पोखरा: बिहीबारको बिहान, उत्तरतर्फ भर्खर हिमाल टल्कन सुरु गरेको थियो । सडकमा सवारी कम सुनिन्थे । चिया पसलहरुमा स्थानीय तह निर्वाचन बारेको गफगाफ उम्लदैँ थिए । पोखरा १२ शितलदेवीस्थित नेकपा एमालेको वडा कार्यालयको सटर उघारिइसकेको थियो । माहौल निर्वाचनको छ । एमाले कार्यकर्ताहरु सूर्य अंकित झण्डासहित तयारी गर्दै थिए । आजदेखि नेकपा एमाले वडा कमिटि पोखरा १२ ले औपचारिक रुपमा मतदातासँग भेटघाटको थालनी गरेको छ । बिहान ७ नबज्दै कार्यकर्ता तथा शुभेच्छुकहरु घरदैलो कार्यक्रमकालागि जुटिसकेका थिए । स्थानीय तह निर्वाचनका लागि देखिएको उत्सुकता उनिहरुको ‘बडी ल्याङ्ग्वेज’ले प्रष्ट्याउँथ्यो । करिब ७ः३०मा नेकपा एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले कार्यक्रमको औपचारिक उद्घाटन गरे । उद्घाटन गर्दै अध्यक्ष गुरुङले कार्यकर्तालाई हौसला दिँदै भने,‘हामिले जित्ने निश्चित छ । प्रक्रियाका लागी मतदानमा सहभागी त हुनै पर्यो । सबैले सूर्यमा मतदान गरी एमालेका हाम्रा उम्मेदवारलाई विजय गराउनुहोला है ।’ सय बढी कार्यकर्ताको उपस्थितीमा वडाका उम्मेदवारहरु घर घर पुगेर मतदातालाई भेटे । युवा उम्मेदवार देखेपछिको चमक हरेक घर पुग्दा आएको प्रतिक्रियाबाट थाहा हुन्थ्यो । मतदाताहरु भन्थे,‘पार्टी जे भएपनि यसपाली त भोट देशभक्त बाबु र नानीहरुलाई नै हो ।’ पोखरा १२ बाट नेकपा एमालेले अध्यक्षमा युवा उम्मेदवार देशभक्त केसीलाई उठाएको छ । यसअघि उनि वडा सदस्य थिए । समाजका हरेक तह तप्कासँग नजिक रहेका केसी पोखरा १२ वासीका प्रिय छन् । अध्यक्षमा केसीसँगै महिला सदस्यमा लक्ष्मी कुँवर(रिमाल), दलित महिला सदस्यमा विष्णु विश्वकर्मा, खुला सदस्यमा निर्मल बहादुर थापा र शान्ती गुरुङ उम्मेदवार छन् ।
पाेखराः पोखरा महानरपालिका वडा नम्बर २१ मा यस पटकको स्थानिय चुनावमा पनि विगत जस्तै नेकपा एमालेले भारी मतान्तरले जित्ने नेकपा एमाले जिल्ला कमिटि कास्कीका सदस्य तथा पोखरा–२१ ईन्चार्ज अर्जुन गिरीले बताएका छन् । गत स्थानिय तह चुनावमा एमालेले विजय हात पारेर वडामा उल्लेखनीय विकासको काम गरेकाले यस पटक अझै धैरै मतान्तरले एमाले विजय हुने ईन्चार्ज गिरीले बताएका हुन् । ‘गत स्थानीय चुनावमा हामीले वडा अध्यक्षको हकमा १६ सय भन्दा बढि मतान्तर र मेयरको हकमा २ हजार बढि मतान्तरले विजय भएका थियौं,’ इन्चार्ज गिरीले भने, ‘यस पटक वडाध्यक्षको हकमा २ हजार बढि मतान्तर र मेयरमा २५ सय मतान्तरले विजय हुने पक्का छ ।’ वडामा भएका विकासका काममा एमालेले नै नेतृत्व गर्दै आएको गिरीले सुनाए । ‘एमाले मात्र एउटा यस्तो पार्टी हो जसले पोखरा–२१ मा विगत र वर्तमानमा विकासको निम्ती अतुलनीय योगदान दिदै आएको छ,’ उनले त्यहाँ भएको कामको बारेमा जानकारी दिँदै भने, ‘विगत र वर्तमानमा गरेको कामकै मुल्याङ्कन गर्दै त्यहाँका जनताले यसपटक भारी मत अन्तरले एमालेलाई स्थान दिने छ ।’ शिक्षा, स्वास्थ्य, खेलकुद,यातायात लागयतका क्षेत्रमा भएको आमुल परिवर्तन नै एमालेको जित्ने मुल आधार रहेको गिरीले सु्नाए । ‘गत चुनावमा एमालेको तर्फबाट जितेका वडाध्यक्ष खगराज आचार्य र सदस्यहरुले नै राम्रो काम गरेका छन्, जुन विकास पोखरा–२१ मा आएपछि छर्लङ्ग देख्न सकिन्छ,’ उनले थपे,‘हाम्रो एमालेको उम्मेदवार चुनावको बेलासम्म मात्र हाम्रो हुन्छन् , चुनाव जितेपछि जनताको साझा व्यक्तित्व हुन्छन् । एमालेको उम्मेदवारलाई हामीले स्पष्ट भनेको हुन्छौँ कि जनताको काम नै पार्टीको साझा काम हो ।’ एमालेका उम्मेदवारलाई जिताउन ११ सय २१ सदस्य निर्वाचन परिचालन कमिटि सबै लागि परेको नेकपा एमाले पोखरा–२१ कमिटिका अध्यक्ष राजेन्द्र थापाले बताए । ‘हाम्रो पार्टी भाषणमा भन्दा काममा विश्वास राख्छ,’ अध्यक्ष थापाले भने, ‘त्यही कामको आधारमा हामी घरदैलो गर्दै छौं ।’ चुनावमा मात्र नभएर अरु बेलामा जनताको समस्य र गुनासो सुन्न बेला बेलामा टोलटोलमा पुग्ने गरेको नेकपा एमाले पोखरा–२१ कमिटिका सचिव रोशन भट्टराईले बताए । ‘हामीले हाम्रो वडामा धेरै काम गरेको छौ,’ उनले भने, ‘केही काम बाँकी छन, त्यसलाई पनि पुरा गर्छौँ ।’
पोखरा: सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगन भएपछि जेठ अन्तिम साता गण्डकी प्रदेशमा गर्ने निर्णय गरेपछि प्रतियोगिताको तयारी थालिएको छ । गण्डकीमा हुने प्रतियोगितामा पुराना ३५ सहित रग्बी र ठेलो खेल थप गर्ने प्रस्ताव गरिएको छ । आयोजक प्रदेशले यहाँको मौलिक दोहोरी तथा लोक नृत्यलाई पनि प्रतियोगितामा थप गर्न प्रस्ताव गरेको छ । प्रतियोगिताका अधिकांश खेल पोखरामा सञ्चालन हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । “सबै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा प्रस्ताव पठाएका छौँ”, समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । खेलकुदको कुम्भमेला राष्ट्रिय खेलकुदको रौनक र अपनत्व सबै प्रदेशवासीलाई होस् भनेर सबै जिल्लामा न्यूनतम एक खेल आयोजनाको प्रस्ताव गरिएको उनको भनाइ छ । योगीले भने, “खेल पूर्वाधारको अवस्था तथा सम्बन्धित जिल्लामा खेलप्रतिको आकर्षणलगायत पक्षलाई हेरेर प्रस्ताव पठाएका छौँ । केन्द्रको प्राविधिक टोलीले प्रस्तावितस्थलको अनुगमन सुरु गरेको छ । केही दिनमै प्रस्तावितस्थलमा नै राखेपले खेल सञ्चालनको तालिका बनाउने छ ।” प्रदेशका सबै जिल्लालाई समावेश गरेर खेल आयोजना गर्दा जिल्लामा खेलप्रतिको आकर्षण बढ्ने र खेलाडीको चापलाई व्यवस्थित गर्न सकिने छ । प्रतियोगिताको तयारी र पूर्वाधारका बारेमा जानकारी लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायतको टोली आज पोखरा आउने समितिले जनाएको छ । कुन खेल कहाँ ? राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल, हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुषका खेल पोखरामा सञ्चालन हुनेछन् । यसैगरी जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पनि पोखरामा प्रस्ताव गरिएको छ । महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिला–पुरुष) बागलुङ, कराते (महिला–पुरुष) लमजुङ, टेवलटेनिस (महिला–पुरुष) मुस्ताङ, कबड्डी, कुस्ती र खोखो (महिला–पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला–पुरुष) गोरखामा खेलाउने योजना छ । बास्केटबल (महिला–पुरुष) तनहुँ, बुद्धिचाल (महिला–पुरुष) मनाङ, आइटिएफ तेक्वान्दो (महिला–पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराते (महिला–पुरुष) स्याङ्जा र फेन्सिङ (महिला–पुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको समितिले जनाएको छ । यस वर्षदेखि आयोजना गर्न प्रस्ताव गरिएको लोकदोहोरी तथा लोकनृत्य प्रतियोगिता पोखरामा गर्ने योजना छ । राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालु आवमा राखेपबाट रु १६ करोड बजेट विनियोजन गरिएको छ ।
