पोखरा: गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ सिल्डमा कास्की च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रंगशालामा मंगलबार सम्पन्न प्रतियोगितामा कास्की कुल ३२ पदक प्राप्त गर्दै टिम च्याम्पियन बनेको हो । कास्कीले १४ स्वर्ण, १३ रजत र ५ कास्य पदक जित्दै नगद ३० हजार हात पारेको छ । यसै गरी गत वर्षको च्याम्पियन बागलुङ यस पटक भने दोश्रो भएको छ । प्रतियोगितामा बागलुङ १० स्वर्ण, ५ रजत र १० कास्य पदक गरी कुल २५ पदकका साथ दोश्रो स्थान प्राप्त गरेको छ भने नवलपुर ७ स्वर्ण, ३ रजत र ८ कास्य गरी कुल १८ पदक जित्दै तेश्रो स्थान हात पारेको छ । दोश्रो भएको बागलुङले नगद २० हजार र तेश्रो हुन सफल नवलपुरले नगद १० हजार प्राप्त गरेका छ । यता मंगलबार नै सम्पन्न छात्र भलिबल फाइनलमा नवलपुर विजयी भएको छ । नवलपुरले २८-२६, २५-२० ले बागलुङलाई पराजित गरेको हो भने पर्वतले गोरखालाई २५-२०, २५-१८ ले जित्दै तेश्रो भएको छ । त्यस्तै छात्रा भलिबलमा कास्कीले बाजी मारेको छ । कास्कीले स्याङजालाई २५-१८, २५-२१ ले फाइनल खेल जित्दा म्याग्दीले तनहुँलाई २५-२०, १९-२५ र २५-१९ ले जितेर तेश्रो भएको छ । सम्पन्न एथलेटिक्सतर्फ कास्कीले ६ स्वर्ण ८ रजत पदक जित्दै प्रथम भएको छ भने नवलपुर ५ स्वर्ण, १ रजत र ५ कास्य पदक जितेर दोश्रो र स्याङजाले ४ स्वर्ण र १ कास्यका साथ तेश्रो भएको छ । यसै गरी कबड्डी छात्रतर्फक कास्की प्रथम भएको छ । कास्कीले म्याग्दीलाई ४३ का विरुद्ध ४५ अंकले पराजित गर्दै पहिलो भएको हो भने बागलुङ र गोर्खा तेश्रो भएका छन् । छात्रा कबड्डीतर्फ बागलुङले तनहुँलाई ६६ का विरुद्ध २० अंकले पराजित गर्दै पहिलो हुँदा नवलपुर र स्याङजा तेश्रो भएका छन् । मार्शल आर्ट उशुतर्फ समग्रमा बागलुङले ४ स्वर्ण २ रजतका साथ पहिलो, कास्की २ स्वर्ण र २ रजत र २ कास्य पदकका साथ दोश्रो म्याग्दी २ रजत र ५ कास्य पदकका साथ तेश्रो हुँदा तेक्वान्दोतर्फ म्याग्दीले २ स्वर्ण १ रजत, कास्कीले २ स्वर्ण, २ रजत र १ कास्य तथा नवलपुर १ स्वर्ण २ रजत १ कास्य पदकका साथ क्रमश पहिलो, दोश्रो र तेश्रो भए । यस्तै करातेतर्फ म्याग्दी जिल्ला प्रथम भएको छ । दुई दिन सम्म चलेको प्रतियोगितामा कुल ६ वटा खेलहरु भएका थिए । जस मध्ये मार्शल आर्टतर्फ छात्र÷छात्रा तेक्वान्दो, कराते र उशु तथा टिम इभेन्ट तर्फ एथलेटिक्स, कबड्डी र भलिबल भएका थिए । विजेता टिम तथा खेलाडीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव हेमराज सुवेदी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, परिषदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र ऋषीराम गौतम लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रम प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेलको अध्यक्षतामा भएको थियो । उक्त प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु यहि बैशाख १५ गतेबाट काठमाण्डौमा सुरु हुने तेह्रौं केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन १४ गते प्रस्थान गर्नेछ ।
नवलपुर: गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा थापाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ । गत मंसिर ४ मा सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा नवलपुरको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार रहनुभएका थापामगरले चुनावमा कुल ७ लाख ५० हजार ४७५ खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार चुनाव प्रचारप्रसारको प्रयोजनमा सो रकम खर्च भएको हो । सो निर्वाचनमा सवारीसाधन, छपाई, कार्यालय सञ्चालन, प्रचार प्रसार सामाग्री लगायत विभिन्न शिर्षकमा ७ लाख ५० हजार ४७५ खर्च भएको थियो । कुन शिर्षकमा कति खर्च ?
