आचारसंहिता उल्लंघन  गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्।   आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैन...

भरतपुर : भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उहाँको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् ।    पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५ बिघामा केराखेती गर्नुभएको छ । सबैभन्दा धेरै क्षेत्रफलमा केरा लगाउनेमध्येका एक उहाँले केरा बोटमै पाकेपछि चरा र बाँदर धपाउन दुई जना मान्छे नै परिचालन गर्नुभएको छ । “यो सिजनमा केरा बिक्री र मूल्य राम्रो हुने अपेक्षा थियो तर सोचेजस्तो भएन”, उहाँले भन्नुभयो ।   केरा उत्पादक सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका सुवेदीले उत्पादन प्रशस्त रहेको र बजारको मात्र समस्या रहेको बताउनुभयो । “यो समयमा मेरोमात्रै होइन, नेपालमै उत्पादन भएको केरा पर्याप्त छ, भारतबाट ल्याउन आवश्यक छैन । तर भन्सार छलेर दैनिक १०–१५ गाडी केरा काठमाडाँै भित्र्याइने गरेको छ”, उहाँले भन्नुभयो ।   सबैभन्दा धेरै केरा उत्पादन हुने जिल्लामा चितवन दोस्रो स्थानमा पर्छ । केरा बिक्री नभएपछि चितवनका किसानले पटक–पटक भारतीय केरा आयात रोक्न माग गरिरहेका छन् । उनीहरूले एक–दुई महिनासम्म आवश्यक पर्ने केरा नेपालमै तयारी अवस्थामा रहेको बताएका छन् । नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले छठपर्वसम्म भारतीय केरा आयात रोक्न सरकारसँग माग गर्नुभयो ।   “छठपर्वसम्म देशलाई आवश्यक पर्ने केरा हामीले उत्पादन गरेका छाँै”, उहाँले भन्नुभयो, “नेपालकै बिक्री नभएको अवस्थामा भारतीय केरा आयात रोक्न सरकार लाग्नुपर्छ ।” उहाँले केराका लागि भारतसँग नेपालले प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभयो । यतिखेर नेपालमा दैनिकरूपमा केरा आयात हुँदै आएको छ । भारतबाट आएको केरासँग चितवनले प्रतिस्पर्धा गर्न सक्दैन”, अध्यक्ष पन्तले भन्नुभयो ।   केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष माधवप्रसाद घिमिरे भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी विस्थापित हुने अवस्था आउने बताउनुभयो । “सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको छ । यहाँ विभिन्न नाकाबाट बिना एलसी भारतीय केरा अवैधरूपमा भित्रिएका छन्”, उहाँले भन्नुभयो, “यो समस्या समाधान हुन नसके व्यावसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्नेछन् ।” उहाँले यस वर्ष धेरै पानी परेका कारण पनि समस्या भएको बताउनुभयो । “चाडपर्वमा पनि धेरै पानी प¥यो, यसकारण यस वर्ष केराको खपत पनि कम भयो”, उहाँले भन्नुभयो ।    चितवनमा छ सय बिघामा मात्रै हरियो ९जिनाइन० केरा लगाएको घिमिरेले बताउनुभयो । यो केरा एकैपटक पाक्ने भएकाले बजार नपाए सबै बारीमा नै कुहिने उहाँको भनाइ छ । केरा व्यवसायमा किसानको दिनप्रतिदिन आकर्षण भने बढ्दै गइरहेको उहाँले बताउनुभयो  । चितवनमा मात्रै सात सय किसानले व्यावसायिकरूपमा केराखेती गरिरहेको उहाँले जानकारी दिनुभयो ।    उत्पादन भएको केराको बजारको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग केरा उत्पादक किसानको छ । स्वदेशमै धेरै उत्पादन भएको समयमा आयात रोकिनुपर्ने माग उनीहरूको छ । साथै उत्पादित वस्तु बिक्री नभए सरकारले किनिदिनुपर्ने उनीहरू बताउँछन् । उनीहरूले केराको मूल्य तोकेर कार्यान्वयन गराउनुपर्ने माग पनि सरकारसमक्ष राख्दै आएका छन् ।   चितवनमा मात्रै वार्षिक २ अर्बको केराको कारोबार हुने गरेको छ । “राज्यले किसानलाई मल र बीउ समयमै उपलब्ध त गराएको छैन । किसानले जेनतेन उत्पादन गरेको वस्तुको पनि बजारको व्यवस्था गर्न सकेको छैन”, घिमिरेले भन्नुभयो । जिल्लाका अधिकांश किसानले मालभोग र जिनाइन केरा लगाएका छन् । भारतीय केराको उत्पादन लागत कम पर्ने भएका कारण नेपाली व्यापारीले सस्तो मूल्यमा खरिद गर्ने गरेका छन् । महँगो बीउ, मल, सिँचाइ, जग्गा भाडालगायतका कारण नेपाली केराको उत्पादन लागत भारतीयको भन्दा बढी छ ।   भरतपुर महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धिताल चितवनमा भारतीय केरा नआएको बताउनुहुन्छ । अहिले मन्दीका कारण केराको बिक्रीसमेत नभएको उहाँको भनाइ छ ।  केराको मूल्य प्रतिकोसा रु तीनदेखि चारमा किसानको बारीबाट बिक्री हुने गरेको छ ।   नेपालको उत्पादन तीन लाख आठ हजार तीन सय ८८ मेट्रिक टन छ । यो कुल मागको ६० प्रतिशत रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका कृषि अधिकृत इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार ४० प्रतिशत केरा भारतबाट आयात हुँदै आएको छ । “चितवनमा उत्पादन भएको केराकोे मुख्य बजार काठमाडौँ हो”, उहाँले भन्नुभयो, भारतबाट दैनिक आयात हुँदा किसान मर्कामा पर्ने नै भए ।” काठमाडौसँगै चितवनमा उत्पादन भएको केरा पोखरा, बुटवल र दाङमा समेत जाने गरेको छ ।   देशभर केराको कुल माग पाच लाख १४ हजार ५० मेट्रिक टन रहेको छ । यहाँ २१ हजार छ सय ३३ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । त्यसमध्ये चितवनमा मात्रै दुई हजार ७६ हेक्टर क्षेत्रमा केराखेती हुन्छ । त्यसमा ४३ हजार एक सय ९३ मेट्रिक टन चितवनमा उत्पादन हुन्छ । नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा बढी केराखेती हुने गरेको छ । यस्तै भरतपुर महानगरको ठिमुरा, जगतपुर र मेघौली क्षेत्रमा पनि व्यावसायिक केराखेती गरिएको छ ।

