काठमाडौं: ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख घुससहित पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएका टोलीले शिक्षा अधिकृत पौडेललाई एक लाख घुससहित आज (बिहीबार) पक्राउ गरेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रासद थपलियाले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा पौडेललाई पक्राउ गरेको जानकारी दिनुभयो । सहायक प्रवक्ता थपलियाका अनुसार पौडेललाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उहाँकै कार्य कक्षबाट आयोगको टोलीले नियन्त्रणमा लिइएको हो । यसबारे थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताउनुभयो ।
बेनी : म्याग्दीको बेनीबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। रघुगंगा गाउँपालिका-७ का २८ वर्षीया सोबिता बागदास र बेनपा-९ घतानका ३२ वर्षीय प्रेम सार्की लागूऔषधसहित बेनीबाट बुधबार राती पक्राउ परेका हुन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। बागदास र सार्की म्याग्दीको सदरमुकाम बेनी बजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका-३ मा बस्दै आएका थिए। उनीहरूको साथबाट २०० एम्पुल डाईजोपाम, २०१ एम्पुल फेनेरागन र २०० एम्पुल नुर्फिन बरामद भएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए। ‘प्रहरीले पछिल्लो तीन वर्षयता उनीहरूबाट ठूलो परिणाममा लागूऔषध बरामद भएको छ,’ उनले भने ‘जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।’ उनीहरूले भारतको सिमानाबाट लागूपदार्थ ल्याएर म्याग्दीको विभिन्न ठाउँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रनाउ कुँवरले बताए।
बागलुङ: जिल्ला अदालत बागलुङले १२ वर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको अभियोगमा पक्राउ परेको एक जना ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद सजाय तोकेको छ । जिल्ला न्यायाधीश डा. दिवाकर भट्टले फागुन २३ गतेको अन्तिम आदेशले अभियोग दाबी पुग्ने भन्दै आरोपितलाई कैदसँगै ३० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको हो । निसीखोला गाउँपालिकाका वृद्धले गत वर्षको चैत ५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले गत जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आराेपीविरुद्ध गत असार २३ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो । आरोपितलाई अदालतले असार २३ गते पुर्पक्षका लागि कारागार पठाएको इजालास अधिकृत गङ्गाधर सापकोटाले बताउनुभयो ।
काठमाडौं : यूकेमा रोजगारी मिलाई दिन्छु भन्दै अनलाईनमार्फत् २३ लाख नगद ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी रामपुर ग्राम पञ्चायत थाना दारपा घर भई काठमाडौं कालीमाटी बस्ने २५ वर्षीय सुदिश कुमार साह र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-११ घर भई काठमाडौं कालीमाटी बस्ने २७ वर्षीया सुनिता परियार रहेका छन् । उनीहरूले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, ईन्टारग्राम,भाइबर र टिकटकमार्फत साथी बनाई आफू मलेसियाको नागरिक भएको र हाल यूके मा डेन्टिस डाक्टर पेशा गर्छु भनि पीडितहरूसँग मोबाईल नम्बर लिइ ह्वाट्सएपमार्फत् कुराकानी गरी प्रलोभनमा पारेका थिए । त्यसपछि यूकेमा हेल्थकेयर असिस्टेनटमा नोकरी लगाई दिन्छु भन्दै व्यक्तिगत विवरण पठाउन लगाई कागजात लिएपश्चात विभिन्न व्यक्तिहरूलाई पार्सल,आकर्षक गिफ्ट, डलरलगायतको सामान पठाएको र त्यसको लागि कस्टम चार्ज,क्लिरियन्स,इन्सुरेन्स, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भन्दै पीडितहरूबाट सुनिताको बैंक खातामा रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनीहरूई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टकु काठमाडौं पठाइएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा विभिन्न बैंकका एटिएम मेसिन फोर्न प्रयास गर्ने २ व्यक्तिलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका १० रामबजार स्थित एनआईसी एसिया बैंकको एटिएम मेसिन, वडा नं १५ बन क्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेडको एटिएम मेसिन र पोखरा वडा नं १५ रामबजार पेन्सनक्याम्प नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको एटिएम मेसिन फोर्नको लागि तोडफोड गर्ने, ढुङ्गाले हान्ने तथा सिसिटिभि क्यामेरा कागजले छोप्ने गरेको सूचनाको आधारमा तत्कालै प्रहरीले प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर गाईघाट नगरपालिका वडा नं ७ स्थायी घर भई हाल पोखरा वडा नं १७ छोरेपाटन बस्ने वर्ष २१ को शुसिल चाम्लिङ राई र लम्जुङ मस्र्याङ्दी गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल पोखरा वडा नं १७ छोरेपाटन बस्ने वर्ष २१ को अर्जुन भन्ने लु बहादुर गुरुङ प्रकाउ परको हुन् । उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
विराटनगर: विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया प्रियंका सुनार हत्या आरोपमा प्रहरीले ३ जना पक्राउ गरेको छ । यसअघि प्रहरीले प्रियंकाका श्रीमान रमेश साह र कटहरी गाउँपालिका–५ का रमानन्द रामलाई पक्राउ गरेको थियो । सोमबार दिउँसो कटहरी गाउँपालिका–५ का उमेश सरदारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । यीबाहेक अन्य व्यक्तिलाई पनि सोधपुछका लागि बोलाइएको उनले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा रमानन्द शव व्यवस्थापनमा संलग्न भएको देखिएको र त्यस क्रममा उमेशको गाडी प्रयोग भएको पाइएको डीएसपी कार्कीको भनाइ छ । घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै उनले वास्तविकता पत्ता लाग्न समय लाग्ने बताए । प्रियंकाको शव मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा बोराभित्र फेला परेको थियो । आइतबार दिउँसो १२ बजेतिर शरीरभरि चोटपटक रहेको शव भेटिएपछि नरसिंहमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ । शव व्यवस्थापनका लागि उपयुक्त स्थलको खोजी गर्दै नरसिंहको घरसम्म प्रियंकाको शव लगेको देखिएको प्रहरीले बताएको छ । प्रहरीले शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ ।
चितवन : पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एकजना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बिहान १ बजे राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको वा३च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
काठमाडौं :विन्ध्यवासिनी म्युजिक प्रालीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर व्युरोले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। उनी थाइल्याण्डबाट स्वदेश फर्किदै थिए। साइबर व्युरोका प्रवक्ता पशुपति कुमार रायले रेग्मीलाई पक्राउ गरिएको जानकारी दिए। रायका अनुसार उनीविरूद्ध साइवर व्युरोमा उजुरी परेपछि अनुसन्धान गर्न पक्राउ गरिएको हो। उनीविरूद्ध गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएका छन्। सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारविरूद्ध अश्लिल गाली गर्ने,अपशब्द प्रयोग गर्ने र कलाकारहरूको चरित्रहत्या गरेको उजुरीमा उल्लेख छ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाखभन्दा बढी कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ परेका छन् । विमानस्थलबाट भारततर्फ लैजान लागेको एक लाख २६ हजार तीन सय कतारी रियालसहित शुक्रबार दिउँसो प्रहरीले २९ वर्षीय टर्कीस् नागरिक हिडिल कायन सरिकक्मारलाई पक्राउ गरेको हो । एयर इन्डियाको उडानमार्फत दिल्ली जान लागेका सरिकक्मारलाई साथमा लुकाइ राखेका उक्त कतारी रियालसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।