पोखरा:   गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२०८३ को लागि ३१ अर्ब ५७ करोड ९९ लाख रुपैयाँ छुट्याएको छ।   गण्डकी प्रदेशसभामा अर्थमन्त्री टकराज गुरुङले आइतबार आगामी वर्षको आय–व्यय विवर...

पोखरा : पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ ।   प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरे । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन् ।    विभागीय टोली नेपाली आर्मी, शसस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशले भाग लिएका छन् । प्रतियोगितामा प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागीता जनाएका छन् ।  तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । ईपी, फोयल र सेबर गरी तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा भईरहेको छ । राउण्ड रोविनमा सवार्धिक अंक ल्याउने खेलाडी अर्को चरणमा प्रबेश गर्ने कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले जानकारी दिए । 

पोखरा  :  गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आफुले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गरेका छन् ।    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनको तर्फबाट कास्की २ (ख) मा प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गरेको भोलीपल्ट सोमबार मन्त्री थापाले सवारी सुविधा फिर्ता गरेका हुन् ।    मन्त्री थापाले गण्डकीको कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेबारी पाएपछि प्रयोग गर्दै आएको ग १ झ ५६३ नम्बरको सवारीको चाबी मन्त्रालयको सचिव शम्भूप्रसाद रेग्मीलाई हस्तान्तरण गर्दै सुविधा फिर्ता गरेका छन् ।    निर्वाचनलाई मर्यादित बनाउन सवारी सुविधा फिर्ता गरेको मन्त्री थापाले बताएका छन् । ‘गण्डकी प्रदेश सरकार अन्तर्गत कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रीका रुपमा कार्यभार सम्हाल्दा सरकारी गाडी सुविधा प्राप्त गरेको थिएँ । आसन्न प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेसँगै अब म उम्मेदवार पनि भएकाले चुनावी प्रचार प्रसार लगायत अन्य काममा समेत संलग्न हुनुपर्ने भएकाले सुविधा स्वरुप प्राप्त झण्डावाल गाडी आज मन्त्रालयका सचिवज्यूलाई फिर्ता गरेको छु ।’, उनले भने ।    जनताको करबाट आर्जेको सरकारी सम्पतिको दुरुपयोग नहोस् भन्नेमा हिजो पनि आफु सचेत रहेको र आज पनि भएको अभिव्यक्ति उनको छ । आगामी समय पनि सो कार्यले निरन्तरता पाउने भनाई मन्त्री थापाको छ ।    मन्त्री थापाले २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गरेको विवरण केही दिन अघि मात्र पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।   

पोखरा  : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी आज पोखरा आइपुगेको छ ।   गत भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभएको ट्रफी यसअघि अन्य छवटा प्रदेश तथा तीनवटा विभागीय टोलीमा पुर्‍याइएको थियो ।राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज ट्रफी अनावरण गर्नुभयो । त्यस अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङलगायतको उपस्थिति थियो ।    राष्ट्रिय खेलकुदको गरिमा र महत्वलाई दृष्टिगत गर्दै परिषद्ले पहिलो पटक ट्रफी टुर कार्यक्रम सञ्चालनमा ल्याएको हो । ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता कराँतेका दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई सहभागी हुनुहुन्छ ।   उहाँहरूलाई मुख्यमन्त्री पोखरेलले स्वागत गर्दै चार दशकपछि प्रतियोगिताआयोजना गर्न पाउनु गण्डकीवासीका लागि गौरवको विषय भएको बताउनुभयो । राष्ट्रमा खेलकुदको विशिष्ट महत्व रहेकाले यस खेललाई भव्यताका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।   