पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ ।   महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गर...

पाेखरा:   गण्डकी प्रदेशको मन्त्रीपरिषद्ले भूतपूर्व पदाधिकारीलाई के – कस्तो सेवा, सुविधा दिन सकिन्छ भनेर तयारी थालेको छ ।    हालै बसेको बैठकले सोही सुविधा दिन तयारी कार्यदल गठन गरेको छ । कार्यदलमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव संयोजक, अर्थ र कानून मन्त्रालयका सचिव सदस्य रहने गरी ३ सदस्य रहेका छन् ।    कार्यदलले तयार गर्ने मस्यौदाअनुरुप सेवा सुविधा तय हुनेछ । हाल कार्यदल पूर्वमुख्यमन्त्रीदेखि प्रमुख सचेतकसम्मलाई सेवा उपलब्ध गराउन गृहकार्य थालेको छ ।   प्रदेश सरकारकाकारण आर्थिक भार बढ्दै गएको आलोचना भइरहेकाबेला भूतपूर्व पदाधिकारीलाई समेत सेवा, सुविधा छुट्याउने तयारी भएपछि पोखरेलीको अभिमत लिनेक्रममा उनीहरुको भनाई सुनगाभा न्यूजले जस्ताकोतस्तै समेटेको छ ।    कदापि उचित होइन ​​ आनन्दराज मुल्मी पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ   यहाँ कस्तो राजनीतिक सोंचको विकास भएको छ बुझ्नै गाह्रो भयो । पदमा रहँदा त सेवाको नाममा सुविधा लिए लिए, भूपू भएपछि पनि जनताको करमा तर् मार्ने प्रवृत्ति बढेर गयो । प्रदेश सरकारले केही गर्न नसकेको छर्लङ्ग छ, गरे त केवल आफ्नै लागि गरे भन्दा फरक पर्दैन ।    सिमित स्रोतबीच चलेको प्रदेश सरकारका पदाधिकारीले कार्यकाल सकिएपछि पनि सुविधा लिने सोंच कदापि उचित होइन । यदि, प्रदेश सरकारले यस्तो निर्णय गर्छ भने म त्यसलाई विवेकपूर्ण निर्णय मान्दिन । राजनीतिलाई ‘सेवा’को ठाउँमा ‘जागिर’ मान्ने प्रवृत्तिको म सदैव विरोध गर्छु ।    जनता र प्रदेशवासीलाई लाटोसोझो ठानेर यस्तो काम गर्ने प्रयास भइरहेको छ । यो अनुचित हो । मलाई लाग्छ, सम्बन्धित दलहरुले यस्तो निर्णय पक्कै नगर्लान् ।    ‘नो इज नो’ कपिल कोइराला अध्यक्ष, उपभोक्ता मञ्च, गण्डकी प्रदेश   पूर्वपदाधिकारीहरुलाई सुरक्षाको नाममा दिइने सेवा, सुविधाको कारण र तथ्य के हो ? विश्वमै आर्थिक मन्दी छ, कोरोना यथावत छ, युद्ध जारी छ । यस्तो बेलामा पूर्व भइसकेका पदाधिकारीलाई सेवा सुविधान दिने निर्णयप्रति मेरा धारणा मात्र ‘नो’ हो ।  एशियामा पनि श्रीलंका टाट पल्टिसकेको छ । पाकिस्तान केही दिनभित्र श्रीलंकाकै हाराहारीमा पुग्दैछ । नेपालको अवस्था त्यो भन्दा गतिलो छैन भन्ने नेताहरुलाई थाहा हुनु पर्ने हो । यस्तो प्रतिकुल अवस्थामा खाइपाइ आएको सेवा सुविधा कटौति गर्नुपर्ने बेला उल्टो खान खोज्ने प्रवृत्ति कदापि स्वीकार्य छैन ।  सुरक्षा र थ्रेटको नाममा छुट्याइने बजेटले उल्टो उनीहरुलाई नै गिज्याउँछ । मेरो प्रश्न छ ‘के काम गरे र, उनीहरु असुरक्षित छन् ?’ सबै भूपूलाई सुरक्षा दिँदै जाने हो भने देशको सिंगो प्रहरी फोर्स उनीहरुकै पछि लगाउने अवस्था आउँछ ।  