पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

पोखरा:  पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित रहेका खाजाघरमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जाल्पारोडस्थित रहेका विभिन्न खाजाघरहरुमा होहल्ला भई अनैतिक गतिविधि भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले टोलीले एक महिलासहित ४जनालाई मंगलबार पक्राउ गरेको हो ।  खाजाघरमा अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा चितवन घर भई पोखरा–८ जाल्पारोड बस्ने २८ वर्षीय सुनिता तामाङ, तनहुँ व्यास नगरपालिका घर भई पोखरा ८ सृजनाचोक बस्ने १९ वर्षीय सुवास गुरुङ, बागलुङको जैमिनि नगरपालिका–८ घर भई पोखरा न्यूरोडबस्ने २१ वर्षीय सागर थापा मगर शंकर थापालाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य,सुरक्षा,सुविधा र नैतिकता विरुद्धको कसूरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।  यस्तै प्रहरीले जाल्पारोडमा रहेका खाजाघरबाट ११ जना महिलाहरुको उद्धार गरेर कोपिला नेपाल संस्थामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

काठमाडौं:   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेपलाञ्चोकको धुलिखेल मालपोत कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको छ । आयोगका अनुसार भण्डारीले साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गा धनीको नाममा छुट दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा टोली खटाइएको थियो । भण्डारीलाई सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।  आयोगले भण्डारीसहित बरामद गरिएको नगद र एक थान मोबाइल डिभाइस पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

अर्घाखाँची:  आफ्नै श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरेको आरोपमा छत्रदेव गाउँपालिका-४ पातले बस्ने ३६ वर्षीय किरण गुरूङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । किरणले सुनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  प्रहरीले भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा सुनिताको शव फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पोखरा:  पोखरामा बालिकालाई ललाई फकाई गरी विभिन्न प्रलोभन देखाई यौन धन्दामा लगाएको आरोपमा प्रहरीले खाजाघर सञ्चालक सिन्धु किसानलाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–३ नालामुखस्थित सिन्दु खाजाघर सञ्चालक २३ वर्षीय सिन्धु किसानलाई बालिकालाई ललाई फकाई यौन धन्दामा लगाएको गोप्य सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए ।  पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसार पसार मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा: पोखरा महानगरपालिका–२ बागलुङ बसपार्कस्थित रहेका १९ खाजाघर सञ्चालकहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।  बागलुङ बसपार्कस्थित सञ्चालित खाजाघरहरुमा होहल्ला भई अनैतिक गतिविधि भइरहेको सूचनापछि खटिएको प्रहरीले टोलीले शुक्रबार १९ वटा खाजाघरका सञ्चालकलाई पक्राउ गरेको हो ।  खाजाघर सञ्चालन गरेर लागूऔषध सेवन कर्ताको अखडा बनाई होहल्ला गर्ने, यौनजन्य गतिविधिहरुमा संलग्न हुने एवं सो एरिया आसपासमा अशान्ति मच्चाउने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए ।  पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा,सुविधा र नैतिकता विरुद्धको कसूरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

रौतहट: रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका लक्ष्मण पासवानलाई प्रहरीले पक्राउ गरेको छ। माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फ आमाको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा उनले आफ्नै शरीरमा आगो लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। गम्भीर घाइते अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि गौर लगिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार पासवानलाई नियन्त्रणमा लिएर उपचारसँगै अनुसन्धान सुरु गरिएको हो ।

चितवन:  जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ ।  भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो । उक्त कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बेचिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।  भारतको विहार राज्यको  पश्चिम चम्पारण एक युवक पनि पक्राउ परेका छन् । 

झापा:  झापाको शिवसताक्षी नगरपालिका–८ स्थित झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुन चोरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २९ गते कमल गाउँपालिका–६ का ३० वर्षीय मनोज लिम्बू दोमुखाबाट घर फर्कने क्रममा झिलझिले बजारमा स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेका थिए ।  स्थानीयवासीले उनलाई एम्बुलेन्समा राखेर अस्पताल पठाउने क्रममा घाँटीमा लगाएको ५६ ग्राम २५ मिलीग्राम तौलको सुनको सिक्री हराएको जनाउँदै साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।    अनुसन्धानका क्रममा उक्त सिक्री घाइतेको उद्धारमा संलग्न शिवसताक्षी–८ का २८ वर्षीय सुरज हलुवाई र २६ वर्षीय गोबिन हाङ लिम्बूले चोरी गरेको खुलेको उनले बताए । साउन ३२ गते साँझ गणेश चोकबाट उनीहरूलाई नियन्त्रणमा लिँदा ३९ ग्राम २२ मिलीग्राम तौल भएको सिक्रीको टुक्रा र रु ३० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा:  पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति सदस्य भावना श्रेष्ठ र रविन कुमार श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। बाटोको निकास सम्बन्धी विवादमा निवेदक रहेका रविन र भावना माथि दुई लाख विगो र जरिवाना माग गरी आरोप(पत्र दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार न्यायिक समिति सदस्य श्रेष्ठलगायतलाई बाटोको विवादसम्बन्धी मुद्दामा निर्णय गर्दा आफ्नो पक्षमा पार्नका लागि रविन कुमारले २ लाख घुस दिएको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा पोखरा महानगरपालिका कास्कीका न्यायिक समितिमा विचाराधीन पोखरा २६ को बाटोको निकाससम्बन्धी विवादमा निवेदक रविन कुमारले न्यायिक समिति सदस्य श्रेष्ठलाई २ लाख घुस दिएको पुष्टि हुन आएको अख्तियारको ठहर छ।