प्रदेश प्रमुखको कार्यालय, गण्डकीले आगामी १४ गते बिहीबार नयाँ सरकार गठनकालागि आव्हान गरेको छ । प्रदेशले हालै विज्ञप्ती जारी गरी उक्त दिन ४ बजे सरकार गठन गर्न आव्हान गरेको हो । सरकार गठन गर्न प्रदेशले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आव्हान गरिएको छ । उक्त धाराको उपधारामा ‘ प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ’ उल्लेख छ । जसअनुसार नेपाली कांग्रेस वा नेकपा माओवादी केन्द्रमध्ये एक दलका नेता मुख्यमन्त्री हुने सम्भावना रहेको छ । गण्डकीमा कांग्रेस र माओवादी दुबैले आलोपालोको सहमति गरेको जिम्मेवार नेताहरुले बोलिसकेका छन् । यदि आलोपालको सहमति भएको हो भने संसदीय दलका नेताकारुपमा कांग्रेसबाट सुरेन्द्रराज पाण्डे र माओवादीबाट हरिबहादुर चुमानलाई गण्डकीवासीले मुख्यमन्त्रीकारुपमा देख्न पाउनेछन् । प्रदेशमा २७ सांसद रहेको कांग्रेस ठूलो दल हो भने माओवादीसँग ८ सदस्य रहेको छ । सिटको आधारमा कांग्रेसले मुख्मन्त्रीको दाबी गरिरहेपनि यसको छिनोफानो गण्डकीबाट नहुने प्रष्ट देखिएको छ । यसैबीच, माओवादीबाट संसदीय दलका नेता चुमानले माओवादीले सुरुबाटै मुख्यमन्त्रीमा दाबी गरिरहेको बताएका छन् । चुमान भन्छन् ‘हाम्रो दाबीमात्र हैन सहमति नै भएको छ ।’ तर सहमति नै भएपनि पहिला कसले मुख्यमन्त्री पाउने भने टुंगो लाग्न बाँकी रहेको चुमानले बताए । ‘कांग्रेस र हामीबीच को पहिला मुख्यमन्त्री भन्ने कुरा हो’ चुमानले भने ‘यसमा निर्णय गर्ने काम माथि (केन्द्र)बाट हुन्छ । हाल गठबन्धनको सरकार रहेको उल्लेख गर्दै नेता चुमानले माथिबाट भएको निर्णय स्वीकार्न दुबै तयार रहेको जनाएका छन् ।
गत शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परी बाहिरिएपछि रिक्त रहेको पदमा आजसम्म प्रतिपक्ष दलले दाबी गर्न पाएका छैनन् । नयाँ मुख्यमन्त्री चयन गर्न प्रदेश प्रमुखले आव्हान गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले जनाएअनुसार आजै प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्ले मुख्यमन्त्री दाबीकालागि आव्हान गर्ने तयारी गरिरहेको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले अहिले यही विषयमा काम भइरहेको जनाउँदै प्रमुख गुरुङले आव्हान गर्ने जनाए । ‘प्रदेश प्रमुखको कार्यालय यही काममा जुटिरहेको छ’ प्रवक्ता अर्याल भन्छन् ‘अबको केही समयमा मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखबाट आव्हान हुनेछ ।’ यद्यपि, प्रदेश प्रमुखबाट संविधानको धारा १६८ को कुन उपधारामार्फत आव्हान हुनेछ भन्ने विषयमा भने कुनैपनि जानकारी दिइएको छैन । ‘यस विषयमा केही समय कुर्नैपर्ला’ अर्यालले भने । धारा १६८ को उपधारा (१) मा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ’ उल्लेख छ । त्यस्तै, (२) उपधारा (१) बमोजिम ‘प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।
