङ’ । दशैँमा ‘लिङ्गे पिङ’ खेल्ने परम्परा पनि यसै अन्तर्गत सुरु भएको हुनसक्छ । जे होस् दशैँमा ‘लिङ्गे पिङ’को रौनकै छुट्टै हुन्थ्यो । पिङ नखेली पनि दशैँ मनाइन्छ र? मनाए पनि त्यसको के अर्थ ? भन्ने लाग्थ्यो । दशैँमा गरिने रमाइलोमा सबैभन्दा ठूलो भूमिका ‘लिङ्गे पिङ’कै हुन्थ्यो । दशैँमा पिङ खेल्नैपर्ने परम्परा कहिले, कहाँ र कसरी सुरु भयो ठ्याक्कै भन्न नसकिए पनि जबदेखि दशैँ मनाइयो, पिङ खेल्न पनि उही बेलादेखि नै सुरु भएको मान्न सकिन्छ । वर्षमा एकचोटी धर्ती छोड्नैपर्ने मान्यताका साथ हरेक वर्ष कम्तीमा एकपटक बालबालिकादेखि युवा, वृद्ध सबैले पिङ खेल्नैपर्ने चलिआएको चलन बुढापाकाहरू बताउँछन् । केही वर्षअघिसम्म दशैँ तिहारजस्ता चाडमा प्रत्येक टोलमा पिङ थापिन्थ्यो । पछिल्लो समय गाउँगाउँमा खेलिने ‘लिङ्गे पिङ’को चलन हराउँदै गएको हो । दशैँको सुरुआतदेखि थापेको ‘लिङ्गे पिङ’ तिहारसम्मै राखिन्थ्यो । युवाहरू विभिन्न सिलसिलामा गाउँबाट बिहिर जान थालेसँगै दशैँको खुसीयालीमा रौनक थप्ने पिङ खेल्ने संस्कृति हराउँदै गएको बूढापाहरूको भनाइ छ । दशैँका बेला गाउँका युवाले बालबालिकाको लिङ्गे पिङ निर्माण गरेर खेल्ने र रमाइलो गर्ने चलन थियो, अहिलेको पुस्तामा त्यो रहर देखिँदैन । हरेक वर्ष दशैँमा पिङ लगाउने चलन । अनि पिङ बनाउन केही समय अघिदेखि नै गाउँका टाठाबाठाहरूको सहभागिता । बाँस, लठारो, काम्रो, काठ आदिको व्यवस्थापन गर्न हरेक घरबाट केही रुपैयाँ सङ्कलन गरिन्थ्यो । पिङ लगाउने स्थान पनि प्रायः निश्चित नै हुन्थ्यो । साझा चौर या मन्दिरको प्राङ्गण । सबैजना मिलेर तयार पारिएको त्यस पिङलाई गाउँकै सम्पदा जत्तिकै महत्व दिइन्थ्यो । दुई प्रकारका पिङहरूको चलन थियो । लिङ्गे पिङ र रोटे पिङ । लिङ्गे पिङ विशेष चाडवाडमा मात्रै निर्माण गरिन्थ्यो । जुनसुकै बेला नबनाइने भएकाले पनि यसको महत्वलाई संस्कृतिले नै जगेर्ना गर्दथ्यो । अहिले दशैँमा बाटिँदैनन् बाबियाको लठारो । गाडिँदैनन् बाँसका खम्बाहरू । पहिला पिङ लगाइने चौर पनि सुनसान देखिन्छ । माहोल मौन छ, लिङ्गो कटाउँदा गुञ्जिने ‘चाचाहुइया’ गुञ्जिँदैन आजकल । समयले दशैँलाई पनि आफूसँगै फेरिदिएको छ । अहिलेका पुस्तालाई रोटे र लिङ्गे पिङको महत्व मात्रै होइन यसको आकार र स्वरुपका बारेमा पनि थाहा छैन । उनीहरूले सुनेका छन् आमाबुबा वा हजुरबुबा, हजुरमुमाबाट ‘हामी दशैँमा पिङ खेल्थ्यौं । क्या मज्जा आउँथ्यो ।’ यही अभिव्यक्तिले उनीहरूको मस्तिष्कमा छाप पारेको छ ‘दशैँमा पिङ खेलिन्छ ।’ त्यसैले उनीहरू घरभित्रै सानो पिङ लगाइदिन झगडा गर्छन् । कसैको माग पूरा हुन्छ । कसैले भने घरभित्रै खेलिने पिङको समेत मज्जा लिन पाउँदैनन् । लिङ्गे पिङलाई चार दिशामा बाँस गाढेर, बाबियाबाट निर्मित लठारो प्रयोग गरी तयार गरिन्थ्यो र शिरमा सयपत्री, लालुपातेजस्ता फूलहरू राखेर सिँगारिँदा पिङ चिटिक्क परेकी बेहुलीजस्तै देखिने । बालबालिकादेखि वृद्धसम्म हरेक उमेरका मानिसहरूले पिङ खेल्ने चलन भए पनि युवा वर्गहरू पिङ खेल्नमा बढी नै उत्साहित हुन्थे । बसेर उठेर दुवै तरिकाले मच्चिँदै खेलिने लिङ्गे पिङमा युवायुवतीको दोहोरी नै चल्थ्यो । ‘कसले बढी मच्चिन सक्ने ?’, ‘कसले लिङ्गो कटाउने ?’ भनेर । जसले सक्यो ऊ नै त्यहाँको ‘हिरो’ । रोटे पिङ बनाउन जनशक्ति र खर्च बढी नै लाग्ने भएकाले कमै मात्र बनाइन्थ्यो । काठ, डोरी जस्ता स्थानीय वस्तुहरू प्रयोग गरेर बनाइने रोटे पिङ बनाइन्थ्यो । एकैसाथ धेरै जनाले खेल्न पाउने गरेर रोटे पिङ बनाइन्थ्यो । ‘पिङ खेल्नकै लागि घण्टौंसम्म लाइन बस्ने, तछाडमछाड गर्दै आफ्नो पालो कुर्ने, कसले धेरै उचाइसम्म मच्चिन सक्छ भन्ने होडबाजी । यो सबै एकादेशको कथाजस्तै भइसक्यो,’ राहताल गाउँपालिका–५ बड्डीचौरका पदमलाल बिष्टले भन्नुभयो, ‘अहिले समयसँगै दशैँ पनि बदलिएको छ ।’ प्रविधिको विकास भएसँगै मनोरञ्जनका अन्य साधनहरू प्रशस्तै आएकाले पनि यस्ता पिङतर्फ आकर्षण घटेको उहाँको बुझाइ छ । रोजगारका लागि युवाहरू विदेशिएका कारण पिङ थाप्ने जनशक्ति नै गाउँमा नभएको बिष्ट बताउनुहुन्छ । ‘रोटे र लिङ्गे पिङ बनाउन खुला ठाउँ चाहिन्छ, तर न हामीसँग छेलोखेलो जमिन छ न त समय नै,’ उहाँले भन्नुभयो । पिङ बनाउनलाई आवश्यक बाँस, काठ आदि सामाग्रीहरू पनि उपलब्ध नहुने भएकाले पनि रोटे र लिङ्गे बन्न छाडेको उहाँको भनाइ छ । बढ्दो शहरीकरण र आधुनिकताका कारण पिङ बनाउनलाई आवश्यक खाली जमिन, पर्याप्त समय र आवश्यक स्रोत साधनको अभाव भएकाले पनि दशैँमा लिङ्गे पिङ खेल्ने कल्चर मासिँदै गएको उहाँले बताउनुभयो । “ग्रामीण भेगमा मानिसहरूको बसोबास पातलिएको छ । गाउँ सुनसान छन् । गाउँका सक्रिय जनशक्ति नै विदेश पलायन भएपछि पिङ लगाउने को ? अनि खेल्ने को?वर्षमा एकदिन जमिन छोड्नुपर्छ भन्दै ‘पिङ’को उडान भर्ने युवाहरू रोजगारीका एकाएक विदेसिन थालेपछि पिङ एक्लिएको हो । विस्थापित भएको हो”, उहाँले भन्नुभयो । त्यसो त प्रविधिले मनोरञ्जनका विभिन्न साधन र माध्यम विकास गरिदिएकाले पनि पिङ खेलेर मनोरञ्जन लिनु त्यति खास लाग्दैन मान्छेहरूलाई । मानव जीवनमा प्रविधिको बढ्दो हस्तक्षेपलाई पनि केही हदसम्म दोषी मान्नुहुन्छ, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ निवासी गायक तथा संगीतकार कुलमान नेपाली । अहिलेका सोखिन मानिसहरू चौरमा पिङ खेल्नभन्दा कोठामै बसेर मोबाइलमा गेम खेल्न रुचाउँछन् । “दशैँलाई सबैसँग घुलमिल भएर मनाउने चाडभन्दा पनि आफ्नो परिवारमा मात्र सिमित राख्ने कल्चरको विकास भएको छ”, नेपाली भन्नुहुन्छ, “दशैँ सामूहिक पर्वभन्दा ‘प्राइभेट सेलिब्रेसन’को माध्यम बनेपछि पिङ खेल्ने चलन लोप हुँदै जानु स्वभाविक हो ।” उहाँका अनुसार अहिलेको पिढी सुखसयलको भोगी छ । नयाँ पुस्तालाई संस्कृति, परम्परालाई अवलम्बन गर्न झन्झट लाग्छ । उनीहरू पिङ खेल्नु भन्दा कोठामै बसेर मोबाइल चलाउन, कम्प्युटरमा गेम खेल्न रमाइलो मान्छन् । ‘आजकल मान्छेलाई टिका लाएर आशीर्वाद थाप्ने फुर्सद त छैन, पिङ खेल्ने त धेरै टाढाको कुरा हो,’ उहाँले थप्नुभयो । प्रविधि, व्यस्तता र संस्कृतिलाई निरन्तरता दिनुपर्छ भन्ने भावनाको कमीले दशैँका बेला खेलिने रोटे र लिङ्गे पिङ हराएको उहाँको भनाई छ । नेपाली भन्नुहुन्छ, ‘यो पिढीको मूलमन्त्र हो, बाप बडो न भैया, सबसे बडा रुपैयाँ अहिलेकै पुस्तालाई मात्रै सबै दोष दिन मिल्दैन । अघिल्लो पुस्ताले पनि बुझाउन सकेन, नयाँ पुस्ताले बुझ्नै चाहेन, कुरा यही हो ।’ पिङ बनाउनलाई आवश्यक बाँस, काठ आदि सामग्रीहरू पाउनै कठिन भएकाले चाहेरै पनि यसको महत्व घटेको हुन सक्ने बताउनुहुन्छ, वीरेन्द्रनगर नगरपालिका–११ का रमेश सिँजाली । सामग्रीहरू प्राप्त गर्ने प्रक्रिया पनि झन्झटिलो, पट्यारलाग्दो हुने भएकाले चाहेर पनि संस्कृतिलाई निरन्तरता दिन नसकेको उहाँको भनाइ छ । “अहिले गाउँघरमा युवाहरूको सङ्ख्या पनि कम छ । युवाहरू पढाइ रोजगारीका लागि थातथलो छाड्नुपर्ने बाध्यताका कारण पनि पिङ बनाउन कठिन छ,’ सिँजालीले भन्नुभयो, ‘अहिले गाउँ–गाउँमा भित्रिएको प्रविधिसँगै मनोरञ्जनका विभिन्न साधनहरूले गाउँघरमा रोटे र लिङ्गे पिङ लोप भएका हुन थालेका छन् ।” गाउँघरमा पिङ नभएपछि जमघट र भेटघाट खलो हुने गरेको उहाँको भनाइ छ । “गाउँमा मात्र होइन, केही वर्ष अगाडिसम्म सदरमुकाममै पिङ देख्न पाइन्थ्यो तर अहिले त्यो संस्कृति हराइसक्यो”, सिँजालीले भन्नुभयो, “अहिले त जङ्गलमा बास र बाबियो पनि पाइँदैन । सामग्री नै नपाइने भएपछि बनाउनका लागि कसले झण्झट गर्ला र?” उहाँँका अनुसार पहिले बाबियोको डोरी बाटेर बाँसको लिङ्गा गाडेर ‘लिङ्गे पिङ’ हाल्ने गरिन्थ्यो । सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको अभाव रहेका कारण पनि ‘रोटे र पिङको संस्कार’ पनि हराउँदै गएको छ ।
कैलाली । यही असोज १ गतेको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुपर्यो । केही पूर्णरुपमा विस्थापित भए भने केही आंशिक रुपमा । पूर्ण रुपमा विस्थापित भएका यतिबेला भत्केको घर निर्माणमा जुटेका छन् भने आंशिक रुपमा विस्थापित भएका राहतको लागि नगरपालिका धाउनमै व्यस्त छन् । चाडपर्व आएसँगै भजनीका अधिकांशको घरमा यतिबेला अन्न छैन । बाढीले क्षति पुर्याएका स्थानमा कयौँको घरमा भएको अन्नपात बाढीमै बग्यो भने कयौँको बाढीले भिजेर पूर्ण रुपमा नष्ट भयो । भजनी नगरपालिका–५ लालभोजीमा तुलाराम चौधरी मङ्गलबार नगरपालिका पुग्नुभएको थियो । बाढीका कारण विस्थापित हुनुभएका उहाँ राहतका लागि नगरपालिका पुग्नुभएको हो । घरमा भएको सबै अन्नपात बाढीले बगाएपछि खानको लागि घरमा केही नहुँदा त्यसैको जोहोका लागि नगरपालिका पुग्नुभएका उहाँ चाडपर्वको समयमा भएको विपत्तिले निकै अप्ठ्यारोमा पारेको सुनाउनुहुन्छ । “छ जनाको परिवार छ । घरमा खानको लागि केही छैन ।“ उहाँ भन्नुहुन्छ, “ के खाने, के लगाउने निकै समस्या छ । परिवार पाल्नुछ । खेती पाक्न अझै महिना लाग्छ ।” सोही ठाउँका रामबहादुर चौधरी पनि बाढीका कारण विस्थापित हुनुभयो । घरको अन्नपात बग्यो । खेतमा लगाएको धानबाली नष्ट भयो । शरीरमा लगाएको एक जोर लुगा भन्दा केही पनि बचाउन नसकेका रामबहादुरलाई पनि खानको निकै समस्या भएको छ । नगरपालिकाले दिएको राहतले एक दुई छाक टार्न भ्याए पनि अरु दिनको जोहो कसरी गर्ने भन्ने चिन्तामा उहाँ हुनुहुन्छ । “घरमा खानलाई केही छैन । लगाउनलाई नत लुगा ।“ उहाँ भन्नुहुन्छ, “चाडपर्व आए, आफूहरु त जसोतसो चुप बसौँला, तर बालबालिकालाई कसरी मनाउने भन्ने पिर छ ।” उहाँ गाउँघरमा अरुको देखासेखी बढी चल्ने गरेको बताउँदै अर्कोले खाएको र लगाएको बालबालिकालाई जसरी पनि पु¥याउनुपर्ने बाध्यता जस्तै बन्ने गरेको बताउनुहुन्छ । “हामी पिडित छौँ । चाडपर्वमा रमाइलो नगर भन्नुभएन । आफूसँग अरुले गरेजस्तो गर्न स्रोत छैन ।“ उहाँ भन्नुहुन्छ, “नगरपालिकाले २५ केजी चामल उपलब्ध गराएको छ । त्यसै चामलले हामीले दसँै मनाउनु छ । के बालबालिकाको इच्छा पूरा होला, चाडवाडमा के हाम्रो पेट भरिएला रु” भजनी –३ का राजेन्द्र विक अझै घर फर्कुनुभएको छैन । परिवारका अन्य सदस्य घर फर्किएको भए पनि आफू अझै हुलाकी सडकको त्रिपालमै बस्दै आएको उहाँ बताउनुहुन्छ । “घर लिपपोत हुँदैछ । गाई बस्तुको गोठ भत्केका कारण अन्त बाँध्ने ठाउँ नभएपछि तीनको रेखदेखको लागि हुलाकी सडकमै छु ।” उहाँ भन्नुहुन्छ, “गोठ बनेपछि घर गाई बस्तु लिएर जानुपर्ला ।” उहाँ घर पुगेर अस्तव्यस्त घरको अवस्था, हिलाम्मे आँगन, भत्केका घरका भित्ताले मन थाम्न मुस्किल हुने गरेको बताउनुहुन्छ । वडा नं ८ का रति ढकाल अझै घर फर्किनुभएको छैन । उहाँ हुलाकी सडकको किनारमा त्रिपालमै बस्दै आउनुभएको छ । उहाँका लागि यो पटकको दसँैले छुन