कास्कीः नेपाली काँग्रेसका तर्फबाट माछापुच्छ्रे गाउँपालिकाका उम्मेदवारहरुले मतदातामाझ पारदर्शीताको प्रतिबद्धता गरेका छन् । अहिलेको स्थानीय सरकारले विभिन्न क्षेत्रमा हिनामिना गरेको आरोप लगाउँदै काँग्रेसले पालिकाको नेतृत्व लिइरहँदा हरेक कुरामा पारदर्शीता रहने बताए । माछापुच्छ्रे ६ धितालमा आयोजित सभामा बोल्दै पालिका अध्यक्ष उम्मेदवार मिन बहादुर गुरुङले हरेक कार्यक्रम, आयोजना लगायत सबै क्षेत्रमा पारदर्शीता महत्वपुर्ण भएको बताए । उनले भने ‘अहिले नेतृत्व गरिरहेकाहरुले कति हिनामिना गरे त्यसको हिसाबकिताब छैन । कहाँ कति के भयो रु केही पारदर्शीता अपनाइएन । हामी यो कुरामा सचेत छौँ । म प्रतिबद्धता ब्यक्त गर्दछु, हाम्रा सबै कुराहरु पारदर्शी हुनेछन् ।’ गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले पनि पारदर्शी हुनुपर्ने कुरामा प्रतिबद्धता जनाइन् । हालको नेतृत्वले गर्नुपर्ने महत्वपुर्ण कार्यहरुपनि नगरेको बताउँदै उनले व्यवहारतः गर्न सकिने कार्यहरु नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै गरिने विश्वास दिलाइन् । भनिन् , ‘यहाँ कति हुनुपर्ने थियो, कति भयो । बोलिरहनै पदैन, तपाईहरुले नै देख्न सक्नुहुन्छ । हामी आएपछि यो अवस्था रहिरहँदैन । बोल्नै मात्रै भन्दापनि पहिलो दिनदेखि नै हामीले गर्नुपर्ने कामहरु सुरु गरिहाल्छौँ ।’ , माछापुच्छ्रे वडा नं ६का अध्यक्ष उम्मेदवार उदयकुमार नेपालीले युवा नेतृत्वका लागि अवसर प्रदान गर्न आग्रह गरे । पालिकाको विकासकालागि पार्टीले युवा नेतृत्वलाई अघि सारेको बेला मतदाताहरुलाई अवसर खेर जान नदिन आह्वान गरे । ‘युवा नेतृत्व स्थापीत गर्न पार्टीले हामीलाई अघि सारेको छ । यो महत्वपुर्ण अवसर हो । हामीलाई स्थापीत गराउने जिम्मा तपाईहरुलाई छ’ उनले भने‘यो अवसरलाई खेर जान नदिनुस् । अवसरलाई सदुपयोग गर्दै हामीलाई विजयी गराउनुहुनेछ भन्नेमा हामी ढुक्क छौँ।’ वडा नं ६मा वडाध्यक्षमा नेपालीसँगै महिला सदस्यमा चिजा तामाङ, दलित महिला सदस्यमा सपना सुनार, वडा सदस्यमा भिमराज पौडेल‘बिशाल’ र अनिल गुरुङ उम्मेदवार छन् । कार्यक्रममा पार्टीका प्रदेश कोषाध्यक्ष गिता क्षेत्री, जिल्ला सदस्य सुदिप गौतम, महासमिति सदस्य विष्णु क्षेत्री, टेकनशोभा गुरुङ, गाउँपालिका सभापति बिरेन्द्र गुरुङ, युवा नेता राजाराम पौडेल, धिताल शिक्षक संघका रुद्र अधिकारी लयागतले मन्तब्य राखेका थिए । काँग्रेसको पक्षमा माहौल बढेको उल्लेख गर्दै उनिहरुले जित सुनिश्चित रहेको बताए । पार्टीका कार्यकर्ता, नेता एवं शुभेच्छुकहरुको उल्लेख्य सहभागितामा माछापुच्छ्रे काँग्रेसले बिहीबार वडा नं ६ का अन्तर्गत अस्ताम, भिडाबारी, ओखरी, ढुलो ढुङ्गा लगायतका क्षेत्रमा घरदैलो तथा सभाहरु सम्पन्न गरेको हो ।
