पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले गत माघ महिनामा १ सय ५३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्धामा दोषी ठहर भएका ति प्रतिवादीहरुलाई फैसला कार्यान्वयनका लागि कारागार चलानका लागि अदालतमा बुझाइएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्सपेक्टर अविनाश दिप जिसीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा १ सय २५ जना पुरुष र २८ जना महिला रहेका छन् । पक्राउ पर्नेहरुबाट ५ वर्ष २ महिना १६ दिन कैद सजाय र नगद रु १ करोड ५२ लाख ४८ हजार ८ सय ८६ जरिवाना असुल गर्नुपर्ने बताइएको छ । पक्राउ परेकाहरुमध्ये ९६ जना चेक अनादर मुद्धा, १४ जना लागू औषध सम्बन्धि मुद्दा, १८ जना बैंकिङ कसूर मुद्धा, ५ जना अभद्र व्यवहार मुद्दा, २ जना न्यूनस्तरको खाद्य उत्पादन विक्री गरेको सम्बन्धी मुद्धा, २ जना स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा सम्बन्धि मुद्धा, १ जना सवारी ज्यान मुद्धा, १ जना कुटपिट मुद्धा, ४ जना जालसाझी मुद्धा, १ जना लेनदेन मुद्धा र ९ जना चोरी मुद्धामा दोषी ठहर भएका थिए ।
काठमाडौं: बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले हिजो रातिदेखि आज बिहानसम्म गरिएको अपरेशनमा २३ जनालाई पक्राउ गरी उनीहरूसँग रहेका ८८ मोबाइल, १० ल्यापटप र रु ८१ हजार नगद बरामद गरिएको जानकारी दिनुभयो । स्थानीय दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
तनहुँ: व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो । कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ । शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । उनीहरुविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।
सर्लाही: प्रहरीले नक्कली भारतीय नोटसहित सर्लाहीबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत सीतामढी पुरान्दा राजवाडा–९ बस्ने २७ वर्षीय मुकेशकुमार सोनी रहेका छन्। उनलाई शनिबार साँझ ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोट बरामद भएको छ। सोही ठाउँस्थित किराना पसलमा कुमारले सामान किनेपश्चात नक्कली नोट दिएको भन्ने खबर प्रहरीमा पुगेको थियो। अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको थियो । प्रहरीले उनले प्रयोग गरेको बिआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
लमजुङ: बेसीशहर नगरपालिका ८ सेराचोकस्थित सन्जु गुरूङको रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बस्ने ४१ वर्षीय अजित बस्नेतसहित ६ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ हजार ६ सय २० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । साे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
वैदेशिक रोजगारीका लागि अमेरिका र क्यानडा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४२ वर्षीय नितेश पोखरेल रहेका छन् । पक्राउ पर्नेमध्ये भुवनले अमेरिका पठाइदिने भनदै ३ जना पीडितहरूबाट १ करोड रूपैयाँ र नितेशले क्यानडा पठाइदिने भन्दै ४ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए । त्यसपछि पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भुवनलाई काठमाडौं महानगरपालिका–१२ बाट सोमबार र नितेशलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–३ बाट मंगलबार पक्राउ गरेको हो । भुवनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र नितेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसबाट १४ लाख ७४ हजार रुपैयाँ चोरी भएको उजुरीपछि पूर्व कामदार २ जना पक्राउ परेका छन् । कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका १० का २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका ३ की २९ वर्षीया पूजा श्रेष्ठ रहेकी छिन् । उनीहरुलाई बुटवल प्रहरीको सहयोगमा बुटवल उपमहानगरपालिका ११ कालिकानगरको एक होटलबाट नगद १२ लाख ५२ हजार ५८० रुपैयाँसहित पक्राउ गरि पोखरा ल्याइएको हो । उनीहरु उक्त पार्टी प्यालेसमा करिब ४ महिनाजति वेटरका रुपमा काम गरेका थिए । श्रेष्ठ द्वयले गत ८ माघमा मात्र जागिर छाडेका थिए । उनीहरू पतिपत्नी नभएपनि लिभिङ टुगेदरमा रहेको बताइएको छ । पक्राउ परेका द्वयलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
धनगढी: कैलालीमा भाइले कैँची प्रहार गरी सहोदर दाजुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका –१७ दीपनगरका ३० वर्षीय प्रकाश बोहराले शनिबार राति आफ्नो दाजु ३५ वर्षीय लालबहादुरको हत्या गरेका हुन् । घरायसी विवादमा प्रकाशले आफ्नो दाइलाई कुटपिट गर्नुका साथै घाँटीमा कैँची प्रहार गरेको जनाइएको छ । कैँची प्रहारबाट गम्भीर घाइते लालबहादुरलाई उपचारका लागि राति नै धनगढीस्थित निसर्ग अस्पतालमा लगिए पनि उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । दाइको हत्या गर्ने भाइलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
काठमाडौं: मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने विनोद पौडेल रहेका छन् । एनसिबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस १२ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिआएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।