पोखरा —   जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।   माछापुच्छ्रे गाउँपालिका–१ टुँसे बस्ने सुरेश परियारको घरमा अवैध हतियार लुकाइराखे...

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरेका थिए ।   छलफलमा शिक्षामन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।   प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सुलभ सर भनिने व्यक्तिसहित दुई जना पक्राउ परेका हुन् ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।   घटनाका सम्बन्धमा मन्त्री पोखरेलले शनिबार राति मन्त्रालयमै गएर सम्बन्धित अधिकारीसँग छलफल गरेका थिए । उनले प्रहरी उच्च अधिकारीका साथै त्रिविका पदाधिकारीसँग परामर्श गरी छानबिन समिति बनाउने लगायत विषयमा छलफल गरेका थिए ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएबापत तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो।   सोही सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल र आयोगको कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।   टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपियाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट बिहीबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।   नियन्त्रणमा लिइएका खड्का माथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र लागूऔषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा–११ का ३२ वर्षीय विकास नेपालीलाई पक्राउ गरेको हो।   प्रहरीले उनको साथबाट फेनिरागन (Pheniramine) २१ एम्पुल, डाइजेपाम (Diazepam) २१ एम्पुल र नुर्फिन (Norphine) २६ एम्पुल गरी कुल ६८ एम्पुल लागूऔषध बरामद गरेको छ।   पक्राउ परेका नेपालीविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयहरूबाट खटिएको टोलीले विशेष खोजतलास अभियानका क्रममा २० जना पु​रुष र ७ जना महिला गरी कुल २७ जना फरार प्रतिवादीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  पक्राउ परेका सबै व्यक्तिहरूलाई आवश्यक कारबाही तथा जरिवाना असुलउपर गर्नका लागि कास्की जिल्ला अदालतमा बुझाइएको प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए ।   प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल ४ वर्ष १५ दिन कैद सजाय भुक्तान हुन र ४८ लाख १ हजार ८ सय ८० रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको थियो ।   प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी चेक अनादर कसूरका १२ जना र केही सार्वजनिक अपराध कसूरका ५ जना रहेका छन् ।    यसैगरी अंश मानाचामल सम्बन्धी कसूरका ४ जना, लेनदेन बिगो सम्बन्धी कसूरका २ जना तथा बैंकिङ कसूरका २ जना प्रतिवादी पक्राउ परेका छन् ।    सवारी ज्यान सम्बन्धी कसूर र अभद्र व्यवहार सम्बन्धी कसूरका १–१ जना प्रतिवादीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।   अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकबाट २९ वर्षीय युवकलाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा पोखरा–२७ रिठ्ठेपानी बस्ने भरत घिसिङ रहेका छन् । उनको साथबाट प्रहरीले ३ सय ४५ एम्पुल लागुऔषध बरामद गरेको छ ।   रिठ्ठेपानी क्षेत्रमा लागुऔषधको बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय शिसुवा र लागुऔषध नियन्त्रण ब्यूरोको टोली परिचालन गरिएको थियो ।   