पोखरा : गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद आउन ठिक एक महिना बाँकी छँदा प्रतियोगिता अन्तर्गतका ३६ खेलका खेलस्थल सार्वजनिक गरिएको छ । प्रदेशको राजधानी सहर पोखरालाई मुख्य आयोजनास्थल मान्दै प्रदेशका सात जिल्लामा खेल खेलाउने टुङ्गो लगाइएको हो । खेलस्थल र खेलतालिका सार्वजनिकसँगै प्रतियोगिता मुख्य आयोजनास्थल पोखरामा राष्ट्रिय खेलकुदको सरगर्मी बढेको छ । खेल स्थल सार्वजनिक गर्न निर्धारित समयभन्दा केही ढिलाइ भएकामा आज राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा एक कार्यक्रम आयोजना गरी सबै खेलका खेलस्थल र खेल तालिका सार्वजनिक गरेको हो । आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने प्रतियोगिताका लागि कास्कीसहित स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको छ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि अन्तिममा आएर तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने भएको छ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रङ्गशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्नष्टिक, ह्याण्डलबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसुको प्रतियोगिता पोखरा रङ्गशालमा हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रतियोगिताको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताउनुभयो । बास्केटबल पुरुष पोखरा रङ्गशाला र महिलाको खेल पृथ्वीनारायण क्याम्पस, आर्चरी, फेन्सिङ पोखरा रङ्गशालमा हुनेछ । यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ । पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ । रग्बी भण्डारढिक खेलमैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टीप्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने निर्णय परिषद्ले गरेको छ । यसैगरी म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ भने बाग्लुङमा आइटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ । नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ । स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ । यसैगरी पूर्वाधार अभावमा सुटिङ भने काठमाडौँमा खेलाइने भएको छ । यसैगरी परिषद्ले राष्ट्रिय खेलकुदलाई लक्ष्यगरी नेशनल स्पोर्टस् काउन्सिल एप सञ्चालनमा ल्याएको छ । सो एपबाट खेलको तयारी, नतिजालगायतका सबै विवरण जानकारी दिइने परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बताउनुभयो । उहाँका अनुसार खेलस्थल र खेल तालिका बनिसकेकाले तयारीका काम अघि बढाइएको छ । परिषद्ले पहिलो पटक खेलाडीको अनलाइन दर्ता सुरु गरिएको जनाएको छ । प्रत्येक टोलीले खेलाडीको अनलाइन फाराम भर्नुपर्ने उहाँले जानकारी दिनुभयो । प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गते हुने भए पनि परिषद्ले सोअघि नै खेल तालिका बनाएको छ । नवौँअन्तर्गतको पुरुष क्रिकेट हाल राजधानी काठमाडौँमा जारी छ । क्रिकेट महिला असोज २३ गतेदेखि पोखरामा सुरु हुनेछ । प्रतियोगिताको