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।   उक्त अदालतले यही असोज २७ गतेदेखि लागू हुने गरी यही असोज ३१ गतेसम्म म्याद थप गर्नका लागि अनुमति दिएको हो । लामिछानेलाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन यो दोस्रोपटक म्याद थप गरिएको हो । यसअघि यही असोज २० गतेदेखि आजसम्मका लागि म्याद दिइएको थियो ।    प्रहरीले लामिछानेलाई म्याद थपका लागि अदालतमा माग गरेकामा  न्यायाधीश सूर्यबहादुर थापाले अभियुक्तको अनुसन्धान छिट्टै सकेर सरकारी वकिललाई बुझाउन र मुद्दा चाँडै दायर गर्न निर्देशन दिनुभएको अधिवक्ता सुवास पाठकले जानकारी दिनुभयो । यसअघि पहिलो पटक म्याद दिँदा अदालतमा लामिछानेले जाहेरवाली १९ वर्षको भएकीले नाबालिका नभएको समेत न्यायाधीशसमक्ष जिकिर गर्नुभएको थियो । नाबालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी परेपछि लामिछानेलाई हिरासतमा राखिएको छ । प्रहरीले यही असोज २० गते उहाँलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।  

नवलपरासी :  नवलपरासीपूर्वको गैँडाकोट नगरपालिका–३ केलादीकी सुकमाया थापा (८९ वर्षीया) सामाजिक सुरक्षाभत्ता घरमै पाउँदा निकै खुसी हुनुहुन्छ । वडाध्यक्षले भत्ता लिएर घरमा पुग्दा पिँढीमा बस्नुभएकी सुकमायाले पहिले बैंकमा लाइन बस्नुपर्दाका दुःखलाई स्मरण गर्नुभयो ।    उहा भन्नुहुन्छ, “बिरामी हुँदा छोरीहरुले बोकेर लैजान्थे, कहिलेकाहीँ कागजपत्र मिलेन भनेर दिनभर लाइन बसेर फकिनुपथ्र्यो, साह्रै गाह्रो हुन्थ्यो ।” उहाँ मुटुको बिरामी हुुनुहुन्छ । हातगोडा दुख्ने र हिँड्न निकै समस्या हुने गर्छ । साँझ बिहान आँगनमा हिँडडुल गरे पनि लामो दूरीको बाटोमा यात्रा गर्न निकै कठिन हुने गरेको उहाँले बताउनुभयो ।    सामाजिक सुरक्षा भत्ता पाउनेमा खुसीभन्दा पनि बैंकमा लाइन बस्नुपर्ने, घन्टौँ लगाएर जानुपर्ने बाटोको समस्याले सताएका दिन स्मरण गर्दै सुकमायाले भन्नुभयो, “२०७४ को निर्वाचनपछि जनप्रतिनिधिले घरमै भत्ता ल्याइदिएका छन्, धैरै  सहजभएको छ ।”    जन्मजात नै आँखा नदेख्ने ७० वर्षीया भीममाया भुजेललाई बैंकसम्म आउन दुई घण्टाभन्दा बढी समय लाग्ने गर्छ । पैदल हिँडेर जानुपर्ने बाध्यता अर्कोतर्फ शारीरिक अशक्तताका कारण झन बढी जोखिम भएको भन्दै भीममाया भन्नुहुन्छ, “समयको बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा सुरक्षित महसुस भएको छ, मलाइ निकै खुसी लागेको छ ।”    ७९ वर्षीया सनिसरा थापाको पनि सामाजिक सुरक्षा भत्ता लिन जाँदाको अनुभव पनि भीममायाको जस्तै छ । वर्षामा रुझ्दै होस् वा घण्टौँ पैदल हिँडेर बैंक पुग्दा काम नबनेर फर्किनुपरेको दिन सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “समयसँगै पैसा पनि बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउनु नै बुढेसकालमा खुसी भनेको यही रैछ ।”   