पाेखराः पाेखरा महानगरपालिकामा नेकपा एमालेका मेयर प्रत्यासी कृष्णबहादुर थापाले अप्ठेराे अवस्थामा पाेखरामा विकासकाे सुरुवात गरेकाे बताउँदै साढे ४ अर्ब रुपैयाँ लागतकाे खानेपानी याेजना साक्षी बसेर ल्याएकाे बताएका छन् । नेकपा एमाले पोखरा -१५ ले मेयर र उपमेयरका उम्मेदवारसहित घरदैलो कार्यक्रममा थापाले पोखरामा झन्डै साढे ४ अर्वको खानेपानीको योजना आफू स्वयं साक्षी बसेर ल्याएको र यसै योजनाको तेस्रो फेजको निर्माण तथा विस्तार कार्य अहिले चलिरहेको उनले दाबी गरे। अप्ठेरो अवस्थामा हिजो पोखरामा विकासका कार्यहरुको थालनी गरेको बताउँदै उनले पोखरा महानगरको मेयरमा मान बहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङको नेतृत्वले पनि विगतमा गरेका कामलाई निरन्तरता दिएको बताए। घरदैलो कार्यक्रममा वडावासीले देखाएको माया र विश्वासले विगतमा जस्तै आगामी निर्वाचनमा पनि एमालेले अत्याधिक मत पाएर बिजयी हुने बताए। थापाले ३४ वर्षको उमेरमै आफू मेयर हुने अवसर प्राप्त गरेको भन्दै यो बीचमा धेरै अनुभवहरु सँगालेको बताए। २०५२ सालदेखि शुरु भएको माओवादी युद्ध र त्यसले निम्त्याएको ध्वंस अनि २०५९ साल असार ३१ गते तत्कालिन गठबन्धनका प्रधानमन्त्री शेर बहादुर देउवाले जननिर्वाचित संस्थाहरुलाई अपदस्त गरेको स्मरण गर्दै त्यसपछि लगातार १५ वर्ष स्थानीय तहमा कुनैपनि निर्वाचन नभएको र उक्त भयावह अवस्था आफूहरुले नजिकबाट देखेको बताए । थापाले अमरसिंहचोकदेखि तल झर्न अत्यन्त विकट रहेको अवस्थामा बाच्छेबुडुवामा ल्याण्डफिल्ड साइटको निर्माण गरेपछि यस क्षेत्रमा पहिलो पटक बाटो बनाएको बताए । उनले फेरी एउटा सुखद सौभाग्य मिलेको भन्दै देशकै उत्कृष्ट उपमेयरको निरन्तरता, २०५४ सालदेखि काम र अनुभवले खारिएको आफू र आशा गरिएका युवा नेतृत्व तोरण बानियाँ र उनको टीमले काम गर्नेमा विश्वस्त हुन वडावासीलाई आग्रह गरे। उनले भने - "यो वडाको बाँकी रहेका सम्पूर्ण विकास हामीलाई गर्ने मौका दिनुहोस्, हामी गरेर देखाउँछौँ।" यस्तै, उपमेयर पदकी मञ्जुदेवी गुरुङले आफूहरु निर्वाचित भएर आइसकेपछि यस वडामा धेरै कामहरु भएको बताइन्। उनले वडाका नागरिकहरुले सुरक्षाको अनुभूति गर्न पाउनुपर्छ भनेर सबैभन्दा पहिले यसै वडामा सिसिटिभी क्यामेरा जडान गरिएको बताइन्। उनले अझ कतिपय कामहरु गर्न बाँकी रहेको र कतिपय कामहरु प्रक्रियामा रहेकोले ती कामलाई पूर्णता दिँदै अन्य कामलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिवद्धता जनाइन्। नेकपा एमाले ज्येष्ठ नागरिकको सम्मान गर्ने पार्टी भएकाले यो बीचमा गठबन्धन या परमादेशको सरकार नआएको भए अहिलेसम्म वृद्धभत्ता सम्भवतः ५ हजार पुग्ने उनको बताइन्। उनले गठबन्धनको टोलीमा धेरै चिन्ह अंकित झन्डाहरु रहेकोले मतदान गर्न गाह्रो र झन्झटिलो हुने भन्दै नेकपा एमालेको सूर्य चिन्ह सिङ्गो एउटा मात्र भएकाले मतदान गर्न सजिलो हुने बताइन्। यस्तै, वडा नं -१५ का अध्यक्ष पदका उम्मेदवार तोरण बानियाँले यहाँको समाज, यहाँका जनता र यस क्षेत्रको विकासका लागि हर समय तल्लिन भएर समस्यालाई समाधान गर्न अग्रसर हुने बताए। बानियाँले एकैचोटी यो समाजको नेतृत्व गर्छौं भनेर आएको नभै धेरै अगाडिबाट मेहेनत गर्दै संघर्ष गरेर सामाजिक काममा समर्पित रहँदै आएकाले