तालबाराही मन्दिर परिक्रमा गराएर ट्रफी सुरक्षा निकायको जिम्मामा   पोखरा ल्याइएको ट्रफी पोखराका विभिन्न स्थानका साथै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य फेवातालस्थित तालबाराही मन्दिरको परिक्रमा गराएर सुरक्षा निकायको जिम्मा लगाइएको छ । पोखराको तालबाराहीमा ट्रफीसहित ट्रफी टुरमा सहभागी राष्ट्रिय खेलाडीलाई महानगरका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले स्वागत गर्नुभयो ।   चार दशकको अन्तरालपछि पोखरामा हुन लागेको नवौँं राष्ट्रिय खेलकुद समग्र पोखरेलीका लागि गर्वको विषय भएको महानगरप्रमुख आचार्यले बताउनुभयो । यस राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्नका लागि महानगरका तर्फबाट सक्दो सहयोग हुने उहाँले विश्वास दिलाउनुभयो । नवौं राष्ट्रिय खेलकुदका अवसर पारेर भोलि मङगलबार वृहत् फेवाताल सरसफाइ अभियान सञ्चालन गर्न लागिएकोे पनि महानगरप्रमुख आचार्यले जानकारी दिनुभयो ।   विसं २०३८देखि सुरु राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत २०४० मा दोस्रो राष्ट्रिय खेलकुद सम्पन्न गरेको पोखराले चार दशकपछि घरेलु मैदानमा खेल गराउने सौभाग्य पाएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताउनुभयो । प्रतियोगिताअन्तर्गत विभिन्न ३६  खेल हुने भएका छन् ।    यही असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछन् । प्रतियोगिताका लागि कास्कीसहित तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बागलुङमा खेलस्थल तोकिएको छ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधारलगायतका कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यस पटक खेल हुनेछैनन् ।   खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन  पोखरा रङ्गशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्नाष्टिक, ह्याण्डलबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसु प्रतियोगिता पोखरा रङ्गशालमा हुनेछ । पुरुष बाँस्केटबल पोखरामा र महिला बाँस्केटबल तनहुँमा हुने भएको छ । आर्चरी र फेन्सिङ पोखरा रङ्गशालमा हुनेछ । यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ ।  पौडी पोखराको फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ । रग्बी भण्डारढिक खेलमैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टीप्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने भएको छ ।   यसैगरी म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ भने बागलुङमा आइटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ । नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ । स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ । पूर्वाधार अभावका कारण सुटिङ भने काठमाडौँमा खेलाइने भएको छ ।    यसैगरी परिषद्ले राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी ‘नेशनल स्पोर्टस् काउन्सिल एप्स’ सञ्चालनमा ल्याएको छ । सो एप्सबाट खेलको तयारी, नतिजालगायत सबै विवरण जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गते हुने भए पनि महिला क्रिकेट  असोज २३ गतेदेखि पोखरामा सुरु भइसकेको छ । 

कास्की :  गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेलहरू आजदेखि सुरु भएको छ ।    प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सुरु भएको क्रिकेटको उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेशलाई पराजित गर्दै मधेस प्रदेशले विजयी सुरुआत गरेको छ ।   मधेसले आयोजक गण्डकी प्रदेशमाथि ४० रनको फराकिलो अन्तरको जित दर्ता गर्न सफल भयो । मधेसले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमात्र जोड्न सफल भयो । खेलमा टस जितेर गण्डकीले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ७७ रनको योगफल तयार पारेको थियो ।   गण्डकीका शिला क्षेत्रीले सर्वाधिक दश रन जोड्नुभयो । ओपनर सिर्जना पौडेलले ३६ बलको सामना गर्दै सात रन बनाउनुभयो । मधेसका अनुराधा चौधरीले चार विकेट लिनुभयो । कविता गौतम र शान्ति चौधरीले समान दुई–दुई विकेट लिँदा सन्तोषी चौधरीले एक विकेट लिन सफल हुनुभयो ।   