वालिङ, वैशाख ९ गते । स्याङ्जाका ७३ मतदान केन्द्र सुरक्षाका दृष्टिले अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा जिल्लास्थित सुरक्षा समिति स्याङ्जाले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरेको हो । अतिसंवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा जिल्लाका मतदान केन्द्रलाई वर्गीकरण गरिएको छ । जिल्लाका १९९ मतदान केन्द्रमध्ये ७३ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा परेका छन् । त्यस्तै, ७३ मतदान केन्द्र संवेदनशील र ५३ मतदान केन्द्र सामान्य रहेका छन् । २०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । “भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँचका आधारमा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रूपमा वर्गिकरण गरिएको छ ।” पौडेलको भनाइ छ । जिल्लामा स्थानीयतहको निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा जनशक्ति अभाव छ । स्याङ्जामा एक हजार ६२४ म्यादी प्रहरी भर्ना गरिएको छ । म्यादी प्रहरीलाई १० दिनको तालिम दिएर परिचालन गर्ने अन्तिम तयारी गरिएको छ । सबै मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहेको सुरक्षा समितिको टोली पुगेर सुरक्षा चुनौतीको अनुगमन गरिरहेकोको प्रशासनले जनाएको छ । निर्वाचनलाई स्वतन्त्र, भयरहित र शान्तिपूर्ण रूपमा अघि बढाउन जिल्ला सुरक्षा समितिले हरेक विकल्प अपनाउँदै आएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । कार्यालयका अनुसार संवेदनशीलतालाई आधार बनाएर सुरक्षाकर्मी खटाउने काम अन्तिम चरणमा पुगेको छ । ५ नगरपालिका र ६ गाँउपालिका गरी ११ पालिका रहेको स्याङ्जामा सबैभन्दा धेरै मतदानस्थल र मतदाता वालिङमा रहेका छन् ।
तनहुँको व्यास नगरपालिकाले पाँच वर्षमा एक सय एक कानून निर्माण गरेको छ । विसं २०७४ सालमा निर्वाचित भएर आएका जनप्रतिनिधिले पाँच वर्षमा सो कानून निर्माण गरेका हुन् । यसक्रममा २९ ऐन, नौ नियमावली, ५० कार्यविधि, आठ निर्देशिका र अन्य ५ गरी सो सङ्ख्यामा कानून निर्माण गरिएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । ऐनतर्फ आर्थिक ऐन २०७४, विनियोजन ऐन २०७४, व्यास नगरपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी ऐन २०७४), सहकारी ऐन २०७४, आर्थिक कार्यविधि ऐन २०७४, स्थानीय कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४, फोहरमैला व्यवस्थापन सम्बन्धी ऐन २०७४, आर्थिक ऐन २०७५, तथा विनियोजन ऐन २०७५ छन् । त्यस्तै अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम (सञ्चालन कार्यविधि) ऐन २०७५, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५, नगर शिक्षा ऐन २०७५, प्रशासकीय (कार्यविधि नियमित) गर्ने ऐन २०७५, आर्थिक ऐन २०७६, विनियोजन ऐन २०७६, आर्थिक ऐन २०७७, विनियोजन ऐन २०७७, वातावरणीय परीक्षण