बाँके: नेपालगञ्जमा एक युवकले प्रेमिकाको हत्या गरेका छन्। दैलेख घर भई नेपालगन्जको बीपीचोकस्थित सुनाखरी रेस्टुरेन्टमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या भएको हो। बेलासपुरस्थित कोठामा सलले घाँटी कसेर उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। युवती हत्या आरोपमा बर्दिया घर भई नेपालगन्जस्थित स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत ३५ वर्षीय प्रकाश सुनारलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई फोन गरेर हत्याको जानकारी दिएका प्रहरीले जनाएको छ। निर्मलाको हत्यापछि राति २ बजे उनी आफैँ जिल्ला प्रहरी कार्यालय बाँके पुगेर आफूले प्रेमिकाको हत्या गरेको जानकारी गराएका थिए। प्रकाश विवाहित रहेको प्रहरीले जनाएको छ। उनका श्रीमती, एक छोरा र एक छोरी बर्दियामै बस्दै आएका छन्। प्रकाश र निर्मला विगत तीन वर्षदेखि नेपालगन्ज १२ बेलासपुरमा सँगै बस्दै आएका खुलेको छ। हत्याको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
पोखरा: गोरखाको अजिरकोट गाउँपालिका–३ का प्रकाश गुरुङ लागूऔषधसहित पोखरामा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३२ लामेआहाल स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा ग ६ प १६३० नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई प्रहरीले लागूऔषधसहित मंगलबार पक्राउ गरेको हो । पक्राउ परेक गुरुङको साथबाट प्रहरीले २ केजी ९ सय ग्राम लागूऔषध, १ थान मोबाइल र १ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेक उनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: पोखरामा आफ्नै नवजात शिशुको हत्या आरोप बुवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले नवजात शिशुको हत्या गरेको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई पोखरा नागढुङ्गा बस्ने ३७ वर्षीय गोविन्द लामिछानेलाई आइतबार पोखरामा पक्राउ गरेको हो । गतवर्षको असोज १३ गते पोखरा महानगरपालिका–१४ चाउथे स्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा नवजात शिशुको शव फेला परेका थियो । जेब्रा झोलामा भेटिएको नवजात शिशुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि शिशुको घाँटी र टाउकोमा चोटका कारण मृत्यु भएको रिपोर्टपछि शिशुको बुवाले नै हत्या गरेको खुल्न आएपछि लामिछानेलाई १० महिनापछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । श्रीमतीलाई सुत्केर बेथालागी उपचारको लागि जाँदा पक्राउ परे लामिछाने गतवर्षको असोजमा आफ्नै नवजात शिशुको हत्याको आरोपमा फरार लामिछानेलाई श्रीमतीलाई सुत्केरी बेथालागी उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा लैजादा गर्दा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले यादवलाई पक्राउ गरेको हो । आरोपी यादवको साथबाट रु सात लाख ३१ हजार रकमसहित डिभिजन वन कार्यालयबाट सोमबार साँझ पक्राउ गरेको हो । आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगक प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
पोखरा: पोखरामा १२ लाख ३० हजार रुपैयाँ चोरी गरेको आरोपमा ओमबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ५ मालेमाटनस्थित दाङ भ्याली फ्रेस हाउसका सञ्चालक संगिता भण्डारीको कोठाभित्र दराज राखिएको १२ लाख ३० हजार रुपैयाँ शुक्रबार चोरी भएको थियो । पक्राउ परेका ओमबहादुर भुजेलको साथबाट प्रहरीले बरामद गरेको नगद । फोटो कास्की प्रहरी पैसा चोरी भएको सूचनापछि अनुसन्धानका लागि खटिएको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले माछापुच्छे गाउँपालिका ९ स्याथी घर भएका २३ वर्षीय ओमबहादुरलाई ९ लाख ९७ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेका भुजेलको साथबाट प्रहरीले २ थान मोवाईलसमेत बरामद गरेको छ । उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेल घुसहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, पोखराबाट खटिएको टोलीले पौडेललाई मंगलबार ७ हजार घुससहित पक्राउ गरेको हो । सवारी चालक अनुमति पत्रको अनलाईन फारम भरिदिने र लिखित परीक्षामा उत्तीर्ण गराई परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ । पक्राउ परेका पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ फेदीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । फेदीमा जुवतास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलिले ५ जनालाई ७३ हजार ४ सय १० रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–७ बस्ने ४१ वर्षीय बिनोद गुरुङ, ५३ वर्षीय धिर बहादुर गुरुङ, ४७ वर्षीय कृष्ण बहादुर गुरुङ, ल्वाङघलेल बसने ४० वर्षीय चन्द्रमान तामाङ र पोखरा २५ बस्ने गंगा बहादुर थापा छन् । पक्राउ परेका उनीहरुलई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरी अनसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । ्
सुनसरी: सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । घरेलु विवाद हुँदा भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले गोली प्रहार गरेका जनाइएको छ । गोली प्रहारबाट अर्चनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । गोली प्रहार गरेलगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा बसमा सवार महिलाले घाँटिमा लगाएको सुनको सिक्री चोरी गरी फरार रहेका २ जना काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ घर भइ हाल काठमाडाैं गोकर्णेश्वर नगरपापालिका ४ बस्ने वर्ष २८ को अन्जन तामाङ र वर्ष ३२ को सुरेश तामाङ रहेका छन् । प्रहरीका अनुसार २९ चैत्र २०८१ मा साँझ सवा ५ बजे अम्मरसिंह चोकबाट लेखनाथ तर्फ जाँदै गरेको बसमा सवार एक जना महिलाले घाँटिमा लगाएको २ तोलाको सुनको सिक्री पोखरा महानगरपालिका १० शिवचोक पुग्दा सोही बसमा सवार उनीहरुले उक्त सिक्री चोरी तथा लुटपाट गरी फरार रहेका थिए । उक्त सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी परिचालन भई अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न उनीहरुलाइ यही असार २५ गते बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंको सहयोगमा काठमाडौं ४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