मधेस प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रनको योगदान दिनुभयो । मधेस प्रदेशलाई कम स्कोरमा रोक्न गण्डकी प्रदेशकी आकृति तिवारी एक्लैले तीन विकेट लिनुभयो ।   कुसुम गोदारले दुई तथा सृष्टि जैसी र शिला क्षेत्रीले समान एक–एक विकेट लिनुभयो । खेलमा मधेसका अनुराधा चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो । महिला क्रिकेटमा नौ टोलीले सहभागिता जनाएका छन् ।    सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा आयोजक गण्डकी प्रदेशसहित सशस्त्र प्रहरीको एपिएफ, मधेस प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेश छन् । यसैगरी समूह ‘ख’ मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश नं १ र लुम्बिनी प्रदेश रहेका छन् ।   यसअघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र राष्टिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बलिङ व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सदस्यसचिव घिसिङले राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुद सफल पार्न सबै प्रदशेवासीमा आग्रह गर्नुभयो ।   नवौँ राष्ट्रिय खेलकुद यही असोज २८ देखि कात्तिक ३ गतेसम्म औपचारिकरूपमा गण्डकीका आठ जिल्लामा हुँदैछ । समय अभावका कारण केही खेल प्रतियोगिता औपचारिक सुरु हुनुअगावै सञ्चालन गरिएको हो । राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाएका छन् । 

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दशैंलगायतका चाडपर्वले विविधताबीचको एकतालाई मजबुत बनाउने बताउनुभएको छ ।          विजयदशमी २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले पर्वसँग जोडिएका मूल्य, मान्यता एवं संस्कारहरूले मुलुकलाई समृद्धिको शिखरमा पु¥याउन सहयोग गर्ने र विविधताबीचको एकतालाई थप मजबुत बनाउन योगदान गर्ने बताउनुभयो ।   “हाम्रो देश बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण छ । विविधताबीचको एकता नै हाम्रो विशेषता हो”, उहाँले भन्नुभयो ।   प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हाम्रो साझा दायित्व रहेको उल्लेख गर्दै उहाँले सञ्चार, प्रविधि र यातायात सेवाका कारण पर्व मनाउने शैली फेरिएको बताउनुभयो ।   हाम्रा मौलिक पर्वसँग गाँसिएका वैज्ञानिक एवं मानवीय जीवनसँग जोडिएका सकारात्मक पक्षका बारेमा वर्तमान पुस्तालाई बुझाउन जरुरी रहेको सन्देशमा उल्लेख छ ।           यस पर्वलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने पर्वका रूपमा मनाउन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले महामारीका रूपमा फैलिएको डेङ्गीबाट जोगिन आवश्यक मापदण्ड पूर्णरूपमा अवलम्बन गर्नुपर्ने बताउनुभएको छ । 

ढोरपाटन: निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् ।   गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् ।   यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खखन गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ । “यो गाउँ तामाखानीले घिरिएको छ, गाउँका वरपर थुप्रै खाडल छन्, खाडल पुर्खाहरूले तामा निकाल्दा बनेको हो, गाउँ नै तामाखानीले भरिए पनि उत्खनन गर्न छाडेको सय वर्ष बढी भएछ”, स्थानीय ओमप्रसाद छन्त्यालले भन्नुभयो, “गाउँमा यति धेरै आयस्रोतको सम्भावना हुँदा पनि हामी गरिब छौँ, सरकारले यसको तत्काल उत्खनन गर्न जरुरी छ ।”   यस्ता खाडल नर्जाखानी क्षेत्रमा अनगिन्ती रहेको स्थानीय उहाँले बताउनुभयो । गाउँ तथा जङ्गलभरि खानी नै खानी रहेको हुँदा यसको गणना नै गरेर नसकिने उहाँको भनाइ छ । घरछेउ र बारीमासमेत अहिले पनि तामाका टुक्रा भेटिने गरेको उहाँले बताउनुभयो । “यो यस्तो गाउँ हो, यहाँ बारी खनजोत गर्दा पनि तामा निक्लिन्छ, पहिरो जाँदा पसनि तामा भेटिन्छ, जहाँ हे¥यो त्यहाँ तामाको खानी नै खानी छन्,” उहाँले भन्नुभयो, “यहाँ भएका भिर–पहरा जहाँसुकै खानी छन्, यसको गणना अहिलेसम्म हामीले गर्न सकेका छैनौँ ।”   