पोखरा: गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम बहादर जुग्जाली मगरले जनजातिले नेतृत्व गरेको क्षेत्र सफल भएको भन्दै मुलुकको नेतृत्व जनजातिले गर्न आवश्यक रहेको बताएका छन् । नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा नेपाल मगर संघ कास्कीले आयोजना गरेको मगर एकता दिवसलाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले मुलुकको समृद्धिका लागि जनजातिले देशको नेतृत्व गर्न आवश्यक देखिएको उल्लेख गरे । ‘देशको महत्वपूर्ण क्षेत्रमा जनजातिले नेतृत्व गर्न आवश्यक छ, जनजातिले नेतृत्व गरेको क्षेत्रमा सफलता मिलेको छ, मन्त्री जुग्जालीले भने, ‘कुलमान घिसिङले उर्जामा सफलता दिलाए, महावीर पुनले बन्द अवस्थामा रहेको आविष्कार केन्द्र सञ्चालनमा ल्याए । त्यसैले यो एक सफलताको उदाहरण हो ।’ पर्यटनमन्त्री जुग्जाली मगरले जनजातिले नेतृत्व गरेको क्षेत्रमा सफलता पाएको भन्दै अब देशको कार्यकारी पदमा जनजातिले नेतृत्व गर्न अधिकार खोज्नै पर्नेमा जोड दिए । उनले फरक प्रसंगमा बोल्दै पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखराको मात्र नभएर गण्डकी प्रदेशका ग्रामीण क्षेत्रमा रहेका पर्यकीय क्षेत्रको प्रचार र पूर्वाधार विकास गर्न आवश्यक रहेको बताए । ‘पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आयो, अहिले फोटो खिच्ने र टिकटक बनाउने भन्दा अरु भएन, उनले भने, ‘अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखराको मात्र नभएर गण्डकी प्रदेशका सबै जिल्लाको पर्यटकीय क्षेत्रको विकास गर्न सके मात्र विमानस्थल सञ्चालन गर्न सहज हुनेछ ।’ उनले मगर जातिले विदेशी मोह त्यागेर निजामती क्षेत्रमा प्रवेश गर्न आवश्यक रहेको बताए । ‘मगर तथा जनजाति समुदायहरु विदेशी मोहमा बढी क्रियाशिल छन्, यसलाई रोक्न जनजाति समुदायले निजामती सेवा प्रवेशका लागि लोकसेवाका कक्षा सञ्चालन गर्न आवश्यक छ, तब मात्र जनजाति समुदायको केही हदसम्म विकास र उत्थान हुन्छ ।’ यस्तै कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले मगर तथा जनजाति समुदायले देश र जनताका लागि महत्वपूर्ण योगदान दिएको धारणा राखे । ‘मुलकु जोगाउन र बनाउन मगर तथा जनजाति समुदायको महत्वपूर्ण योगदान छ, केसीले भने, ‘देश र जनताका लागि केही गर्नुपर्छ भनेर इतिहास कालदेखि हरेक क्षेत्रमा जनजाति समुदायको योगदान रहेको छ ।’ नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष तारा थापा मगरले मगर जातिको भाषा संस्कृतिलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने तर्क राखिन् । यसैगरी तमु धिं नेपाल कास्कीका अध्यक्ष हुम बहादुर गुरुङले राज्यको कार्यकारी क्षेत्रमा रहेर काम गर्न जनजाति समुदाय एकजुट हुन आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजन लामा, नेपाल मगर विद्यार्थी संघका सल्लाहकार बालकृष्ण काउछा मगर लगायतले बोलेका थिए । नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा पोखराको चिप्लेढुङ्गाबाट सुरु भई झाँकी तथा ¥याली महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै पोखरा रंगशालास्थित मगर संघ कास्कीको सभाहलमा गएर कोण सभामा परिणत भएको थियो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ६ महिनामा सवारी दुर्घटनामा ज्यान गुमाउने संंख्या २३ जना रहेको जानकारी दिएको छ । कास्की प्रहरीले अर्धवार्षिक कार्यविवरण सार्जनजिक गर्र्दा सवारी दुर्घटनामा ज्यान गुमाउने संख्या २३ जना रहेको प्रहरी निरीक्षक राम तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार कास्कीमा ६ श्रावण महिनादेखि यता ६४ जना सवारी दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् । प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार ३८ हजार ४ सय २२ वटा सवारी कारवाही गर्दा ३ करोड ३० लाख ७५ हजार राजश्व संकलन भएको छ । पोखरामा २९ केजी गाँजा प्रहरीको नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कास्कीले ६ महिनामा जिल्लाको विभिन्न स्थानबाट २९ केजी बढी गाँजा लागूऔषध नियन्त्रणमा लिएको छ । प्रहरीले चालु आर्थिक वर्षको श्रावण महिना देखि यता जिल्लाको विभिन्न स्थानबाट लागूऔषध नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीका अनुसार गाँजा २९ केजी ९ सय ९७ ग्राम, चरेश ३ केजी ३ सय ग्राम, ब्राउन सुगर २०.