सेवा सुविधा लिने हो भने उनीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । आफ्नो सम्पत्ति छोरा, नातीलाई छुट्याएर राज्यकोषको दोहन गर्न पाइँदैन । मैले यसमा गण्डकी प्रदेशको नियत खराब छ भन्ने ठानेको छु ।  गलत परम्परालाई निरन्तरता दिने काम भयो डा. उमानाथ बराल राजनीतिक विश्लेषक   मुलुकमा गणतन्त्रको आगमनपछि राष्ट्रपतिबाट जे–जस्तो परम्पराको सुरुवात गरियो त्यसैको देखासिकी प्रदेशले पनि सुरु ग¥यो । जनतामा सार्वभौमसत्ता केन्द्रित भएपछि उच्चपदस्थ व्यक्तिहरुले आफ्नौ दैनिकीलाई झनै लक्जरी बनाउने काम भयो, जसको निरन्तरता प्रदेशमा भेटिएको छ ।  मूलतः विश्वमै राजनीतिलाई सेवा भनेर लिने गरिएको छ । तर यहाँ पेशा भइदियो । यसले ‘कमाउने’ परिपाटीको विकास गर्दा भूपू भइसकेपछि पनि रवाफ देखाउन सुरक्षाको नाममा सेवा लिने अभ्यास भइरहेको छ । यसलाई ‘गुड’ भन्न सकिँदैन ।  यद्यपि, कुनै असल राजनीतिकर्मी छ र उसले निस्वार्थ काम गरेको छ भने उसलाई राज्यले सम्मान दिनु गलत भने होइन । तरैपनि शान, मानकोरुपमा राज्यले भूपूलाई खर्च गरिरहने हो भने त्यसले व्यवस्थाप्रति नै नकारात्मक सन्देश पुग्छ । विकास खर्च र बजेट नै विदेशी अनुदानमा निर्भर रहेको मुलुकमा फजुल खर्च बढाइरहने निर्णयले नेताहरु जनताप्रति अनुत्तरदायी छन् भन्ने ठहर्छ ।      जनतामारा निर्णय भयो भने सशक्त प्रतिकार हुन्छ रश्मी आचार्य उपसचिव, नेकपा एमाले, गण्डकी प्रदेश   भूतपूर्वलाई सुरक्षाको नाममा सेवा सुविधा दिने काम गर्नै नहुने विषय हो । यहाँ एमालेले पनि पाउँछ भन्ने कुरा भइरहेको छ । हाम्रो धारणा भनेको कहाँ, कसले पाउने होइन, यो त सरासर जनतामारा निर्र्णय हो । नेकपा एमाले यसको विपक्षमा छ ।    जनता महंगी र बेरोजगारले आहत भएकाबेला पूर्वप्रतिनिधिलाई झनै पाल्ने र पोस्ने काम गलत हो । एमालेले पनि पाउँछ भन्नेमा यो विषय किमार्थ जोडिदैन । राज्यकोषको दोहन गर्ने कुनैपनि निर्णयविरुद्ध हामी आन्दोलनमा उत्रन्छौं ।    आगामी २४ गते घोषणा हुने तयारी भइरहेको सुन्नमा आएको छ । घोषणामात्र होइन अहिले गठन गरिएको कार्यदल नै खारेज गर्नुपर्छ । कथंकदाचित् २४ गते सेवा सुविधा दिने निर्णय सदर भयो भने हामी सशक्त विरोध गर्छाैं ।    राज्यको ढुकुटीमा गिद्धे नजर सुशिला केसी अधिकारी केन्द्रीय सदस्य, विवेकशील साझा पार्टी   अहिले गण्डकी प्रदेशका प्रतिनिधिहरु, जो छिट्टै भूतपूर्व हुँदैछन्, उनीहरुलाई राज्यकोषबाट सुरक्षा वा अन्य जुनसुकै नाममा सेवा सुविधा दिने प्रयास भइरहेको छ, त्यसप्रति मेरो र दलकोतर्फबाट घोर आपत्ति छ ।    जनता दुख, पीडामा छन् । यस्तो विषम परिस्थितिमा पनि आफ्नै लागि आफैले सेवा सुविधा खुवाउने काम गर्नु भनेको राज्यको ढुकुटीमा गिद्धे नजर लगाउनु हो । वास्तवमा जनप्रतिनिधिलाई तलब खुवाउनै गाह्रो छ । त्यसमाथि अझ पछिसम्म पाल्ने काम कुनैपनि हिसाबले ठिक छैन ।    अझ, हाम्रो कुरा त संघ र स्थानीय सरकालाई बलियो बनाएर प्रदेश सरकार नै खारेज गर्नुपर्छ भन्ने हो । देशलाई झनै अधोगतितर्फ धकेल्न संसदबाटै कानून बनाएर पास गर्ने तयारी भइरहकोमा मेरो विमति छ ।    