सडक विभाग, पुल महाशाखा, ललितपुरले पृथ्वीनारायण क्याम्पसलाई पठाएको पत्रले क्याम्पस प्रशासन एवं प्राध्यापक संघलाई चिन्तित बनाएको छ । विभागले क्याम्पस परिसरमा रहेको जमिनबाट वडा नम्बर ११ जोड्ने पक्की पुल बनाउने जानकारी गराउँदै बाटो खोल्न आग्रह गरेपछि प्राध्यापक संघहरुले सामुहिक विरोध जनाएका छन् । संघका अध्यक्षहरुले क्याम्पसको जग्गा खण्डिकृत गरी निजी प्रयोजन र केही व्यक्तिको स्वार्थमा लाभ हुने टिप्पणी गरे । क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले विभागले प्रेषित गरेको चिट्ठीले क्याम्पसमाथि कुदृष्टि राखेको जनाएका छन् । ‘क्याम्पसको भविष्यमाथि धावा बोल्ने विभागको योजनालाई हामी सफल हुन दिँदैनौ’ क्याम्पस प्रमुख कोइरालाले भने ‘विभागको निर्णय कदापी स्वीकार्दैनौ, हामी यसको विरोधमा छौं ।’ यस विषयउपर प्राध्यापक संघबीच छलफल चलाएको र विभागको निर्र्णयविरुद्ध भोली जिल्ला प्रशासन कार्यालय र अख्तियार जाने तयारीमा रहेको कोइरालाले जनाए । ‘आम पोखरेलीलाई विभागको पत्रबारे जानकारी दिन पत्रकार सम्मेलन गर्नेछौं’ कोइरालाले भने । नेपाल प्रगतिशील प्राध्यापक संगठन, पृथ्वीनारायाण क्याम्पसका अध्यक्ष नवीन प्यासी अधिकारीले विभागको पत्रानुसार क्याम्पसमाथि अहित हुने टिप्पणी गरे । पत्रमा पुल निर्माणार्थ क्याम्पसले बाटो दिनुपर्ने भन्दै पठनपाठनमा अवरोध हुन गए क्षमा याचना गर्ने जनाएको छ । क्याम्पस र मणिपाल अस्पताल नजिक रहेको झोलुंगे पुलबाट करिब १ सय मिटर उत्तरमा पक्की पुल बनाउने विभागको योजना छ । ‘१ किलोमिटरको आसपास अन्य पुल भएकाले त्यसको नजिकै पक्की पुल बनाउनुको नियत क्याम्पसको जमिन खण्डिकरण गर्ने नियत हो भन्नेमा कुनै शंका छैन’ अध्यक्ष अधिकारीले उल्लेख गरे । विभागको निर्णयले पोखराका केही स्वार्थ समूहलाई फाइदा गर्ने नियत रहेको उनको आशय छ । अधिकारी भन्छन् ‘क्याम्पसमाथि केही व्यक्ति र समूहको गिद्धेदृष्टि छ, जो क्याम्पस भोली विश्वविद्यालय बनोस्, प्रगति होस् भन्ने चाहँदैनन् ।’ विभागको निर्णयविरुद्ध क्याम्पस अन्तरगतका त्रिवि प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र एकीकृत समाजवादी प्राध्यापक संगठनले संयुक्त विरोध जनाएका छन् ।
पोखराः कास्कीको मादी गाउँपालिका १ सिक्लेसमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार बेलुका मादी गाउँपालिका १ सिक्लेसको दुईघरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको मादी १ का वडाध्यक्ष देवी जंग गुरुङ्गले जानकारी दिए । आगलागी हुँदा मादी गाउँपालिका १ का निवर्तमान वडाध्यक्ष सुरजकुमार गुरुङ्गको मृत्यु भएको वडाध्यक्ष गुरुङ्गले जानकारी दिए । आगलागी कारण खुल्न सकेको छैन । घटनाको थप विवरण आउँन बाँकी छ ।
पोखरा: पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको सपना पुरा भएपछि पोखरालाई लुम्बिनी र भारतसँग जोड्न सिद्धार्थ राजमार्ग स्तरोन्नती गर्ने लक्ष्य रहेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । पोखरामा आज क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकाक्रममा अर्थमन्त्री पौडेलले विमानस्थलमात्र नभएर पर्यटन विकासमा सडकको उत्तिकै महत्वपूर्ण भूमिका रहने भन्दै सिद्धार्थ राजमार्गको स्तरोन्नती अबको योजना भएको उल्लेख गरे । ‘पोखरालाई पर्यटनमा थप बलियो बनाउन सबै कोणबाट सशक्त हुनुपर्छ’ पौडेलले भने ‘अब हाम्रो ध्यान सिद्धार्थ राजमार्गको स्तर वृद्धि गर्नेमा छ ।’ सम्बोधनकैक्रममा उनले सम्पूर्ण कास्कीवासी र नागरिक समाजले धर्ना र अनशन गरेर राखेको माग पुरा भएको स्मरण गर्दै सम्पूर्णमा धन्यवाद टक्र्याए । ‘म जिल्लावासी र पूर्वमन्त्री रविन्द्र अधिकारीलाई पनि सम्झिरहेको छु, जसेको अथक प्रयासबाट विमानस्थलले पूर्णता पायो ।’ मन्त्री पौडेलले अहिलेको सरकारमा धेरै दल समाहित भएको प्रसंग निकाल्दै उनले स्थायी सरकारको लागि समीकरण आवश्यक भएको टिप्पणी गरे ।
पाेखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले फेवाताल संरक्षणमा पैसाको कमीले खासै काम गर्न नसकेको बताएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकाक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले फेवाको हितमा काम नगरेको र आफ्नो कार्यकालमा विशेष योजना लिएर केही काम गर्न खोजेपनि पैसाको अभावमा पुरा गर्न नसकेको उल्लेख गरे । सोही क्रममा उनले भने ‘१०–२० करोड रुपैयाँले केही काम गर्न नसकिने रहेछ, सोही कारण फेवातालको संरक्षण, सम्वद्र्धन र सौन्दर्यकरणमा तयार पारेको योजना पुरा भएन ।’ त्यस्तै, विमानस्थल गौरवको योजना भएको त रिनले थला पार्न सक्ने उनको संकेत थियो । ‘२५ प्रतिशत अनुदान र बाँकी रकम रिन, ब्याजमा विमानस्थल तयार भएको छ’ उनले भने ‘बाँकी ७५ प्रतिशत रकम पनि अनुदानमा बदलिदिँन म चीन सरकारसंग अपील गर्दछु ।’
पोखरा: पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गरेका हुन् । विमानस्थल शुभारम्भकै अवसरमा पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट र्याली सहित विमानस्थलसम्म पुगेको थियो । उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । आज दिउँसो २ बजेदेखि दिउँसो ४ बजेसम्म विविध सांस्कृतिक कार्यक्रम हुनेछ भने ४ बजेदेखि साढे ५ बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ। बेलुका ६ बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिनुभयो । विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा बेलुका ६ बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ । उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्थामा सार्वजनिक बिदा समेत दिएको छ ।
पोखराः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका लागि पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ । भोलि (आइतबार) पुस १७ गते (अर्थात, जनवरी १) मा उक्त बिमानस्थल उद्घाटन समारोहमा उपस्थित हुन सार्वजनिक बिदा दिइएको महानगरका प्रशासकीय प्रमुख अधिकृत बिरेन्द्रदेव भारती द्धारा जारी सुचनामा उल्लेख गरिएको छ । विमानस्थलको उद्घाटन आइतबार हुँदैछ । समुउद्घाटन समारोहलाई ब्यापक जनसहभागिता रहोस भन्ने उद्देश्यले भोलि (आइतबार) पोखरा महानगरलले कार्यलय,महाशाखा,वडा कार्यलय तथा अन्तरर्गतका बिद्यालय एवम् शैक्षिक संस्थाहरु समेत बन्द रहने सुचना मार्फत उल्लेख गरिएको छ ।
पोखराः पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन भव्य बनाउने तयारी भएको छ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् भोलिदेखि अन्तरराष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन गर्न लागिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नुहुनेछ । शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताउनुभयो । उहाँका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ । उहाँले भन्नुभयो, ‘विमानस्थल उद्घाटन कार्यक्रमको अन्तिम तयारीमा छौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन सङ्घ संस्थाको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य हुनेछ ।’ पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घानका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने दिउँसो २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाइने निर्देशक गौतमले बताउनुभयो । अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रमलाई थप व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले पनि काम सुरु गरेको छ । महानगर समरोह भव्य बनाउने गरी जुटेको छ । उद्घाटन समारोहपछि उत्सवको जिम्मा महानगरको छ । महानगरले विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातजातिका मौलिका झाँकी अभिनन्दन कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुति र सेलिब्रेसन गरिने जनाएको छ । विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिनेछ । महानगरले उद्घाटनलाई लक्ष्य गरी यही पुस १३ गते लेक साइडदेखि कोत्रेसम्म राजमार्गमा बृहत् सरसफाइ कार्यक्रम गरेको थियो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भन्दै यसको उद्घाटन कार्यक्रमलाई व्यवस्थितरूपमा भव्य र सभ्य बनाउनुपर्ने आचार्यले बताउनुभयो । यो दशकौँ लामो पोखरेलीको सपना मात्र नभए पश्चिम क्षेत्रकै ‘लाइफलाइन’का रूपमा रहेको विमानस्थल भन्दै यसको कुशल र व्यवस्थित सञ्चालन महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘उद्घाटन समारोहलाई भव्य बनाउने गरी महानगरले काम गरिरहेको छ । यसका लागि विभिन्न उपसमिति गठन गरी काम गरेका छौँ । यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत विमानस्थल कोसेढुङ्गा साबित हुने भएकाले भव्य उद्घाटनको सन्देश विश्वभर पुर्याउनु आवश्यक छ । अन्तर्राष्ट्रिय सहरसँग हुने पोखराको सीधा सम्पर्कले पोखरा प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिएका छौँ ।’ विमानस्थलको उद्घाटनका दिनदेखिनै सबै आन्तरिक उडान सोही विमानस्थलबाट हुनेछन् । निजी विमान कम्पनीले नयाँ विमानस्थलबाट उडान सुरु गर्नका लागि कार्यालय व्यवस्थापन लगायत तयारी सकेका छन् । बुद्ध, यति र सौर्य एअरले परीक्षण उडानसमेत सम्पन्न गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पोखरेलीले झण्डै पाँच दशकअघि सपना देखेका थिए । लामो प्रतीक्षापछि विमानस्थल निर्माण भएर सञ्चालनको अवस्थामा आउँदा पोखेरेली हर्षित छन् । यसबाट पोखराको समृद्धिको ढोका खुल्ने अपेक्षा यहाँका नागरिकको छ । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरु हर्षित र उत्साहित भएको उहाँले बताउनुभयो । कोरोनापछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास रहेको बताउँदै श्रेष्ठले भन्नुभयो, ुविमानस्थल सञ्चालनमा आउने भएपछि हामी व्यवसायी, लगानीकर्ता सबै हर्षित भएका छौँ । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास छ । अन्तरराष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवर्द्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्र्याउने योजना बनाउने छौँ ।’ पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीईले निर्माण गरेको हो । यसअघि गएको वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । २०३२ सालमा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल २०७३ सालमा विमानस्थलको शिलान्यास गरिएकामा २०७४ सालदेखि निर्माण सुरु भएको हो ।