सकेको छैन । दिउँसो घर पुगेर घर मर्मतको काम गरे पनि बस्नको लागि त्रिपालमै आउनुपर्ने बाध्यता रतिलाई छ । “घर छैन । जमरा राख्ने ठाउँ छैन । खानको लागि घरमा अन्न छैन । हामीलाई केको दसँै ।” उहाँ भन्नुहुन्छ, “ज्यान बाँचेको छ । कतैबाट खाद्यान्न सहयोग भयो भने त्यसैबाट गुजारा गरेर ज्यान जोगाउने बाटो खोज्दै छौँ । यो वर्षको दसैँ त त्यस्तै भयो हाम्रा लागि ।” भजनीका बाढी प्रभावितलाई सबैभन्दा ठूलो समस्या नै खाद्यान्नको भएको छ । घरको सबै अन्नपात केही बगेर त केही भिजेर नष्ट हुँदा यतिबेला ती पीडित परिवारलाई के खाने भन्ने चिन्ताले सताएको छ । खेतमा लगायतको धानबाली पनि कयौँ किसानको नष्ट भएको छ । बाँकी रहेको धान भित्राउन पनि अझै महिना दिन लाग्ने स्थिति छ । यसमा नगरपालिका पनि निकै चिन्तित छ । बाढीका कारण विस्थापित भएका करिब सात हजार परिवारलाई नगरपालिकाले आवश्यक खाद्यान्न उपलब्ध गराउन सक्ने स्थिति पनि छैन । “हाम्रो चिन्ता पनि नागरिकलाई भोको हुन नदिन के गर्न सकिन्छ भन्ने नै हो ।” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीले भन्नुहुन्छ, “घरमा भएको अन्न खाली भइसकेको छ । बाहिरको भित्राउन अझै एक महिना लाग्छ । अब एक महिनासम्म पुग्ने राहत नगरपालिकाको स्रोतले भ्याउन सक्दैन ।” उहाँ बाढीका कारण तीन हजार घर पूर्ण र चार हजार घरमा पानी पसेको अनुमानित तथ्याङ्क रहेको बताउँदै अझै वास्तविक तथ्याङ्क आउन समय लाग्ने बताउनुहुन्छ । “हामीसँग वास्तविक तथ्याङ्क आइसकेको छैन । वास्तविक तथ्याङ्क आएपछि कति क्षति भएको रहेछ थाहा हुने छ ।” उहाँ भन्नुहुन्छ, “पानी पसेका घरमा पनि खाद्यान्न बचेको छैन । बचेको खाद्यान्न पनि काम नलाग्ने भएको हामीले देखेर आएका छौँ ।” नगर प्रमुख केवल चौधरीले विस्थापित नागरिकका लागि आवश्यक राहत सहयोगका लागि आह्वान गरिएको जनाउँदै राहत सामग्री नगरपालिकालाई उपलब्ध भए पनि विस्थापित धेरै भएका कारण पु¥याउन नसकिएको बताउनुहुन्छ । उहाँ बाढी आएको दिनदेखि आफूहरुले शान्तिको श्वास फेर्न नपाएको जनाउँदै बाढीबाट विस्थापित परिवारको अवस्था हेर्दा निकै पीडादायी रहेको र त्यो पीडालाई आफूहरुले समाधान गर्न प्रयास गरे पनि सफल हुन नसकेको बताउनुहुन्छ । “हामीसँग सीमित स्रोतसाधन छ । त्यो स्रोतसाधनले सबै प्रभावितको समस्या समाधान गर्न निकै कठिन छ ।” नगर प्रमुख चौधरीले भन्नुहुन्छ, “अहिले विस्थापित नगरपालिका आएर दसैँ मनाउने आधार बनाइदिनुपर्यो भन्दै आग्रह गर्नुहुन्छ । हामी एक्लैले यस्तो विपत्तिको सामना गरेर नागरिकको आवश्यकता पूरा गर्न सक्छौंँ रु”
काठमाडौँ । नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पु¥याएवापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त गर्न सफल भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना गरिएका शान्ति मिसनमा रही सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेवापत सेनाले उक्त सङ्ख्यामा शान्ति पदक प्राप्त गरेको हो । शान्ति मिसनमा आफ्नो कार्यकाल पूरा गरेर फर्कने सैनिकलाई राष्ट्रसङ्घले शान्ति पदक प्रदान गर्ने चलन छ । संयुक्त राष्ट्रसङ्घको शान्ति यात्रामा हालसम्म एक हजार आठ सय ९६ नेपाली महिला सुरक्षा फौजबाट समेत योगदान भइसकेको छ । विश्वकै सैनिक इतिहासमा सहासिक, व्यावसायिक र अनुशासित सेनाको कोटीमा अब्बल सावित नेपाली सेना अहिले शान्ति सेना धेरै पठाउने मुलुकको सूचीमा दोस्रो बरियतामा छ । विश्वशान्ति कार्यमा अहिले ११ मुलुकका १२ मिसनामा तीन सय ६९ महिलासहित पाँच हजार छ सय २३ नेपाली सुरक्षाफौज तैनाथ रहेका सेनाको शान्तिकार्य निर्देशक सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । संयुक्त राष्ट्रसङ्घको शान्तिकार्यमा लेवनानमा पहिलोपटक सन् १९५८ मा संलग्न भएको सेनाले यसबीचमा द्वन्द्वरत विभिन्न राष्ट्रमा स्थापना भएका ४४ शान्ति मिसनमा काम गरेको अनुभव बटुलिसकेको छ । विश्वका कयौँ द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्ने सिलसिलामा परिचालित हुँदा अहिलेसम्म ७१ सैनिकले वीरगति प्राप्त गरेका छन् भने घाइते सैनिकको सङ्ख्या ६६ पुगेको छ । संयुक्त राष्ट्रसङ्घले नेपाली शान्ति सैनिकलाई संवेदनशील र महत्वपूर्ण मानिएको क्षेत्रको सुरक्षाका लागि खटाउँदै आएको छ । सेनाका सकल दर्जाले प्राप्त जिम्मेवारीलाई उच्च मनोबलकासाथ कार्यसम्पादन गरेकै कारण राष्ट्रसघबाट पटक–पटक पुरस्कार, कदरपत्र र सम्मानसमेत प्राप्त भएको छ । द्वन्द्वग्रस्त मुलुकमा खटिएका सेनाका बीचमा नेपाली सेना स्थानीयवासीको रोजाइमा पहिलो नम्बरमा पर्दै आएको छ । नेपालको शान्ति र असंलग्नता नीतिप्रतिको प्रतिबद्धता, नेपाली सेनाको अनुशासन र कर्तव्य परायणका कारण संयुक्त राष्ट्रसङ्घ र स्थानीयको रोजाइमा पर्दै आएको सैनिक प्रवक्ता नारायण सिलवालले बताउनुभयो । नेपाली सेना जुनसुकै समयमा विश्वका कुनै पनि देशमा तत्कालै परिचालित भएर आफ्नो सैनिक व्यावसायिक, अनुशासित र साहस प्रदर्शन गर्न सक्षम भएकाले छनोट सूचीमा प्राथमिकतामा पर्दै आएको हो । द्वन्दका कारण शान्ति सुरक्षा र आर्थिक अभावमा छटपटाइरहेका स्थानीयवासीलाई मानवीय सहायता प्रदान गर्दै उनीहरूलाई विश्वासमा लिएर शान्ति कायम गर्ने अभियानमा नेपाली सेना अभूतपूर्व सफलता हासिल गर्दै आएको छ । हाल नेपाली शान्ति सेना सिरिया, पश्चिम सहारा, माली, कङ्गो, सेन्ट्रल अफ्रिका, लेबनान, इराक, इजरायल, यमन, सुडान, दक्षिण सुडान र लिवियास्थित शान्ति मिसनमा तैनाथ छ । पछिल्ला वर्षमा संयुक्त राष्ट्रसङ्घबाट शान्ति सेनाको फोर्स कमाण्डको जिम्मेवारीसमेत नेपाली सेनालाई लगातार उपलब्ध हुँदै आएको छ । यसअघि सात जनाले उक्त जिम्मेवारी सफलताकासाथ पूरा गरिसक्नुभएको छ । संयुक्त राष्ट्रसङ्घलाई नेपाल सरकारले आवश्यक परेको खण्डमा १० हजारको सङ्ख्यामा सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जाहेर गरिसकेको छ । शान्ति सेनामा खटिएवापत सेनाले प्राप्त गर्ने रकमबाट सैनिक कल्याणकारी कोष सञ्चालित छ । हाल उक्त कोषमा रहेको यथार्थ सम्पत्ति रु ६९ अर्ब तीन करोड ७९ लाखको मुख्य स्रोत भनेकोे शान्ति मिसन नै हो । उक्त कोष शान्ति सेनामा सहभागी भएवापत संयुक्त राष्ट्रसङ्घबाट प्राप्त रु एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा स्थापना गरिएको थियो । कोषको रकमको ब्याजबाट सेनाले आफ्ना १० लाखभन्दा बढीको सङ्ख्यामा रहेका हिताधिकारीलाई शिक्षा, स्वास्थ्य, सुविधा तथा सहुलियत र सीप एवं स्वरोजगारका लागि सहयोग प्रदान गर्दै आएको छ । शान्ति सेनामा नेपालको प्रभावकारी उपस्थितिकै कारण काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा शान्ति सेना खटाउने मुलुकका सेनालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका तालिमसमेत सञ्चालन हुँदै आएको छ । शान्ति कार्यमा लामो अनुभव हासिल गरेको सेनाले द्वन्द्वग्रस्त मुलुकमा तैनाथ हुँदा अपनाउनुपर्ने सुरक्षा सजगता र कार्यसम्पादनबारे अरु राष्ट्रका सेनालाई तालिम प्रशिक्षण दिनसमेत सक्षम रहेको दाबी गर्दै आएको छ । हाल शान्ति मिसनमा सशस्त्र प्रहरी बलका एक सय ९५ र नेपाल प्रहरीका ३० जनासमेत कार्यरत रहेको जानकारी दिइएको छ । शान्ति मिसनमा महिला सैनिकको सङ्ख्या वृद्धि गर्ने कार्यमा पनि गृहकार्य भइरहेको छ । सेनाले मिसन इलाकामा वातावरणीय प्रभाव न्यूनीकरणका लागि दुई पक्षीय र बहुपक्षीय कार्यक्रममार्फत नवीकरणीय ऊर्जाको प्रयोग गर्न तथा शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।