मूल ट्रफी भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट सार्वजनिक गरिने र सातै प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा ट्रफी प्रदर्शनी र्याली आयोजना गरिने सदस्य सचिव घिसिङले बताउनुभयो । ट्रफी र्यालीका लागि ओलम्पियन दीपक विष्टको संयोजकत्वमा पाँच सदस्यसीय कार्यदल गठन भइसकेको र प्रदेशगत प्रदर्शनी असोज १ गतेदेखि सुदूरपश्चिमबाट सुरु गरी क्रमशःअन्य प्रदेश तथा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलमा लगिने परिषद्ले जनाएको छ । खेलस्थल सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय गौरवसँग जोडिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतियोगिताका लागि आर्थिक अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै सरकारी तथा निजी क्षेत्र मिलेर सफल पारिने प्रतिबद्धता जनाउनुभयो ।
नवलपुर: नवलपुरको विनयी त्रिवेणी गाउँपालिकास्थित दुम्किबास क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । चार दिनको अन्तरालमा दुम्किबासबाट सर्दी जानेबाटोमा दुईपटक बाघले मानिसलाई आक्रमण गरेपछि यस क्षेत्रका स्थानीय त्रसित बनेका हुन् । गत शुक्रबारमात्रै विनयी त्रिवेणी गाउँपालिका–३ बस्ने २१ वर्षीय सुवास विकलाई बाघले आक्रमण गरेको थियो । विनयी त्रिवेणी– १ होङ्सी जाने गेट नजिकै मोटरसाइकलमा सवार रहँदा बाघले उहाँमाथि आक्रमण गरेको थियो । बाघको आक्रमणबाट विकको खुट्टामा चोट लागेको छ । कृष्ण विकले चलाएको मोटरसाइकलमा सवार सुवासलाई बाघले आक्रमण गरी तान्दै गर्दा सँगै रहेको ट्रक चालकले ट्रकले लखेटेपछि उहाँको ज्यान जोगिएको थियो । मङ्गलबार सोही क्षेत्रमा बाघले मानिसलाई आक्रमणको प्रयास गरेको छ । मोटरसाइकलमा सवार दुई जनालाई बाघले आक्रमणको प्रयास गरेको विनयी त्रिवेणी–३ सर्दीका स्थानीय यादव पौडेलले बताउनुभयो । दुम्किबासबाट सर्दी मोटरसाइकलमा जाँदै गर्दा सर्दी निवासी दुर्गाप्रसाद पौडेल र रवि जिसीलाई बाघले आक्रमणको प्रयास गरेको हो । दुवै जनाले भागेर ज्यान जोगाउन सफल भएको पौडेलले जानकारी दिनुभयो । दुम्किबासबाट होङ्सी जाने गेट हुँदै सर्दी जाने बाटो भएर आवतजावत गर्दा बाघको आक्रमण जोखिम बढेको छ । गत वर्ष दुम्किबास क्षेत्रमा बाघको आक्रमणबाट तीन जनाले ज्यान गुमाएका थिए । गत वर्ष बाघले लगातार मानिसलाई आक्रमण गरेपछि नरभक्षी बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर नरभक्षी बाघ नियन्त्रणमा लिने प्रयास असफल बनेको थियो । अहिले फेरि लगातार सोही क्षेत्रमा बाघले आक्रमण गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । बाघ सोही क्षेत्रमा रहेको र कुनै पनि समय मानिसलाई आक्रमण गरी मानवीय क्षति पु¥याउन सक्ने भन्दै समयमै सम्बन्धित निकायले यसको नियन्त्रणका लागि पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । “लगातार बाघले आक्रमण गर्न थालेको छ, कुनै पनि समय मानवीय क्षति हुनसक्छ, सम्बन्धित निकायले समयमै क्षति हुन नदिन सचेत हुनुपर्छ”, स्थानीय यादव पौडेलले भन्नुभयो, “यो बाटो भएर हिँडडुल गर्दा समेत सबैले सावधानी अपनाउन आवश्यक छ ।”