अर्थतन्त्रले धाने ठिक, धानेन भने ... गणेशबहादुर भट्टराई पर्यटन व्यवसायी   नेपाली उखान ‘घाँटी हेरी हाँड निल्ने’ भने जस्तै हो । प्रदेशले आफै पैसाको जोहो गर्न सक्छ भने उहाँहरुलाई धेरथोर सुविधा दिनु नराम्रो हैन तर अर्थतन्त्रले धान्दैन वा संघबाट आएको बजेटमा सुरक्षाको नाममा सुविधान लिनु त पक्कै बेठिक हो ।    विकासका काममा समेत रिन लिने चलन छ अर्थात् हामी बाध्य छौं भने प्रदेश सरकारले सोच्नुपर्छ । त्यसैत विभिन्न सरकारी निकायमा कामको तुलनामा कर्मचारी बढी भएको हामीले महशुस गरेका छौं ।    सेवा सुविधा प्रदान गर्दा हामी कति उत्पादनमुखी छौं भन्नेमा प्रदेश सरकार स्पष्ट हुनुपर्छ । जनताकै करबाट लिने हो भने नागरिकस्तरबाटै त्यसको विरोध हुन्छ ।    ‘रिन मागेर घ्यू खाने’ काम भयो शंकर खराल, राप्रपा, कास्की   हामी स्पष्टरुपमा संघीयता विरोधी पार्टी हौं । प्रदेश सरकार खारेज हुनुपर्छ भन्ने त हाम्रै माग छ । त्यसकारण प्रदेशका पदाधिकारीले पाँच वर्षपछि पनि सुरक्षाको बहानामा सेवा र मेवा लिने परिपार्टी बनाइन्छ भने राप्रपा आन्दोलन गर्छ ।    आफ्नो देश असफल राष्ट्र भइसक्न लागेको हेक्का नराखि खानेमात्रै ध्याउन्न गर्दा भोली जनस्तरबाट विद्रोह हुनसक्नेतर्फ सचेत हुनुप¥यो । वर्षेनी ५ अबै रुपैयाँको बजेट घाटा भइरहँदा पनि फेरि सुविधा लिन खोज्नुलाई रिन मागेर घ्यू खाने काम भन्नु बुझिन्छ ।    यहाँका पदाधिकारीले सुविधा लिए त्यसलाई नजिरकारुपा लिई भोली अन्य प्रदेशले पनि सेवा सुविधा लिने निश्चित छ । यसर्थ, यस किसिमका नीति, नियम बने देशमा छोटे राजाको संख्या झनै बढ्छ । यहाँ राजा मोटाउने हैन, जनता मोटाउने निर्णय गर्नु प¥यो ।    नागरिक समाजको आपत्ति छ इन्द्रकमल मानन्धर संयोजक, नागरिक समाज कास्की   भूतपूर्व पदाधिकारीलाई पनि सेवा सुविधा उपलब्ध गराउने समाचार आएलगत्तै हाम्रो ध्यानाकर्षण भएको छ । नागरिक समाज यस विषयमा गम्भीर आपत्ति जनाउँछ । जनता दुखमा परेका बेला जनप्रतिनिधि भने सेवा सुविधा थप्न लाग्नु जत्तिको दुखद खबर अरु के हुनसक्छ ?   सरकारले जनतालाई विदेशबाट विभिन्न सरसामानको आयातमा रोक लगाइरहेकाबेला आफु भने देशको ढुकुटी सक्न उद्दत देखिनु जनताप्रतिको गैरजिम्मेवारीपना हो । बजारमा उपभोग्य वस्तुको भाउँ बढेको छ । सरकार केवल रमिते बनेको छ । अर्थतन्त्र धराशायी हुँदैछ, यस्तो बेला सेवा सुविधा कसरी लिन सकिन्छ भनेर कार्यदल गठन गर्नु लाजमर्दाे विषय हो । 

अष्ट्रेलियामा केन्द्रिय कार्यालय रहेको मेवन कन्सल्टेन्सीले पोखराबाट सेवा शुरु गरेको छ । कन्सल्टेन्सीको नेपालस्थित यो तेस्रो शाखा हो ।    गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शाखाको उद्घाटन गर्दै विदेशबाट शिक्षा र सभ्यता लिएर फर्कन अनुरोध गरे ।    