०७ ग्राम, डाईजापाम, फेनेरागमन नुर्फिन ३ हजार ७ सय ९७ एम्पुल, नाईट्रोभ्याट, ट्रामाडोल ३१ चक्की र ६९ स्थानमा गाँजा फडानी गर्दा ५० हजार बोट नष्ट गरेको हो । कास्कीले प्रहरीले पछिल्लो ६ महिनामा जिल्लाको विभिन्न स्थानमा नदीजन्य पदार्थको अवैध उत्खनन् गर्ने ६२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर सम्बन्धित स्थानीय तहमा कारवाहीका लागि पठाएको जनाएको छ । पछिल्लो ६ महिनामा यता १२ वटा ट्याक्टर, ४३ वटा टिप्पर, १ वटा ट्रक, ३ वटा स्क्याभेटर, ३ वटा जेसिबी गरी ६२ वटा सवारीलाई सम्बन्धित स्थानीय तहलाई कारवाही लागि पठाएको हो । ६२ वटा सवारीबाट ८ लाख २२ हजार ६ सय ८० राजश्व संकलन गरेको कास्की प्रहरीले जनाएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीले २० जना प्रहरीलाई कारवाही गरेको छ । पछिल्लो ६ महिना यता कास्कीमा २० जना प्रहरी कारवाहीमा पर्दा ८५ जना प्रहरी भन सम्मानित भएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य सञ्जय कुमार श्रेष्ठको निधनमा महानगरले आज (आइतबार) १ बजेपछि महानगर तथा सबै वडामा शोक सभा गर्दै कार्यालय बन्द रहने जनाएको छ । वडा सदस्य श्रेष्ठको निधनपछि महानगरले एक सूचना प्रकाशित गर्दै पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालय पूर्णरुपमा बन्द गर्ने र १ बजेपछि महानगरपालिकाको कार्यालय, महाशाखा, शाखा कार्यालय र सबै वडा कार्यालयमा १ बजेपछि शोक सभा गर्दै कार्यालय बन्द रहने जनाएको हो । वडा सदस्य श्रेष्ठको आइतबार बिहान फिस्टेल हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो ।
पोखरा: पोखरा महानगरपालिका ४ का वडासदस्य संजयकुमार श्रेष्ठको निधन भएको छ । पोखरा ४ का वडासदस्य श्रेष्ठको फिस्टेल हस्पिटलमा उपचारको क्रममा आज बिहान करिव २ः३० बजेको समयमा निधन भएको वडासदस्य प्रकाश कोइरालाले जानकारी दिए । ‘बिहीबार सम्म वडामा आउनुभएको थियो, हिजो (शुक्रबार) स्वास्थ्यमा समस्यामा आएपछि फिस्टेल हस्पिटलमा चेकजाँचका लागि जानुभएको रहेछ, कोइरालाले भने, ‘हस्पिटलमा उपचारको क्रममा उहाँको आज बिहान निधन भएको रहेछ ।’ स्वर्गीय वडासदस्य श्रेष्ठ नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका ४ को वडासदस्यमा निर्वाचित भएका थिए । स्वर्गीय श्रेष्ठको दुई छोरा, एक छोरी र श्रीमती छन् ।
पोखरा: पोखरामा हात र घाटीमा ट्याटु भएको एक पुरुषको शवको पहिचान हुन सकेको छैन । पोखरा महानगरपालिका ५ मालेपाटन स्थित कालिका पेट्रोल पम्प नजिक नाम थर नखुलेको पुरुषलाई प्रहरीले घाइते अवस्थामा उद्धार गरी अस्पताल पु¥याएको थियो । घाइते अवस्थामा उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याइएपनि उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । वेवारिसे अवस्थामा फेला परेका पुरुषको शवको परिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृतको घाटीमा केलीन लेखिएको सानो अक्षरको ट्याटु र हातमा स्टार ट्याटु रहेको छ ।
