पोखराको महेन्द्रपुलस्थित रजनी सुुनचाँदी पसलका सञ्चालक रविनकुमार गहतराज पक्राउ परेका छन् । गहतराजले बिलबिनाको ८० लाल सुन किनेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको हो । प्रहरीले जनाए अनुसार उनले किनेको सुन हत्या भएको महिलाको हो । गत आइतबार म्याग्दे गाउँपालिकास्थित पिपलटार खानेपानी ट्यांकीमा ४४ वर्षीया शान्ती श्रेष्ठको शव भेटिएको थियो । धादिङ्ग गंगाजमुना गाउँपालिकाकी श्रेष्ठ पोखराको अमरसिंहचोकमा बस्दै आएकी थिइन् । श्रेष्ठलाई काभ्रे स्थायी घर भई पोखरामै बस्दै आएका चित्र भनिने प्रकाश सुनारले हत्या गरी उनको सुन लुटेको प्रहरी उपरीक्षक अवधेश विष्टले जानकारी दिए । विष्टका अनुसार सुनारले लुटेको गहना गहतराजले किनेका हुन् । ‘हामीले रविनको पसलबाट सुनसमेत बरामद गरेका छौं’ विष्टले भने । प्रहरीले गहतराज र सुनारलाई तनहुँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी कत्र्तव्य ज्यान मुद्धाको प्रक्रिया अघि बढाइएको छ ।
झापा : झापाको मेचीनगरमा लागु औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१३ घर भई हाल मोरङ जिल्ला लेटाङ नगरपालिका-३ निवासी ४६ वर्षीय विशाल शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दा टोलमा इलाका प्रहरी कार्यालय नकलबन्दा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नकलबन्दाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको शर्मालाई शंकाका लागि चेकजाँच गर्दा उनको साथबाट खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ १० ग्राम र नगद २८ हजार ६१५ रुपैयाँ फेला परेको थियो। पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा पठाइएको छ।
स्याङ्जा : स्याङ्जाको दरौखोलामा माछा मार्दै गरेका ३ चिनियाँ नागरिक पक्राउ परेका छन्। अर्जुनचौपारी गाउँपालिका- ३ स्थित दरौखोलामा बुधबार राति माछा मार्दै गरेको अवस्थामा ती नागरिक पक्राउ परेका हुन्। पालिकाले खोलामा करेन्ट लगाई माछा मार्न बन्देज लगाएको अवस्थामा माछा मारिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पक्राउ पर्नेमा ४१ ,३६ र ४० वर्षका तीन युवा रहेका छन्। स्थानीयको खबरपछि अर्जुनचौपारी प्रहरी चौकीका प्रहरी टोलीले चिनियाँ नागरिकसहित खोलामा करेन्ट लगाउने अत्याधुनिक मेसीन, जाल,माछा समाउने जाली र बा १२ च २७७ नम्बरको हाइलक्स गाडीसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। पालिकाले उनीहरुलाई जनही ५/५ हजार जरिवाना गरेको छ। पालिकाले पालिका अन्तर्गतका नदीखोलामा जाल हाली, करेन्ट लगाएर माछा मार्न निषेधसहित नगद जरिवाना गर्ने कानुनी व्यवस्था गरेको छ। सामानसहित तीनजनालाई प्रहरी प्रशासन कार्यालय स्याङ्जा ल्याएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता समेत रहेका खनालले जानकारी दिए।
काठमाडौं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी कोकिनसहित एकजना भारतीय नागरिक पक्राउ गरेको छ। चैत्र १४ गते इण्डिगो एयरको उडानबाट दिल्ली प्रस्थान गर्ने क्रममा लागुऔषध ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट तीन किलो कोकिन बरामद गरेको प्रहरी स्रोतले बताएको छ। प्रस्थान कक्षको एक्सरे मेसिनमा जाँच गर्दा तीन किलो कोकिनसहित भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतीय नागरिक भन्लालमी भएको प्रहरी स्रोतले बताएको छ। उनको बयानबाट थप एकजना भारतीय नागरिक पनि संलग्न रहेको पाइएको छ। घटनाबारे जानकारी दिन दिउँसो २ बजे लागुऔषध नियन्त्रण व्युरोले पत्रकार सम्मेलन गर्दैछ।
मोरङ: मोरङ प्रहरीले २३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। मंगलबार इलाका प्रहरी कार्यालय रङ्गेली र प्रहरी चौकी अमाहिवरियाती मोरङबाट खटिएको टोलीले रङ्गेली नगरपालिका–२ चेका खोलास्थित गहुँबारीमा पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा दुई भारतीय नागरिक गाँजासहित पक्राउ परेका थिए। भारत अररियाका २९ वर्षीय दिपक झा र ३० वर्षीय सिन्टुकध कुमार सिंहलाई १५० किलो गाँजा ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले मोरङको रङ्गेली नगरपालिका–३ रन्जनीस्थित वीरबहादुर कार्कीको घरमा गाँजा लुकाईछिपाई राख्ने गरेको खुलेपछि प्रहरी खानतलासीका लागि पुगेको थियो। कार्कीको घर खानतलासी गर्दा थप ८४ किलो गाँजा भेटिएपछि प्रहरीले कार्कीसहित गाँजा ओसारपसारमा संलग्न थप दुई भारतीय नागरिक २४ वर्षीय प्रबिण पासवान र विष्णुकान्त मिश्रलाई पनि पक्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिए। उनीहरुको साथबाट कुल २३४ किलो गाँजा बरामद भएको हो। डीएपसी कार्कीले पक्राउ परेका पाँचै जनाविरूद्ध मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको बताए।
रामेछाप : रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ। बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो। खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगङ्गा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए। खुकुरी प्रहारबाट उनको टाउकोमा गहीरो चोट लागेको थियो। श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडौं गएकाले वृद्ध दुई नातिनीका साथ बस्दै आएका थिए। नातिनीहरु घर बाहिर निस्किएको मौका छोपी उनीमाथि खुकुरी प्रहार भएको प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए। घटना रहस्यमय भएकाले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याएको उनले बताए।
