गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

कास्की :  गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेलहरू आजदेखि सुरु भएको छ ।    प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सुरु भएको क्रिकेटको उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेशलाई पराजित गर्दै मधेस प्रदेशले विजयी सुरुआत गरेको छ ।   मधेसले आयोजक गण्डकी प्रदेशमाथि ४० रनको फराकिलो अन्तरको जित दर्ता गर्न सफल भयो । मधेसले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमात्र जोड्न सफल भयो । खेलमा टस जितेर गण्डकीले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ७७ रनको योगफल तयार पारेको थियो ।   गण्डकीका शिला क्षेत्रीले सर्वाधिक दश रन जोड्नुभयो । ओपनर सिर्जना पौडेलले ३६ बलको सामना गर्दै सात रन बनाउनुभयो । मधेसका अनुराधा चौधरीले चार विकेट लिनुभयो । कविता गौतम र शान्ति चौधरीले समान दुई–दुई विकेट लिँदा सन्तोषी चौधरीले एक विकेट लिन सफल हुनुभयो ।   मधेस प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रनको योगदान दिनुभयो । मधेस प्रदेशलाई कम स्कोरमा रोक्न गण्डकी प्रदेशकी आकृति तिवारी एक्लैले तीन विकेट लिनुभयो ।   कुसुम गोदारले दुई तथा सृष्टि जैसी र शिला क्षेत्रीले समान एक–एक विकेट लिनुभयो । खेलमा मधेसका अनुराधा चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो । महिला क्रिकेटमा नौ टोलीले सहभागिता जनाएका छन् ।    सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा आयोजक गण्डकी प्रदेशसहित सशस्त्र प्रहरीको एपिएफ, मधेस प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेश छन् । यसैगरी समूह ‘ख’ मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश नं १ र लुम्बिनी प्रदेश रहेका छन् ।   यसअघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र राष्टिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बलिङ व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सदस्यसचिव घिसिङले राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुद सफल पार्न सबै प्रदशेवासीमा आग्रह गर्नुभयो ।   नवौँ राष्ट्रिय खेलकुद यही असोज २८ देखि कात्तिक ३ गतेसम्म औपचारिकरूपमा गण्डकीका आठ जिल्लामा हुँदैछ । समय अभावका कारण केही खेल प्रतियोगिता औपचारिक सुरु हुनुअगावै सञ्चालन गरिएको हो । राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाएका छन् । 

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दशैंलगायतका चाडपर्वले विविधताबीचको एकतालाई मजबुत बनाउने बताउनुभएको छ ।          विजयदशमी २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले पर्वसँग जोडिएका मूल्य, मान्यता एवं संस्कारहरूले मुलुकलाई समृद्धिको शिखरमा पु¥याउन सहयोग गर्ने र विविधताबीचको एकतालाई थप मजबुत बनाउन योगदान गर्ने बताउनुभयो ।   “हाम्रो देश बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण छ । विविधताबीचको एकता नै हाम्रो विशेषता हो”, उहाँले भन्नुभयो ।   