प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ग ७ प ७२४१ नम्बरको मोटरसाइकलमा सवार घिसिङको साथबाट लुकाएर राखिएको अवस्थामा लागुऔषध फेला पारेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि बस्नेतले जानकारी दिए ।   उनका अनुसार घिसिङको साथबाट डाइजेपाम ११५ एम्पुल, फेनारगन ११५ एम्पुल, नुर्फिन ११५ एम्पुल बरामद गरिएको छ ।   यस्तै नगद रु १ हजार, मोबाइल १ थान र ग ७ प ७२४१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको डिएसपी बस्नेतले बताए ।   बस्नेतका अनुसार पक्राउ परेका घिसिङलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पोखरा महानगरपालिका ४ स्थित एक खाजाघरबाट थापालाई शनिबार पक्राउ गरिएको हो ।   लागुऔषध मुद्दाका प्रतिवादीलाई मुद्दा मिलाउन सहजीकरण गरिदिने भन्दै ५० हजार रकम लिएको निवदेनका आधारमा क्षेत्रीलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी रामहरी शर्माले पब्लिक टिभीलाई बताए ।   सो घटनाबारे थप अनुसन्धान अघि बढाइएको उनले बताए ।      

पोखरा:   कास्की प्रहरीले पोखरा ८ सभागृह चोक नजिकै खुडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पर्वतका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र पोखराका ३२ वर्षीय कुशल परियार रहेका छन् ।   उनीहरुलाई आज (शुक्रबार) पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।   कास्की प्रहरीका प्रमुख एसपी नवीन कार्कीले मुख्य आरोपी सन्तोषलाई रुपन्देहीको बुटवल २ मनकामना टोलबाट र कुशललाई पोखराबाटै शुक्रबार पक्राउ गरेको बताए ।    उनका अनुसार पक्राउ परेका दुवैजनाविरुद्ध यसअघि विभिन्न कसुरमा मुद्धा चलेको थियो ।   मुख्य आरोपी सन्तोष अभद्र व्यवहार, चोरी तथा डाँकासम्बन्धी कसुरमा संलग्न रहेको र कुशल लागुऔषध मुद्दामा कैद भोगिसकेका थिए ।   पक्राउ परेका मुख्य आरोपी मृतक सिर्जनाका सहोदर भान्जा भएको खुल्न आएको समेत एसपी कार्कीले बताए ।   किन भयो हत्या ? प्रारम्भिक अनुसन्धानका अनुसार यो हत्या पारिवारिक बेमेल र सम्पत्तिको विवादका कारण भएको देखिएको एसपी कार्कीले बताए ।    मृतक सिर्जना ‘खसी किन्ने किस्ने’ नामले चिनिने कृष्ण क्षेत्रीकी दोस्रो श्रीमती थिइन् ।    कृष्णको जेठी श्रीमतीतर्फ १ छोरा र २ छोरी रहेका छन् । ३ वर्षअघि कृष्णको मृत्यु भएपछि एकल जीवन बिताइरहेकी सिर्जनासँग उनकी ४ वर्षकी छोरी रहेकी थिइन् ।    कास्की जिल्ला अदालतले बकसपत्र सम्बन्धी मुद्दामा सिर्जनाको पक्षमा फैसला गरिदिएपछि परिवारभित्र विवाद चुलिएको प्रहरीले बताइएको छ ।   यस्तो छ, घटनाक्रम   गत चैत २५ गते बुधबार बेलुकी करिब ७ बजे शिवालय चोक नजिकै सिर्जनालाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहारबाट सिर्जना पौडेल केसी गरी गम्भीर घाइते भइन् ।   गम्भीर घाइते भएकी उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकोमा चिकित्सकले सोही दिन राति सवा ८ बजे मृत घोषणा गरेका थिए ।    मृतक सिर्जना पोखरा महानगरपालिका ५ जिरो किलोमिटर घर भई हाल वडा नम्बर १८ सेदी बस्दै आएकी थिइन् ।   मृतक सिर्जनालाई करिब १ महिनादेखि नै हत्या गर्ने योजनासहित शिशिरले रेकी गर्दै हिडेको एसपी कार्कीले बताए ।    ‘बयानका क्रममा आफुलाई अवहेलना गर्ने गरेकै कारण शिशिरले इगो बोकेर बसेको देखिन्छ, एसपी कार्कीले भने, ‘त्यपछि शिशिरले १ महिनादेखि नै योजना बनाउँदै आएको र गत बुधबार बेलुकीदेखि खुडा नै बोरेर हत्या गर्ने तयारीसहित पछि लागेको प्रारम्भिक बयानमा भनेका छन् । थप कुरा खुल्दै जाला ।’    उनले मतियारका रुपमा देखिएका कुशल परियारलाई आफ्नो काम गरेबापत पैसा दिने भनेर घटनामा प्रयोग गरेको बयान दिएको एसपी कार्कीले बताए ।   ‘यस घटनमा संलग्न भएपछि मतियार भैनैहाल्यो । अहिले बुझ्दा काम गर्न भनेर पैसा दिने सहमति भएको देखिन्छ । तर पारिवारिक बेमेल देखिदा परिवारबाट केही सुपारी दिएकी भन्ने बारे गहिरो अनुसन्धान थालेका छौं । अहिल्यै पुष्टि भइसकेको छैन ।’ एसपी कार्कीले भने ।   स्कुटर र खुँडा बरामद   कास्की प्रहरीले हत्यामा संलग्न व्यक्तिले अनुहारमा मास्क र हेलमेट लगाएर स्कुटरको नम्बर प्लेट समेत छोपेर आक्रमण गरेको अनुसन्धानबाट खुलेको छ ।    साथै प्रहरीले घटनामा प्रयोग भएको ग २५ प ३०४४ नम्बरको स्कुटर पोखरा ७ मुस्ताङ चोकबाट बरामद गरेको छ ।   त्यस्तै, हत्यामा प्रयोग गरिएको रगत लागेको धारिलो हतियार (खुँडा) पोखरा १६ बिरौटास्थित तितेपानी जंगलबाट बरामद गरिएको एसपी कार्कीले बताए ।   उनका अनुसार उक्त खुडा शिशिरले फ्रेस हाउस सञ्चालन गर्ने क्रममा किनेका थिए । अहिले त्यही खुडा प्रयोग गरेको खुल्न आएको छ ।   पक्राउ परेकाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाउने प्रक्रिया अगाडि बढेको छ ।   प्रहरीले घटनामा अन्य मतियार वा सहयोगीको संलग्नता भए नभएको बारेमा पनि सुक्ष्म रुपमा अनुसन्धान अघि बढिसकेको कास्की प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक नमराज भट्टराई र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले यो घटनाको सफल अनुसन्धान गरेको हो ।   कृष्ण क्षेत्रीका जेठी श्रीमतीतर्फका छोरा हाल लागुऔषध मुद्दामा जिल्ला कारागार कार्यालय कास्कीमा थुनामा रहेको समेत प्रहरीले उल्लेख गरेको छ ।

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले यही चैत १८, १९, २० र २१ गतेको अभियानअन्तर्गत दुई सय २६ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया थालिएको जानकारी दिए ।   प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार १८ गते काठमाडौँ उपत्यकाबाट ५१ जना, कोशी प्रदेशबाट १८ जना, १९ गते कोशीबाट एक, मधेस प्रदेशबाट सात, बागमतीबाट २३, गण्डकीबाट दुई र कर्णालीबाट ११ जना पक्राउ परेका थिए ।   यस्तै २० गते मधेश प्रदेशबाट आठ, गण्डकीबाट १०, लुम्बिनीबाट चार र सुदूरपश्चिम प्रदेशबाट दुई तथा २१ गते काठमाडौँ उपत्यकाबाट ६२ जना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा गुण्डागर्दी, बिचौलिया, यातायात तथा मालपोत कार्यालयमा दुःख र हैरानी दिने, सार्वजनिकस्थलमा अभद्र व्यवहार गर्नेलगायतका व्यक्तिहरू छन् । प्रवक्ता काफ्लेले अभियान जारी रहने बताए ।

काठमाडौं:    प्रहरी वृत्त लैनचौरले ३ जनालाई लागुऔधष खैरो हिरोइनसहित पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ९ घर भई जिल्ला काठमाडौं महानगरपालिका १६ बालाजु गंगाजमुना मार्ग बस्ने १९ वर्षीय आदित्य मण्डल, सिन्धुलीको दुधौली नगरपालिका ५ का ४१ वर्षीय उत्तर बहादुर कार्की भन्ने शम्भु कार्की र भारतको सितामडीका २७ वर्षीय जितु कुमार राय रहेका छन् ।   यसअघि शम्भु कार्कीविरुद्ध २०७० साल पुष ३० गते डाँका र २०७७ भदौ ४ गते हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको देखिएको छ  ।   हाल पक्राउ परेका उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन १८ ग्राम, मोबाइल थान ३, नेपाली नगद ५६ हजार ८ सय ९५ रुपैयाँ र भारतीय नगद २ हजार ८ सय बरामत गरिएको छ ।   पक्राउ परेका उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट दिन ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त लैनचौरले जनाएको छ ।