पोखरा: पोखरामा बालिकालाई ललाई फकाई गरी विभिन्न प्रलोभन देखाई यौन धन्दामा लगाएको आरोपमा प्रहरीले खाजाघर सञ्चालक सिन्धु किसानलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३ नालामुखस्थित सिन्दु खाजाघर सञ्चालक २३ वर्षीय सिन्धु किसानलाई बालिकालाई ललाई फकाई यौन धन्दामा लगाएको गोप्य सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए । पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसार पसार मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका–२ बागलुङ बसपार्कस्थित रहेका १९ खाजाघर सञ्चालकहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । बागलुङ बसपार्कस्थित सञ्चालित खाजाघरहरुमा होहल्ला भई अनैतिक गतिविधि भइरहेको सूचनापछि खटिएको प्रहरीले टोलीले शुक्रबार १९ वटा खाजाघरका सञ्चालकलाई पक्राउ गरेको हो । खाजाघर सञ्चालन गरेर लागूऔषध सेवन कर्ताको अखडा बनाई होहल्ला गर्ने, यौनजन्य गतिविधिहरुमा संलग्न हुने एवं सो एरिया आसपासमा अशान्ति मच्चाउने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा,सुविधा र नैतिकता विरुद्धको कसूरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
रौतहट: रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका लक्ष्मण पासवानलाई प्रहरीले पक्राउ गरेको छ। माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फ आमाको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा उनले आफ्नै शरीरमा आगो लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। गम्भीर घाइते अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि गौर लगिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार पासवानलाई नियन्त्रणमा लिएर उपचारसँगै अनुसन्धान सुरु गरिएको हो ।
चितवन: जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो । उक्त कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बेचिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । भारतको विहार राज्यको पश्चिम चम्पारण एक युवक पनि पक्राउ परेका छन् ।
झापा: झापाको शिवसताक्षी नगरपालिका–८ स्थित झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुन चोरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २९ गते कमल गाउँपालिका–६ का ३० वर्षीय मनोज लिम्बू दोमुखाबाट घर फर्कने क्रममा झिलझिले बजारमा स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेका थिए । स्थानीयवासीले उनलाई एम्बुलेन्समा राखेर अस्पताल पठाउने क्रममा घाँटीमा लगाएको ५६ ग्राम २५ मिलीग्राम तौलको सुनको सिक्री हराएको जनाउँदै साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । अनुसन्धानका क्रममा उक्त सिक्री घाइतेको उद्धारमा संलग्न शिवसताक्षी–८ का २८ वर्षीय सुरज हलुवाई र २६ वर्षीय गोबिन हाङ लिम्बूले चोरी गरेको खुलेको उनले बताए । साउन ३२ गते साँझ गणेश चोकबाट उनीहरूलाई नियन्त्रणमा लिँदा ३९ ग्राम २२ मिलीग्राम तौल भएको सिक्रीको टुक्रा र रु ३० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति सदस्य भावना श्रेष्ठ र रविन कुमार श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। बाटोको निकास सम्बन्धी विवादमा निवेदक रहेका रविन र भावना माथि दुई लाख विगो र जरिवाना माग गरी आरोप(पत्र दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार न्यायिक समिति सदस्य श्रेष्ठलगायतलाई बाटोको विवादसम्बन्धी मुद्दामा निर्णय गर्दा आफ्नो पक्षमा पार्नका लागि रविन कुमारले २ लाख घुस दिएको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा पोखरा महानगरपालिका कास्कीका न्यायिक समितिमा विचाराधीन पोखरा २६ को बाटोको निकाससम्बन्धी विवादमा निवेदक रविन कुमारले न्यायिक समिति सदस्य श्रेष्ठलाई २ लाख घुस दिएको पुष्टि हुन आएको अख्तियारको ठहर छ।
पोखरा: नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्री रहेको मोबाइलसहित पक्राउ गरेको हो । प्रहरीले पीडित र आरोपी दुवैको पहिचान गोप्य राखेको छ । नेनेसनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन ९एनसिएमइसी० बाट विद्युतीय माध्यमको प्रयोग गरी डिजिटल प्लेटफर्ममा बाल यौन दुर्व्यवहार सामग्री राखिएकोबारे साइबर टिपलाइन रिपोर्टमार्फत नेपाल प्रहरीको साइबर ब्यूरोलाई जानकारी प्राप्त भएको थियो । सोही सूचनाका आधारमा ब्यूरोले अनुसन्धान गर्दै जाँदा कास्कीका एक व्यक्तिले आफ्नै हाडनाताकी एक किशोरीलाई जबरजस्ती करणी गरी भिडियो बनाएको तथा अर्की एक बालिकालाई समेत बाल यौन दुर्व्यवहार गरी त्यसको समेत भिडियो आफ्नो डिजिटल प्लेटफर्ममा राखेको खुलेको थियो । त्यसपछि ब्यूरो र जिल्ला प्रहरी कार्यालय, कास्कीको संयुक्त टोलीले आरोपीलाई पोखराबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि जबरजस्ती करणी, बालबालिका विरुद्धको कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतका तीनवटा कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