प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हाम्रो साझा दायित्व रहेको उल्लेख गर्दै उहाँले सञ्चार, प्रविधि र यातायात सेवाका कारण पर्व मनाउने शैली फेरिएको बताउनुभयो ।   हाम्रा मौलिक पर्वसँग गाँसिएका वैज्ञानिक एवं मानवीय जीवनसँग जोडिएका सकारात्मक पक्षका बारेमा वर्तमान पुस्तालाई बुझाउन जरुरी रहेको सन्देशमा उल्लेख छ ।           यस पर्वलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने पर्वका रूपमा मनाउन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले महामारीका रूपमा फैलिएको डेङ्गीबाट जोगिन आवश्यक मापदण्ड पूर्णरूपमा अवलम्बन गर्नुपर्ने बताउनुभएको छ । 

ढोरपाटन: निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् ।   गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् ।   यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खखन गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ । “यो गाउँ तामाखानीले घिरिएको छ, गाउँका वरपर थुप्रै खाडल छन्, खाडल पुर्खाहरूले तामा निकाल्दा बनेको हो, गाउँ नै तामाखानीले भरिए पनि उत्खनन गर्न छाडेको सय वर्ष बढी भएछ”, स्थानीय ओमप्रसाद छन्त्यालले भन्नुभयो, “गाउँमा यति धेरै आयस्रोतको सम्भावना हुँदा पनि हामी गरिब छौँ, सरकारले यसको तत्काल उत्खनन गर्न जरुरी छ ।”   यस्ता खाडल नर्जाखानी क्षेत्रमा अनगिन्ती रहेको स्थानीय उहाँले बताउनुभयो । गाउँ तथा जङ्गलभरि खानी नै खानी रहेको हुँदा यसको गणना नै गरेर नसकिने उहाँको भनाइ छ । घरछेउ र बारीमासमेत अहिले पनि तामाका टुक्रा भेटिने गरेको उहाँले बताउनुभयो । “यो यस्तो गाउँ हो, यहाँ बारी खनजोत गर्दा पनि तामा निक्लिन्छ, पहिरो जाँदा पसनि तामा भेटिन्छ, जहाँ हे¥यो त्यहाँ तामाको खानी नै खानी छन्,” उहाँले भन्नुभयो, “यहाँ भएका भिर–पहरा जहाँसुकै खानी छन्, यसको गणना अहिलेसम्म हामीले गर्न सकेका छैनौँ ।”   उहाँले खानीहरूको पुनः उत्खनन गर्न सके गाउँका धेरैले रोजगार पाउने र जीवनस्तर उकासिने बताउनुभयो । छन्त्याल, थकाली र दलित जातिले यहाँ काम गरेर जीविकोपार्जन गरेको इतिहास रहेको उहाँको भनाइ छ । “अहिलेको जमानामा नयाँ–नयाँ प्रविधि छ, उतिबेलाको समयमा त बाउबाजेले एउटा निँगालो दियालोको भरमा त्यति ठूला–ठूला पहरा काटेर तामा निकाल्नुभयो, अहिले त केही समस्या छैन”, स्थानीय छन्त्यालले भन्नुभयो, “सरकारले तदारुकता देखाउने हो भने यहाँका जनताले यही नै रोजगार पाउन सक्थे, आत्मनिर्भर बन्ने थिए, रोजगारीका लागि भौतारिनुपर्ने थिएन ।”   खुङ्खानी नर्जाखानी क्षेत्रमा धेरै खानी भएको हुँदा खुबै खानी भन्ने गरेको र पछि खुङ्खानी भन्ने गरिएको स्थानीय कुलबहादुर छन्त्यालले बताउनभुयो । खुङ्खानी जर्जाखानी नजिकै रहेको गाउँ हो । “गाउँभरि खानी हुँदा हाम्रा अग्रजहरूले खुङ्खानीलाई खुबै खानी भन्ने गर्थे, अहिले आएर खुङ्खानी भन्ने गरिन्छ, यति धेरै खानी त अरु कुनै पनि ठाउँमा छैनन् होला”, उहाँले भन्नुभयो ।   उहाँले तामा निकालेको बाहेक नर्जाखानी क्षेत्रमा तत्कालीन समयका नागरिकहरूले बसोबास गरेको ठाउँको भग्नावशेष भेटिने गरेको बताउनुभयो । तत्कालीन सरकारले अत्यधिक कर बढाएपछि स्थानीयले तिर्न नसकेपछि तामा निकाल्न छाडेको छन्त्यालको भनाइ छ ।   तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरको पालादेखि यस क्षेत्रमा तामाखानी बन्द भएको कुलबहादुरको भनाइ छ । “बाउबाजेले भने अनुसार तत्कालीन सरकारले स्थानीयले निकालेको तामाभन्दा बढी मूल्यको कर बुझाउन भनेपछि तामा निकाल्न छाडेका रहेछन्, अहिलेसम्म निकाल्न सकिएको छैन”, कुलबहादुरले भन्नुभयो, “अहिलेको जस्तो प्रविधि थिएन, धेरै समय लगाएर कम तामा निकाल्ने गर्थे रे, कर धेरै तिर्न सरकारले ह्वीप जारी गरेपछि छाडेको रहेछन्, अब सरकारले सञ्चालन गर्न सक्ने हो भने स्थानीय र राज्यलाई करोडाैँको आम्दानी हुने थियो ।”   खासगरी खानीमा छन्त्यालहरूले काम गर्ने हुँदा उनीहरूलाई अनपढ वैज्ञानिक भन्ने गरिएको कुलबहादुरको भनाइ छ । छन्त्यालहरूले माटो सुँघेर तामाखानी पत्ता लगाउने गरेको बताउनुभयो ।  

नवौ रािष्ट्रय खेलकुद प्रतियोगिताको महिला बास्केटबल  तनहुँमा हुने भएको छ ।    केहि दिन अघि राष्ट्रिय खेलकुद परिषदले पोखरामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको खेल स्थल तालिकामा तनहुँ जिल्ला अटेको थिएन ।    पूर्व प्रदेश मन्त्रीद्धय किरण गुरुङ,हरि बहादुर चुमान,व्यासनगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने,खेल पत्रकार र खेल संघका पदाधिकारीले तनहुँ जिल्लामा नवौ राष्ट्रिय प्रतियोगिताका केहि खेल आफ्नो जिल्लामा हुन पर्ने अडान राखे पछि अन्तत: नवौ राष्ट्रिय प्रतियोगिताको ३६ खेल मध्य महिला बास्केटबल तनहुँको दमौलीमा हुने भएको हो ।    तनहुँबाट दबाब आए पछि राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल स्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले असोज ३ गते तनहुँको दमौली पुगेर त्यहाँका खेल स्थल अवलोकन गरेको थिए ।    खेल स्थल अवलोकन पश्चात गुरुङले स्थानिय प्रशासनको साथ पाए निर्मल माविको खेल मैदानमा महिला बास्केटबल हुने संकेत गरेका थिए ।    उनले तनहुँ पुगरे खेल स्थलको अवलोकन गरे पछि महिला बास्केटबल तनहुँ जिल्लाको सदरमुकाम दमौली अवस्थित निर्मल माविमा हुने उद्धघोष गरेका हुन ।    नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबल प्रतियोगिता हुने भनिएको निर्मल माविको बास्केटबल कोर्ट करिब ३ बर्ष अघि राष्ट्रिय खेलकुद परिषदको ४० लाख लगानीमा स्थापना भएको तनहुँ जिल्ला खेलकुद विकास समितिका प्रमुख शिव हरि पंण्डितले बताए ।    तनहुँ जिल्ला खेलकुद प्रतियोगिता गर्न सक्षम छ: व्यासनगरपालिका प्रमुख न्यौपाने    “नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको बारे खेल संघ संग क्मुनिकेशन ग्याप भयो,खेलस्थल तालिकामा तनहुँ जिल्लाको नाम नदेखे पछि हामी तातिएका हौ । राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरु संग कुरा ग¥यौ र खेल मैदानको देखायौ उनीहरुलाई हामी राष्ट्रिय प्रतियोगिताको लागि आवश्यक सबै व्यवस्थापन गर्न सक्छौ भन्ने प्रतिबद्धता जनाईसकेर काम शुरु गरे पछि नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबल तनहुँमा गर्ने पक्का भएको छ ।”मेयर न्यौपानेले भने ।    