तनहुँ : मोटरसाइकल दुर्घटनामा परी बायाँ हात भाँचिएकी तनहुँकी एक महिलालाई आज हेलिकप्टर चार्टर गरी उपचारका लागि काठमाडौँ लगिएको छ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटार निवासी २९ वर्षीय रेणु थापालाई हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौँ लगिएको हो । मोटरसाइकलमा सवार हुँदा सल चक्कामा बेरिएर दुर्घटना हुँदा बायाँ हातको पाखुरा भाँचिएको थियो । भाँचिएको हात जडान हुनसक्ने दमौली अस्पतालका चिकित्सकले बताएपछि घाइते महिलालाई काठमाडौँ लगिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
पोखरा: क्याप्टेन विजय लामाले नेपाल सरकारले केही विषयलाई लिएर कसैको व्यवसाय रोक्न नहुने बताएका छन् । सोमबार पोखराको लेकसाइडमा बिजिबी कोरियन रेष्टुरेन्टको उद्घाटन गर्दै उनले केही विषयलाई लिएर कसैको व्यवसाय रोक्न नहुने बताएका हुन् । पोखरामा आयोजना भएको नवौं खेलकदु प्रतियोगितामा भएको प्याराग्लाइडिङ दुर्घटनालाई लिएर व्यवसाय नै बन्द गराउनु व्यवासयीको लागि उचित नभएको क्याप्टेन लामाले बताए । ‘दुर्घटना कहिले हुन्छ कहाँ हुन्छ कसैलाई थाहा छैन् । यसलाई रोक्न न सरकारले सक्छ न व्यवसायीले नै, उनले भने, ‘त्यसैले कुनै विषयलाई कारण देखाएर त्यो व्यवसाय बन्द उचित होइन ।’ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरानमा प्याराग्लाडिङ खेलको क्रममा त्रिभुवन आर्मी क्लबका निसिम थापाको ज्यान गएको थियो । उनले खेलाडी प्रति समवेदना प्रकट गर्दै राष्ट्रले एक नौजवान खेलाडी गुमाएकाले अब यस्तो दुर्घटना हुन नदिन सबैले यसमा ध्यान पु¥याउनुपर्नेमा जोड दिए । उनले पोखरा पर्यटनको हिसाबमा टप ५ मा पर्ने बताउदै यसको विकास र प्रचारप्रसारमा स्थानीय तहदेखि सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखे । ‘पोखरा विश्वको टप ५ मा छ । पोखराको पर्यटकको रोजाई मध्येको एक, जहाँ हरियालीदेखि पर्यटकको रोजाईका ठाउँहरु पोखरा र आसपासमै छन् त्यसैले पोखरा टप ५ मा पछ ।’ क्याप्टेन लामाले भने । लामाले पोखराको पर्यटकको रोजाईमा हुँदापनि उचित विकासको पूर्वाधार निर्माण हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै भने, ‘देशलाई आर्थिक रुपमा चलायन बनाउन पर्यटन क्षेत्र हो तर यसमा राज्यले उचित ध्यान दिन सकेन । पर्यटकलाई पोखरासँगै मनाङ, मुस्ताङ लगायतका जिल्लामा जोड्न पूर्वाधारको अभाव भएको छ । यसमा ध्यान कहिले पुग्ला? सडकको अवस्था कै कारण पर्यटक विचल्ली हुनु परेको अवस्थामा छ ।’
पोखरा : नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौंमा देखिएका समस्यालाई दशौंमा सुधार गर्ने बताए । उनले नवौं खेलकुदले धेरै कुरा सिकाएको र यसलाई खेलकर्मी तथा पदीय जिम्मेवारीमा बसेकाले पनि ख्याल गर्नुपर्नेमा जोड दिए । यो प्रतियोगिताले विभिन्न विधाका खेलाडीहरूले स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट उत्कृष्ट खेलकौशल प्रदर्शन गर्दै उच्च मनोवलका साथ प्रतिस्पर्धामा सहभागी भई पदक प्राप्त गर्ने तथा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने काम समेत भएको उनले सुनाए । नवौंबाट प्राप्त ज्ञान, सीप र क्षमताले आगामी दिनमा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको उपस्थिति अझ सशक्त हुनेमा आफु आशावादी रहेको बताए । खेलकुद क्षेत्रको २० वर्षे गुरुयोजना निर्माण तथा खेल विश्वविद्यालय स्थापनाको चरणमा रहेको उनले सुनाए ।
पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध भएको बताएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले विभिन्न सिमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताए । चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राष्ट्रिय खेलकुद लगायतका प्रतियोगिता नियमित तवरमा आयोजना हुने विश्वास व्यक्त गरे । राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो क्षमता र खेलकौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै भने “यसले हाम्रा खेलाडीको खेल कौशललाई थप निखार्दै अन्तराष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितामा मुलुकको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्छ । अतः यो निश्चित समयको अन्तरालमा नियमित तवरमा भइरहनु आवश्यक हुन्छ ।” नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल र सहभागी खेलाडी संख्याका आधारमा नेपाली खेलकुद इतिहासमा हालसम्मकै ठूलो प्रतियोगिता भएको भन्दै प्रधानमन्त्रीले “प्रतियोगितामा दुई प्रदर्शन खेलसँगै ३६ वटा खेल समावेश गरिएकोमा छ हजार भन्दा बढी खेलाडीले ३९६ स्वर्ण लगायत पदकका लागि प्रतिष्पर्धा गरेका थिए” उनले भने ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा भएको खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । लुम्बिनी प्रदेशलाई १०–१४ को अंकले हराउँदै विभागीय टिमले स्वर्ण पदक हात पारेको हो । महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ । विभागीय टिम नेपाल आर्मीलाई १८–१६ ले पराजित गर्दै लुम्बिनी प्रदेशले स्वर्ण पदक पाएको हो । राउन्ड रोबिन लिग आधारमा भएको खोखो प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम र पुरुषतर्फ बागमती प्रदेशले रजत पदक हात पारेका छन् । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा तेस्रो स्थानका लागि भएको स्पर्धामा महिलातर्फ प्रदेश १ लाई पराजित गर्दै काँस्य पदक जितेको हो । पुरुषतर्फ बागमती प्रदेश १ लाई नै हराउँदै बागमती प्रदेशले काँस्य पदक जितेको छ । बागमतीले २८–७ अंकले प्रदेश १ लाई पराजित गरेको हो । असोज ३० देखि सुरु भएको प्रतियोगितामा २ विभागीयसहित ९ टिम सहभागी थिए ।
पोखरा : पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा सम्पन्न स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेशले च्याम्पियन बनेको छ । आज (बिहिबार) भएको फाइनल खेलमा गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिम्हलाई ११–८, ११–६ र ११– ८ सहित ३–० को सोझो सेटमा पराजित गरे भने टिम इभेन्टमै गण्डकीकै दिपक थापाले बागमतीका अमिर ब्लोनलाई ११–७, १३–११ र ११– ३ सहित ३–० सो सेटमा हराउदै आफ्नो प्रदेशलाई स्वर्ण पदक दिलाए । त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ र प्रदेश नम्बर १ लाई हराउँदै लुम्बिनी प्रदेश सँयुक्त तेस्रो बन्दै कास्य पदक प्राप्त गरे । त्यसैगरि महिलातर्फ बागमतीकी विपना ब्लोन च्याम्पियन बनिन् । उनले सोही प्रदेशकै स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा हाराउँदै ब्लोनले स्वर्ण पदक जितिन् भने बागमतीकी भावना सुनुवार र गण्डकीकी कृष्णा थापामगर सँयुक्त तेस्रो बन्दै कास्य पदक प्राप्त गरिन् । पदक विजेताहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए । यसअघि पुरुषतर्फ व्यक्तिगत विधामा गण्डकीकै अमृत थापामगरले स्वर्ण बागमतीका अरहान्त