काठमाडौं । सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।
पाल्पा: नेपालीको महान् पर्व दशैँ–तिहारजस्ता ठूला चाडमा मङ्गल धुन अर्थात् मालश्री धुनले गाउँघर गुञ्जयमान बनाउँथ्यो । मङ्गल धुन बज्न थालेपछि हरेक नेपालीमा दशैँ–तिहार सुरु भएको आभास छाउँछ । कुनै समय मालश्री धुन घन्किने गाउँ पछिल्ला वर्षमा सुनसानमय बनेको छ । दशैँको घटस्थापनादेखि नै गाउँ–गाउँमा पुगेर मालश्री धुन बाबुबाजेले बजाउने गरे पनि पछिल्ला वर्षमा यो धुन बजाउने व्यक्ति नहुँदा संस्कृति नै लोप भएको बताउनुहुन्छ, पाल्पा रामपुरका ५९ वर्षीय रामबहादुर बादी । “दशैँ सुरु भएपछि विभिन्न बाजागाजा लिएर मङ्गल धुन बजाउने चलन हुन्थ्यो, हाम्रा पुर्खादेखि नै चलिआएको संस्कृति पछिल्ला वर्षमा कतै बजेको सुन्न पाइँदैन, बजाउने व्यक्तिको अभावमा रेकर्ड गरिएका धुन रेडियो, टिभीबाट बज्ने गरेका छन् ।” मङ्गल धुन बजाउने कला भएका व्यक्तिको पहिचान र प्रोत्साहन नहुँदा वर्षौँदेखि गाउँघरमा चलिआएको संस्कृति अहिले हराउँदै गएको बादीको बुझाइ छ । समाजमा प्रत्यक्ष बाजागाजा अनि थिति मिलाएर सामूहिकरूपमा बजाइने मङ्गल धुन वास्तवमै अलौकिक छ । न त कुनै शब्द छ न त कुनै बोली तर मङ्गल धुन अर्थात् मालश्री धुन आफ्ना कर्णप्रिय र भावात्मक लयमार्फत हरेक नेपालीको मनभित्र बस्न सफल छ । झ्याम्टा, मादल, सारङ्गी, ढोल, मुरलीलगायत थुप्रै बाजा मालश्री धुनमा बजाइन्छन् । रेडियो र टिभीबाट बज्ने मीठो धुनको गुञ्जनले बल्ल दशैँ लाग्यो भन्ने जनमानसमा आभाष हुन्छ । गाउँघरमा अहिले सबैका हातहातमा मोबाइल, इन्टरनेट तथा सूचना प्रविधिको सुविधाले मालश्री धुन सुन्ने गरिए पनि गन्धर्वले बजाएको धुन प्रत्यक्ष सुनेजस्तो अनुभूति नभएको बाद्यवादक टीकाराम ढकाल बताउनुहुन्छ । “पुराना तथा आधुनिक खालका धेरै बाजा बजाउन सिकियो तर मालश्री धुन बजाउने औधी रहर भएर पनि बजाउन आएन, गाउँमा सिकाउने पुराना व्यक्ति कोही छैनन्, कोसँग सीप सिक्ने होला?”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ घरमा युट्युबमा धुन सुनेर अभ्यास गर्छु, तर अरु बाजाको जस्तो ताल आएन ।” गाउँघर, सहरबजारमा गन्धर्वले मालश्री धुन बजाएको सुन्ने र हेर्नेको उल्लास छाउँथ्यो । गाउँका चौतारी, कोतघर, शक्तिपीठमा दुर्गा जगाउँदै मालश्री गाउँदा दशैँ आएको रौनकता बढाउँथ्यो । हिजोआज यी ठाउँमा मालश्रीका आवाज सुन्नै छाडिएको देवराज अर्याल बताउनुुहुन्छ । घटस्थापनादेखि पूर्णिमासम्म माता दुर्गा भवानीको भजन गाउँदै निकाल्ने एउटा धुन नै मालश्री हो । धुन बजाउन सीप जानेको व्यक्तिको अभाव, पुराना संस्कृतिप्रति नयाँ पुस्ताले चासो नदिँदा पर्व विशेषसँग जोडिएका मौलिक संस्कृति नै लोप हुदै गएका छन् । पुराना पुस्तामा भएको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु अर्थात् आधुनिक प्रविधिको विकास र सुविधा, नयाँ पुस्ताले मौलिक संस्कृति जगेर्नामा बेवास्ता गर्दा लोपोन्मुख संस्कृति हराउन पुगेको लेखनाथ शर्मा मरासिनीको भनाइ छ । देवीको गुनगानका लागि यो धुन बजाइने हो । पुरानो मान्यताअनुसार देवीका लागि आवश्यक पर्ने राग मालश्रीको उत्पत्ति