पोखरा:   गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२०८३ को लागि ३१ अर्ब ५७ करोड ९९ लाख रुपैयाँ छुट्याएको छ।   गण्डकी प्रदेशसभामा अर्थमन्त्री टकराज गुरुङले आइतबार आगामी वर्षको आय–व्यय विवर...

  पोखरा : पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुरुष क्रिकेट छनौंट खेल पोखरा रंगशालामा जारी छ ।    प्रदेशका विभिन्न ८ जिल्लाका ४८ खेलाडीहरुलाई ४ टिममा विभाजन गरि प्रतिस्पर्धा गराइएको छ । ‘प्रतियोगितामा जिल्ला जिल्ला विच प्रतिस्पर्धा गराइने कार्यक्रम थियो, तर खराब मौसमका कारण ति खेलाडीहरुलाई ४ टिममा विभाजन गराई क्याम्पको शैलिमा प्रतिस्पर्धा गराइएको हो’,गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुले बताए ।   चारै टिमका प्रतिस्पर्धा सकिएपछि आइतबार साँझसम्म प्रदेशका खेलाडीहरुको चयन गरिने प्रजुले जनाए । शनिबार दुई तथा आइतबार दुई वटा खेल गराइने उनले बताए । यिनै प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेश टिममा चयन हुने उनको भनाई छ ।

गोरखा  :  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश)  सहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।    दुई निर्वाचन क्षेत्र र प्रदेशतर्फ चार निर्वाचन क्षेत्र रहेको जिल्लामा माओवादीले प्रस्तावित उम्मेदवारको नाम टुङ्गो लगाएर सिफारिस गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्यक्षतर्फ  क्षेत्र १ मा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’सहित केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) र नेत्री सुशीला सिङ्खडाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।    त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) मा केन्द्रीय सदस्य लेखबहादुर थापा, अमरबहादुर गुरुङ र पर्शुराम रम्तेलको नाम सिफारिस गरेको केन्द्रीय सदस्य थापामगरले जानकारी दिनुभयो । सोही क्षेत्र अन्तर्गत प्रदेशसभा (ख) मा केन्द्रीय सदस्य कृष्ण धिताल, जगन्नाथ खनाल र धु्रवकुमार भट्टको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।    त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पूर्वउपप्रधानमन्त्री श्रेष्ठ सहित पार्टीका केन्द्रीय सचिव हितराज पाण्डे र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको र सो क्षेत्र अन्तर्गत प्रदेशसभा (क) मा केन्द्रीय सदस्य खोपबहादुर कँडेल, कमला नहर्की र  र धना तमुको नाम सिफारिस गर्ने निर्णय गरिएको छ ।    सो क्षेत्र अन्तर्गत प्रदेशसभा (ख) मा पार्टी केन्द्रीय सदस्य भगवती तिवारी, नरबहादुर गुरुङ र वासु पोखरेलको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रले जिल्लाअन्तर्गत सङ्घ र प्रदेशका सबै क्षेत्रका लागि समानुपातिकतर्फका उम्मेद्वारको प्रस्तावित नामावलीको समेत टुङगो लगाएको जनाएको छ ।   

  पोखरा : पोखरामा आयोजना हुने नवौँ खेलकुदका लागि आजदेखि पोखरामा खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ ।    नवौँ खेलकुदका लागि पोखरामा सुरु भएको छनौट खेल अन्र्तगत महिला भलिबलमा बागलुङ, कास्की, लमजुङ र स्याङ्जा विजयी भएका छन् ।    पोखरा रंगशाला भलिबल कोर्टमा भएको खेलमा बागलुङले तनहुँलाई सोझो सेटमा पराजित गरेको छ ।    बागलुङले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–१७ मा आफ्नो पक्षमा पार्दै विजयी भएको हो ।    त्यसभन्दा अगाडी पोखरा रंगशालाको बहुुउद्धेश्यीय कवर्ड हलमा भएको खेलमा कास्कीले नवलपुरलाई पराजित गरेको छ । कास्कीले नवलपुरलार्य सोझो सेटमा पराजित गरेको हो ।  कास्कीले पहिलो सेट २५–१३ र दोस्रो सेट २५–१६ मा नवलपुरलाई पराजित गरेको हो ।    पर्वत र लमजुङबीचको खेलमा लमजुुङ विजयी भएको छ । लमजुङले पर्वतलाई सोझो सेटमा पराजित गरेको हो । लमजुङले पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२२ ले पर्वतलाई पराजित गरेको हो ।  बहुउद्धेश्यीय कवर्ड हलमा भएको खेलमा नै स्याङ्जाले मुस्ताङलाई सोझो सेटमा पराजित गरेको छ ।    स्याङ्जाले मुस्ताङलाई पहिलो सेटमा २५–०३ र दोस्रो सेट २५–११ मा पराजित गरेको हो । आजबाट सुरु भएको छनौट खेलमा गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरु पोखरा आएका छन् । आज पोखरामा रंगशालामा अन्य खेलहरु समेत सञ्चालन भएका छन् । 