सिम्ह रजत र सोही प्रदेशकै अमिर ब्लोन र गण्डककीका दिपक थापा सँयुक्त तेस्रो बन्दै कास्य पदक हात पारेका थिए । सो प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको थियो ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लबले दोहोरो स्वर्ण जितेको छ । बिहीबार पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले र महिलातर्फ नेपाल पुलिस क्लबलाई ३०–२३ पोइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो । । पुरुषतर्फ पराजित लुम्बिनी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लबले उपविजेत बन्दै रजत पदकमा चित्त बुझाएका छन् । प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब यस्तै महिलातर्फ लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल कास्य पदक विजेता बने । प्रतियोगितामा पुरुषतर्फ कर्णाली प्रदेशका मिराप थापा मगर र महिलातर्फ त्रिभूवन आर्मी क्लबकी अनुजा कुलिङ्ग राई उत्कष्ट खेलाडी घोषित जनही ५/५ हजार रुपैयाँसहित मेडल र पमाणपत्र प्राप्त गरे । आर्मी सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुवै समुहको स्वर्ण विजेता हो । यही असोज ३० गतेदेखि शुरु भएको प्रतियोगितामा महिला तथा पुरुषमा गरि सात प्रदेश र ३ विभागिय गरि १०/१० टिमको सहभागिता रहेको थियो ।
पोखरा : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले गण्डकीका खेल पत्रकारको प्रशंसा गरेका छन् । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन पोखरा रंगशालामा रहेको मिडिया सेन्टरमा पत्रकारसँग भेट गरी गरेको कामको प्रशंसा व्यक्त गर्दै धन्यवाद दिएका हुन् । उनले भने–‘नवौं राष्ट्रिय प्रतियोगिता मेरो लागि पहिलो थियो । मेरो नयाँ अनुभवसँगै गण्डकीका पत्रकारहरूले प्रतियोगितालाई सफल बनाउन जुन भूमिका खेल्नु भएको छ त्यो प्रशंसनिय छ ।’ नवौ राष्ट्रिय खेलकुद आफ्ना लागि पहिलो तर यस्ता ठुल्ठूला राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय खेलकुदहरू नेपाली खेलकुद पत्रकारहरूले गरेको कार्य आफूले सधैँ देख्दै र धेरै पटक व्यहोर्दै सम्हाल्दै आएको उल्लेख गर्दै भने–‘ गण्डकी प्रदेशका खेलकुद पत्रकारहरूबाट सन्देश अरू सबै प्रदेशका र केन्द्रका खेलकुद पत्रकारहरूले पनि लिएर जानु हुनेछ भन्ने मैले विश्वास लिएको छु । र उहाँहरूलाई त्यो लिएर जानुहोस् पनि भनेको छु ।’ नवौं राष्ट्रिय खेलकुदमा गण्डकीका पत्रकारहरूले जोश र जाँगरका साथ व्यवस्थित रूपमा कार्य गरेको देख्दा आफू पनि उत्साहित भएको बताउँदै भने–‘अहिले सबै राष्ट्रिय मिडियाका खेलकुद पत्रकारहरूको भनाइ के छ भने– गण्डकी प्रदेशमा कार्यरत खेलकुद पत्रकारहरूले नवौं राष्ट्रिय खेलकुदमा निकै उत्कृष्ट, निकै व्यवस्थित खालको मिडियाको कामलाई तुल्याएको छ भन्ने उहाँहरू सबैको प्रतिक्रिया छ । यो प्रतिक्रियाप्रति म निकै आभारी छु, त्यसका लागि खुसी व्यक्त गर्न चाहन्छु र गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सका ५ इभेन्टमा त्रिभुवन आर्मीकी जयरानी थारुले ५ स्वर्ण पदक जितेकी छन् । उनले टिम इभेन्टमा २ र सिंगलमा ३ स्वर्ण जितेकी हुन् । ४ सय मिटर महिला हडल्स, १ सय मिटर महिला हडल्स, महिला लङजम्पतर्फ सिंगल र ४ सय मिटर रिले दौड र १६ सय मिटर रिले दौडमा जयरानीसहितको टिम विजयी भयो । ४ सय मिटर हडल्स, १ सय मिटर हडल्स र लङजम्पमा जयरानीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् ।