काठमाडौँ: झापा र पर्साबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित ईलाम चुलाचुली गाउँपालिका–४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । पर्साको कालिकामाई गाउँपालिका–१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेशप्रसाद कुर्मीलाई अवैध लागुऔषध चरेश जस्तो देखिने वस्तु करिब १० केजीसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
काठमाडौं : सप्तरीको सीमा क्षेत्रबाट साढे ६४ किलो अवैध गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीको गस्ती टोलीले नेपाल भारत सीमा क्षेत्रबाट टाउकोमा बोकेर ल्याउँदै गरेको उक्त गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरीको टोलीले बिहीबार ४ बजे ३-४ जनाले ल्याउँदै गरेको गाँजा बरामद गरेको जनाएको छ। ती मानिसहरू गाँजा फालेर भारततर्फ नै भागेको बताइएको छ।
काठमाडौँ: सरकारी कार्यालयहरूको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरेर झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी गैर नेपाली व्यक्तिहरूको नेपाली नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले बबरमहल क्षेत्रमा सक्रिय रहेको सो समूहका पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाका ४७ वर्षीय कृष्णबहादुर कटुवाल, काठमाडौँका ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङका ४९ वर्षीय हिरालाल शिवाकोटी, तनहुँका २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुरका ३० वर्षीय विजय लामा रहेका छन् । उनीहरूलाई पक्राउ गरी नागरिकता ऐन तथा लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । कार्यालयको विशेष अनुसन्धान टोलीले खोजतलास गर्ने क्रममा गत चैत ५ गते दिउँसो बबरमहलबाट उनीहरूलाई विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमति पत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्ध विच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्त्वपूर्ण अन्य विविध कागजातहरू, किर्ते गर्न प्रयोग हुने वडा कार्यालयहरूको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैर नेपालीले प्राप्त गरेको सक्कलै नागरिकतासहित पक्राउ गरेको थियो । पक्राउ परेका कृष्णबहादुर कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता विना नै लेखापढी गर्ने कार्य गर्दै आएको खुलेको छ । कटवाल यस अघि पनि किर्ते र ठगी मुद्दामा सजाय पाइसकेको व्यक्ति भएको पाइएको छ । उनले हिरालाल सिवाकोटी समेतको सहयोगमा विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमति पत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्त्वपूर्ण कागजात, छाप तथा दस्तखत किर्ते गर्दै आएका थिए । कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट गैरनेपाली विशेषगरि तिब्बती शरणार्थीहरूको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउने गरेको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । राठौरका अनुसार उनीहरूले न्युल्केश श्रेष्ठलाई नक्कली नेपाली नागरिकता बनाई दिन प्रत्येक पटक रु. १० हजार दिई भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराई सनाखत गर्ने गराउने गरेका थिए । श्रेष्ठले हाल सम्म गैरनेपाली तिब्बती व्यक्तिहरू सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनी सहयोग गरेको खुलेको छ । त्यसरी किर्ते कागजात तयार गरी गैर नेपाली सक्कली नेपाली नागरिकता दिलाउन कटवालले प्रति व्यक्ति रु. ३ देखि ५ लाखसम्म रकम लिने गरेका थिए । पक्राउ परेका अर्का व्यक्ति विजय लामा विगत ९ वर्ष देखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएको र जिल्ला प्रशासन कार्यालय काठमाडौँ भित्र मिलाउनु पर्ने सबै कामको जिम्मा लिने गरेको राठौरले बताए । लामाले भित्र मिलाउनुपर्छ भन्दै कटवालसँग प्रति नागरिकता रु. १ लाख ५० हजार सम्म लिने गरेका थिए तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका लोब्साङ ठिन्लेले फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट नेपाली नागरिकता लिएको देखिएको छ । यस्तै गरी नागरिकता लिएका अन्य २५-३० जनाको सक्कलै नागरिकता प्राप्त भएको देखिएकाले त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कटवालले मात्रै ५/६ वर्षको अवधिमा झण्डै ५०० भन्दा व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको र यस्तो कार्यमा कटवालजस्तै अन्य ४/५ जना व्यक्ति पनि सक्रिय रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसरी गैरनेपाली तिब्बती शरणार्थी लगायतलाई सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने कार्यमा सक्रिय गिरोहलाई प्रलोभनमा परि सहज तवरले नागरिकता उपलब्ध गराएको आशंकामा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा कार्यरत पूर्व तथा बहालवाला कर्मचारीहरूमाथि समेत आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