पोखरा: गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सभाको यस अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएकामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामा उहाँले विश्वासको मत प्राप्त गर्न सक्नुभएन । मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको विषय यतिखेर चर्चामा छ । केन्द्रमा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनको गण्डकीमा स्पष्ट बहुमत रहेका अवस्थामा अब बन्ने सरकारको गठन कसरी हुने भन्ने विषयलाई महत्त्वका साथ हेरिएको छ । संविधानले गरेको व्यवस्थाअनुसार धारा १६८ को उपधारा १ मा बहुमत प्राप्त दलले सरकार गठनका लागि दाबी पेस गर्ने उल्लेख छ । कुनै एक दलको बहुमत नभएका अवस्थामा उक्त धाराकै उपधारा २ अनुसार सरकार गठन हुने व्यवस्था छ । सो उपधारामा दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यले सरकार बनाउने गरी दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, उपधारा ३ मा प्रदेशसभाको सबैभन्दा ठूलो दललाई प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था छ । अधिकारी नेतृत्वको सरकारले शनिबार विश्वासको मत नपाएसँगै नयाँ सरकार गठन गर्न आह्वान हुनुपर्ने भए पनि प्रदेश प्रमुख गुरुङ काठमाडौँ रहनुभएको र आइतबार मात्रै पोखरा फर्कनुभएकाले ढिलाइ भएको छ । प्रदेश प्रमुख पोखरा आएसँगै सरकार गठनका लागि आवश्यक कानूनी परामर्श सुरु गर्नुभएको र सोमबार सम्म आह्वान हुन सक्ने प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएका छन् । शनिबार प्रदेशसभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउन सकेनन् । विश्वासको मत नपाएसँगै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री अधिकारीको विश्वासको प्रस्तावको पक्षमा बैठकमा उपस्थित ५९ सांसदमध्ये २४ मत पर्यो । यस्तै, विश्वासको प्रस्तावको विपक्षमा ३५ मत पर्यो । मुख्यमन्त्री अधिकारीलाई सरकार टिकाइराख्न ३१ मत कायम राख्नु पर्दथ्यो । तर, उनका पक्षमा २४ सांसदले मात्रै मत दिए । ६० सदस्यीय गण्डकी प्रदेशमा , कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ७ (सभामुखबाहेक) , राप्रपाको २ र एकजना स्वतन्त्र सांसद छन् । नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता उत्पन्न भएको थियो ।
पोखरा: गण्डकी प्रदेशसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले नेकपा एमालेका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेपछि दलको तर्फबाट बोल्दै नेता चुमानले विभिन्न कारण देखाउँदै विश्वासको मत दिन नसकिने बताएका हुन् । प्रदेश सभामा कुनै पनि राजनीतिक दलको बहुमत नआउँदा गण्डकीमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका नेता खगराज अधिकारी राप्रपा माओवादीको समर्थनमा पुस ५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारीले नेतृत्व गरेको सरकार अल्पमतमा परेसँगै आज विश्वास मत लिदैं छ ।
