पोखरा: गत शुुक्रबार साँझदेखि निरन्तर भएको झरीले गण्डकी प्रदेशको राजधानी कास्की आसपास निथ्रुक्क भिजेको छ । तीनदिनदेखि परेको अविरल वर्षाकाकारण पोखरा महानगरमा आंशिक प्रभाव परेपनि कास्कीको अन्नपूर्ण गाउँपालिकामा भने असर गरेको छ । वर्षाकाकारण गाउँपालिकाको १० र ११ जाने सडक पहिरोका कारण अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले बताइन् । ‘वर्षाका कारण १० र ११ जाने सडक अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण अवरुद्ध खुलाउन सकिएको छैन्, उनले भनि, ‘वर्षा रोकिए खुलाउछौँ र यात्रुहरुलाई गन्तव्यसम्म पुग्न सहज बनाउछौँ ।’ अधिकारीका अनुसार निरन्तरको वर्षाले ग्रामीण सडकमासमेत क्षति पुर्याएको छ भने गाउँपालिकाको वडा नम्वर ३ मा एक घर पहिरोको जोखिममा परेको छ । उनले अन्य स्थानमासमेत अविरल वर्षाकाकारण बाटोघाटो अवरुद्ध भएको बताइन् । ‘यसबाहेक कुनैपनि मानवीय क्षति भएको छैन, सुनगाभा न्यूजसँग भनिन्, ‘हामीले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिसकेका छौं ।’ हेल्लो मादी... अविरल वर्षा जारी भएपनि मादी गाउँपालिकाको अवस्था भने सामान्य रहेको गाउँपालिका अध्यक्ष देवीजंग गुुरुङले बताए । उनका अनुुसार अहिलेसम्म वर्षाका कारण कुनैपनि अप्रिय घटना भएको छैन । ‘वर्षाका कारण दैनिक जिवनमा असर त परेको छ । केही सडकहरुमा प्रभाव परेको छ । तर गाउँपालिकामा कुनै अप्रिय घटना भएको छैन, उनले भने, नराम्रो खबर सुनाउन नपरोस् भन्ने हाम्रो कामनो छ र त्यही अनुसार हामी सजगता अपनाउन भनेका छौ ।’ अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाको पूर्वी भेगका वडाहरु १, ८, ९, र १० को ग्रामीण सडकमा केही असर पुर्याएको छ । हेल्लो रुपा... कास्कीको रुपा गाउँपालिकामा पनि कुनै क्षति नभएको अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनले अहिलेसम्म गाउँपालकाको अवस्था सामान्य रहेको बताउदै केही वडाहरुमा पहिरोको जोखिम भएको बताए । ‘अहिलेसम्म त्यस्तो बाढीपहिरोका अवस्था छैन, उनले भने, ‘ तर केही वडाहरुमा पहिरोको जोखिम भएको रिपोर्टिङ आएको छ । हामीले जनप्रतिनिधिहरुमार्फते सुरक्षित तवरले रहन आग्रह गरेका छौ ।’ हेल्लो माछापुच्छ्रे ... यसैगरि माछापुच्छ्रे गाउँपालिकाको पनि अवस्था सामान्य रहेको गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् । गाउँपालिका केन्द्र नजिक पहिरो खसिरहने समस्या रहेपनि यसपटक भने प्रभाव नपरेको बताइन् । गाउँपालिका तल वर्षायाममा पहिरो खस्ने गथ्र्याे अहिले त्यस्तो असर गरेछैन । गाउँपालिकामा कतै पहिरोका कारण सडक अवरुद्ध भयो भने तत्कार खोल्न गइहाल्छौं ।’ उनले भनिन् । पोखरा महानगरपालिका– नालामा खस्दा तिवारीको मृत्यु कास्कीको चार गाउँपालिकामा कुनै पनि मानवीय क्षति नभएपनि पोखरा महानगरमा भने एक किशोरले वर्षात कै कारण ज्यान गुमाएका छन् । पोखरा महानगरपालिका १९ का ११ बर्षीय रविन तिवारी शुक्रबार राति करिब ८ बजे चिप्लिएर नालामा खसेर बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीकाले खोजीकार्य तिव्र पारेसँगै तिवारीलाई १ घण्टापछि फेला पारेका थिए । उनलाई उपचारको लागि मणिपाल पुर्याउदा अस्पतालले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरी भन्छ: ‘हामी हाई अलर्टमा छौं’ जिल्ला प्रहरी कार्यालय कास्कीले संभावित जोखिम नियन्त्रणका लागि प्रहरी टोली तयारी अवस्थामा रहेको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए । उनले अहिलेसम्म पोखरा महानगरपालिकामा अप्रिय घटना नभएको जानकारी दिदै भने, ‘पोखरामा एउटा मात्रै मानवीय क्षति भयो । त्यो बाहेक अरु मानवीय क्षति भएको छैन । हामी हाई अलर्टमै छौ ।’ गण्डकीसहित चार प्रदेशमा भारी वर्षा: मौसम विभाग जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोधसमेत गरेको छ ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा १ स्थित पुरानो टुडिखेलमासुरु ऐतिहासिक तीज मेला २०७९ जारी छ । शुक्रबार देखि सुरु भएको मेला १६ भदौसम्म संचालन हुनेछ । नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्य सहित इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रा.लिको व्यवस्थापनमा सुरु भएको मेलामा आईतबारदेखि आजदेखि विभिन्न प्रतियोगिताहरु सुरु हुदैछन् । मेलामा आमा समुह स्तरीय मौलिक तीजगीत प्रतियोगिता, खुल्ला तीज गृहिणी नृत्य प्रतियोगिता, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय छेलो लगायतका विभिन्न प्रतियोगिताहरु हुने छ । आजदेखि मेलामा आमा समुह स्तरीय मौलिक तीजगीत प्रतियोगिता, खुल्ला तीज गृहिणी नृत्य प्रतियोगिता सुरु हुने आयोजक केन्द्रका भानुभक्त अधिकारीले जानकारी दिए । मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैक तथा वित्तिय संस्था, लत्ताकपडा लगायतका विभिन्न स्टलहरुसगै रेष्टुरेन्ट र वाल उद्यान समेत रहेको छ । साथै मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहनेछ । शुक्रबारदेखी सुरु भएको मेलामा शनिवार कृष्ण अखेली, अमर धिताल, सुनीता नेपाली र निशा पोखरेल लगायतका कलाकारहरुले आ-आफनो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । शनिबार मेलाको करिव ५ हजारको हाराहारीमा दर्शकले अवलोकलन गरेका आयोजक केन्द्रका कार्यसमिति सदस्य दुर्गादत्त भुगाईले जानकारी दिए । प्रतियोगिताका अलावा आज रामजी खाँड, कृष्ण अखेली, मञ्जु विक, रामजी पौडेल, बिन्द्रा परियार लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।
पोखरामा ३९ वर्षपछि हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा क्रिकेट महिला तथा पुरुष र उसुको महिला तथा पुरुष छनोट सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीका अनुसार ति दुईसहित शनिबार अन्य दुई खेलको छनोट सम्पन्न भएका हुन् । नवौका लागि अमृत गुरुङको कप्तानीमा दुई वैकल्पिक सहित १४ खेलाडी छनोट भएका छन् । छनोट हुने खेलाडीमा अनिल गुरुङ, मुस्कान थापा, अभिषेक थापा, सुभाष भण्डारी, आयुष सैञ्जु, कृष्ण पौडेल, किरण पौडेल, विपिन खत्री, सुदिप पौडेल, विधान श्रेष्ठ, विश्वास पराजुली, सचेत कार्की र अर्जुन कुमाल छन । त्यसै गरी बैकल्पिकमा नितेश गिरी र सिवरिन श्रेष्ठ रहेका छन् । त्यसै गरी महिला क्रिकेटतर्फ सृष्टी जैशीको कप्तानीमा १४ सहित ४ जना बैकल्पिक खेलाडी छनोट हुन सफल भएको जिल्ला खेलकुदकी कोषाध्यक्ष कञ्चन थापाले जनाएकी छन् । छनोट हुन सफल खेलाडीहरुमा सिता रेग्मी क्षेत्री (उपकप्तान), सृजना पौडेल, सुजाता थापा, गंगा बस्नेत, पेम्वा लेम्वु शेर्पा, यशोदा भुजेल, विनिता नेपाली, श्रद्धा गुरुङ, एलिना विक, सजना खत्री, रचना चौधरी, विन्दु थापा र सम्झना विक रहेका छन् । त्यसै गरी वैकल्पिकमा विनिता सिग्देल, आश्ना पौडेल, रिया गुरुङ र शुसिला तामाङ रहेका छन् । उसुमा छनोट हुन सफल खेलाडीहरु कास्की जिल्लामा सम्पन्न उशुतर्फ महिला र पुरुष गरी १९ जना खेलाडी छनोट हुन सफल भएका छन । उसुको पुरुष सान्सौतर्फ विभिन्न तौलमा ९ जना र महिलातर्फ ७ गरी १६ जना र छानछवान पुरुषतर्फ मिग्मा छिरिङ लामा, महिलातर्फ सोफिया गुरुङ, नानछवान पुरुषतर्फ निश्चल रोक्का, महिलातर्फ विनिता राई, थाइची छवान पुरुषतर्फ प्रयास मगर छनोट हुन सफल भएका छन् ।