तनहुँ जिल्लामा आयोजना हुने महिला बास्केटबल प्रतियोगिता सफल बनाउनको लागि व्यासनगरपालिका लगायत अन्य स्थानिय निकायले पनि सहयोग गरेको छ । जसमा व्यासनगरपालिकाले ७ लाख ३० हजार,शुक्लागण्डकी नगरपालिका,भानु नगरपालिका र भिमाद नगरपालिकाले १÷१ लाख सहयोग गरेको छ ।    त्यस्तै घिरिङ गाउँपालिका,रिसिङ गाउँपालिका,म्याग्दे गाउँपालिका,बन्दिपुर गाउँपालिका,आबु खैरेनी गाउँपालिका र देवघाट गाउँपालिका गरि ६ गाउँपालिकाले ५०/५० हजार सहयोग गरेको व्यासनगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले बताए ।    ‘सात लाख ३० हजार चान चुनमा खेल मैदान बिस्तारको लागि व्यासनगरपालिकाले खर्च गर्ने छ , ठेकेदारले दिन रात गरेर भए पनि खेल मैदान समयमा तयार गर्ने बताएको छ  ।’ त्यसको लागि काम धे्रै अघि बढेकोले अब खेल हुन्न कि भन्ने शंका नगर्न मेयर न्यौपानेले खेलप्रेमी र खेलाडीहरुलाई आग्रह समेत गरे । उनले भने तनहुँ जिल्ला राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सक्षम छ । ’

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकी द्वारा हालै नवनियुक्त सल्लाहाकारहरुलाई मनोनयन पत्र हस्तान्तरण गरेको छ ।   परिषदले पोखरा रंगशालास्थित आफ्नै सभाकक्षमा आयोजित एक कार्यक्रममा नवनियुक्त सल्लाहाकारहरुलाई मनोनयन पत्र प्रदान गरेको हो । प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ३(ज) बमोजिम उनीहरुलाई गत भदौ ८ गते यूवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष समेत रहेका राजिव गुरुङको अध्यक्षतमा सम्पन्न वोर्ड बैठकले उनीहरुलाई मनोनयन गरेको थियो ।   परिषदको सल्लाहकारमा मनोनयन हुनेहरुमा खड्ग बहादुर रानाभाट (स्याङजा), गणेश बहादुर भट्टराई (कास्की), दिनेश श्रेष्ठ (कास्की), देवेन्द्र शेरचन (कास्की), इन्द्र बहादुर गुरुङ (गोरखा), सम्पन्न श्रेष्ठ (बागलुङ), महेश गुरुङ (कास्की), सुनिल गुरुङ (कास्की) र ओम बस्नेत (कास्की) रहेका छन् ।   प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले नवनियुक्त सल्लाहाकार हरुलाई मनोनयन पत्र प्रदान गरेका थिए । सो अवसरमा उनले नवनियुक्त सल्लाहाकारहरुको मनोनयनले प्रदेशको खेलकुद विकासमा थप सहयोग पुग्ने बताए ।   कार्यक्रममा आफ्ना भनाई राख्दै नवनियुक्त सल्लाहाकार एवम अग्रज खेलाडी रानाभाटले आफूहरुले खेल जिवनमा सिकेको ज्ञानलाई प्रदेशको खेलकुद विकासका संगै खेलाडी र खेलकुदको हितमा अघि बढाउने बताए । उनले असोज २८ बाट सुरु हुने नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गर्दै गण्डकी प्रदेशका ३९ वर्ष पछि हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पहिलो प्राथमिकता हुनु पर्ने कुरा औंल्याए ।   यसै गरी अर्का सल्लाहाकार दिनेश श्रेष्ठले उत्कृष्ट नेतृत्वका कारणले गठन भएको छोटो अवधिमा नै प्रदेश खेलकुदले गति लिएको बताउँदै उनले प्रदेश खेलकुद विकासका लागि आफूहरुलाई प्राप्त भूमिकालाई अझै प्रभावकारी रुपमा निभाउने उल्लेख गरे ।   सो अवसरमा अर्का सल्लाहाकार सुनिल गुरुङले आफूले जहिले पनि खेलकुदमा राम्रो कामको प्रशंसा र गलत कामको विरोध गर्र्दै आएको बताउँदै उनले खेलाडीको हितमा कार्य गर्नुपर्ने विषयमा जोड दिए । यसै गरी सल्लाहाकार ओम बस्नेतले सल्लाहाकार जस्तो गहन जिम्मेवारी प्रदान गरेकोमा प्रदेश खेलकुद प्रति आभार व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सवैको सहयोगको आवश्यक्ता रहेको बताए ।   