पोखरा: गण्डकी प्रदेश सभा सदस्य लिलबहादुुर थापामगरले केही राजनीतिक दल सत्ता मोहको लागि ओल्लो र पल्लो घर सर्दा राजनीतिक फोहोरी खेल बताएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेपछि दलको तर्फबाट बोल्दै उनले राजनीतिक दलहरुमा सत्ता मोह हुँदा राजनीति फोहोरी खेल भएको बताएका हुन् । ‘यो राजनीतिलाई फोहोरी खेल कसरी बनाउन थाल्यौ, कहाँ देखि सुरु गर्न थाल्यो, त्यसको जिम्मेवार दलहरु बन्ने कि नबन्ने, बन्न पर्छ, सांसद थापामगरले भने, ‘दुई महिना अगाडि यता थियौं, आज उता छौं, कहिले फेरी यता आउने हो, यता र उता गर्दा राजनीतिक फोहोरी खेल भयौं अब सच्चिनुपर्छ ।’ उनले मुख्यमन्त्री अधिकारीलाई नै विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गर्दै सबै दल मिलेर मिलिजुली सरकार बनाउन प्रस्ताव समेत गरेका छन् । सांसद थापमगरले प्रदेश सभामा समाहित रहेका सबै दल मिलेर प्रदेश सरकार संचालन गर्नुपर्ने बताए । ‘सबै ६ वटै दल मिलेर पालै पालो प्रदेश चलाऔ न, उनले भने, ‘कस्ले कति काम गर्न सक्छ पछि मुल्यांकन गरौला । त्यसैले मुख्यमन्त्री अधिकारीलाई आज मत दिऔं ।’
बलेवा: सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो । गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठुरे राष्ट्रिय वनमा आगलागी भएको थियो । चार दिनसम्म फैलिएको आगलागीले दुई सय हेक्टर वन क्षेत्र मासेको डिभिजन वन कार्यालय बागलुङको तथ्याङ्क छ । गतमाघदेखि सुरु भएको आगलागीको शृङ्खला रोकिएको छैन । बस्ती नजिकैका सामुदायिक तथा निजी आवादी वन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताउनुभयो । जानीजानी वा दुर्घटनावश बिहीबारसम्म बागलुङका २२ वनमा डढेलो लागेको तथ्याङ्क छ । केही तथ्याङ्क भने आउनै बाँकी छ । यस वर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका वनमा भएको छ । बागलुङ नगरपालिकाका छ सामुदायिक वन र एक ठाउँमा राष्ट्रिय वन क्षेत्रमा आगलागी भएको हो । जैमिनी नगरपालिकाका पाँच, बडिगाडका तीन, काठेखोलाका दुई र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकाको एक÷एक वनमा आगलागी भएको छ । जिल्लामा एक लाख पाँच हजार पाँच सय एक हेक्टर जमिनमा वन फैलिएको छ । जिल्लाभर पाँच सय २७ सामुदायिक वन ३३ हजार नौ सय नौ हेक्टरमा फैलिएका छन् भने, आठ दर्ता भएका निजी र बाँकी राष्ट्रिय वनक्षेत्र रहेको सहायक वन अधिकृत मदन कँडेलले बताउनुभयो । गतवर्ष हिउँदमा वर्षा हुँदा बागलुङका वनक्षेत्रमा आगलागी भएको थिएन । एकाध वन क्षेत्रमा लागेको आगो समयमै स्थानीयले नियन्त्रणमा लिएका थिए । यस वर्ष हिउँदमा सुक्खा हुँदा अधिकांश वनक्षेत्र आगलागीको जोखिममा परेको वन अधिकृत अधिकारीले बताउनुभयो । वर्षा नभएसम्म बाँकी रहेका वन क्षेत्रसमेत आगलागीको जोखिममा छन् । जङ्गली जनावरबाट बच्न, वर्षायाममा मल हुने लोभलगायतका कारणबाट वनमा आगो लगाउने गरेको पाइन्छ । खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई क्षति हुने गरेको छ । वनजङ्गलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइप पोलिएर कैयौँ ठाउँमा खानेपानीको समस्या छ भने कतिपय जङ्गल क्षेत्रमा रहेका महत्वपूर्ण जडीबुटी जलेका छन् ।