पोखरा: अंग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको तयारी छ । अब सञ्चालनका लागि तीन दिन मात्र बाँकी छ । तर विमानस्थल सञ्चालनको पूर्व सर्त मानिएको रिठेपानी डाँडा कटान र ल्याण्डफिल साइड मानिएको थियो । जहाज उडानका लागि आवश्यक डाँडा कटान भइसकेको छ भने पोखरा महानगरपालिकाको ल्याण्डफिल साइटको भने टुंगो छैन । त्यसोत महानगरले १० औं कार्यपालिका बैठकबाट तीन महिनाका लागि पोखरा ३२ स्थित लामेआहालमा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको थियो । यद्यपी स्थानीयबासिन्दा भने त्यो निर्णयप्रति असन्टुष्टी जनाउँदै विरोधमा छन् । त्यसैले यतिबेला पोखरा महानगरपालिकाको सडक किनार नै डम्पिङ साइट बनेको छ । पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड लगायतको सडक किनारमा फोहोरका डंगुरहरुले आतंक मच्चाएको छ । ‘फोहोरको अल्पकालिन व्यवस्थापनका लागि विभिन्न वडामै पनि खोजिरहेका छौं । र निर्णय भएअनुसार लामेआहालमा मै तीन महिनाका लागि लाने भनिएको छ । विरोध आएपनि अहिले धेरथोर कुरा मिलिसकेको छ, पोखरा महानगरपालिकाका प्रवक्ता एवम् पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले सुनगाभा न्यूजसँग भने, ‘ त्यसैलेपनि अहिले फोहोर उठ्न सकिरहेको छैन । त्यसैले सडकमा भएका फोहोरहरुको व्यवस्थापनलाई केही दिन लाग्न सक्छ ।’ उनले दिर्घकालिन व्यवस्थापनका लागि पनि महानगर लागिरहेको बताए । ‘अहिले हामी अल्पकालिन लक्ष्यमा छौ । विमानस्थल सञ्चालनका लागि पनि सरसफाई गरेका थियौं, तिमिल्सिनाले भने, ‘त्यसकै केही फोहोरहरुपनि सडक किनारमा देखिएका छन् । यसको व्यवस्थापन एक/दुई दिनमै हुन्छ ।’ पोखरा महानगरपालिकाको तथ्याङ्क अनुसार दैनिक करिब १ सय ८८ टन फोहोर उठ्छ तर केही दिन उक्त फोहोर व्यवस्थापन हुन नसक्दा सडक किनार नै डम्पिङ साइट बन्ने देखिन्छ । हेरौँ सुनगाभाकर्मी अर्जुन गाहामगर (सशान्त) को लेन्सबाट महानगरको ‘डम्पिङ साइट’
पोखराः अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न ‘सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरामा बुधवारदेखि २४ औं सडक महोत्सव सुरु भएको छ । रेवान पोखराले अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न २४ औं संस्करणको महोत्सव आयोजना गरेको छ । महोत्सवमा लेकसाइडको हल्लनचोकबाट सुरु भएको विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली कोमागाने पार्क पुगेपछि सडक महोत्सव औपचारिकरूपमा सुरु भएको हो । महोत्सवको उद्घाटन पोखरा महानगरपालिका मेयर धनराज आचार्यले गरे । पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको झन्डै तीन किलोमिटर खुला सडकमा महोत्सव सञ्चालन भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी मेला आयोजना गरिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए । खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै सांस्कृतिक तथा विभिन्न कार्यक्रम सञ्चालन हुने छ । महोत्सवलाई लक्षित गरी लेकसाइड क्षेत्रलाई दुलही झैँ सिँगारिएको छ । महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुने छ । महोत्सव सञ्चालन हुने सडकका दायाँ–बायाँ रङ्गरोगन गर्नुका साथै ध्वजा पताका टाँगिएको छ । महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खानेकुरा, लत्ताकपडा, बाल उद्यान मुख्य आकर्षण रहेका छन् । पाँच दिने सडक महोत्सवमा नेपालका विभिन्न जिल्ला र विदेशका समेत सांस्कृतिक कार्यक्रमका प्रस्तुत हुने छ । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुने छ ।