प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उनले नवनियुक्त सल्लाहाकारहरुलाई बधाई दिंदै प्रदेशको खेलकुद विकासका लागि सकारात्मक सुझावको अपेक्षा रहेको बताए । सो अवसरमा उनले नवौं राष्ट्रिय खेलकुदको तयारी र बन्द प्रशिक्षण, खेलस्थहरुको अवस्थालगायतको विषयमा जानकारी गराएका थिए । 

बागलुङ:  सुन्तला गाउँका रुपमा रहेको सिगानाका अगुवा कृषक टोपबहादुर खड्काले बेमौसमी सुन्तला उत्पादन गर्नुभएको छ ।   सामान्यतः सुन्तलाको सिजन कात्तिक, मङ्सिरमा भएपनि उहाँले सय बोटमा बेमौसमी सुन्तला फलाउनुभएको छ । खड्काको सुन्तला बैँगचामा विभिन्न प्रजातिका १० देखि २० केजीसम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ । बेमौसमी सुन्तलाको बोट भने सानो हुने र छिटो फल्ने गर्दछ ।   बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरुप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन सुरु गरेपछि अहिले उहाँ उत्साहित बन्नुभएको छ । खड्काले पाँच वर्ष अगाडि मात्रै झण्डै एक सय बेमौसमी जातका सुन्तलाका बिरुवा लगाउनुभएको थियो ।   दुई वर्षदेखि ३० भन्दा बढी सुन्तलाको बोटमा सुन्तला फल्ने गरेको छ ।   अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि एशोधा र पोङ्कान भने एक महिनापछि पाक्नेछन् । “दुई वर्ष अघिसम्म उन्सु मात्रै सुन्तला दुई केजी बिक्री गरेको थिए, अहिले यसको उत्पादन बढेको छ, दशैँलाई कोसेलीका रुपमा गाउँमै बिक्रीसमेत भयो अहिले तीन सयभन्दा केजीभन्दा बढी सुन्तला पाक्यो”, उहाँले भन्नुभयो, “अब एक–एक महिनाको फरकमा यशोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो, अब यसको खेती विस्तार हुन्छ यसलाई छोटो समयमा धेरै सुन्तला उत्पादन गर्ने गरी बगैँचा विस्तार गर्न आवश्यक छ ।”   मौसमी जातको एउटा बोट लगाउने जग्गामा बेमौसमीका पाँच वटा बोट हुर्कन्छन् भने छिटो फल लाग्न थाल्दछ । थोरै बिरुवा लगाएरभन्दा ठूलो परिणाममा बिरुवा लगाउन सके राम्रो हुँने भन्दै आफूले उत्पादन गरेको सुन्तला दशैँको कोसेलीका रुपमा गाउँमै खपत हुने खड्काको भनाइ छ । खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा एक सय दाना मात्रै लाग्ने बताउनुभयो ।   बेमौसमी सुन्तलाको प्रतिकिलो रु एक सय ८० मा बिक्री हुने गरेको छ । चार दशकदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आउनुभएका खड्काले नयाँ जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउनुहुन्छ । पाँच वर्ष अघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सय बढी सुन्तलाका बोटमध्ये ५० प्रतिशत बोटमा सुन्तला फलेको छ ।   उक्त सुन्तलाका बोटले धान्न नसक्दा थाक्रो हाल्ने गरिएको छ । कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता राखेर उत्तिकै मेहनत गर्नुहुने खड्काले कीर्तिपुरस्थित कृषि अनुसन्धान केन्द्रबाट विभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर परीक्षणका लागि लगाउनुभएको थियो ।   