हिजो गरेका कामको कारणले पनि यहाँका जनताले विश्वास गरेर भारी मतले बिजयी गराउने आशा व्यक्त गरे। उनले घरदैलोका क्रममा जनतासँग धेरै वाचाहरु गरेकाले आउँदो ५ वर्ष भित्र आवश्यकता र औचित्यका आधारमा एकपछि अर्को गर्दै सबै वाचाहरु पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रमको संचालन वडा कमिटि सचिव तथा न्यायिक समिति सदस्य पार्वती कार्कीले गरेकी थिइन् । सभामा जिल्ला कमिटि कास्कीका इन्चार्ज भिम कार्की, वर्तमान वडा अध्यक्ष तथा इन्चार्ज प्रकाश पौडेल, पूर्व अध्यक्ष तथा निर्वाचालन परिचालन कमिटिका संयोजक शिव बहादुर भण्डारी, शिव बहादुर बानियाँ, पूर्व सदस्य ललित बहादुर भण्डारीलगायतको उपस्थिति रहेको थियो।
पोखरा: आसन्न स्थानीय तह निर्वाचन सफल पार्न मादी गाउँपालिकाको गठबन्धनले विभिन्न ९ समिति गठन गरेको छ । सत्तापक्ष कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहितको संयुक्त चुनावी गठबन्धनले पोखरा १३ शितलादेवीमा बसेको बैठकले चुनावी प्रचार प्रसारका लागि मादी गाउँपालिका स्तरिय समिति गठन गरेको हो । नेपाली कांग्रेस मादी गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार यामबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका मादी गाउँपालिका अध्यक्ष तोरण गुरुङ, एकिकृत समाजवादी मादी गाउँपालिका अध्यक्ष घननाथ सापकोटाको अध्यक्षतमा बसेको बैठक बसेको थियो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सोमति गुरुङ, नेका कास्की एकका सचिव सरोज केसी लगायतका गठबन्धनका नेताहरुको उपस्थितिमा बसेको बैठकले समिति उप समिति गठन गरेको हो । स्थानीय निर्वाचन २०७९ लाई व्यवस्थित सशक्त र उत्साहपूर्ण र विजयउन्मुख बनाउनका लागि गठबन्धनको मादी गाउँपालिकास्तरिय बैठक बसेको हो । निर्वाचनलाई परिणाममुखी बनाउन विभिन्न उपसमिति र उपसमितिको पनि बैठक राखी पूर्णता दिने संयुक्त रुपमा निर्णय भएको छ । प्रशिक्षण बुद्धिजिवी परिचालन एवम घोषणापत्र तयारी समिति, कार्यालय सञ्चालन व्यवस्थापन उपसमिसिति, बुथ संरक्षण तथा मत सर्वेक्षण उपसमिति, बुथ संरक्षण तथा मत सर्वेक्षण उपसमिति, यातायात व्यवस्थापन उप समिति, पार्टी सञ्चालन भातृ तथा शुभेच्छुक संस्था परिचालन उपसमिति, आर्थिक समिति, गठबन्धन दल समन्वय समिति, युवा परिचालन उपसमिति, प्रचारप्रसार उपसमिति गठन गरेको हो । सोमबार बिहान ७ बजे पोखरा १२ शितलादेवीमा गठबन्धनको सम्पर्क कार्यालय स्थापन गरिने नेपाली कांग्रेस कास्की १ का सचिव सरोज केसीले जानकारी दिए ।
पोखरा: कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले इमोस्नल ईन्टेलीजेन्स वर्कसप सम्पन्न गरेको छ । कास्की जिल्लका सहकारी संस्थाका व्यवस्थापकहरुलाई लक्षित गरि मनोदर्शन साइकोलोजिकल कन्सर्नको प्राविधिक सहयोगमा एक दिने कार्यशाला सम्पन्न गरेको हो । कुल ३२ जनाको उपस्थिती रहेको सो कार्यशालामा मनोदर्शन साइकोलोजिकल कन्सर्नका प्रमुख प्रशिक्षक प्रज्वल आचार्य र प्रशिक्षक दिलिप श्रेष्ठले प्रशिक्षण