वडा नम्बर ३ को वडा कार्यालय राजमार्गदेखि करिब नौ किलोमिटर उत्तरमा पर्दछ । तनहुँ देवघाटको किनारदेखि बुलिङटार गाउँपालिकासम्म सिमाना फैलिएको यस वडामा टाटरीबास, ढोडेनी, गडम्दी, भोके्रफाट हर्दि, केलादी, र मार्के बस्ती रहेको छ । वडावासीलाई आफ्नै वडा कार्यालय पुग्न पनि तनहुँ हुँदै गैँडाकोट आउनुपर्ने बाध्यतामा छ । यस्तो अवस्थामा घरदैलोमै जनप्रतिनिधि आएर भत्ता वितरण गर्दा वडावासी भने निकै खुसी छन् ।    सडक र यातायातको समस्याका कारण सामाजिक सुरक्षा भत्ता लिनका लागि मात्रै होइन अतिआवश्यक कामका लागि पनि बजारसम्म आउनको लागि वडावासीलाई निकै कठिन छ । त्यसमध्ये ज्येष्ठ नागरिक वा सामाजिक सुरक्षा भत्ता लिने नागरिक भत्ताकै लागि भनेर जोखिमको यात्रा गर्नुपर्ने बाध्यतालाई भने वडाध्यक्षले समाधान गरिदिएकोमा खुसी लागेको ज्येष्ठ नागरिक बताउँछन् ।     भौगोलिक विकटताका कारण बैंकसम्म आउनका लागि घण्टौँको यात्रा गर्नुपर्ने र बैकमा पनि लामो समय लाइन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता प्रत्येक ज्येष्ठ नागरिकको घरमा नै पुगेर वितरण गर्दै आएको वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । वडामा सामाजिक सुरक्षा भत्ता लिने दुई सय ३२ नागरिक छन् ।   एक गाउँबाट अर्को गाउँमा पुग्न घण्टौँ समय लाग्ने मात्रै होइन बैंकसम्म आएर घर फर्किदा रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म खर्च हुने अवस्था रहेको भन्दै अध्यक्ष तिवारीले भन्नुभयो, “वडावासीलाई सहजता होस् भनेर नै २०७४ सालमा निर्वाचित हुँदादेखि सुरु गरेको अभियानलाई अहिले पनि निर्वाचित भएपछि निरन्तरता दिएको छु ।” 

बारा : बारामा एकै परिवारका तीन जनाको हत्या गरी शव खोलाको किनारमा फलिएको अवस्थामा भेटिएको छ । बाराको प्रसौनी गाउँपालिका–५ प्रस्टोकास्थित खोलाको किनारमा तीन जनाको शव फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।    प्रस्टोका गाउँभन्दा करिब दुई किलोमिटर टाढाको ढोरा खोलाको किनारमा आज दिउँसो प्रस्टोका टोलकै दीपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता चौधरी, छोरी तीन वर्षकी ताहिरा चौधरी र छोरा १६ महिनाका राजवीर चौधरीको शव भेटिएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।   पत्नी र छोराछोरीको हत्या गरी फरार भएको आशङ्कामा दीपेन्द्रलाई प्रहरीले खोज्ने क्रममा उनी घाइते अवस्थामा फेला परेकाले उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । हत्या कसले र किन गरेको भन्ने विषयमा अझै यकीन कारण खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो । 

पोखरा :  कास्की क्षेत्र नम्बर ३ प्रनिनिधिसभामा दामोदर पौडेल बैरागीविरुद्ध बागी उम्मेदवारी दिएका जगनान्नथ बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन् ।    मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा एमालेले दामोदरलाई उम्मेदवार बनाएको छ। त्यसमा असन्तुष्ट जनाउँदै उम्मेदवारी दिएका एमाले प्रदेश कमिटी सदस्य जगन्नाथले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् । 