ऐन २०७७ तथा सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐन २०७७ छन् । त्यस्तै विनियोजन ऐन २०७८, आर्थिक ऐन २०७८, नगर प्रज्ञा प्रतिष्ठान ऐन २०७८, पुरातत्व, प्राचिन स्मारक र सङ्ग्रहालय संरक्षण सम्बद्र्धन ऐन २०७८, कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८ कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन २०७८, कर्मचारी कल्याणकारी कोष सञ्चालन (कार्यविधि) ऐन २०७८, स्थानीय बजार व्यवस्थापन ऐन २०७८, सुशासन ऐन २०७८ र खेलकुद विकास ऐन २०७८ निर्माण गरिएको छ । नियमावलीतर्फ कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणिकरण (कार्यविधि), नगर कार्यपालिका (कार्य सम्पादन), नगर कार्यपालिका (कार्य विभाजन), सभा सञ्चालन तथा व्यवस्थापन (कार्यविधि), व्यास नगरपालिका शिक्षा, नगर प्रहरी, युवा परिषद्, सार्वजनिक निजी साझेदारी सम्बन्धी र आय ठेक्का बन्दोबस्त गर्ने सम्बन्धी नियमावली २०७८ निर्माण गरिएको नगरपालिकाले जनाएको छ । निर्देशिकातर्फ लैङ्गिक हिंसा सेवा केन्द्र सञ्चालन सम्बन्धी, स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी, कृषि विकास कार्यक्रम कार्यान्वयन, सहकारीमार्फत् मासु उत्पादन र विक्रीमा आधारित अनुदान कार्यक्रम, दूध उत्पादन र बजारीकरणका आधारमा अनुदान कार्यक्रम, व्यास नगरपालिका विद्यार्थी सिकाई सहजीकरण, बधस्थल सञ्चालन तथा व्यवस्थापन सम्बन्धी र स्थानीय कृषि बजार व्यवस्थापन निर्देशिका २०७८ निर्माण गरिएको छ । अन्यतर्फ पदाधिकारीहरुको आचारसंहिता, योजना तथा बजेट तर्जुमा दिग्दर्शन, व्यास नगरपालिका कर्मचारी विशेष सुविधा सम्बन्धी मापदण्ड, स्नातक उत्तीर्ण बेरोजगार महिला अनुदान वितरण मापदण्ड, वैदेशिक रोजगारीबाट फर्किएका उद्यमशील युवाहरुलाई प्रदान गरिने स्वरोजगार कार्यक्रमको अनुदान सम्बन्धी मापदण्ड २०७८ निर्माण गरिएको छ । कार्यविधितर्फ कार्यपालिका बैठक सञ्चालन सम्बन्धी, स्थानीय राजपत्र सम्बन्धी, एफएम रेडियो (व्यवस्थापन तथा सञ्चालन), सार्वजनिक समारोह सञ्चालन, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण, लेखा समिति गठन र सञ्चालन, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन, संस्था दर्ता तथा नवीकरण, बजार अनुगमन, बहाल कर व्यवस्थापन कार्यविधि २०७६ लगायत निर्माण गरिएको छ । १५ वर्ष जनप्रतिनिधि विहिन अवस्थामा कर्मचारीको नेतृत्वमा चलेको नगरपालिका र नगरपालिका पुर्नसंरचना पछि यसको आकार प्रकारमा आएको परिवर्तन, विकासका चुनौति, साधन र स्रोतको अभावमा नगरवासीका सबै अपेक्षा पूरा गर्न नसकिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । “नगरपालिकाप्रति नगरवासीको भरोसामा वृद्धि हुँदै गएको र नगरवासीका हरेक पक्षसँग नगरपालिका सकभर अपनत्व विकसित गर्दै आएको महशुस गरेका छौ”, नगर प्रमुख न्यौपानेले भन्नुभयो । पाँच वर्षमा धेरैजसो वडा कार्यालयमा भवन निर्माण, पुराना भवनलाई आधुनिक भवन निर्माणको प्रक्रियाको थालनी, स्वास्थ्य केन्द्रका भवन निर्माण गरिएको नगरप्रमुख न्यौपाने बताउनुहुन्छ । “पाँच वर्षमा नगरवासीको हितमा भए गरेका कामहरुको समिक्षा गर्ने दायित्व नगरवासीमा सुम्पिएका छौ”, उहाँले भन्नुभयो ।