भएको हो । मालश्री धुनलाई शास्त्रीय धुन भनिन्छ । यो धुनलाई नेपाली परिप्रेक्ष्यमा दशैँ अनि तिहारको अवसरमा बजाइन्छ, प्रयोग गरिन्छ । ठाउँअनुसार बाजागाजा र बजाउने लय पनि फरक–फरक छन् । मालश्री धुन, माल अर्थात् वस्तु या सामान अनि श्री भन्नाले लक्ष्मीको आशिष श्रीसम्पत्ति, धनधान्य आदि बुझिन्छ । कृषिप्रधान नेपाली समाजमा शरद ऋतुको सुरुआतसँगै आउने चाड दशैँ अनि यसै लहरसँग फुल्न तयार धानका बाला, फूल, विभिन्न प्रजातिका दानालगायत आगमनको खुसी पनि हो, मालश्री धुन । मालश्री धुनलाई दशैँ पर्वसँग मात्र सम्बन्धित नभई शरद ऋतुको सुरुआतका रुपमा लिइन्छ ।
काठमाडौँ: विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पदयात्रा गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले विभिन्न सङ्घ संस्थाको सहकार्यमा आज सञ्चयकोष–ज्याठा–जेपी मोड–चाक्सिबारी–सातघुम्ती–पिपलबोट– अस्कल क्याम्पस हुँदै सञ्चयकोष भवनसम्म पदयात्रा गरेको हो । कार्यक्रममा परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोनाबाट थला परेको पर्यटन क्षेत्रलाई पुनउत्थान गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “नेपालमा आउने अधिकांश पर्यटक ठमेल घुम्न आउँछन्, पर्यटकलाई नेपालको बारेमा सकारात्मक सन्देश दिन आज दिनभरि विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउँछौँ”, उहाँले भन्नुभयो । ठमेल क्षेत्रमा एक सिजनमा सातदेखि १० हजार पर्यटक आउने उहाँको भनाइ छ । ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसर पारेर आज दिनभर चोकचोकमा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै आज साँझ सुकुल भोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । वरिष्ठ पर्यटन व्यवसायी केशव पाण्डेले पर्यटन क्षेत्रको विकास भएमात्र देशको विकास हुने बताउनुभयो ।
ढोरपाटन । अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए । उनीहरू थिए रोल्पाको सुनछहारी गाउँपालिका–३ का नन्दबहादुर बुढामगर र तीर्थबहादुर बुढामगर । दुवै जना काका भजित हुन् । चौध दिन अगाडि तिलाचन क्षेत्रबाट चार सय भेडा लिएर आएका उनीहरू मङ्गलबार दिउँसो बागलुङ बजार आइपुगेका छन् । दशैँका लागि खर्च जुटाउन भेडा बेच्न हिँडेका उनीहरू बागलुङको निसीखोला हुँदै मध्यपहाडी लोकमार्गमार्फत बागलुङ बजार आइपुगेका हुन् । बागलुङ बजारसम्म आइपुग्दा उनीहरूसँग ६० भेडा बाँकी थिए । साठी भेडा १५ गतेभित्र बेची सकेर गाउँ फर्कने विचारमा छन् दुवै जना । करिब डेढ सय किलोमिटर पश्चिमबाट हिँड्दै आएका उनीहरू दशैँका लागि सामान किनमेल गरेर जाने सुरमा छन् । नन्दबहादुर भन्नुहुन्छ, “आज १४ दिन भएछ भेडीगोठबाट हिँडेको, धेरैजसो भेडा विक्री भइसके । अब केही मात्र बाँकी छन्, यी सबै बेचेर दशैँका लागि खर्चपर्च लिएर जाने हो, अब तीन–चार दिनमा सबै बेचीसक्नुपर्छ ।” नन्दबहादुरले एक हजार दुई सय भेडापालन गरेकामा अब गोठमा आठ सय भेडा बाँकी रहेको बताउनुभयो । ती भेडालाई गोठालो खोजेर हेरचार गर्न छाडेर आफूहरू बजार झरेको उहाँको भनाइ छ । उहाँले अर्को सालसम्म गोठमा भएका सबै बेचेर नयाँ पाठापाठी हुर्की सक्ने बताउनुहुन्छ । “मैले एक हजार दुई सय भेडा पालेको थिएँ, चार सय बेच्न लिएर आएको अब गोठमा अझै आठ सय छन्, गाउँको एक जनालाई गोठालो लगाएर हामी यता आएको हो, अर्को सालसम्म त गोठमा भएका पनि सकिएर नयाँ पाठा हुर्की सक्छन्, भेडापालन गर्न निकै दुःख छ, बजारतिर आउँदा कमाइ पनि राम्रै हुन्छ”, नन्दबहादुरले भन्नुभयो । नन्दबहादुरले सडक