पोखरा : कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा माछापुच्छ्रे बैंकको क्युआरकोडको फोटो राखेर एउटा स्टाटस लेख्नुभयो । जसमा राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण गरिरहेका खेलाडीलाई खेल सामग्री किन्न अहिलेसम्म सरकारी निकायबाट पैसा नपाएकाले आर्थिक सहयोगका लागि याचना गरिएको थियो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि फेन्सिङको खेलाडी छनोट गरेर प्रशिक्षण अहिले प्रशिक्षण सञ्चालन भइरहेको छ । शाहीले लेख्नुभएको छ, “नवौँ राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकी छैन, प्रदेश खेलकुद परिषद् र मन्त्रालयबाट खेल सामग्रीको लागि पैसा आउला र भारतमा गएर खेल सामग्री किनेर ल्याई प्रतिस्पर्धामा खेलाडीलाई उतारौँला भनेर बस्ने हो भने हात लागे शून्य होलाजस्तो लागेर सामाजिक सञ्जालबाटै हात फैलाउन बाध्य भएँ ।” शाहीले सामाजिक सञ्जालमा यस्तो भनाइ राख्नु भएपछि त्यसमा तीव्र प्रतिक्रिया आइरहेको छ । धेरै खेलप्रेमीले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रको गौरवसँग जोडिएको प्रतियोगितामा खेलाडीलाई आवश्यक सामग्री उपलब्ध हुनुपर्ने आवाज छ । शाहीको जस्तै पीडा अन्य धेरै खेल सङ्घ र यसका पदाधिकारीको छ । प्रदेशस्तरीय छनोटबाट खेलाडी छनोट गरेर बसेका खेल सङ्घले खेलाडीलाई आधारभूत सुविधासमेत उपलब्ध गराउन सकेका छैनन् । गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिता आउन एक महिनाभन्दा कम समय बाँकी रहँदासमेत खेलाडीका लागि आधारभूत सुविधा र खेल सामग्री प्राप्त नभएपछि सामाजिक सञ्जालबाटै पीडा व्यक्त गरेको अध्यक्ष शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतियोगितामा भाग नलिउँ खेलाडीको वर्षौंको मिहिनेत खेर जाने, लिउँ न खेल सामग्री छ, न खेल पोसाक ।” प्रदेशका खेलाडीको हितको लागि जिल्ला अध्यक्षको नाताले आफूले कतै भनसुन गरेर हुन्छ भने किन नगर्ने भन्ने सोचेर सामाजिक सञ्जालबाट सहयोगको अपिल गरेको उहाँले बताउनुभयो । “खेलप्रेमी व्यक्ति वा संस्था जो कसैले कास्की जिल्ला फेन्सिङ सङ्घको खातामा सहयोग गर्न सक्नुहुनेछ । हिसाब पारदर्शी हुने वाचा गर्दछु, गण्डकी प्रदेशकै इज्जतको सवाल छ त्यसैले सबैमा विनम्र अनुरोध गरेँ ।” शाहीले भन्नुभयो । फेन्सिङको खेल सामग्री नेपालमा पाइँदैन । भारत वा चीनबाट ल्याउनुपर्ने हुन्छ तर अहिलेसम्म बजेटको उपलब्ध नभएको शाहीले गुनासो गर्नुभयो । सामाजिक सञ्जालमा अपिल गरेपछि सहयोग प्राप्त हुन थालेको छ । केही दिनमै शाही आफैँ खेल सामग्री नेपालरभारत सीमा रक्सौलसम्म जाने योजनामा हुनुहुन्छ । भारतीय कम्पनीसँग कुराकानी भइरहेको उहाँले जानकारी दिनुभयो । नवौैँमा खेल सामग्रीका लागि फेन्सिङ सङ्घले रु सात लाख बजेट माग गरेको छ । फेन्सिङका खेल सामग्री तरबार(सोड), इलेक्ट्रिक डिभाइस जडित ज्याकेट, पञ्जा, हेलमेट, चेस प्रोटेक्टरलगायतका सबै खेल सामग्री बाहिरबाट ल्याउनुपर्ने हुन्छ । एक जना खेलाडीका लागि रु ३० हजार बराबरको खेल