पोखराको लामाचौरमा आयोजित तीज महोत्सवमा शनिबारदेखि सुरु भएको लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा शनिबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी मावि प्राङ्गणमा भएको खेलमा पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भएको हो । पहिलो सेट २८–३० ले गुमाएको पुलिसले त्यसपछिको तीन सेट २५–१२, २५–१२ र २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो । यस्तै पुरुषतर्फकै विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो सेटमा आर्मी ३१–२९ ले विजयी भएको थियो । त्यसपछि लाइट प्रोटेस्टका कारण खेल स्थगित भएको र आइतबार शुरुदेखि नै खेल हुने आयोजकले जनाएको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा चार दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ टिम अन्तिम समयमा सहभागी नभएको आयोजकले जनाएको छ । महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ । दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टलाई आकर्षक पुरस्कार दिइनेछ ।
नेकपा (एकीकृत समाजवादी)ले कास्कीका प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छवटै निर्वाचन क्षेत्रबाट आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । नेकपा(एस)का तीन वटै सङ्घीय/प्रदेश निर्वाचन समन्वय कमिटीको आजको बैठकले आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवार जिल्ला कमिटीमा सिफारिस गरेर पठाएका हुन् । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा पार्टीका पोलिटब्युरो सदस्य श्रीनाथ बराल सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको छ । यस क्षेत्रबाट समानुपातिकमा गजकुमारी गुरुङ, दिलकुमारी पन्त र जैनव खातुन सिफारिस हुनुभयो । यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नं १(१) मा मदन केसी, दिननाथ ढकाल, माधव तिवारी र कपिल पौडेल सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ शारदाप्रसाद सुवेदी, विजयबाबु वनवासी र सुमित्रा अधिकारी सिफारिसमा पर्नुभएको छ । यसैगरी प्रदेशसभा १(२)तर्फ प्रत्यक्षमा पूर्ण लामा सर्वसम्मत सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ गजकुमारी गुरुङ, डिकबहादुर राई (डिवी), डिलाराम लामिछाने, तिलबहादुर विक (तिलक) र चन्द्रकिशोर गौतमलाई सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा तुलबहादुर गुरूङ, भरत बस्नेत, शिवजी गुरुङ, मदन आचार्य, दाता राम आचार्य र शर्मिला पौडेल सिफारिस हुनुभएको पार्टीका जिल्ला उपसचिव पूर्ण लामाले जानकारी दिनुभयो । प्रदेशसभा २(१) मा झपिन्द्रराज रेग्मी, प्रेम थापा, खेमराज आचार्य, दानकुमारी शर्मा, सीता पौडेल, मोतीराम बराल, खड्ग हमाल, शिवराज आचार्य, लेखराज भण्डारी र रामचन्द्र पौडेल तथा प्रदेशसभा २(२) मा रत्ना गुरुङ, मदनकाजी श्रेष्ठ, कृष्ण पराजुली (ढाका मोहन), सुशील बस्नेत, देवेन्द्र