नेपालमा अधिकांश कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाका जातको खेती गरिँदै आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानीज जातका सुन्तला लगाउनुभएको हो । व्यावसायिक उत्पादन गर्नसके बेमौसमी सुन्तलाको मूल्य अन्य सुन्तलाको तुलनामा तेब्बर पर्ने खड्काले बताउनुभयो ।   चालिस वर्षदेखि स्थानीय तथा कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाको खेती गर्दै आउनुभएका उहाँले हालसम्म १४ प्रजातिका सुन्तलाका बिरुवा लगाउनुभएको छ । उहाँसँग झण्डै १० रोपनी जग्गामा मौसमी सुन्तला खेती रहेको छ । उहाँले मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँची, तरकारीको समेत खेती गर्दै आउनुभएको छ ।

पोखरा:   स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष अमृत क्षेत्रीले आफ्नो तलव भत्ता वापतको आंशिक रकम एक विद्यालयललाई सहयोग गरेका छन् ।    क्षेत्रीले एक कार्यक्रमकाविच स्याङ्जाको फेदीखोला १ स्थित पर्सेभाटीमा अवस्थित शिवालय आधारभुत विद्यालयलाई ३२ हजार रुपैयाँ प्रदान गरेका हुन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद पराजुली, निमित्त प्रध्यानाध्यापक शान्तदेवी न्यौपानेलाई रकम हस्तान्त्रण गरे ।    स्थानिय निर्वाचन ताका आफू निर्वाचित भएपछि प्राप्त हुने सेवा सुविधाको रकमबाट विद्यालयमा निजी स्रोतका एक जना शिक्षकको तलव भत्ता बराबरको एक लाख ४ हजार विद्यालयलाई प्रदान गर्ने घोषणा गरेका थिए । उनले विद्यालयलाई बाँकी रकम क्रमश उपलब्ध गराउँदै जानेपनि सो क्रममा प्रतिवद्धता व्यक्त गरे ।    कक्षा ८ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा शिक्षक कर्मचारी १४ जना रहेका छन् ।   जसमा ४ जना शिक्षक, बाल शिक्षिका  र  एक जना कार्यालय सहयोगी सरकारी दरबन्दीका हुन भने बाँकी ९ जना निजी स्रोतबाट तलबभक्ताको व्यवस्थापन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराजुलीले जानकारी दिए । उनले भने, ‘हामीले निकैनै कठिन हिसावले विद्यालय सञ्चालन गरिरहेका छौैं । निजी स्रोतबाट शिक्षक र बस ड्राइभर गरि ९ जनालाई चन्दा उठाएर तलब खुवाएका छौं । जसमा केही सहयोग गाउँपालिका र वडा कार्यालयले गरेका छन् ।’    १९४ जना अध्ययनरत विद्यालयले आगामी शैक्षिकसत्रदेखि कक्षा ९ र १० सम्म कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । 

पोखरा  :  गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता काउन्ट डाउनमा अब १६ दिनमात्र बाँकी छ । असोजको २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रतियोगितालाई हाल तिब्रता दिएको छ।  प्रतियोगितालाई सम्पन्न गर्न गठित विभिन्न १४ वटा उपसमितिहरुले आफ्नो जिम्मेवारीलाई तिब्रता दिएका छन्। ७ वटै प्रदेश, ३ विभागीय र एनआरएनए गरी ११ टिमको प्रतिस्पर्धा रहने प्रतियोगिताका लागि खेलाडी छनोट भएर टिमहरुले खेलाडीको नाम दर्ता गर्दैछन्। यसबीचमा प्रतियोगिताका लागि तयार गरिएको ‘राष्ट्रिय रनिङ ट्रफी’लाई देशका सातै प्रदेश र विभागीय टिमको मुकामहरुमा टुर गराउने काम भइरहेको छ । हिँजो (मंगलबार) मात्रै कर्णाली प्रदेशमा ट्रफी भ्रमण गराइएको छ।  