दिएको मित्रमिलन वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक किरण अधिकारीले जानकारी दिए । उनका अुनसार सो कार्यक्रम वार्षिक कार्यतालिका अनुसार आयोजना गरिएको हो । उक्त कार्यशालाबाट वित्तिय क्षेत्रमा काम गर्न थप उर्जा मिलेको कार्यक्रममा सहभागीहरुले बताएका थिए । क्लबका सचिव मोहन प्रसाद अधिकारीले कार्यक्रम सञ्चमलन गरेका थिए भने रियल ईभेन्ट म्यानेजमेन्टका व्यवस्थापक सुशिल पोख्रेल तथा पहल ग्रुपका निर्देशक अशोक पौडेलले कार्यशालाको समन्वयन गरेका थिए ।
पोखरा: पूर्व राष्ट्रिय फुटसल प्रशिक्षक विष्णु गुरुङले नेपाली फुटबलको क्षेत्रमा भएको विवादको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । गुरुङले मुख्य प्रशिक्षक अब्दुल्ला अलमुटाइरी र खेलाडीहरु बिचको तक्राबलाई यथाशिघ्र निष्कर्ष दिएर एसियन कपको तयारीमा जुट्नुपर्ने धारणा राखेका हुन् । प्रशिक्षक गुरुङले (सामाजिक सञ्जाल) फेसबुकमा स्टाटस लेखेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टोलीका हेड कोचले दिनुभएको रिजल्टमा हामी एकदम आभारी छौं । तर रिजल्टमा समान रूपमा खेलाडीको पनि उच्च प्रदर्शन, मिहिनेत र त्यागको कदर छ । तसर्थ दुवै पाटो एकै रथका दुई पांग्रा हुन् । आशा गर्छु समसामयिक विषयमा सम्बन्धित निकाय र व्यक्तिले छिटो भन्दा छिटो निष्कर्ष निकालेर, आगामी एसियन कपको तयारीमा जुट्नुपर्छ । हामी फुटबल विकास भएको हेर्न चाहन्छौं । अन्त्यमा फुटबलको विकास हुनुपर्छ, व्यक्ति र समूहको हैन ।’ जय नेपाल, जय नेपाली फुटबल’ । यतिबेला नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक अब्दुल्ला अलमुटाइरी र खेलाडीहरु विच तक्राब भैरहेको छ । यस विषयमा प्रत्यक्ष सरोकार राख्ने अखिल नेपाल फुुटबल संघ (एन्फा) भने मुखदर्शक बनिरहेको छ ।
पोखरा: आगामी ३० गते हुने स्थानीय निर्वाचनको लागि पोखरा महानगरको मेयर र उपमेयर पदमा विभिन्न दलको तर्फबाट मनोनयन दर्ता गरेका छन् । नेकपा एमाले, पाँच दलीय गठबन्धन, राप्रपा, राप्रपा नेपाल, मंगोल अर्गनाइजेशन तथा स्वतन्त्र उम्मेदवारले दलबलसहित उम्मेदवारी दर्ता गराएका थिए । तस्बिरमा हेरौ पोखरा ६ सहिद चोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा देखिएको माहोल ।
पोखरा: बिहीबारको बिहान, उत्तरतर्फ भर्खर हिमाल टल्कन सुरु गरेको थियो । सडकमा सवारी कम सुनिन्थे । चिया पसलहरुमा स्थानीय तह निर्वाचन बारेको गफगाफ उम्लदैँ थिए । पोखरा १२ शितलदेवीस्थित नेकपा एमालेको वडा कार्यालयको सटर उघारिइसकेको थियो । माहौल निर्वाचनको छ । एमाले कार्यकर्ताहरु सूर्य अंकित झण्डासहित तयारी गर्दै थिए । आजदेखि नेकपा एमाले वडा कमिटि पोखरा १२ ले औपचारिक रुपमा मतदातासँग भेटघाटको थालनी गरेको छ । बिहान ७ नबज्दै कार्यकर्ता तथा शुभेच्छुकहरु घरदैलो कार्यक्रमकालागि जुटिसकेका थिए । स्थानीय तह निर्वाचनका लागि देखिएको उत्सुकता उनिहरुको ‘बडी ल्याङ्ग्वेज’ले प्रष्ट्याउँथ्यो । करिब ७ः३०मा नेकपा एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले कार्यक्रमको औपचारिक उद्घाटन गरे । उद्घाटन गर्दै अध्यक्ष गुरुङले कार्यकर्तालाई हौसला दिँदै भने,‘हामिले जित्ने निश्चित छ । प्रक्रियाका लागी मतदानमा सहभागी त हुनै पर्यो । सबैले सूर्यमा मतदान गरी एमालेका हाम्रा उम्मेदवारलाई विजय गराउनुहोला है ।’ सय बढी कार्यकर्ताको उपस्थितीमा वडाका उम्मेदवारहरु घर घर पुगेर मतदातालाई भेटे । युवा उम्मेदवार देखेपछिको चमक हरेक घर पुग्दा आएको प्रतिक्रियाबाट थाहा हुन्थ्यो । मतदाताहरु भन्थे,‘पार्टी जे भएपनि यसपाली त भोट देशभक्त बाबु र नानीहरुलाई नै हो ।’ पोखरा १२ बाट नेकपा एमालेले अध्यक्षमा युवा उम्मेदवार देशभक्त केसीलाई उठाएको छ । यसअघि उनि वडा सदस्य थिए । समाजका हरेक तह तप्कासँग नजिक रहेका केसी पोखरा १२ वासीका प्रिय छन् । अध्यक्षमा केसीसँगै महिला सदस्यमा लक्ष्मी कुँवर(रिमाल), दलित महिला सदस्यमा विष्णु विश्वकर्मा, खुला सदस्यमा निर्मल बहादुर थापा र शान्ती गुरुङ उम्मेदवार छन् ।
पाेखराः पोखरा महानरपालिका वडा नम्बर २१ मा यस पटकको स्थानिय चुनावमा पनि विगत जस्तै नेकपा एमालेले भारी मतान्तरले जित्ने नेकपा एमाले जिल्ला कमिटि कास्कीका सदस्य तथा पोखरा–२१ ईन्चार्ज अर्जुन गिरीले बताएका छन् । गत स्थानिय तह चुनावमा एमालेले विजय हात पारेर वडामा उल्लेखनीय विकासको काम गरेकाले यस पटक अझै धैरै मतान्तरले एमाले विजय हुने ईन्चार्ज गिरीले बताएका हुन् । ‘गत स्थानीय चुनावमा हामीले वडा अध्यक्षको हकमा १६ सय भन्दा बढि मतान्तर र मेयरको हकमा २ हजार बढि मतान्तरले विजय भएका थियौं,’ इन्चार्ज गिरीले भने, ‘यस पटक वडाध्यक्षको हकमा २ हजार बढि मतान्तर र मेयरमा २५ सय मतान्तरले विजय हुने पक्का छ ।’ वडामा भएका विकासका काममा एमालेले नै नेतृत्व गर्दै आएको गिरीले सुनाए । ‘एमाले मात्र एउटा यस्तो पार्टी हो जसले पोखरा–२१ मा विगत र वर्तमानमा विकासको निम्ती अतुलनीय योगदान दिदै आएको छ,’ उनले त्यहाँ भएको कामको बारेमा जानकारी दिँदै भने, ‘विगत र वर्तमानमा गरेको कामकै मुल्याङ्कन गर्दै त्यहाँका जनताले यसपटक भारी मत अन्तरले एमालेलाई स्थान दिने छ ।’ शिक्षा, स्वास्थ्य, खेलकुद,यातायात लागयतका क्षेत्रमा भएको आमुल परिवर्तन नै एमालेको जित्ने मुल आधार रहेको गिरीले सु्नाए । ‘गत चुनावमा एमालेको तर्फबाट जितेका वडाध्यक्ष खगराज आचार्य र सदस्यहरुले नै राम्रो काम गरेका छन्, जुन विकास पोखरा–२१ मा आएपछि छर्लङ्ग देख्न सकिन्छ,’ उनले थपे,‘हाम्रो एमालेको उम्मेदवार चुनावको बेलासम्म मात्र हाम्रो हुन्छन् , चुनाव जितेपछि जनताको साझा व्यक्तित्व हुन्छन् । एमालेको उम्मेदवारलाई हामीले स्पष्ट भनेको हुन्छौँ कि जनताको काम नै पार्टीको साझा काम हो ।’ एमालेका उम्मेदवारलाई जिताउन ११ सय २१ सदस्य निर्वाचन परिचालन कमिटि सबै लागि परेको नेकपा एमाले पोखरा–२१ कमिटिका अध्यक्ष राजेन्द्र थापाले बताए । ‘हाम्रो पार्टी भाषणमा भन्दा काममा विश्वास राख्छ,’ अध्यक्ष थापाले भने, ‘त्यही कामको आधारमा हामी घरदैलो गर्दै छौं ।’ चुनावमा मात्र नभएर अरु बेलामा जनताको समस्य र गुनासो सुन्न बेला बेलामा टोलटोलमा पुग्ने गरेको नेकपा एमाले पोखरा–२१ कमिटिका सचिव रोशन भट्टराईले बताए । ‘हामीले हाम्रो वडामा धेरै काम गरेको छौ,’ उनले भने, ‘केही काम बाँकी छन, त्यसलाई पनि पुरा गर्छौँ ।’