सप्तरी: सप्तकोशी नगरपालिका–४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका–३ बस्ने २१ वर्षीय जीवन लम्जेल र सोही गाउँपालिका–१ बस्ने २८ वर्षीय आएन राई रहेका छन् । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को. ३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पोखरा: पोखरामा अवैध सुनचाँदीका गहनासहित जिल्ला प्रहरी कार्यालय कास्कीले ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२,३,४,९ वडाको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँदीको कारोवार भइरहेको सूचनामा गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको सयुक्त टोलीले ११ जना भारतीय नागरिकलाई शुक्रबार राति पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्याम बाबु ओलियाले पोखराको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँदीका गहना विक्री वितरण भैरहेको सूचनापछि ‘अप्रेशन एल्लो मेटल’ नाम दिएर गरिएको अनुसन्धानका क्रममा ६केजी ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिक पक्राउ परेको बताए । ‘शुक्रबार हामीलाई पोखराको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँदीको गहना विक्री वितरण भइरहेको सूचना आएको थियो, प्रमुख ओलियाले भने, ‘सूचनापछि कास्की प्रहरीले अप्रेशन एल्लो मेटल अनुसन्धान गर्दै जाँदा अवैध सुनसहित भारतीय नागरिक पक्राउ गर्न सफल भएका छौ भने एक जना फरार छन् खोजी कार्य तिव्र पारेका छौं ।’ उनका अनुसार कास्की प्रहरीले शुक्रबारको सुनचाँदी मूल्य अनुसार करिव ११ करोड मूल्य बराबरको सुनचाँदी बरामद गरेको हो । कास्की प्रहरीले ११ जनाको साथबाट (करिव ६केजी ४ सय ग्राम सुन )५ सय ४९ तोला ४० लाल सुन, ४ सय ४४ तोला ७३.९ लाल चाँदी, ५ लाख १४हजा ६सय ६५ रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ परेका भारतीय नागरिकहरुले अनुसन्धानको क्रममा आफुहरु पेशाले कालिगढ मात्र भनेपनि उनीहरु नै व्यवसाय र कालिगढ भएको प्रहरीको दावी छ । कसको साथबाट कति सुनचाँदी र नगद बरामद ? पक्राउ पर्नेमा भारत घर भई पोखरा २ मोहरिया टोलमा विगत १६ वर्षदेखि कालिगढको काम गर्दै आएका राजेन्द्र जगतापको साथबाट ११ तोला २० दशमलव ६ लाल सुन, २ सय ९६ तोला ३३ लाल चाँदी र १लाख ६० हजार ५ सय नगद, मोहरिया टोलमा विगत २० वर्षदेखि कालिगढको काम गर्दै आएका मनिक लाल आदकको साथबाट १३ तोल १७ लाल सुन, १० तोला ५५ लाल चाँदी, विन्ध्यवासिनीमा १५ वर्षदेखि कालिगढको काम गर्दै आएका सम्दिप ढापको साथबाट ३ तोला ८ लाल सुन बरामद भएको हो । यस्तै मोहरिया टोलमा नै विगत १६ वर्षदेखि सुनचाँदीको डिजाइनको काम गर्दै आएका सोमनाथ पालको साथबाट १२ तोला १२ दशमलव ७ लाल सुन, ९ तोला ५९ दशमलव ४ लाल चाँदी, पोखराको तेर्सापट्टीमा विगत २० वर्षदेखि सुनचाँदीको काम गर्दै आएका दिपक सामन्तको साथबाट ३८ तोला ५ लाल सुन, ३० तोला ११ लाल चाँदी, पोखरा–३ मा विगत २८ वर्षदेखि सुनचाँदीको काम गर्दै आएका गोविन्द दिण्डाको साथबाट २सय १० तोला ८९ लाल सुन, चिप्लेढुङ्गामा विगत २० वर्षदेखि बस्दै आएका असित वर ८६ तोला ८७ दशमलव १ लाल सुन र ३१ दशमलव ५ लाल चाँदीसहित पक्राउ परेका हुन् । यस्तै मोहरिया टोलमा विगत २४ वर्षदेखि बस्दै आएका तापस सामन्तको साथबाट २४ तोला १५ लाल सुन, भैरवटोलमा विगत १२ वर्षदेखि कालिगढको काम गर्दै आएका उञ्जल भोमिक ५ तोला ४६ दशमलव ९ लाल सुन, मोहरिया टोलमा सुनचाँदीको काम गर्दै आएका सुनिता पावरको साथबाट २ तोला ५० लाल सुन, ९३ तोला ६१ लाल चाँदी, प्रोभास माझीको साथबाट ८८ तोला ३१ लाल सुन र १ लाख ८५ हजार नगद बरामद गरेको हो । यस्तै सन्जय ढाव भने फरार छन् । प्रहरीले उनले काम गर्ने स्थानबाट १३ तोला ५८ लाल सुन, ४ तोला २३ लाल चाँदी र १ लाख ६९ हजार १ सय ५५ रुपैयाँ नगद बरामद भएको छ । पक्राउ परेका उनीहरुलाई सामानसहित आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी भइरहेको कास्की प्रहरीले जनाएको छ ।