  पोखरा  :  गण्डकी प्रदेशले विभागीय टोली नेपाल एपिएफ क्लबमाथि पूनरागमन जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।    लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकीले एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । गण्डकीले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो ।   पहिलो सेट २२–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पनि २२–२५ ले गुमाएको थियो । विवादित बनेको तेस्रो सेट २५–२३ ले जित्दै गण्डकी खेलमा फर्किएको थियो ।   २२–२२ को बराबरीको अवस्थापछि खेल विवादित बन्न पुगेको थियो । गण्डकी २२–२३ ले पछि रहँदा विवाद बढ्दै गएपछि खेल झन्डै ३० मिनेट रोकिएको थियो । त्यसपछि शुरु भएको खेलमा गण्डकीले लगातार ३ अंक जोड्दै २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।   चौथो सेटमा एकपक्षीय प्रदर्शन गरेको गण्डकीले २५–१६ ले जित्दै खेललाई पाँचौ सेटमा लम्व्याउँदै फाइनल पुग्ने आशा जीवितै राखेको थियो । निर्णायक तथा पाँचौ सेट प्रतिस्पर्धात्मक बन्दा गण्डकीले १७–१५ ले सेट आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो ।   अब गण्डकीले उपाधिका लागि बुधबार आर्मी र पुलिसबीचको विजेतासँग खेल्नेछ । आर्मी र पुलिसबीचको दोस्रो सेमिफाइनल अहिले भइरहेको छ।   महिलातर्फ न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब फाइनलमा पुगिसकेका छन् । पुलिसले आर्मीलाई तथा न्यू डायमण्डले गण्डकीलाई हराएर फाइनल प्रवेश गरेको हो । पुरुष र महिला दुवैतर्फको फाइनल बुधबार हुनेछ ।   नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भइरहेको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ अन्तिम समयमा सहभागी नभएको आयोजकले जनाएको छ ।   महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ ।   दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ ।   पोखराको लामाचौरमा जारी तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको पहिलो सेमिफाइन खेलमा खेलाडी र रेफ्रीमाथि बोतल प्रहार भएको छ ।    तेस्रो सेटमा  रेफ्रीमाथि बोतल प्रहार     लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको सेमिफाइनल खेलमा विभागीय टोली नेपाल एपिएफ र गण्डकी प्रदेशबिच भइरहेको खेलको तेस्रो सेटमा रेफ्रीमाथि बोतल प्रहार भएको हो ।  खेलको तेस्रो सेटमा गण्डकी प्रदेशका खेलाडीको फल देखाएपछि रुष्ट बनेका दर्शकले रेफ्री र खेलाडीमाथि बोतल प्रहार गरेका हुन् ।   