उहाँले खानीहरूको पुनः उत्खनन गर्न सके गाउँका धेरैले रोजगार पाउने र जीवनस्तर उकासिने बताउनुभयो । छन्त्याल, थकाली र दलित जातिले यहाँ काम गरेर जीविकोपार्जन गरेको इतिहास रहेको उहाँको भनाइ छ । “अहिलेको जमानामा नयाँ–नयाँ प्रविधि छ, उतिबेलाको समयमा त बाउबाजेले एउटा निँगालो दियालोको भरमा त्यति ठूला–ठूला पहरा काटेर तामा निकाल्नुभयो, अहिले त केही समस्या छैन”, स्थानीय छन्त्यालले भन्नुभयो, “सरकारले तदारुकता देखाउने हो भने यहाँका जनताले यही नै रोजगार पाउन सक्थे, आत्मनिर्भर बन्ने थिए, रोजगारीका लागि भौतारिनुपर्ने थिएन ।”   खुङ्खानी नर्जाखानी क्षेत्रमा धेरै खानी भएको हुँदा खुबै खानी भन्ने गरेको र पछि खुङ्खानी भन्ने गरिएको स्थानीय कुलबहादुर छन्त्यालले बताउनभुयो । खुङ्खानी जर्जाखानी नजिकै रहेको गाउँ हो । “गाउँभरि खानी हुँदा हाम्रा अग्रजहरूले खुङ्खानीलाई खुबै खानी भन्ने गर्थे, अहिले आएर खुङ्खानी भन्ने गरिन्छ, यति धेरै खानी त अरु कुनै पनि ठाउँमा छैनन् होला”, उहाँले भन्नुभयो ।   उहाँले तामा निकालेको बाहेक नर्जाखानी क्षेत्रमा तत्कालीन समयका नागरिकहरूले बसोबास गरेको ठाउँको भग्नावशेष भेटिने गरेको बताउनुभयो । तत्कालीन सरकारले अत्यधिक कर बढाएपछि स्थानीयले तिर्न नसकेपछि तामा निकाल्न छाडेको छन्त्यालको भनाइ छ ।   तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरको पालादेखि यस क्षेत्रमा तामाखानी बन्द भएको कुलबहादुरको भनाइ छ । “बाउबाजेले भने अनुसार तत्कालीन सरकारले स्थानीयले निकालेको तामाभन्दा बढी मूल्यको कर बुझाउन भनेपछि तामा निकाल्न छाडेका रहेछन्, अहिलेसम्म निकाल्न सकिएको छैन”, कुलबहादुरले भन्नुभयो, “अहिलेको जस्तो प्रविधि थिएन, धेरै समय लगाएर कम तामा निकाल्ने गर्थे रे, कर धेरै तिर्न सरकारले ह्वीप जारी गरेपछि छाडेको रहेछन्, अब सरकारले सञ्चालन गर्न सक्ने हो भने स्थानीय र राज्यलाई करोडाैँको आम्दानी हुने थियो ।”   खासगरी खानीमा छन्त्यालहरूले काम गर्ने हुँदा उनीहरूलाई अनपढ वैज्ञानिक भन्ने गरिएको कुलबहादुरको भनाइ छ । छन्त्यालहरूले माटो सुँघेर तामाखानी पत्ता लगाउने गरेको बताउनुभयो ।  

नवौ रािष्ट्रय खेलकुद प्रतियोगिताको महिला बास्केटबल  तनहुँमा हुने भएको छ ।    केहि दिन अघि राष्ट्रिय खेलकुद परिषदले पोखरामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको खेल स्थल तालिकामा तनहुँ जिल्ला अटेको थिएन ।    पूर्व प्रदेश मन्त्रीद्धय किरण गुरुङ,हरि बहादुर चुमान,व्यासनगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने,खेल पत्रकार र खेल संघका पदाधिकारीले तनहुँ जिल्लामा नवौ राष्ट्रिय प्रतियोगिताका केहि खेल आफ्नो जिल्लामा हुन पर्ने अडान राखे पछि अन्तत: नवौ राष्ट्रिय प्रतियोगिताको ३६ खेल मध्य महिला बास्केटबल तनहुँको दमौलीमा हुने भएको हो ।    तनहुँबाट दबाब आए पछि राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल स्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले असोज ३ गते तनहुँको दमौली पुगेर त्यहाँका खेल स्थल अवलोकन गरेको थिए ।    खेल स्थल अवलोकन पश्चात गुरुङले स्थानिय प्रशासनको साथ पाए निर्मल माविको खेल मैदानमा महिला बास्केटबल हुने संकेत गरेका थिए ।    उनले तनहुँ पुगरे खेल स्थलको अवलोकन गरे पछि महिला बास्केटबल तनहुँ जिल्लाको सदरमुकाम दमौली अवस्थित निर्मल माविमा हुने उद्धघोष गरेका हुन ।    नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबल प्रतियोगिता हुने भनिएको निर्मल माविको बास्केटबल कोर्ट करिब ३ बर्ष अघि राष्ट्रिय खेलकुद परिषदको ४० लाख लगानीमा स्थापना भएको तनहुँ जिल्ला खेलकुद विकास समितिका प्रमुख शिव हरि पंण्डितले बताए ।    