सामग्री आवश्यक पर्दछ तर परिषद्बाट एकमुष्ट सबैलाई गरी रु ६० हजार मात्र उपलब्ध हुने जवाफ पाएपछि निरास बन्नुपरेको र सहयोगका हात फैलाउनुको विकल्प नभएको अध्यक्ष शाहीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अभ्यासका लागि हलबाहेक अहिले हामीले सुविधाका नाममा केही पनि पाएका छैनौँ । खेलाडी खेल्दै गर्दा घाइते हुँदासमेत रङ्गशालाभित्र प्राथमिक उपचार नपाउने अवस्था छ, खेलाडीको सुविधा के हो अहिलेसम्म यकिन छैन भने आधारभूत सामग्री पनि पाइएन ।” प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले केही खेलका खेल सामग्री स्वदेशमा नपाइने र बाहिरबाट खरिद गर्नुपर्ने भएकाले यसमा सम्बन्धित खेल सङ्घको पनि अग्रसरता आवश्यक हुने बताउनुहुन्छ । राष्ट्रिय खेलकुदजस्ता महत्वपूर्ण प्रतियोगिता आउँदै छ भनेपछि सङ्घले पनि यसमा विशेष चासो र जागरुकता देखाउनुपर्ने उहाँको भनाइ छ । फेन्सिङका खेल सामग्री नपाएको बारेमा आफूहरूलाई जानकारी भए पनि स्वदेशमा नपाउने भएपछि तत्कालै उपलब्ध गराउन सम्भव नभएको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय खेलको प्रकृति अलि जटिल हुन्छ, खेल सामग्री किन्न चाहे पनि नपाउने अवस्था छ । फेन्सिङमा पनि प्रदेशले लगानी गर्न नचाहेको होइन, दुईरतीन लाख बजेट दिन तयार छौँ तर तत्कालै खेल सामग्री पाउन सम्भव छैन, खरिद प्रक्रिया ऐनअनुसार जानुपर्दा ढिलाइ भएको हो ।” परिषद्ले सुरुआतमा जिल्ला छनोट, खेल सामग्री र छनोट प्रतियोगिताका लागि भनेर खेल सङ्घलाई रु एक करोड २० लाख बराबर बजेट उपलब्ध गराइएको सदस्य सचिवले बताउनुभयो ।
पोखरा: बागलुुङको ताराखोला गाउँपालिका १ माझखर्कमा विजयादशमीको अवसरमा खुल्ला वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुुने भएको छ । माझखर्कमा सक्रिय रहदैं आएको शिव लेकाली जिवन ज्योति युवा क्लबले २१ औं वार्षिकोत्सव तथा बडादशैंको अवसरमा खुुल्ला वडा स्तरीय महिला पुुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । आगामी असोज १२ देखि १६ गतेसम्म सञ्चालन हुने मेलामा महिला पुुरुष भलिबलसँगै धनुुषबाण, खुुल्ला सामुुहिक नृत्य र घैटोफोड प्रतियोगिता समावेश गरिएको क्लबका अध्यक्ष मनबहादुर घर्तीमगरले जानकारी दिए । उनका अनुसार पुुरुष भलिबल प्रतियोगितामा प्रथम र द्धितिय हुुनेले क्रमश ५० हजार र ३० हजार ट्रफी प्रमाण प्राप्त गर्नछन् भने सेमिफाइनलमा प्रवेश गर्ने दुुई समूहलाई नगद ५/५ हजार प्रदान गरिने छ । खेलमा सहभागिता जनाउन ४ हजार प्रवेश शुुल्क निर्धारण गरिएको अध्यक्ष घर्तीमगरले बताए । उनले खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम र द्धितिय हुने समुहलाई क्रमशः १५ हजार र १० हजारसहित ट्रफी मेडल प्रमाण प्रदान गर्ने बताउदै प्रवेश शुल्क १५ सय निर्धारण गरिएको जानकारी दिए । यस्तै खुल्ला वडास्तरीय धनुुषबाण प्रतियोगितामा प्रथम र द्धितिय हुने समुुहले नगद ३० हजार र २० हजार सहित ट्रफी मेडर र प्रमाण पत्र प्राप्त गर्नेछन भने प्रतियोगितामा सहभागिता जनाउन ३५ सय शुल्क कायम तोकिएको छ । त्यस्तै खुुल्ला