प्रतियोगिता अन्तर्गतका धेरैजसो खेलहरु गण्डकी प्रदेश राजधानी पोखरामै केन्द्रीत रहेको र बाँकी खेलहरु स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बागलुङमा खेलस्थल तोकिएको छ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि अन्तिममा आएर तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने भएको हो। म्याग्दीमा महिला भलिबल र र डब्ल्युटीएफ तेक्वान्दो, स्याङजामा महिला फुटबल, पर्वतमा कराँते, बागलुङमा आइटीएफ तेक्वान्दो, नवलपुरमा सेपाकताक्रो र कुस्ती तथा गोरखामा बुद्धिचालका खेल तालिका तोकिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत खेलस्थल व्यवस्थापन समितिका सदस्यह समेत रहेका राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड मेम्बर राजेशकुमार गुरुङको टोलीले पर्वत, बागलुङ र म्याग्दीको खेलस्थलको अवलोकन गरेको छ ।   म्याग्दीमा सरोकारवालाहरुको एउटै मन     नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्लाको बेनी बजारमा महिला भलिबल र डब्ल्यूटीएफ तेक्वान्दोका २ खेलको तालिका तोकिएको छ । प्रतियोगिताको तयारीका लागि तिब्रता दिइएको छ । म्याग्दीको जिल्ला समन्वय समितिको पहलमा त्यहाँ प्रतियोगिताको तयारीलाई तिब्रता दिइएको छ। भेटमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी रानाले राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीमा हुने प्रतियोगिताका लागि कार्ययोजना बनाएर अघि बढाइएको बताए । म्याग्दीमा हुने महिला भलिबल र डब्ल्यूटीएफ तेक्वान्दोका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल र दर्शकहरुका लागि सुरक्षा व्यवस्थालाई चुस्त, दुरुस्त पारिने प्रजिअ रानाको प्रतिबद्धता छ ।  बेनी नगरपालिका प्रमुख केसीले राष्ट्रिय खेलकुद प्रतियोगिताका २ खेल म्याग्दी जिल्लामा ल्याइदिएकोमा राखेपलाई धन्यवाद दिएका छन्। जिल्ला समन्वय समितिको अगुवाइमा सुरक्षा निकाय र स्थानीय प्रमुखहरु र जनप्रतिनिधिहरुको समन्वयमा खेललाई सफलताका साथ सम्पन्न गर्ने केसीको प्रतिबद्धता छ ।    रामचन्द्र जोशी, प्रमुख -कुश्मा नगरपालिका, पर्वत   टोलीसँगको भेटमा पर्वत कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले राष्ट्रिय खेलकुदअन्तर्गत कराँते प्रतिस्पर्धा पर्वतमा आएकोमा खुशी र धन्यवाद व्यक्त गरे । उनले पर्वतको पनि कुश्मामा हुने प्रतिस्पर्धालाई हरेक दृष्टिले सफल बनाउने प्रतिबद्धता जनाए । कुश्मामा हुने प्रतिस्पर्धालाई आर्थिक र व्यवस्थापनको हिसावले कुनै कमी कमजोरी हुन नदिने उनको प्रतिबद्धता थियो । राष्ट्रिय खेलकुदकै आवश्यक तयारीका लागि नगरपालिका ९ लाख छुट्याएको उनको भनाई थियो। खेलकुदकै अवसर पारेर पर्वत तथा कुश्माको पर्यटकीय गन्तव्यलाई प्रबद्र्धन समेत गर्ने उनले बताए। पदक विजेतालाई निःशुल्क र सहभागी खेलाडीलाई केही प्रतिशत छुटमा पर्वत कुश्मास्थित बञ्जीजम्प र जीपलाइनको मनोरञ्जन लिन पाउने व्यवस्था गर्न लागेको प्रमुख जोशीको भनाई थियो।  बसन्तकुमार श्रेष्ठ, प्रमुख-बागलुङ नगरपालिका, बागलुङ त्यस्तै, बागलुङ नगरपालिका प्रमुख बसन्तकुमार श्रेष्ठले जिल्लामा आएको राष्ट्रिय खेलकुदलाई अपनत्व लिएर आइटीएफ प्रतियोगितालाई सफल पार्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।  प्रतियोगितालाई साथ र सहयोग गर्न नगरपालिका पूर्ण रुपले तयार रहेको उनको प्रतिबद्धता थियो । कुनैपनि प्रतियोगिता राजधानी बाहिरबाट पनि गर्न सकिन्छ भन्ने सन्देश आफूहरुले बागलुङबाट दिन चाहेको उल्लेख गरे । कुनाकाप्चाबाट खेलाडीहरुको उत्पादन हुने उनको भनाई थियो । 