बास्तोला, दामोदर शर्मा, बुद्धिबहादुर रानाभाट र रवीन्द्रराज पौडेल सिफारिस हुनुभएको सो पार्टीले जनाएको छ । यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा कृष्ण नेपाली, प्रेमप्रसाद पौडेल, नवराज पहारी र मेनका आचार्य सिफारिस हुनुभएको छ । प्रदेशसभा ३ (१)मा प्रत्यक्षतर्फ दलबहादुर गुरुङ, हिमलाल तिमिल्सिना, गोपाल गिरी, विवेक भुजेल, बाबुराम भण्डारी, कृष्णप्रसाद अधिकारी, असिम गुरुङ, करुणा पराजुली, भीमाकुमारी पौडेल र अनिता दमै ९रोशनी० जिल्ला कमिटीमा सिफारिस हुनुभएको छ । यसैगरी प्रदेशसभा ३(२) मा होमबहादुर नेपाली, हेमकुमार श्रेष्ठ, जगन्नाथ अधिकारी, अर्जुनबहादुर केसी, भुवनेश्वर सुवेदी, देवेन्द्रराज सुवेदी, सङ्गीता केसी, केदारनाथ न्यौपाने, तुलसीप्रसाद बराल र सुरेश जिसी उम्मेदवार सिफारिस हुनुभएको छ । क्षेत्रीय निर्वाचन कमिटीबाट सिफारिस भएर आएका नामलाई जिल्ला कमिटीले थप छलफल गरेर प्रत्येक निर्वाचन क्षेत्रमा चार जनाका दरले प्रदेश कमिटीसमक्ष सिफारिस गर्ने र प्रदेशले रायसहित केन्द्रमा सिफारिस गर्ने जिल्ला उपसचिव लामाले जानकारी दिनुभयो ।
तपाईं पोखरा महानगरपालिकामा सेवा लिन जाँदै हुनुहुन्छ ? महानगरमा काम छ भने अबदेखि तपाईंले विगतमा जस्तो हातमा फाइल बोकेर महानगरका कोठा/कोठा चहार्नुपर्ने छैन । पहिला जस्तो फाइल हराउने समस्या भोग्नुपर्ने पनि हुने छैन । त्यति मात्र होइन, आफ्नो कामको फाइल बुझाएपछि तपाईं आरामले कुर्सीमा बस्नुहुनेछ, महानगरका कर्मचारीले भित्रबाट काम सकिएपछि बसेकै ठाउँमा फिर्ता ल्याइदिनेछन् । महानगरप्रति केही गुनासा र समस्या छन् भने सिधै महानगरमा फोन गरेर जानकारी गराउन सक्नुहुनेछ । महानगरले तपाईंलाई ‘क्विक रेस्पोन्स’ गर्नेछ । भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले सेवा प्रवाहलाई सरल र सहज बनाउन आजदेखि एकद्वार प्रणाली काउन्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । महानगरको काम झन्झटरहित बनाउन र सेवा प्रवाह सहज, छिटोछरितो, पारदर्शी र नागरिकमैत्री बनाउन एकद्वार काउन्टर सुरुआत गरिएको हो । सेवाग्राहीलाई महानगरमा फाइल लिएर शाखा र सम्बन्धित फाँटको प्रमुख खोज्दै हिँड्नुपर्ने बाध्यता अन्त्य गरेर महानगरले एकैथलोबाट सेवा दिन सुरु गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगरको प्रवेशद्वार बन्द गरेर सेवाग्राहीले बाहिरबाट सबै काम सकेर जाने गरी सेवा प्रवाहको व्यवस्था गरिएको छ । महानगरले त्यसका लागि विसं २०१३ मा निर्माण गरिएको भवनलाई अहिले स्तरोन्नति गरेर एकद्वार सेवा सञ्चालनमा ल्याएको हो । सेवाग्राहीलाई बाहिर बस्नका लागि प्रतिक्षालय र कुर्सी राखिएको छ । महानगरले नगरवासीलाई दिने सेवा सरल र झन्झटरहित बनाउने योजनाअनुसार काम सुरु भएको प्रमुख आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकामा सजिलोसँग काम होस् भनेर एकद्वार सेवा सुरुआत गरेका छौँ । वरिष्ठ अधिकृतले फाइल हेरेर कागजपत्र पुगे÷नपुगेको हेर्नुहुन्छ, अपुग भएमा थप गरेर ल्याउन भन्छौँ । फाइल दर्ता भएपछि कसकोमा गएको छ, त्यो रेकर्ड हुने व्यवस्था हुन्छ । अबदेखि महानगरमा फाइल हराउने भन्ने हुँदैन, कामको प्रक्रिया पूरा हुने वित्तिकै नाम बोलाएर कर्मचारीले बुझाउनुहुनेछ ।” महानगरले सेवाग्राहीका कागजपत्र सम्बन्धित फाँट र भित्र लैजानका लागि हाल पाँच जना कर्मचारी खटाएको छ । उनीहरुले