सामुुहिक नृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुुने समुहले क्रमशः १०, ६ र ४ हजार प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन १२ सय शुुल्क निर्धारण गरेको छ । वर्षेनी गर्दै आएको खुुल्ला महिला पुुरुष भलिबल अब प्रतियोगिता हरेका तीन वर्षको अन्तरालमा आयोजना गर्ने क्लबका अध्यक्ष घर्तिले बताए । क्लबले वर्षायामको समयमा सडक मर्मत, गोरेटो बाटो निर्माण लगायत प्रजातन्त्र विकास माविका विद्यार्थीहरुलाई प्रत्येक वर्ष विभिन्न विधामा पुुरस्कार वितरण समेत गर्दै आएको छ । खेलकदुको विकाससँगै सामाजिक क्रियाकलापमासमेत उक्त क्लब सक्रिय रहदैं आएको छ ।
पोखरा : कास्की जिल्ला पावरलिफ्टिङ संघद्वारा आयोजित प्रदेश स्तरीय हिमालयन यती पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न भएको छ । पोखरा रंगशालामा आयोजना भएको पावरलिफ्टिङ खेलमा विभिन्न तौल समूह बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा भाग लिन २८ जना पुरुष र १६ जना महिला गरि ४४ जना सहभागी भएका थिए । प्रतियोगितामा पुरुष तर्फको ओभरअलमा रानीपौवा स्पोर्ट्स सेन्टरका टेकेन्द्र गुरुङले पदक जितेका छन् । ८३.१ देखि ९३ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा गुरुङले ५५० केजी तौल उठाएर स्वर्ण समेत हात पारे । त्यसै गरि बुल्स जिमका चेतबहादुर थापाले ४४० केजी उठाएर रजत पदक जिते भने अरबिन्द थापाले ४३५ उठाएर कास्य पदक जिते। त्यसै गरि ६६।१ देखि ७४ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टर कै करण ताज्याले स्वर्ण जिते । ताज्याले समग्रमा ४९० केजी तौल उठाएका थिए । त्यस्तै बिकास गुरुङले ३८० केजी उठाएर रजत पदक जिते भने पावर जिमका रमजन अलिले ३७० उठाएर कास्य पदक जिते। त्यस्तै ७४.१ देखि ८३ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा ड्रिम जिमका सुरज पौडेलले ४६७.५ तौल उठाएर स्वर्ण जिते भने बार स्क्वाडका जस्पेर गुरुङले ४४५ केजी उठाएर रजत पदक जिते। त्यस्तै बबिन पुनले ४३० केजी उठाएर कास्य जिते। त्यस्तै ५९.१ देखि ६६ केजी तौल समूहमा क्रमश बिबेक गुरुङ (४४० केजी), बिबेक खडका (४०२.५ केजी) र मौलादीन मिया (३२० केजी) पहिलो, दोस्रो र तेस्रो भए । त्यस्तै ५९ केजी भन्दा कम तौल समूह बीच भएको प्रतिस्पर्धामा क्रमश किसन गुरुङ (३४२.५ केजी), संदेश गुरुङ (३४० केजी) र युनिक गुरुङ (३१२.५ केजी) पहिलो, दोस्रो र तेस्रो भए । ९३ केजी भन्दा बढी तौल समूह बीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टरका सनिस श्रेष्ठले समग्रमा ५४० केजी तौल उठाएर स्वर्ण पदक हात पारे । त्यस्तै क्रमश सुमिन परियार (४५७.५ केजी) र प्रथम श्रेष्ठ (४५२.५ केजी) दोस्रो र तेस्रो भए । महिला तर्फ भएको ६३ केजी भन्दा बढी तौल समुहमा व्यायामशालाका शर्मिला शाह (३९० केजी) ले स्वर्ण पदक जितिन्। त्यस्तै सरस्वती गुरुङ ( ३३२.५ केजीं र गुडु थापा (३२३ केजी) क्रमश दोस्रो र तेस्रो भए । ५५.१ देखि ६३ केजी तौल समूहमा क्रमश लक्ष्मी राना मगर (२७५ केजी), एनिमाया दर्जी (२४४ केजी) र सोनी गुरुङ (२४१ केजी) क्रमश पहिलो, दोस्रो र तेस्रो भए । त्यस्तै ५५.