पोखरा: सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगन भएपछि जेठ अन्तिम साता गण्डकी प्रदेशमा गर्ने निर्णय गरेपछि प्रतियोगिताको तयारी थालिएको छ । गण्डकीमा हुने प्रतियोगितामा पुराना ३५ सहित रग्बी र ठेलो खेल थप गर्ने प्रस्ताव गरिएको छ । आयोजक प्रदेशले यहाँको मौलिक दोहोरी तथा लोक नृत्यलाई पनि प्रतियोगितामा थप गर्न प्रस्ताव गरेको छ । प्रतियोगिताका अधिकांश खेल पोखरामा सञ्चालन हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । “सबै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा प्रस्ताव पठाएका छौँ”, समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । खेलकुदको कुम्भमेला राष्ट्रिय खेलकुदको रौनक र अपनत्व सबै प्रदेशवासीलाई होस् भनेर सबै जिल्लामा न्यूनतम एक खेल आयोजनाको प्रस्ताव गरिएको उनको भनाइ छ । योगीले भने, “खेल पूर्वाधारको अवस्था तथा सम्बन्धित जिल्लामा खेलप्रतिको आकर्षणलगायत पक्षलाई हेरेर प्रस्ताव पठाएका छौँ । केन्द्रको प्राविधिक टोलीले प्रस्तावितस्थलको अनुगमन सुरु गरेको छ । केही दिनमै प्रस्तावितस्थलमा नै राखेपले खेल सञ्चालनको तालिका बनाउने छ ।” प्रदेशका सबै जिल्लालाई समावेश गरेर खेल आयोजना गर्दा जिल्लामा खेलप्रतिको आकर्षण बढ्ने र खेलाडीको चापलाई व्यवस्थित गर्न सकिने छ । प्रतियोगिताको तयारी र पूर्वाधारका बारेमा जानकारी लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायतको टोली आज पोखरा आउने समितिले जनाएको छ । कुन खेल कहाँ ? राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल, हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुषका खेल पोखरामा सञ्चालन हुनेछन् । यसैगरी जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पनि पोखरामा प्रस्ताव गरिएको छ । महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिला–पुरुष) बागलुङ, कराते (महिला–पुरुष) लमजुङ, टेवलटेनिस (महिला–पुरुष) मुस्ताङ, कबड्डी, कुस्ती र खोखो (महिला–पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला–पुरुष) गोरखामा खेलाउने योजना छ । बास्केटबल (महिला–पुरुष) तनहुँ, बुद्धिचाल (महिला–पुरुष) मनाङ, आइटिएफ तेक्वान्दो (महिला–पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराते (महिला–पुरुष) स्याङ्जा र फेन्सिङ (महिला–पुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको समितिले जनाएको छ । यस वर्षदेखि आयोजना गर्न प्रस्ताव गरिएको लोकदोहोरी तथा लोकनृत्य प्रतियोगिता पोखरामा गर्ने योजना छ । राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालु आवमा राखेपबाट रु १६ करोड बजेट विनियोजन गरिएको छ ।