  गण्डकी  :  गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चाडपर्वको मौलिकता जोगाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । हरितालिका तीजको पावन अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले चाडपर्व हाम्रा संस्कृति र पहिचान भएको उल्लेख गर्नुभयो ।    “मौलिक संस्कृतिको प्रवद्र्धन गदै संस्कारयुक्त सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वको मौलिकता जोगाउनु अहिलेको आवश्यकता हो”, शुभकामना सन्देशमा भनिएको छ । हरितालिका तीजलाई नेपाली महिलाले एक सनातन सांस्कृतिक पर्वको रुपमा मनाउँदै आएको सन्देशमा उल्लेख गरिएको छ ।    भाद्र शुक्लपक्ष तृतीयाका दिनपर्ने यस पर्वमा महिलाले भगवान् शिवपार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको प्रदेश प्रमुख गुरुङले भन्नुभएको छ । सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले सबैमा खुसी साटासाट गदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्धलाई दृढ गर्न सकोस् भन्ने उहाँले कामना गर्नुभएको छ । 

पोखराको लामाचौरमा आयोजित लामाचौर तीज महोत्सव २०७९ लामाचौर कप महिला पुरुष  राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको विभागीय टोली नेपाल एपिएफ क्लब विजयी भएको छ ।   आइतबार भएको पहिलो खेलमा विभागीय नेपाल एपिएफ क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । लगातार दोस्रो हारसँगै मणिमुकुन्द समूह चरणबाटै बाहिरिएको छ । अब यो समूहबाट पुलिस र एपिएफबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । पुलिसले शनिबार मणि मुकुन्दमाथि ३–१ को सेटमै जित निकालेको थियो ।   लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा एपिएफले शुरुवाती सेट २०–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट २५–१९, २५–२२ र २५–१९ ले जित्न सफल भएको थियो । गण्डकी र आर्मीको खेल पुनः स्थगित   लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेल पुनः स्थगित भएको छ । लाइट प्रोटेस्टका कारण शनिबार पनि स्थगित भएको खेल आइतबार पनि स्थगित हुन पुगेको आयोजक नव आदर्श सामुदायिक विकास समाजले जनाएको छ ।   पोखरामा लगातार वर्षाका कारण खेल निर्धारित समयमा शुरु हुन सकेको थियो । आइतबार भएको पहिलो सेटमा गण्डकीले आर्मीमाथि २५–१९ को सेटमा जित निकालेको थियो ।   लाइट प्रोटेस्ट लाग्ने पक्का भएपछि नै दुवै टोलीले नयाँ खेलाडीलाई मौका प्रदान गर्दा गण्डकीले बाजी मारेको हो । अब यो खेल सोमबार शुरुबाटै हुनेछ । यसअघि शनिबार आर्मीले पहिलो सेट ३१–२९ ले जितेपछि खेल स्थगित भएको थियो ।   वर्षाका कारण महिलातर्फको एक खेल पनि हुन सकेको छैन । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा चार दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ अन्तिम समयमा सहभागी भएनन् ।   महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ ।   दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी कास्की जिल्लाबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन् ।    नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ गण्डकीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यही भदौ ११ देखि १८ गतेसम्म पोखरामा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरेको सङ्घका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य वसन्तराज दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशस्तरीयका लागि दुई छुट्टाछुट्टै खेलका लागि खेलाडी छनोट गरिएको हो ।   छनोट हुनेमा पुरुष क्रसकन्ट्रितर्फ विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र शेरबहादुर गुरुङ हुनुहुन्छ । त्यसमा आशिष थापा वैकल्पिकका खेलाडीका रुपमा हुनुहुन्छ । पुरुष एकुररेसीतर्फ रिकी पोडे, सुमन थापा, अमित थापा, सागर नेपाली र हरि थापा रहनुभएको छ । त्यसमा विष्णु गौतम वैकल्पिकका रुपमा हुनुहुन्छ ।   महिलातर्फको क्रसकन्ट्रिमा त्रिशा श्रेष्ठ र सुष्मिता सुनुवार तथा महिला एक्युरेसीमा कृषु पौडेल र रितु श्रेष्ठ रहनुभएको छ । छनोट भएका खेलाडीले भदौ १६ देखि १८ गतेसम्म पोखरामा हुने प्रदेशस्तरीय छनोटमा सहभागिता जनाउने कास्की जिल्ला खेलकुद कार्यालयका प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो ।