तनहुँ जिल्ला खेलकुद प्रतियोगिता गर्न सक्षम छ: व्यासनगरपालिका प्रमुख न्यौपाने    “नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको बारे खेल संघ संग क्मुनिकेशन ग्याप भयो,खेलस्थल तालिकामा तनहुँ जिल्लाको नाम नदेखे पछि हामी तातिएका हौ । राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरु संग कुरा ग¥यौ र खेल मैदानको देखायौ उनीहरुलाई हामी राष्ट्रिय प्रतियोगिताको लागि आवश्यक सबै व्यवस्थापन गर्न सक्छौ भन्ने प्रतिबद्धता जनाईसकेर काम शुरु गरे पछि नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबल तनहुँमा गर्ने पक्का भएको छ ।”मेयर न्यौपानेले भने ।    तनहुँ जिल्लामा आयोजना हुने महिला बास्केटबल प्रतियोगिता सफल बनाउनको लागि व्यासनगरपालिका लगायत अन्य स्थानिय निकायले पनि सहयोग गरेको छ । जसमा व्यासनगरपालिकाले ७ लाख ३० हजार,शुक्लागण्डकी नगरपालिका,भानु नगरपालिका र भिमाद नगरपालिकाले १÷१ लाख सहयोग गरेको छ ।    त्यस्तै घिरिङ गाउँपालिका,रिसिङ गाउँपालिका,म्याग्दे गाउँपालिका,बन्दिपुर गाउँपालिका,आबु खैरेनी गाउँपालिका र देवघाट गाउँपालिका गरि ६ गाउँपालिकाले ५०/५० हजार सहयोग गरेको व्यासनगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले बताए ।    ‘सात लाख ३० हजार चान चुनमा खेल मैदान बिस्तारको लागि व्यासनगरपालिकाले खर्च गर्ने छ , ठेकेदारले दिन रात गरेर भए पनि खेल मैदान समयमा तयार गर्ने बताएको छ  ।’ त्यसको लागि काम धे्रै अघि बढेकोले अब खेल हुन्न कि भन्ने शंका नगर्न मेयर न्यौपानेले खेलप्रेमी र खेलाडीहरुलाई आग्रह समेत गरे । उनले भने तनहुँ जिल्ला राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सक्षम छ । ’

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकी द्वारा हालै नवनियुक्त सल्लाहाकारहरुलाई मनोनयन पत्र हस्तान्तरण गरेको छ ।   परिषदले पोखरा रंगशालास्थित आफ्नै सभाकक्षमा आयोजित एक कार्यक्रममा नवनियुक्त सल्लाहाकारहरुलाई मनोनयन पत्र प्रदान गरेको हो । प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ३(ज) बमोजिम उनीहरुलाई गत भदौ ८ गते यूवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष समेत रहेका राजिव गुरुङको अध्यक्षतमा सम्पन्न वोर्ड बैठकले उनीहरुलाई मनोनयन गरेको थियो ।   परिषदको सल्लाहकारमा मनोनयन हुनेहरुमा खड्ग बहादुर रानाभाट (स्याङजा), गणेश बहादुर भट्टराई (कास्की), दिनेश श्रेष्ठ (कास्की), देवेन्द्र शेरचन (कास्की), इन्द्र बहादुर गुरुङ (गोरखा), सम्पन्न श्रेष्ठ (बागलुङ), महेश गुरुङ (कास्की), सुनिल गुरुङ (कास्की) र ओम बस्नेत (कास्की) रहेका छन् ।   प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले नवनियुक्त सल्लाहाकार हरुलाई मनोनयन पत्र प्रदान गरेका थिए । सो अवसरमा उनले नवनियुक्त सल्लाहाकारहरुको मनोनयनले प्रदेशको खेलकुद विकासमा थप सहयोग पुग्ने बताए ।   कार्यक्रममा आफ्ना भनाई राख्दै नवनियुक्त सल्लाहाकार एवम अग्रज खेलाडी रानाभाटले आफूहरुले खेल जिवनमा सिकेको ज्ञानलाई प्रदेशको खेलकुद विकासका संगै खेलाडी र खेलकुदको हितमा अघि बढाउने बताए । उनले असोज २८ बाट सुरु हुने नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गर्दै गण्डकी प्रदेशका ३९ वर्ष पछि हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पहिलो प्राथमिकता हुनु पर्ने कुरा औंल्याए ।   यसै गरी अर्का सल्लाहाकार दिनेश श्रेष्ठले उत्कृष्ट नेतृत्वका कारणले गठन भएको छोटो अवधिमा नै प्रदेश खेलकुदले गति लिएको बताउँदै उनले प्रदेश खेलकुद विकासका लागि आफूहरुलाई प्राप्त भूमिकालाई अझै प्रभावकारी रुपमा निभाउने उल्लेख गरे ।   सो अवसरमा अर्का सल्लाहाकार सुनिल गुरुङले आफूले जहिले पनि खेलकुदमा राम्रो कामको प्रशंसा र गलत कामको विरोध गर्र्दै आएको बताउँदै उनले खेलाडीको हितमा कार्य गर्नुपर्ने विषयमा जोड दिए । यसै गरी सल्लाहाकार ओम बस्नेतले सल्लाहाकार जस्तो गहन जिम्मेवारी प्रदान गरेकोमा प्रदेश खेलकुद प्रति आभार व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सवैको सहयोगको आवश्यक्ता रहेको बताए ।   प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उनले नवनियुक्त सल्लाहाकारहरुलाई बधाई दिंदै प्रदेशको खेलकुद विकासका लागि सकारात्मक सुझावको अपेक्षा रहेको बताए । सो अवसरमा उनले नवौं राष्ट्रिय खेलकुदको तयारी र बन्द प्रशिक्षण, खेलस्थहरुको अवस्थालगायतको विषयमा जानकारी गराएका थिए । 