सोहीक्रममा पोखरा शाखाकी प्रबन्ध निर्देशक भावना पोखरेलले विदेश पढ्न चाहने विद्यार्थीलाई पोखराबाटै सहयोग दिने उद्देश्यले मेवनको शाखा सुरु गरेको बताइन् । ‘भाषा, प्रोसेसिङ्, परामर्श र आवश्यक सहयोगबारे पूर्ण जानकारी नपाउँदा विद्यार्थी रनभुल्ल छन्’ पोखरेलले भनिन् ‘मेवनको उद्देश्य विद्यार्थीलाई सम्पूर्णरुपमा सहयोग गर्ने हो ।’   पोखरा वा नेपालभित्रमात्र नभएर विदेश पुगेपछि पनि विद्यार्थीहरुलाई आवश्यक सहयोग रहने उनको दाबी छ । स्मरणीय छ, मेवनको १३ देशमा शाखा रहेका छन् ।    पोखरा महानगरपालिका नजिक रहेको मेवनले उद्घाटनको अवसरमा विशेष छूटको अवसर दिएको छ । पोखरेल भन्छिन्, ‘प्रोसेसिङ् र आइएलटीएस, पिटिइ कक्षामा विशेष छूट छ ।’   उद्घाटनसत्रमा सय बढी विद्यार्थीले मेवनबारे जानकारी लिएका छन् । 

कास्की- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी आर्थिक बर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।   पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको सपथग्रहण कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन भएसँगै वैदेशिक रोजगारीमा जानेलाई सहज सेवा दिन वैदेशिक रोजगार कार्यालय स्थापना हुने बताउनुभयो ।   मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा पनि पोखराबाट समेत वैदेशिक रोजगारसम्बन्धी सेवा उपलब्ध गराइने उल्लेख गरिएको चर्चा गर्नुहुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरू काठमाडौं जान नपर्ने गरी सवै सेवा उपलब्ध गराइने बताउनुभयो ।   पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न सहयोग गर्ने प्रतिवद्धता पनि मन्त्री श्रेष्ठले जनाउनुभयो । नवनिर्वाचित महानगरपालिका प्रमुखले सपथ ग्रहणसँगै पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेस गर्ने निर्णय गर्नुभएको छ ।   मन्त्री श्रेष्ठले देशकै ठूलो महानगर पोखराको विकासका योजना, सम्पदा संरक्षण, फोहर व्यवस्थापन लगायतका काममा संघीय सरकारबाट पुर्ण सहयोगको प्रतिवद्धता जनाउनुभयो ।   पोखराको सबैभन्दा ठुलो समस्या ठानिएको ल्याण्डफिल साइट व्यवस्थापनका लागि पनि संघीय सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । पोखरा महानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादी का नेता धनराज आचार्य निर्वाचित हुनुभएको थियो ।

पोखराः पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीकाे छोरी अञ्जु जिसीले हालै निर्वाचित मेयर धनराज आचार्यलाई सुझावसहित बधाई दिएकी छिन् ।    ‘नगरपितालाई छोरीको सन्देश’ भन्दै अञ्जुले मेयर आचार्यलाई बधाईमात्रै दिएकी छैनन्, उनले बुवा मानबहादुरले राम्रो काम गर्दागर्दै विभिन्न बहानामा हस्पिटलको बेडसम्म पु¥याएको दुखेसो पनि पोखेकी छिन् । बुवा मानबहादुर सत्यको बोटोमा अडिग रहँदा हस्पिटलसम्म पुग्नुपरेको अर्थात बिरामी नै हुनुपरेको र अहिलेको अवस्थमा पुगेको भाव उनको स्टाटसबाट बुझ्न सकिन्छ ।   उनको स्टाटसलाई केलाउँदा बुवा मानबहादुर आफ्नैबाट पीडित हुनुपरेको, स्वास्थ्यवस्था बिग्रेको, आसेपासेबाट दबाब आएकोलगायत उल्लेख गरिएको छ ।    अञ्जुले दिएको सुझावमा राम्रो काम गर्दा सबै आफ्नो हुन्छन् भन्ने भ्रम त्याग्न अनुरोध गर्दै दबाब सहन सक्ने क्षमता आवश्यक रहेको उल्लेख गरेकी छिन् ।    अञ्जुको स्टाटसः  