स्याङ्जाको वालिङ–१२ डाँडाँखर्क फिरफिरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१२ डाँडाँखर्कबाट बायटारी आउँदै गरेको ग१ज ७३९९ नम्बरको जीप आज फिरफिरेमा दुर्घटना भएको हो । जीप दुर्घटनामा परी वालिङ–१२ डाँडाँखर्क बस्ने ६५ वर्षीय वीरबहादुर डाला, सोही ठाउँकी ४५ वर्षीया हीरा डाला, २५ वर्षीया शर्मिला सारु, शर्मिला सारुका छ महिनाका छोरा र वालिङ–१४ बस्ने ६१ वर्षीय कूलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो । जीपमा सवार रहेका ११ जनामध्ये अन्य छ जना घाइते भएका छन् । घाइते हुनेमा वालिङ–१२ डाँडाँखर्कका ५० वर्षीय अङ्गबहादुर डाला, सोही ठाउँकी ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीया योगेन्द्र थापा, १८ वर्षीया नवीना सारु, १९ वर्षीया लक्ष्मी डाला र जीप चालक ६० वर्षीय दलबहादुर थापा रहेका छन् । घाइतेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको हो । मृत्यु भएका र घाइते भएका सबै एउटै गाउँका भएकाले अहिले गाउँ शोकमा डुबेको छ ।
तनहुँ: वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई तनहुँका पालिकाले निस्सा वितरण गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका दुई पालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेका हुन् । शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाले सबै वडाका भूमिहीनलाई निस्सा वितरण सुरु गरेका छन् । शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी–७ शान्तिनगरबाट निस्सा वितरण सुरुआत गरेको हो । शुक्लागण्डकी–७ का ९३० भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका थिए । तीमध्ये ८६६ भूमिहीनको विवरण प्रविष्ट गरिएकामा पहिलो चरणमा २४७ लाई निस्सा वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो । निस्सा वितरणसँगै लालपुर्जाको प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो । नगरपालिकाका १२ वटै वडाबाट चार हजार ४०३ भूमिहीनको निवेदन सङ्कलन भएको छ । यहाँका भूमिहीन विगत लामो समयदेखि लालपुर्जा पाउने आशामा बसिरहेका छन् । पटक–पटक बनेको भूमि आयोगले लालपुर्जाका लागि निवेदन सङ्कलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरुले लालपुर्जा पाउन सकेका छैनन् । बन्दीपुरले पनि भूमिही सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो । राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौताबमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दीपुर–१ बाट निस्सा वितरण थालिएको छ । उक्त वडाका ७४ जनालाई निस्सा वितरण गरिएको र सबै वडामा निस्सा वितरण गरिने उहाँले बताउनुभयो । यसैगरी बन्दीपुर–४ र ५ का १३० भूमिहीनलाई निस्सा वितरण गरिएको छ । अध्यक्ष थापाका अनुसार गाउँपालिकाका छवटै वडामा करिब ३२५ भूमिहीनलाई निस्सा वितरण गरिनेछ । “भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नका लागि निस्सा वितरण गरेका हाँै, निस्सा दिएपछि अब लालपुर्जा पनि पाइन्छ भन्ने स्थानीयवासीलाई हौसला दिएका छौँ”, उहाँले भन्नुभयो । निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने भएकाले उनीहरुले लालपुर्जा पाउने पक्का भएको अध्यक्ष थापाले बताउनुभयो ।