राम्रो भएको हुँदा भेडालाई सहजरूपमा बागलुङ बजारसम्म ल्याउन सकेको बताउनुभयो । यसपालि बाटोमा भेडा खासै बिरामी नभएको उहाँको भनाइ छ । बाटोमा पानी पर्दा आफूहरूले केही समस्या भने भोग्नुपरेको उहाँले सुनाउनुभयो । “यस वर्ष त बाटोमा भेडा बिरामी पनि भएनन्, मरेनन् पनि, अघिल्लोपटक आउँदा तीन भेडा गर्मीले बाटामै मरेका थिए, केही बिरामी भए, अहिले बाटो राम्रो बनेको रहेछ, अलिकति पानीले समस्या बनायो । सजिलैसँग आइयो बागलुङ बजार”, उहाँले भन्नुभयो । नन्दबहादुरका भतिज तीर्थबहादुरले यस वर्ष भेडाको मूल्य बढेको बताउनुभयो । आफूहरूले ल्याएको बथानमा न्यूनतम रु २० हजारदेखि अधिकतम रु ३५ हजारसम्मका भेडा रहेको उहाँको भनाइ छ । तीर्थबहादुरले हालसम्म तीन सय ४० भेडा बेच्दा सोचेअनुसारको आम्दानी गर्न सकेको बताउनुभयो । आफूहरूले ल्याएका भेडा उच्च लेकमा हुर्किएको हुँदा निरोगी रहेको तीर्थबहादुरको भनाइ छ । “अघिल्लो वर्षभन्दा यस वर्ष भेडाको मूल्य केही बढेको छ, हाम्रा भेडा निरोगी छन्, मासु खानका लागि निकै उपयुक्त छन्, अरु सामानको मूल्य बढेको हुँदा भेडाका मूल्य बढेको हो, हामीले यही भेडा बेचेर जीविका चलाउने हो”, तीर्थबहादुरले भन्नुभयो, “ग्राहकले खासै गुनासो गरेका छैनन्, व्यापार राम्रै भइराखेको छ ।” तीर्थबहादुरले लेकबाट यहाँसम्म आउँदा निकै दुःख पाएको सुनाउँदै आफूहरूले ग्राहकलाई खुसी पारेको बताउनुभयो । दशैँको खर्च व्यवस्थापनका लागि आफूहरू भेडा बेच्न यति टाढा आएको उहाँको भनाइ छ । तीर्थबहादुर भेडा बेचिसकेर दशैँ मनाउन गाउँ जाने बताउनुहुन्छ । “भेडा त अरु बेला पनि बेच्न बजारतिर झर्ने गर्छौँ, यो बेला चाडपर्व पनि आयो, यसो परिवारलाई मीठो–मसिनो खुवाउनुप¥यो, एक सरो राम्रो कपडा किनिदिनुप¥यो”, उहाँले भन्नुभयो, “अरु खानेकुरा त अहिले गाउँतिरै पनि पसल खुलेका छन्, उतै किन्नुपर्ला, कपडा यही अलि सस्तोमा पाइएला यतैबाट लगेर जानु पर्ला ।” बागलुङमा हरके वर्ष मुस्ताङ र म्याग्दीबाट च्याङ्ग्रा ल्याउने गरिएको छ । मुस्ताङबाट ल्याइने च्याङ्ग्राको तुलनामा बागलुङ, रोल्पा र रुकुम सिमानादेखि ल्याएका भेडाको मूल्य केही कम भएको पाइएको छ । बागलुङ बजारका ग्राहक कुलबहादुर थापाले मुस्ताङदेखि ल्याइएका च्याङ्ग्राको तुलनामा रोल्पाबाट ल्याइएका भेडाको मूल्य कम भएको बताउनुभयो । उहाँले भेडा व्यापारीले मनपरी मूल्य तोक्दा आम उपभोक्ता मर्कामा पर्ने गरेको गुनासो गर्नुभयो । थापाले बजारमा आउने भेडा च्याङ्ग्राको मूल्यका बारेमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने भए पनि यसप्रति खासै चासो नदेखाएको गुनासो गर्नुभयो । “मुस्ताङबाट ल्याइएका च्याङ्ग्राभन्दा रोल्पातिरबाट ल्याइएको भेडाको मूल्य धेरै कम भएको पाइयो, रोल्पातिरबाट भेडापालक आफैँले बेच्न आएका छन्, मुस्ताङका च्याङ्ग्रा कहाँ–कहाँबाट व्यापारी पुगेर खरिद गरेर ल्याएका छन्, उनीहरूले मनपरी मूल्य तोक्ने गरेका छन्”, उहाँले भन्नुभयो ।
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्षनेताको बैठक सुरु भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्षनेताको सहभागिता छ । यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमै पार्टीको आन्तरिक छलफलका लागि कांग्रेसका पदाधिकारीको छुट्टै बैठक बसिरहेको सो पार्टीले जनाएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि बन्दसूची सच्याउने अन्तिम म्याद र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने समय नजिकिँदै गर्दा दलहरू छलफलमा जुटेका हुन् ।