पोखराः स्थानीय तहको निर्वाचन सुरु हुन ३ दिन अघिदेखिनै वर्षा हुने मौसम विभागको अनुमानले पोखरेलीलाई असहज बनाइरहेको थियो ।   त्यसैमाथि, देशकै धेरै पानी पर्ने स्थान भएकाले पोखरेलीहरुलाई निर्वाचन बिथोलिने हो कि भन्ने चिन्ता पनि थियो । अझ, सरकारी र जिम्मेवार निकायलाई पनि पीरमा डुुबाएको थियो ।    तर, विभिन्न डर र पीरबीच पोखरामा अधिकांश स्थानमा बेलुकी ५ बजेसम्म मौसम अनुकुल रह्यो । मतदान कार्यक्रम सकिएपछि करिब सवा ५ बजेदेखि पोखराको नगर लगायत आसपासमा वर्षा सुरु भएको छ ।   मतदान सकिएपनि निर्वाचनमा खटिएका पदाधिकारी र सुरक्षाकर्मीहरुलाई भने मतपेटिका र अन्य कागजात जोगाउन केही सकस परेपनि वर्षाकै कारण कुनैपनि कठिनाई भने नभएको हाम्रा सहकर्मी सुशान्त गाहाले जनाएका छन् ।      मतदानस्थलमा रिपोर्टिङकैक्रममा रहेका सहकर्मी गाहाको रिपोर्ट अनुसार पोखरा महानगर र जिल्लाका ४ गाउँपालिकामा करिब ७० प्रतिशतमात्रै मत खसेको छ ।   त्यस्तै, केही मतदानस्थलमा ५ बजेसम्म लाइनमा रहेका मतदातालाई मतदान गर्न दिइने निर्वाचन आयोगले बताएको उल्लेख गरिएको छ ।   

पोखरा महानगर वडा १६ का जीतबहादुर परियारले बिहान साढे ७ बजे मतदान गरेका छन् ।    विन्दवासिनी मावि मतदानस्थलबाट भोट हालेर फर्किएपछि परियार सुनगाभा न्यूजसँग गफिए । ‘आफ्नो अधिकार प्रयोग गर्न आएको हुँ’ खासै उत्साहित नदेखिएका परियारले भने ‘नेताहरु झुठा छन्, गर्छन् भन्ने विश्वास पनि छैन तर ठग्छन् भन्ने थाहा भएपनि भोट हालियो ।’   गाउँमै सिंहदबार भनेर भनेपनि सबै गफै भएको जनताकालागि त्यो केवल गफ भएको उनको प्रतिक्रिया थियो ।   परिवारको सहारामा व्हिलचेयरमा मतदान गर्न आएका ६३ वर्षीय परियारले यसअघि ०७४ मा पनि भोट हालेको तर अपांगकालागि केही सुविधा नपाएको गुनासो पाेखे ।   ‘मलाई ढाँट्छन् भन्ने स्योर छ’ अपांग परियारले भने ‘जुन जोगी आएपनि कान चिरेको भनेझैं हो ।’   स्वच्छ नेता चुन्न मतदान गरेपनि आफ्नो भोटको कदर नभएको तीतो पोख्दै उनले भने ‘आश्वासन दिनेबाहेक खासै केही भएन, जसले जीतेपनि खासै फरक पर्दैन ।’   जनतालाई गरेको वाचा यसपटकको निर्वाचनबाट पुरा होस् भन्दै उनले पुनः आशावादी हुनुबाहेक अर्काे विकल्प नभएको उनले सुनाए । 

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो ठेगाना पोखरा भएको बताएका छन् ।  पोखरामा आयोजित वृहद चुनावी आमसभामा बोल्दै अध्यक्ष ओलीले भनेका छन् ‘पोखरामा मेरो पनि नागरिकता छ । पार्दी मेरो ठेगाना हो ।’ उक्त भनाइलाई आफ्नो जेल जीवन स्मरण गराउँदै ओलीले राजनीतिक जीवनका दौरान ३ वर्ष पोखराको कारागारमा बसेको सम्झना बाँडे ।   परामादेशपछि एमालेलाई पत्तासाफ गराउन चौतर्फीरुपमा प्रयास भइरहे पनि यो जनताको पार्टी भएकाले आफै छेउ लाग्दै गरेको टिप्पणी गरे । ‘हामी  देश बनाउने योजनामा छौं’ उनले भने ‘गठबन्धन एमालेलाई बिगार्ने योजनामा छन् ।