सेवाग्राहीले फाइल बुझाएपछि प्रक्रिया पूरा गरेर काम सम्पन्न गरेर फिर्ता गर्नेछन् । प्रमुख आचार्यले महानगरका शाखा र वडामा पनि एकद्वार प्रणाली लागू गरेर काममा सहजता प्रदान गरिने बताउनुभयो । महानगरले ‘हेलो मेयर’ हटलाइन नम्बर पनि सञ्चालनमा ल्याएको छ । टोल फ्रि नम्बर ११८१ मा निःशुल्क सम्पर्क गरी सेवाग्राहीले आफ्ना गुनासा, चासो र सरोकारका विषय टिपाउन सक्ने र सम्बन्धित शाखा र महाशाखाबाट तत्कालै रेस्पोन्स गरिने महानगरका प्रवक्ता मोतिराज तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार हटलाइन नम्बर अहिले बिहान ९ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुनेछ । आवश्यकताअनुसार समय थप गर्न सकिने महानगरले जनाएको छ ।
वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् । बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । वेगनासको पिप्लेमा पुगेर त्यो समुदायले तालमा माछा मारेर बिक्री गर्न सुरु गरेको पनि ५० वर्ष पुगिसकेको छ । पाँच दशक पार गर्दा पनि एक–दुई परिवारबाहेक उनीहरुको माछा मारेर बिक्री गर्ने मूल पेशा फेरिएको छैन । वेगनास तालका माछा बिक्री गरेर प्रत्येक परिवारले अहिले मासिक रु २० देखि रु ५० हजारसम्म आम्दानी गर्ने गरका छन् । उनीहरु बाँच्नका लागि मुख्य आधार बन्दै आएको छ । “छोरा–छोरी पढाउन, बिहान–बेलुका हातमुख जोर्न माछा व्यवसाय नै मूल आधार बनेको छ”, वेगनासताल मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारीले भन्नुभयो । “बस्ने बासबाहेक उनीहरूसँग एक टुक्रा पनि जग्गा छैन, ती घरको पनि लालपुर्जा उनीहरुको हातमा छैन”, उहाँले भन्नुभयो, “माछा बिक्री गरेर भएको आम्दानीको ३० प्रतिशत त जालको तार खरिद गर्दा नै सकिने गरेको छ, जाली पनि तीन महिनामात्र टिकाउ हुन्छ ।” आफूहरूको थाकथलो कास्कीको पोखरा-९ नयाँबजार रहेको जानकारी दिँदै उहाँले जिजुबाजेका पालादेखि नै आफूहरूले माछा मार्ने काम गर्दै आएको बताउनुभयो । जलारीका अनुसार उहाँको परिवार पोखराको नयाँ बजारमा हुँदा विजयपुर खोला, फुस्रोखोला, कालीखोला, याम्दीखोलामा माछा मार्ने काम गर्दै आएको थियो । माछा मार्ने क्रममा ५० वर्षअघि वेगनासको पिप्लेगाउँमा एउटा परिवार आएको र माछा मार्ने सिलसिलामा आफ्नो बुवा यही ठाउँमा बस्नुभएको इतिहास उहाँले सुनाउनुभयो । कास्कीको पोखरा महानगरपालिका–३१ वेगनास तालमा आउने पर्यटकमध्ये केही प्रतिशत पिप्लेगाउँ पुग्छन् । तालको छेउबाट पिप्ले उक्लन पाँच मिनेट पैदल हिँड्नुपर्छ । “म ५५ वर्षको भएँ, म पाँच वर्षको हुँदा बुवा यहाँ आउनुभएको रहेछ, सुरुमा हामी एक परिवार मात्र थियौँ, बुवा एक्लै बस्न नसकेर साथीको रूपमा अर्को भाइलाई बोलाउनुभएछ”, उहाँले भन्नुभयो, “त्यसपछि अन्य व्यक्ति पनि आए, त्यो बढ्दै अहिले ४२ परिवार भएका छन् । ती परिवारले मारेको माछा वेगनासताल मत्स्य व्यवसाय समितिमा जम्मा गरी बिक्री गर्ने गरिएको छ ।” समितिकै अर्का सदस्य सानु जलारीले वेगनासतालमा मारिएका माछा समितिको कार्यालयमा सङ्कलन गरी ठेकेदारमार्फत पोखराको बजारमा बिक्रीका लागि लगिने गरिएको जानकारी दिनुभयो । तालमा पाइने विभिन्न जातका माछाको मूल्य प्रतिकिलो रु एक सय ८० देखि रु एक हजारसम्म पर्छ । वेगनासतालमा तिलिपीया, विग्रेड, भ्याकुर, सहरलगायत प्रकारका माछा पाइन्छन् । तिलिपीयाका कारण अन्य माछा लोप हुने अवस्थामा रहेको स्थानीयवासी