१ देखि ६३ केजी तौल समूहमा क्रमश लक्ष्मी राना मगर (२७५ केजी) , एनिमाया दर्जी (२४४ केजीं) र सोनी गुरुङ (२४१ केजी) क्रमश पहिलो, दोस्रो र तेस्रो भए । त्यस्तै ५५ केजी भन्दा कम तौल समूहमा क्रमश सपना गुरुङ (२७७.५ केजी) , पदमा थापा (२७० केजी) र सुस्मिता पौडेल (२२३ केजी) क्रमश पहिलो, दोस्रो र तेस्रो भए ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगीताको पुरुषतर्फ लमजुङका सविनचन्द्र घिमिरे प्रथम भएका छन् । कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी गर्दै कुल साढे ४ अंकका साथ उनी प्रथम भएका हुन् । यसैगरी कुल साढे ४ अंकका साथ मुस्ताङका राजन पहाडी द्धितिय भए । उनले पनि कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी खेलेका थिए । यसैगरी बागलुङका लेख बहादुर थापा ४ अंकका साथ तृतिय भए । उनले ४ खेलमा जित र एक खेलमा हार बेहोरेका थिए । पुरुषतर्फ २३ जना प्रतियोगिले भाग लिएका थिए । यसैगरी बुद्धिचाल प्रतियोगीताको महिलातर्फ कास्कीकी पुजा भण्डारी प्रथम हुन सफल भइन् । उनले कुल ५ राउण्ड खेलमा ५ वटै खेल जित्दै प्रथम हुन सफल बनेकी हुन् । यसैगरी ४ राउण्डमा प्रथम र एक राउण्डमा पराजय भोगेर कुल ४ अंक जोडेकी लमजुङकी स्तुती खवास द्धितिय बनिन् । ३ राउण्डमा जित एक राउण्डमा हार र एक राउण्डमा बराबरी खेलेकी बागलुङकी झरना थापा तृतिय बनिन् । महिलातर्फ १३ जना खेलाडीले नाम दर्ता गराएपनि १२ जना खेलाडीले प्रतियोगितामा सहभागीता जनाए । बुद्धिचाल प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, तनहुँ , बागलुङ, लमजुङ, मुस्ताङ, पर्वत, स्याङजा र नवलपुर जिल्लाले सहभागीता जनाएका थिए । मनाङ, गोरखा र म्याग्दि जिल्लाले भने सहभागीता जनाएन । बुद्धिचाल प्रतियोगिताको लागि संयोजकको जिम्मेवारी ओम प्रसाद उपाध्याय र प्रशिक्षकको जिम्मेवारी शुक्र प्रसाद प्रधानलाई दिइएको थियो । प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगीता पोखरा सिर्जनाचोकस्थित स्टार लाउञ्ज एण्ड बारमा भएको हो । प्रथम, द्धितिय र तृतिय भई छनोट भएका खेलाडी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी बन्नेछन् । उनीहरुले अब केही दिनपछि बन्दप्रशिक्षणमा सहभागिता जनाउने प्रशिक्षक प्रधानले बताए ।
पोखरा : पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुरुष क्रिकेट छनौंट खेल पोखरा रंगशालामा जारी छ । प्रदेशका विभिन्न ८ जिल्लाका ४८ खेलाडीहरुलाई ४ टिममा विभाजन गरि प्रतिस्पर्धा गराइएको छ । ‘प्रतियोगितामा जिल्ला जिल्ला विच प्रतिस्पर्धा गराइने कार्यक्रम थियो, तर खराब मौसमका कारण ति खेलाडीहरुलाई ४ टिममा विभाजन गराई क्याम्पको शैलिमा प्रतिस्पर्धा गराइएको हो’,गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुले बताए । चारै टिमका प्रतिस्पर्धा सकिएपछि आइतबार साँझसम्म प्रदेशका खेलाडीहरुको चयन गरिने प्रजुले जनाए । शनिबार दुई तथा आइतबार दुई वटा खेल गराइने उनले बताए । यिनै प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेश टिममा चयन हुने उनको भनाई छ ।
