पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादनको वैठक विविध निर्णय सहित सम्पन्न भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा भएको उक्त वैठकमा आसन्न मंसीर ४ गते हुन गइरहेको निर्वाचन लक्षित रणनीतिका साथै अन्य योजना सहित वैठकमा छलफल भएको थियो । उक्त वैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरु निर्वाचनमा सहभागी गठबन्धन दलका उमेद्वारहरुलाई विजयी गराउनको लागि प्रदेश कार्य समितिले सम्बन्धित जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई प्रभावकारी रुपमा परिचालन गर्न गण्डकी प्रदेशका तर्फबाट तयार गरेको घोषणा पत्र “गण्डकी प्रदेशको संकल्प” लाई ११ वटै जिल्लामा पठाउने निर्णय गरिएको प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) ले जानकारी दिए । गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा प्रदेशको तर्फबाट आवश्यक समन्वय र परिचालन गर्न प्रदेश सभापति लगायतले जिल्ला–जिल्लामा भ्रमण गर्ने र निर्वाचन अवधीभर प्रदेश सचिवालयलाई दुरुस्त र निर्वाचन सम्पर्क समन्वय गर्न प्रवक्ताको संयोजकत्वमा एक समिति गठन गर्ने नेपाली कांग्रेस गण्डकी प्रदेशले जानकारी गराइएको छ । त्यसैगरी मुख्य सचिव प्रकाश बराल प्रदेश सभा सदस्यको उमेद्वार भएको हुँँदा अर्को व्यवस्था नभए सम्मका लागि फलेवास नगरपालिका –१, पर्वतका पदम श्रेष्ठलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता बास्तोलाले बताए । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्णय अनुसार यही असोज ३१ गते भित्र विद्रोही उमेद्वारलाई आफ्नो उमेद्वारी निस्कृय बनाउन नेपाली कांग्रेस गण्डकी प्रदेशले पहल गर्ने बताइएको छ । उक्त बैठकबाट पर्वत जिल्ला निवासी नेपाली कांग्रेसका नेता तथा प्रजातन्त्र सेनानी श्री कृष्ण बहादुर जोशीको असोज २९ गते ९४ वर्षको उमेरमा भएको असामयिक निधन र नेपालका संस्कृत विद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको असोज ३० गते १०३ वर्षको उमेरमा भएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना व्यक्त गर्नुका साथै, शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । यसैविच नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको संयोजकत्वमा ५ दलिय गठबन्धनको बैठक बसेको छ । उक्त वैठकले गठबन्धनको विरुद्धमा विभिन्न जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा मनोनयन गरेका पार्टीका उमेदवारहरुलाई उमेद्वार निस्क्रिय पार्न आ–आफ्नो दलका विद्रोही उमेद्वारलाई वक्तव्य निकाल्न आवश्यक पहल गर्ने, यही कार्तिक ४ गते गण्डकी प्रदेशमा हुने केन्द्रीय गठबन्धनको भेलालाई व्यवस्थित बनाउने बारेमा छलफल भएको थियो । साथै, प्रदेश स्तरीय निर्वाचन परिचालन समितिमा प्रत्येक दलका पार्टी प्रमुख सहित २/२ जना रहने गरी गठन गर्ने निर्णय गरेको बताइएको छ ।
पोखरा : नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत शारीरिक सुगठनमा आयोजक गण्डकी प्रदेशले दुई स्वर्ण जितेको छ । पोखरा सभागृहमा भएको खेलमा आर्मीले पनि दुई स्वर्ण जित्न सफल भएको छ भने नेपाल पुलिस क्लबले एक स्वर्ण जितेको हो । गण्डकीले ५५ र ६५ किलो समूहमा स्वर्ण जित्दा आर्मीले ७० र ७५ किलो समूहमा स्वर्ण हात पारेको हो भने, पुलिसले ६० किलो तौल समूहमा स्वर्ण जितेको हो । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जित्नुभएको हो । यस्तै बागमतीका दिनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बोले कास्य पदकमा जित्नुभयो । स्वर्णका लागि प्रि–जर्ज राउण्डबाट छनोट भएका पाँच जनाबाट हमाल विजेता बन्नुभएको हो । यस्तै ६० किलो तौल समूहमा नेपाल पुलिसका डेबिड बलामीले स्वर्ण, एपीएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलले कास्य पदक जित्नुभयो । उहाँहरुसँगै यो विधामा प्रदेश १ का सन्देश राई र नेपाल आर्मीका जलबहादुर चौधरी उत्कृष्ट पाँचमा पर्नुभएको थियो । ६५ किलो तौल समूहमा गण्डकी प्रदेशका अशिम गुरुङले स्वर्ण जित्नु हुँदा लुम्बिनी प्रदेशका नवराज डुम्रेले रजत र सुदूरपश्चिम प्रदेशका सुनिल चन्दले कास्य पदक ल्याउनुभयो । सो विधामा एपीएफका सेमान्त कडारा र आर्मीका निशान शाही उत्कृष्ट पाँचमा हुनुहुन्थ्यो । ७० किलो तौल समूहमा नेपाल आर्मीले स्वर्ण जितेको हो । सो तौल समूहमा आर्मीका प्रज्वलमान शाक्य, मधेस प्रदेशका किरण यादव, लुम्बिनी प्रदेशका वृजेन्द्रमान श्रेष्ठ र गण्डकी प्रदेशका निश्चल केसी उत्कृष्टमा पाँचमा थिए । सो तौल समूहमा आर्मीका शाक्यले स्वर्ण जित्दा मधेस प्रदेशले रजत र लुम्बिनी प्रदेशले कास्य पदक जितेको हो । आइतबार भएको ७५ किलो तौल समूहमा नेपाल आर्मीले स्वर्ण जित्नुभएको छ । उहाँले मधेस प्रदेशका शनि अजाम, बागमती प्रदेशका योगशराज शाही, सुदूरपश्चिम प्रदेशका लक्ष्मीदत्त पन्त र लुम्बिनी प्रदेशका आकाश रानालाई पछि पार्नुभएको हो । ७५ किलो तौल समूहमा मधेस प्रदेशले रजत र बागमती प्रदेशले कास्य पदक जितेको हो । प्रत्येक तौल समूहका खेलाडीबीच प्रि–जर्ज गरी उत्कृष्ट पाँचबाट फाइनल खेलाएको शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिनुभयो । शारीरिक सुगठनतर्फ ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स एक सय ७० सेमी र एक सय ७० सेमीमाथिको विधामा प्रतिस्पर्धा हुनेछ । भने महिलाहरुले खुला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा पनि सोमबार हुने संयोजक श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा प्रदेश एक, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लबका ९४ खेलाडीले सहभागिता जनाउनुभएको छ । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा स्टान्डर्ड (३० मिटर) विधाको एकल पुरुष र महिलातर्फ फाइनल समिकरण पूरा भएको छ । स्टान्डर्ड एकल पुरुषतर्फ नेपाल पुलिसका नगेन्द्र आचार्य र गण्डकीका दुर्गा घर्ती मगर फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । पहिलो सेमिफाइनलमा पुलिसका नगेन्द्रले गण्डकीका कृष्ण भण्डारीलाई ७–३ सेटमा हराए । यस्तै, दोस्रो सेमिफाइनलमा गण्डकीका दुर्गा घर्ती मगरले बाग्मतीका फारमसेन शेरचनलाई ६–४ को सेटमा पराजित गरेका हुन् । महिला एकलतर्फ प्रदेश १ की योगिता कामवाङले नेपाल आर्मीकी खड्गकुमारी थापा मगर विरुद्ध ७–३ को सेटमा जीत दर्ता गरेकी हुन् । यस्तै, अर्को सेमिफाइनलमा एपीएफकी सोनुजया राईले नेपाल आर्मीकी शारदा विकलाई ६–४ सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेकी हुन् । शनिबार वरियता निर्धारणका क्रममा पुरुषतर्फ पहिलो स्थानका दुर्गा घर्ती मगर र दोस्रो स्थानका नगेन्द्र आचार्य दुवै फाइनल पुगे भने महिलातर्फ पहिलो अनुश्का शेरचन र दोस्रो भएकी शारदा विक अन्तिम दुईको यात्रा तय गर्न सकेनन् । तेस्रो स्थानकी सोनु जया र चौथो स्थानकी योगिता फाइनल पुगेका हुन् । रिकर्भ मेन र कम्पाउण्ड वुमनतर्फ वरियता निर्धारण आइतबार रिकर्भ मेन र कम्पाउण्ड वुमनतर्फको ¥याङकिङ राउण्ड सकिएको छ । रिकर्भ (७० मिटर) पुरुषतर्फ गण्डकीका गंगा बहादुर कुँवर पहिलो वरियतामा रहेका छन् । ६५४ स्कोर ल्याएका कुँवरकोे १ स्कोर कम हुँदा रेकर्ड भेट्न सकेनन् । सन् २०१० मा बैंककको एशियन गेममा प्रेमप्रसाद पुनको नाममा रहेको नेपाली खेलाडीको उच्च रेकर्ड ६५५ स्कोर हो । यस्तै, पुलिसका तिलक पुन ६३५ स्कोर र गण्डकीका असिम शेरचन ६३० अंकका साथ तेस्रो स्थानमा रहन सफल भए । कम्पाउण्ड (५० मिटर) महिलातर्फको विधामा एपीएफी पार्षदा आचार्य ६६१ अंकका साथ वरियताको शीर्ष स्थानमा रहिन् । १३ औं सागमा इमायुङ राईले गरेको ६३४ स्कोरको उच्च रेकर्ड पार्षदाले तोडिन् । आर्मीकी इमायुङ भने अहिले ६२७ स्कोरका साथ दोस्रो वरियतामा रहिन् । यस्तै, ६११ स्कोरका साथ निर्मला राई कामवाङ तेस्रो स्थानमा रहिन् । सोमबार विहान रिकर्भ वुमनका वरियता निर्धारण, रिकर्भ मेनको इलिमिनेशन राउण्डका खेल हुनेछन् भने रिकर्भ मेन र कम्पाउण्ड वुमनका सेमिफाइनल खेल पनि हुनेछन् । यस्तै विभिन्न विधाका क्वार्टर तथा सेमिफाइनल खेल पनि सोमबार नै हुनेछन् । स्टान्डर्ड विधामा कास्य पदकका लागि पनि सोमबार नै खेल हुने नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले जानकारी दिए ।
पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डी प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले महिला तथा पुरुष दूवै स्पर्धामा विजयी शुरुवात गरेको छ । आइतबारबाट पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरीङमा भएको उद्घाटन खेलमा महिलातर्फ त्रिभूवन आर्मी क्लवले मधेश प्रदेशलाई ७२–१५ पोइन्टले पराजित गर्दा पुरुषतर्फ आर्मीले कर्णाली प्रदेशलाई ४८–२३ पोइन्टले पराजित गरेको छ । प्रतियोगिता अन्र्तगत आजनै पुरुष र महिला दुबै स्पर्धामा ५–५ वटा प्रतिस्पर्धा भएका छन् । आज भएको पुरुषतर्फ दोस्रो खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई ५३– ५० पोइन्टले पराजित गर्दा तेस्रो खेलमा प्रदेश नम्वर १ नेपाल प्रहरीसँग ५१ – ३९ ले पराजित हुन पुग्यो । चौथो खेलमा सुदुर पश्चिमले मधेश प्रदेशलाई ४९ – ३६ र अन्तिम खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४० – ५० पोइन्टले पराजित ग¥यो । यस्तै महिलातर्फ प्रदेश नम्वर १ नेपाल प्रहरी क्लवसँग ६९– १७ पोइन्टले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल प्रहरी क्लवले प्रदेश नम्वर १ लाई ६९ – १७ पोइन्टले पराजित गर्दा तेस्रो खेलमा सशस्त्र प्रहरी बल बाग्मती प्रदेशसँग ६५ – १६ पोइन्टले विजयी भयो । चौथो खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ४९ – ३७ ले पराजित गर्दा अन्तिम खेलमा सुदुर पश्चिम प्रदेश विजयी भएको छ । सुदुर पश्चिमले मधेश प्रदेशलाई ६७–१६ पोइन्टले पराजित ग¥यो । प्रतियोगिता अन्र्तगत सोमबार (भोलि) महिला तथा पुरुष दुवैतर्फ ६–६ खेल सञ्चालन गरिने छ । जसअन्र्तगत महिलातर्फ प्रदेश नम्वर १ र लुम्बिनी, त्रिभूवन आर्मी क्लव र बाग्मती प्रदेश, नेपाल प्रहरी क्लव र कर्णाली प्रदेश, सशस्त्र प्रहरी वल र सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र मधेश प्रदेश र बाग्मती प्रदेश आम्ने साम्ने गर्ने छन् । यस्तै पुरुषतर्फ बाग्मती प्रदेश र सशस्त्र प्रहरी वल, त्रिभून आर्मी क्लव र नेपाली प्रहरी क्लव, लुम्बिनी प्रदेश र मधेश प्रदेश, प्रदेश नम्वर १ र गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र सशस्त्र प्रहरी वल र कर्णाली प्रदेश र नेपाल प्रहरी क्लवविच लिग चरणका खेलहरु सञ्चालन गरिने अखिल नेपाली कबड्डी संघका महासचिव विनोद प्रजापतीले जानकारी दिए । यसअघि प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । लिग कम नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताका समुह ‘क’ मा त्रिभूवन आर्मी क्लव , कर्णाली प्रदेश, प्रदेश नम्वर १, नेपाल प्रहरी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समुह ‘ख’ मा लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, मधेश प्रदेश, सुदुरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बल छन् । महिलातर्फ समुह ‘क’ मा नेपाली सेना, मधेश प्रदेश, सशस्त्र प्रहरी वल, बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेश छन् । यस्तै समुह ‘ख’ मा नेपाल प्रहरी, प्रदेश नम्वर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् । प्रतियोगिताका लागि महिला तथा पुरुष गरि १० वटा समुहका १२० जना खेलाडी सहित १४० जना अफिसियल पोखरामा छन् ।
पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा त्रिभुवन आर्मी र बागमती प्रदेशले थप स्वर्ण हात पारेका छन् । पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो । पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेशले रजत र महिलातर्फ आर्मीले रजत पदक जितेको छ । यसअघि एकल प्याट्रनमा आर्मीले तीन र बागमतीले दुई स्वर्ण हाँसिल गरेको थियो । प्रतियोगितको पहिलो दिन शनिबार भएका प्रतिस्पर्धामा पनि आर्मीले तीन स्वर्णसहित बर्चश्व कायम गरेको थियो । अहिलेसम्म गण्डकी प्रदेशले एकल प्याट्रनबाट एउटा मात्र स्वर्ण जित्न सफल भएको छ । स्पाइरिङतर्फ (४५–५०) उमेर समूहको पहिलो खेल समय नपुगेका कारण सेमिफाइनलमा पुगेर रोकिएको छ । सोमबार बिहान गण्डकी प्रदेशका खगेन्द्रबहादुर घर्ती र कर्णाली प्रदेशका मिलन धामीबीच फाइनल प्रतिस्पर्धा हुने नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् । शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका खेल भइरहेका छन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीहरु प्रतिस्पर्धामा छन् ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबल प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले विजय हासिल गरेको छ । आइतबार तनहुँ दमौलीको निर्मल मावि स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा मधेश प्रदेशलाई ४५–२१ अन्तरमा सुदुरपश्चिम विजयी भएको हो । प्रतियोगिताको पहिलो चरणमा सुदुरपश्चिमले १२–३ को अन्तर बनाएको हो । दोस्रो प्रतियोगितामा ११–७ को अन्तर बनाएको थियो । तेस्रो चरणमा भने निकै प्रतिस्पर्धात्मक खेल प्रर्दशन गर्दे दुबै टिमले ६–६ अकं जोडेको थियो । अन्तिम चरणमा भने सुदुपश्चिमले उत्कृष्ट प्रर्दशन गरि १६–५ को अकं जोडदै मधेस प्रदेशलाई पराजित गरको हो । यसअघि सुदुरपश्चिम प्रदेश र मधेस प्रदेश आर्मी संग पराजित भएको थियो ।
पोखरा : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा एपिएफले जित निकालेको छ । एपिएफले त्रिभुवन आर्मीलाई पराजित गरेको हो । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धामा शसस्त्रले सेनालाई एक को विरुद्ध तीन सेटले पराजित गरेको हो । लिक कम नकआउट वेष्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलको पहिलो, तेस्रो र चौथो सेट शसस्त्र तथा दोस्रो सेट आर्मीले जितेका थिए । विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको शसस्त्रले सेनालाई पहिलो सेट २५-२०, तेस्रो २५-२१ र चौथो सेट २५-२३ मा पराजित गरेको थियो । शसस्त्रका विरुद्ध २५-१९ ले दोस्रो सेट जितेको मनिषा खाडको नेतृत्वमा रहेको सेनाको टोलीले उत्कृष्ट प्रर्दशन र कडा प्रतिस्पर्धा गरेपनि तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्न सकेनन । तीन टिम रहेको समूह ‘ए’बाट शसस्त्र र त्रिभुवन आर्मी क्वाटरफाइनल प्रवेश गरेको छ । भलिबलका राष्ट्रिय रेफ्रि विनय राईले जानकारी दिनुभयो । क्वाटर फाइनलमा समूह ‘ए’को बिजेता शसस्त्र र समुह ‘सि’ को उपविजेता लुम्बनी प्रदेश भिड्ने भएका छन । यसैगरी समूह ‘सि’ को विजेता नेपाल पुलिस क्लव समूह ‘ए’को उपविजेता सेनासँग प्रतिस्पर्धा गर्नेछ । सेनाकी सुनिता खड्का, शसस्त्रकी सरस्वती चौधरी सहभागी खेलको खुल्ला मञ्च खेलमैदान दर्शकले भरिभराउ थियो । दर्शकले हुटिङ गरेर खेलाडीलाई हौसला प्रदान गरेका थिए । एपिएफकी निरुता ठगुल्नालाई 'वमेन अफ द म्याच' घोषणा गरिएको थियो । दोस्रो खेल आइतबार दिउँसो बाग्मती र मधेश प्रदेश बिच हुने प्रतिस्पर्धा हुने तालिका रहेको छ । आजको अन्तिम खेल संगै पहिलो चरणको सबै खेल सकिने छ । सात प्रदेश र तीन वटा विभागीय टिम सहभागी प्रतियोगितामा कर्णाली प्रदेश पहिलो चरणबाटै बाहिरिएको छ ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् । उनले पोखरा रंगशालामा आइतबार बिहान १० हजार मिटर दुरी ३० मिनेट १०.३० सेकेन्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १०.९९ सेकेन्डमा १० हजार दुरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल कन्ट्याक्ट कराँतेमा गण्डकी र नेपाल आर्मीले तीन/तीन स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषतर्फको ३०-४०, ४५-५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०-५५ तौल समूहमा एक स्वर्ण जितेको हो । त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०-६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो । खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका रूपक नेपालीलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका हुन् । सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बने । नेपालीले रजत पदकमा चित्त बुझाए । पुरुषतर्फकै ६०-६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेका हुन् । भुजेलले रजत पदक जिते । पुरुष तर्फकै ५५-६० केजी तौल समूहमा नेपाल प्रहरीका शुशन लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका छन् । पुरुषतर्फकै ५०-५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए । यसैगरी ४५-५० केजी तौल समूहमा गण्डकीका अनीष बुढामगरले वागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जितेका छन् भने बागमतीका राइले रजतमा चित्त बुझाए । ४०-४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनील तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत पदक जितेका छन् । पुरुषतर्फको ३५-४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन् । थिङले रजत पदक पाए । महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले स्वर्ण पदक जितेकी छन् । उनले बागमती प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन् भने बोहोराले रजत पदक पाइन् । ५०-५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन् भने चन्दले रजत पदकमा चित्त बुझाइन् । ४५-५० केजी तौल समूहमा बागमती प्रदेशकी नविना धमालले सशस्त्र प्रहरीकी करिष्मा कार्कीलाई पराजित गरी स्वर्ण जित्दा कार्कीले रजत पदक जितिन् । ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छन् भने ढुंगेलले रजत पदक जितिन् । महिलातर्फको ३५-४० तौलक केजी समूहको खेल भने स्थगित भएको छ । सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगित भएको प्रतियोगिता सहसंयोजक दीपक गोदारले बताए । विवादका कारण दिउँसो साढे २ घण्टा सबै प्रतिष्पर्धा रोकिएका थिए । पोखराको प्रदर्शनी केन्द्रमा भएको प्रतिष्पर्धा खेलमा सात वटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी भएका थिए । अन्तर्राष्ट्रियस्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियम अनुसार प्रतिष्पर्धा गराइएको थियो ।