बताउँछन् । तराईका पोखरीमा पालिएका माछा पोखरा बजारमा वेगनास, रुपा, फेवा र खास्टेतालका भन्दै व्यापारीले ढाटेर बिक्री गर्दा पछिल्ला वर्षमा यहाँका तालका माछाको महत्व घट्नुका साथै मूल्यमा समेत गिरावट आएको उनीहरूको गुनासो छ । पछिल्लो १५ वर्षयता पिप्लेका एक जलारी, अन्य क्षेत्री र बाहुन समुदायका चार जनाले रेष्टुरेण्ट र लज खोलेका छन् । ती होटलमा मुस्किलले ५० पाहुना अटाउँछन् । कोरोना महामारी अघि माछाको स्वाद लिनका लागि स्वदेशी तथा विदेशी पर्यटक त्यहाँ पुग्ने गरे पनि केही समय यता बिदाका दिन केही आन्तरिक पर्यटक मात्र पुग्ने गरेको उनीहरू बताउँछन् । सरकाले यतिका वर्षसम्म पनि जग्गाको लालपुर्जा नदिँदा आफूहरूलाई चिन्तित बनाएको उनीहरूको दुःखेसो छ । तालको मापदण्डको नाउँमा हटाउने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताउने गरेको छ । स्थानीय तहले जलारी समुदायलाई कास्कीको वेगनासतालमा माछा मार्न कुनै रोकटोक भने लगाएको छैन । कोरोना त्रासले समस्या बनाएको उल्लेख गर्दै पिप्लेमै रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएका अनिष जलारीले भन्नुभयो, “दुई वर्षदेखि बाह्य पर्यटक आएका छैनन् ।”
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का महासचिव देव गुरुङले सम्पूर्ण पार्टी पङ्क्तिलाई साथमा लिएर निर्वाचनमा होमिन निर्देशन दिनुभएको छ । गण्डकी प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरु र प्रदेश समितिका पदाधिकारीहरुको पोखरामा बसेको संयुक्त बैठकमा उहाँले माओवादीले गरेका राम्रा कामको जनतामा प्रचार नभएको र विरोधीहरुले भ्रम सिर्जना गरेकाले त्यसलाई चिर्ने गरी चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,“परिर्वतनकारी शक्ति भएको र प्रतिगमनका विरुद्ध मुख्य गरी लडेको शक्ति र यसको नेतृत्वका विरुद्ध जनतामा भ्रम सिर्जना गर्ने प्रयत्न भएको छ, त्यसलाई चिर्ने कोसिस गर्नुहोला । सरकारमा रहँदा माओवादीले गरेका काम जनताको घरदैलोमा पुगेर बुझाउनुहोला ।” आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको जानकारी दिँदै उहाँले गठबन्धनका पक्षमा माहोल बनाउन र चुनावी अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभयो । पार्टीका सचिव एवं शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले वामपन्थी पार्टीहरुमा माओवादी केन्द्र पहिलो बन्ने सम्भावना रहेको बताउनुभयो । माओवादीबाट वर्तमान सरकारमा सहभागी मन्त्रीहरुले देश र जनताका पक्षमा धेरैनै सकारात्मक काम गरेको उहाँले जिकिर गर्नुभयो ।
पोखराका पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषदको अध्यक्षमा पोमनारायण श्रेष्ठ निर्वाचित भएका छन्। पोखरा पर्यटन परिषदको नयाँ नेतृत्व् चयन गर्ने गरी बिहीबार सम्पन्न १२ औँ अधिवेशनमा रामचन्द्र शर्मालाई पराजित गर्दै अध्यक्षका उम्मेदवार पोमनारायण श्रेष्ठ निर्वाचित भएका हुुन् । बिहीबार भएके मतदानमा श्रेष्ठले २८ मत प्राप्त गर्दा शर्माले १४ मत प्राप्त गरेका थिए । श्रेष्ठ निर्वतमान कार्य समितिमा उपाध्यक्ष थिए भने शमौ महासचिव थिए । अधिवेशनमा पर्यटन सम्बद्ध विभिन्न व्यवसायिक सस्थाका ४२ जना प्रतिनिधि सहभागी थिए । ६ सदस्य रहने परिषदमा कृष्णप्रसाद काफ्ले, तारानाथ पहारी, कृष्ण भण्डारी, जीवनराज सापकोटा, बबरजंग गुरुङ र निमबहादुर मगर निर्विरोध निर्वाचित भएका थिए ।