गोरखा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ । दुई निर्वाचन क्षेत्र र प्रदेशतर्फ चार निर्वाचन क्षेत्र रहेको जिल्लामा माओवादीले प्रस्तावित उम्मेदवारको नाम टुङ्गो लगाएर सिफारिस गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्यक्षतर्फ क्षेत्र १ मा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’सहित केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) र नेत्री सुशीला सिङ्खडाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) मा केन्द्रीय सदस्य लेखबहादुर थापा, अमरबहादुर गुरुङ र पर्शुराम रम्तेलको नाम सिफारिस गरेको केन्द्रीय सदस्य थापामगरले जानकारी दिनुभयो । सोही क्षेत्र अन्तर्गत प्रदेशसभा (ख) मा केन्द्रीय सदस्य कृष्ण धिताल, जगन्नाथ खनाल र धु्रवकुमार भट्टको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पूर्वउपप्रधानमन्त्री श्रेष्ठ सहित पार्टीका केन्द्रीय सचिव हितराज पाण्डे र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको र सो क्षेत्र अन्तर्गत प्रदेशसभा (क) मा केन्द्रीय सदस्य खोपबहादुर कँडेल, कमला नहर्की र र धना तमुको नाम सिफारिस गर्ने निर्णय गरिएको छ । सो क्षेत्र अन्तर्गत प्रदेशसभा (ख) मा पार्टी केन्द्रीय सदस्य भगवती तिवारी, नरबहादुर गुरुङ र वासु पोखरेलको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रले जिल्लाअन्तर्गत सङ्घ र प्रदेशका सबै क्षेत्रका लागि समानुपातिकतर्फका उम्मेद्वारको प्रस्तावित नामावलीको समेत टुङगो लगाएको जनाएको छ ।
पोखरा : पोखरामा आयोजना हुने नवौँ खेलकुदका लागि आजदेखि पोखरामा खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । नवौँ खेलकुदका लागि पोखरामा सुरु भएको छनौट खेल अन्र्तगत महिला भलिबलमा बागलुङ, कास्की, लमजुङ र स्याङ्जा विजयी भएका छन् । पोखरा रंगशाला भलिबल कोर्टमा भएको खेलमा बागलुङले तनहुँलाई सोझो सेटमा पराजित गरेको छ । बागलुङले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–१७ मा आफ्नो पक्षमा पार्दै विजयी भएको हो । त्यसभन्दा अगाडी पोखरा रंगशालाको बहुुउद्धेश्यीय कवर्ड हलमा भएको खेलमा कास्कीले नवलपुरलाई पराजित गरेको छ । कास्कीले नवलपुरलार्य सोझो सेटमा पराजित गरेको हो । कास्कीले पहिलो सेट २५–१३ र दोस्रो सेट २५–१६ मा नवलपुरलाई पराजित गरेको हो । पर्वत र लमजुङबीचको खेलमा लमजुुङ विजयी भएको छ । लमजुङले पर्वतलाई सोझो सेटमा पराजित गरेको हो । लमजुङले पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२२ ले पर्वतलाई पराजित गरेको हो । बहुउद्धेश्यीय कवर्ड हलमा भएको खेलमा नै स्याङ्जाले मुस्ताङलाई सोझो सेटमा पराजित गरेको छ । स्याङ्जाले मुस्ताङलाई पहिलो सेटमा २५–०३ र दोस्रो सेट २५–११ मा पराजित गरेको हो । आजबाट सुरु भएको छनौट खेलमा गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरु पोखरा आएका छन् । आज पोखरामा रंगशालामा अन्य खेलहरु समेत सञ्चालन भएका छन् ।