तनहुँ  :  नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो ।    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाहविरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिनुभयो । यसअघि शाहविरुद्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो ।    जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताको पत्रका कारण आजको सुनुवाई स्थगित भएको हो । जिल्ला न्यायाधीश दलबहादुर केसी मुख्य निर्वाचन अधिकृत र जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय निर्वाचन अधिकृतका रूपमा खटिनुभएको छ ।    निर्वाचनका कारण जिल्ला न्यायाधिवक्ताको पत्रका कारण फौजदारीतर्फका आजका सबै मुद्दाको सुनुवाइ स्थगित भएको तनहुँ अदालत बार एसोसिएसनका अध्यक्ष भानुभक्त सुवेदीले जानकारी दिनुभयो ।   

जुम्ला :  लगातार अविरल वर्षाले जुम्लामा पाक्नै लागेको मार्सीधानबालीका फाँटमा क्षति पुगेको छ । एक सातादेखि परेको अविरल वर्षाले धानबालीमा क्षति हुँदा यहाँका किसान मर्कामा परेका छन् ।    जिल्लाभरका किसानको धानबाली, सिमी लगायतका बालीमा पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कृषि शाखासँगको सहकार्यमा कृषि विकास कार्यालयले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।     वर्षाले खेतमा पाक्नै लागेको धान ढालेपछि किसान चिन्तित छन् । भित्र्याउने बेलाको धानबाली ढलेर खेतमै दाना झरेको छ । पाकेको बाली घर भित्र्याउने समयमा वर्षाले क्षति गरेपछि यहाँका किसानलाई बर्षभरि पुग्ने अन्न संकट हुने तिला गाउँपालिका– १ का किसान जयबहादुर बुढाले चिन्ता ब्यक्त गर्नुभयो । धेरैजसो सिञ्जा क्षेत्रमा धानबालीमा क्षति गरेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । पालिकाको धान उत्पादन हुने ठाउँका सबै खेतबारी बगरमा परिणत भएको सिञ्जा गाउँपालिकाले जनाएको छ ।    तिला गाउँपालिकाको नुवाकोट, कुडारी र सापुल्ली क्षेत्रका खेतबारीमा लगाएको धानबाली पूर्णरुपमा क्षति गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो । हिउँदमा पशुपालनका लागि काटिएको घाँससमेत मेलामै कुहिएको हिमा–१ का युनेश परिवारले बताउनुभयो  ।    यसबाट हिउँदमा पशुपालनमा ठूलो समस्या आउने अवस्था देखिएको छ । वर्षायाममा जताततै हरियाली हुने भएकोले चरीचरण क्षेत्र धेरै हुन्छ । तर, हिउँदमा सुख्खा हुने भएकोले किसानले घाँस सङ्कलन गरेर राखेका हुन्छन् । घाँसले मङ्सिरदेखि फागुन महिनासम्म पशु बस्तुको आहाराको काम गर्छ ।    दसैंँअघिदेखि घाँस काटेर खेतमा सुकाउने, कोदो, चिनो र मकै भित्र्याउने र आलु निकाल्ने समय भएकोले पनि निकै व्यस्त देखिन्थे । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार जुम्लामा दुई हजार नौ सय ५० हेक्टरमा धानखेती गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुने गरेको छ ।

काठमाडौं :  मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पश्चिमी क्षेत्रको मौसममा सुधार हुँदै आएको छ भने पूर्वमा केही स्थानमा आंशिक बदली रहनेछ ।   हाल मधेस प्रदेशमा सामान्य बदली हुनुका साथै बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । उक्त प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ ।   मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिममा मौसम सुधार हुँदै गएको छ भने पूर्वमा केही स्थानमा आशिंक बदली हुने देखिएको छ ।    महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मधेस प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

पोखरा  :  निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा एनजीओसम्बद्ध कर्मचारीलाई चुनावी प्रचारप्रसारमा रोक लगाएको छ ।    गैरसरकारी संस्था, विकास साझेदार संस्था सम्बद्ध पदाधिकारी तथा कर्मचारीहरुले राजनीतिक दल वा उम्मेदवारहरुको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न आयोगले एक सूचना जारी गर्दै रोक लगाएको हो ।    आयोगले निर्वाचन अवधिभर कुनै योजनाको शिलन्यास, उट्घाटन, सर्वेक्षण, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने जस्ता  कार्यक्रमसमेत रोक्न निर्र्देशन गरेको छ ।    निर्वाचन आचारसंहिता विपरित सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा समाजिक सञ्जालमार्फत मत माग्न समेत रोक लगाएको छ ।