बागलुङ:  सुन्तला गाउँका रुपमा रहेको सिगानाका अगुवा कृषक टोपबहादुर खड्काले बेमौसमी सुन्तला उत्पादन गर्नुभएको छ ।   सामान्यतः सुन्तलाको सिजन कात्तिक, मङ्सिरमा भएपनि उहाँले सय बोटमा बेमौसमी सुन्तला फलाउनुभएको छ । खड्काको सुन्तला बैँगचामा विभिन्न प्रजातिका १० देखि २० केजीसम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ । बेमौसमी सुन्तलाको बोट भने सानो हुने र छिटो फल्ने गर्दछ ।   बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरुप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन सुरु गरेपछि अहिले उहाँ उत्साहित बन्नुभएको छ । खड्काले पाँच वर्ष अगाडि मात्रै झण्डै एक सय बेमौसमी जातका सुन्तलाका बिरुवा लगाउनुभएको थियो ।   दुई वर्षदेखि ३० भन्दा बढी सुन्तलाको बोटमा सुन्तला फल्ने गरेको छ ।   अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि एशोधा र पोङ्कान भने एक महिनापछि पाक्नेछन् । “दुई वर्ष अघिसम्म उन्सु मात्रै सुन्तला दुई केजी बिक्री गरेको थिए, अहिले यसको उत्पादन बढेको छ, दशैँलाई कोसेलीका रुपमा गाउँमै बिक्रीसमेत भयो अहिले तीन सयभन्दा केजीभन्दा बढी सुन्तला पाक्यो”, उहाँले भन्नुभयो, “अब एक–एक महिनाको फरकमा यशोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो, अब यसको खेती विस्तार हुन्छ यसलाई छोटो समयमा धेरै सुन्तला उत्पादन गर्ने गरी बगैँचा विस्तार गर्न आवश्यक छ ।”   मौसमी जातको एउटा बोट लगाउने जग्गामा बेमौसमीका पाँच वटा बोट हुर्कन्छन् भने छिटो फल लाग्न थाल्दछ । थोरै बिरुवा लगाएरभन्दा ठूलो परिणाममा बिरुवा लगाउन सके राम्रो हुँने भन्दै आफूले उत्पादन गरेको सुन्तला दशैँको कोसेलीका रुपमा गाउँमै खपत हुने खड्काको भनाइ छ । खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा एक सय दाना मात्रै लाग्ने बताउनुभयो ।   बेमौसमी सुन्तलाको प्रतिकिलो रु एक सय ८० मा बिक्री हुने गरेको छ । चार दशकदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आउनुभएका खड्काले नयाँ जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउनुहुन्छ । पाँच वर्ष अघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सय बढी सुन्तलाका बोटमध्ये ५० प्रतिशत बोटमा सुन्तला फलेको छ ।   उक्त सुन्तलाका बोटले धान्न नसक्दा थाक्रो हाल्ने गरिएको छ । कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता राखेर उत्तिकै मेहनत गर्नुहुने खड्काले कीर्तिपुरस्थित कृषि अनुसन्धान केन्द्रबाट विभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर परीक्षणका लागि लगाउनुभएको थियो ।   नेपालमा अधिकांश कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाका जातको खेती गरिँदै आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानीज जातका सुन्तला लगाउनुभएको हो । व्यावसायिक उत्पादन गर्नसके बेमौसमी सुन्तलाको मूल्य अन्य सुन्तलाको तुलनामा तेब्बर पर्ने खड्काले बताउनुभयो ।   चालिस वर्षदेखि स्थानीय तथा कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाको खेती गर्दै आउनुभएका उहाँले हालसम्म १४ प्रजातिका सुन्तलाका बिरुवा लगाउनुभएको छ । उहाँसँग झण्डै १० रोपनी जग्गामा मौसमी सुन्तला खेती रहेको छ । उहाँले मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँची, तरकारीको समेत खेती गर्दै आउनुभएको छ ।