  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयता संस्थागत गर्न गण्डकी प्रदेश सरकारले महत्वपूर्ण काम गरेको बताउनुभएको छ ।    मुस्ताङका जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा अन्य सङ्घ संस्थाका प्रमुखसँगको अन्तरक्रियामा उहाँले सङ्घीयतालाई संस्थागत बनाउन जगदेखि नै काम थालिएको र यसबीचमा पूर्वाधार मात्र नभएर सामाजिक क्षेत्रमा उल्लेखनीय काम भएको बताउनुभयो ।    काम गर्ने क्रममा भएका गल्ती कमजोरीलाई लिएर शासन व्यवस्था माथि नै प्रश्न उठाउने बेला नभएको उहाँले बताउनुभयो । सीमित साधनस्रोत र जनशक्तिकाबीच सडक, पुलसँगै उज्यालो प्रदेश कार्यक्रमदेखि ‘एक घर, एक धारा’ जस्ता नमूना काम गर्न सफल भइएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।   शासन व्यवस्थालाई सुदृढ पार्दै नागरिकका अपेक्षा पूरा गर्न आफूले बिना पूर्वाग्रह कार्य सम्पादन गर्दै आएको उहाँको भनाइ छ । गुनासो नआउने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिँदै मुख्यमन्त्री पोखरेलले कर्मचारीलाई सक्षम बनाउन प्रदेश प्रशिक्षण प्रतिष्ठानले काम गर्दै आएको बताउनुभयो । सङ्घ सरकारलाई कुरेर बस्दा ढिलाइ भएको भन्दै उहाँले प्रदेश निजामती कर्मचारी विधेयक र स्थानीय तह कर्मचारी विधेयक अध्यादेशबाट ल्याउन लागिएको जानकारी दिनुभयो । केन्द्रिकृत मानसिकता नै सङ्घीयता कार्यान्वयनको वाधक बनेको उहाँको भनाइ छ ।   कोरोला त्रिवेणी सडक प्रदेशकै लाइफ लाइन रहे पनि निर्माण व्यवसायीको लापरबाहीका कारण म्याग्दी र मुस्ताङ खण्डको काम अलपत्र परेकामा प्रदेश सरकारको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । उत्तरतर्फको नाका सञ्चालनका लागि प्रदेशले सङ्घ सरकारलाई ध्यानाकर्षण गर्दै आइरहेको उहाँले बताउनुभयो । आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले प्रदेशले आफ्नो क्षमताअनुसार प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउनका लागि प्रयत्नरत रहेको बताउनुभयो । विपद् व्यस्थापनका क्षेत्रमा प्रदेशले सक्दो काम गरेको बताउँदै उहाँले राहत तथा उद्धारका लागि जिल्ला प्रशासनसँग समन्वय भइरहेको बताउनुभयो ।

‘जनताको साथमा कांग्रेस’ अभियानलाई लक्षित गरी नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले प्रदेशभित्रका ११ वटै जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाएको छ ।   गण्डकी प्रदेश कार्यसमितिको बिहीबार सम्पन्न पदाधिकारी बैठकले प्रदेशअन्तर्गतका जिल्लामा प्रदेश समितिका पदाधिकारी र ३६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बाँस्तोला ‘मधु’ले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङ र मुस्ताङका लागि प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापतिद्वय कल्पना तिवारी र मेखलाल श्रेष्ठलाई बागलुङ र म्याग्दी, महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेलाई कास्की र पर्वत, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठलाई गोरखा, सहमहामन्त्री कोपिला रानाभाटलाई स्याङ्जा, रमेश पाण्डेलाई नवलपुर, रामचन्द्र जोशीलाई लमजुङ र माधवप्रसाद बाँस्तोला ‘मधु’लाई तनहुँ जिल्लाका लागि प्रतिनिधि खटाइएको छ ।   त्यस्तै ३६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइएको उहाँले जानकारी दिनुभयो । बैठकबाट प्रदेश कार्यसमितिअन्तर्गत सूचना सञ्चार तथा प्रचार विभागमा सबै जिल्लाको प्रतिनिधित्व हुने गरी १२ प्रदेश विभाग सदस्य थप गरिएको विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुभयो । बैठकले कांग्रेस केन्द्रीय सदस्य, नेता एवं समाजवादी चिन्तक प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको असामयिक निधनप्रति शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।