पाेखराः पोखरा महानगरमा भएका काम, मेयरलगायत पदाधिकारीको अनुभव र उपलब्धीलाई पुस्तकाकारमा सार्वजनिक गरिएको छ ।    यो पाँच वर्षमा पोखरा महानगरपालिकाले गरेका नीतिगत निर्णय, पूर्वाधार निर्माण लगायत विविधि विषयलाई समेटेर तयार पारिएको पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन गरिएको छ । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले उक्त पुस्तक विमोचन गरेका हुन् ।   पुस्तक विमोचन गर्दै महानगर प्रमुख जिसीले यो पुस्तकले अब नयाँ आउने नेतृत्वलाई महानगर बारे योजना बनाउन सघाउने उल्लेख गरे । पोखरा बारे चासो राख्ने, अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि यो पुस्तक महत्वपूर्ण अभिलेख भएको भनाइ जिसीको छ ।   महानगरको यो कार्यकाल संघियता कार्यान्वयन, संस्थागत विकास र एकीकृत भावनाको थालनीको कार्यकाल भएको जिसीले बताए । नागरिकले आफूलाई सार्वभौम भएको अनुभूति गर्नेगरी संघियता कार्यान्वयनको पहिलो चरणमा काम गर्न पाउँदा गौरव लागेको जिसीको भनाइ छ । यो अवधिमा संघियता कार्यान्वयन र समृद्धिको जग बसेकाले अब आउने नेतृत्वलाई काम गर्न सहज हुने विश्वास जिसीको छ ।   कार्यक्रममा पुस्तक लेखन तथा सम्पादनको नेतृत्व गर्नुभएका राजनीतिक विश्लेषक झलक सुवेदीले पोखराको भौगोलिक र राजनीतिक अवस्थासहित यो पाँच वर्षमा भएका महत्वपूर्ण उपलब्धि र विविध विषयलाई पुस्तकमा समेट्ने प्रयास गरिएको बताए । पोखरा बारे नीति, निर्माण गर्न तथा दीर्घकालीन योजना बनाउन पुस्तकले मार्ग निर्देश गर्ने भनाइ सुवेदीको छ ।   संघियता कार्यान्वयनको यो पाँच वर्षमा महानगरले लय समातेकाले आगामी आउने नेतृत्वलाई काम गर्न सहज हुने सुवेदीले बताए । तथ्यांक वा कुनै पनि विषयको जानकारी, सूचनालाई अभिलेखीकरण गर्न स्थानीय तहले प्राथमिकता राखेर काम गर्नुपर्ने उनको सुझाव छ ।   पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले पुस्तक प्रकाशन महत्वपूर्ण कार्य भएको बताए । पुस्तकले पोखराको समग्र पाटोलाई समेटेकाले यो ऐतिहासिक दस्तावेज भएको उनको भनाइ छ । पुस्तकमा पोखरा महानगरको परिचय, महानगरको संगठनात्मक संरचना, निर्वाचित जनप्रतिनिधिको परिकल्पना, प्राप्ती र भविश्य, यो पाँच वर्षमा भएका मुख्य उपलब्धि, महिला र दलित महिला सदस्यका अनुभूति, विविध गतिविधि र कार्यहरु, विभिन्न क्षेत्रका व्यक्तित्वहरुले पोखरा बारेमा दिएका विचारका साथै यो पाँच वर्षमा ३३ वटै वडामा भएका कामहहरुलाई समेटिएको पोखरा महानगर प्रमुख जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।   पुस्तक विमोचन कार्यक्रममा पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपाली, सचेतक रामराज लामिछने, पोखरा महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेल लगायतले पुस्तक प्रकाशन एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका थिए ।