मनाङ  :  करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो । हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ ।    पर्यटकका लागि मनाङ आउने अहिलेको समय अनुकूल हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको क्षेत्रमा २०७९ साउनदेखि २०७९ असोज पहलिो सातासम्म कुल तीन हजार आठ सय १८ पर्यटक मनाङ भित्रिएको कार्यालय प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । सो अवधिमा सार्क राष्ट्रका पुरुष एक हजार तीन सय ३० र महिला छ सय १४ भित्रिएका छन् । अन्य देशका एक हजार आठ सय ७४ पर्यटक मनाङ प्रवेश गरेको उहाँले बताउनुभयो ।    चालु आर्थिक वर्षको असोज पहिलो सातासम्म सबैभन्दा बढी इजरायलका चार सय २८, जर्मनीका एक सय ४९, स्पेनका एक सय ३४, बेलायतका एक सय ३०, फ्रान्सका एक सय २२, अमेरिकाका एक सय आठ र अन्य देशका आठ सय ७३ पर्यटक मनाङ घुम्न आएका छन् । गत आवमा सो अवधिमा कुल सात हजार २० बाह्य पर्यटक मनाङ आएका थिए ।   पर्यटकलाई स्वागत   यसैबीच मनाङ भित्रिएका पर्यटकलाई स्वागत गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङ र आयोजनाको अन्नपूर्ण संरक्षण क्षेत्र चेकपोष्ट धारापानीले ४३औँ विश्व पर्यटन दिवसका अवसरमा मङ्गलबार इलाका संरक्षण कार्यालयमा पर्यटकलाई स्वागत गरिएको हो ।   पर्यटकलाई मनाङका आमा समूहले सांस्कृतिक परम्परा तथा परम्परागत पहिरन लगाएर खादासहित स्वागत गरेका थिए । ‘पर्यटनमा पुनर्विचार’ नाराका साथ मनाइएको सो दिवसमा धारापानीमा ४१ ९पुरुष २४ र महिला १७० बाह्य पर्यटक, नेपाली पथप्रर्दशक तथा भरिया नौ र मनाङ चेकपोष्टमा कुल ४० ९पुरुष २२ र महिला १८० बाह्य पर्यटक र नेपाली पथप्रर्दशक तथा भरिया आठ जनालाई स्वागत गरिएको मनाङ आमा समूहकी अध्यक्ष सीता गुरुङले जानकारी दिनुभयो ।    मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले, ङिस्याङ गाउँपालिका–८ का वडाध्यक्ष, संरक्षण क्षेत्र व्यवस्थापन समिति टङ्की–मनाङका अध्यक्ष सगर गुरुङ, पर्यटन व्यवस्थापन उपसमितिका अध्यक्ष कर्मा गुरुङ र मनाङ ङिस्याङ युवा क्लबले पर्यटकलाई स्वागत गरेको हो । नेपालको अन्नपूर्ण संरक्षण क्षेत्र  एउटा प्रसिद्ध पर्यटकीय क्षेत्र एवं पदमार्ग हो । यहाँ घुम्नका लागि उपयुक्त धेरै ठाउँ छन् । यस क्षेत्रअन्तर्गत घान्द्रुक, अन्नपूर्ण बेस क्याम्प, मुक्तिनाथ, दामोदर कुण्ड क्षेत्र, लोमान्थाङ, मर्दी हिमाल, धम्पुस, मनाङ, तिलीचो ताल, नार, फुलगायत  स्थान पर्दछन् ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको पर्यटकीय क्षेत्रका रूपमा ताल, धारापानी, चामे, लमजुङ हिमाल, बेस क्याम्प, माथिल्लो मनाङ, नार, फु, तिलीचो ताल, आइसलेक, मिलेरेपा गुम्बा, पोचो गुम्बा, मनाङ गाउँलगायत रहेका छन् ।