पोखरा: माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष रामबहादुर गुरुङबाट कुटिएको भन्दै वडाकै सब–इन्जिनियर लक्ष्मण जिसी प्रहरीसमक्ष पुगेका छन् । जिसीले कारवाहीकालागि निवेदन दिएपछि हिजै छलफल भएपनि ठोस निर्णय भएको छैन । यसैबीच, कर्मचारीहरुले गाउँपालिकामा ‘पेनडाउन’सम्मको घोषणा गरेका छन् । वडाध्यक्ष गुरुङ नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने सबइन्जिनियर जिसी नेकपा एमाले समिर्थित हुन् । जिसीले नेताहरुलाई बधाई एवं शुभकामना दिन ‘हाम्रो गौरवशाली पार्टी नेकपा एमाले’ भनेर सम्बोधन गर्छन् । सम्भवतः राजनीतिक आस्थाकै कारण शुक्रबारको घटना घट्न पुगेको अनुमान गरिन्छ । यद्यपि, वडाध्यक्ष र जिसीबीच यसअघिदेखि नै सम्बन्ध अनुकुल हुन नसकेको स्थानीयको भनाई छ । यस विषयलाई आइतबार गाउँपालिकामा सबै बसेर टुंगोमा पुर्याउने गाउँपालिकाका प्रवक्ता गणेश आचार्य बताउँछन् । ‘हामीले जिसीका परिवासँग पनि भेटघाट गरेका छौं, सम्बन्धलाई सुधार गर्दै जाने वातावरण बन्नेमा आशावादी छौं, यहाँको निष्कर्ष प्रहरीसमक्ष पुर्याई विवाद सल्टाउन लाग्नेछौं’ प्रवक्ता आचार्यले भने । यही प्रकरणमा मुछिएको दुई पात्रका भनाई संक्षेपमाः लक्ष्मण जिसी सब–इन्जिनियर, माछापुच्छ्रे गाउँपालिका मलाई वडाध्यक्ष राम गुरुङले कुटेका हुन् । शुक्रबार म माथि नियतवश कुटपिट भएपछि प्रहरीमा उजुरी दिएको हुँ । मेरो काम प्राविधिक भएकाले फिल्डमा खटिइरहनुपर्छ, त्यसैकारण ठ्याक्कै १० बजे कार्यालय पुग्न सकिँदैन । शुक्रबार पनि यही निहुँमा म कुटिएको हुँ । कुटाइबाट नाकको माथि चोट पुगेको छ । शरिरको अन्य भागमा पनि पीडा भएको छ । प्राविधिक काम भएकाले बिहानै काममा निस्कने गरेको छु, सोही कारण समयमै कार्यालय पुग्न कहिलेकाही भ्याइन्न । त्यसदिन एउटा गाउँको लागत इस्टिमेट दिएर मलाई बिल बनाउन भनिएको थियो तर मैले नापजाँच नगरी बिल बनाउँन मिल्दैन भनेपछि म माथि अध्यक्ष गुरुङ जाइलागे । वडाध्यक्षको स्वार्थविपरित काम नगर्दा म माथि हातपात भएको हो । म ८ नम्बर वडाको प्राविधिक हुँ । त्यसदिन पनि सडकको साइटमा थए । आउँदा थोरै ढिला भएको हो । ल्वाङ सामुदायिक होमस्टेको कार्यक्रमको पूर्वाधार बनाउने स्टिमेट तयार गर्न वडाध्यक्षले भनेका थिए तर वडा कार्यालयमा सेवाग्राहीले कुरेकाले त्यो काम सकेर जान्छु भन्ने थियो तर एक्कासी कुटपिट भयो । म माथि भएको हातपातको विरुद्ध प्रहरीमा उजुरी दिएको छु । छलफल हुँदैछ । भोली गाउँपालिकामा पेनडाउन कार्यक्रम पनि छ । राष्ट्रसेवक कर्मचारीमाथि प्रहार भएको छ । न्याय पाउनेमा आशावादी छु । रामबहादुर गुरुङ, अध्यक्ष, वडा नं.८, माछापुच्छ्रे गाउँपालिका धेरै पहिल्यैदेखि सब–इन्जिनियर लक्ष्मण जिसीले विकासे काममा अवरोध गर्दै आएका छन् । जिसी कहिल्यैपनि समयमा कार्यालय आएका छैनन् । उनको आउने समय सँधै बिहान ११ बजे हो । त्यसदिन १०ः४६ मा आएका थिए । मैले होमस्टेसँग सम्बन्धित विषयमा कुरा गर्दा उनले आनाकानी गर्दै झन् चर्किए । त्यसपछि मैलेपनि ‘यस्तो तरिका ठिक हुन्न, कसैको कारण वडाबासीले दुख पाएको म सहँन्न’ भने । हामीसँग बजेट संकलन हुने आन्तरीक स्रोत छैन । सिंगो गाउँपालिका नै संघ र बजेटको प्रदेशमा निर्भर छ । यसर्थ, बजेट माग्न पोखरा झर्नपर्छ, यसै प्रयोजनार्थ हामी विभिन्न योजना बनाउँछौं तर जिसीले त्यसलाई फाइनल गर्नबाट पन्छिने र ढिलासुस्ती गर्नमै समय खर्चिन्छन् । वडाका दलित महिला सदस्यले पनि नमस्कार गर्दा नफर्काउने र रवाफिलो शैलीमा प्रस्तुत हुने गरेको सुनाउँदै आएका थिए । विशेषतः वडावासीलाई दिनुपर्ने सेवा प्रवाहमा बाराम्बार अवरोध गरिरहेका थिए । त्यसदिन पनि यही विषयमा चर्काचर्की भएको हो । सोहीक्रमा जिसी म भएतिर जोस्सिएर आए, म माथि प्रहार हुने ठानेपछि मैले थोरै हुत्याइदिएको हुँ, त्यसपछि उनी भित्तामा ठोक्किए । उनको नाकबाट केही रगत बगेको थियो । तर मैले कुटपिट गरेको हैन, प्रतिरक्षा गर्ने क्रममा धकेलेको भने स्वीकार्छु । यस विषयमा प्रहरीसँग गाउँपालिका र जिम्मेवार पदाधिकारीहरु छलफलमा छौं । यसलाई इस्यु बनाएर गाउँपालिकाकै काम रोक्ने योजना भइरहेको छ । यो सह्य हुँदैन । जे सुकै होस् तर वडा र क्षेत्रको विकासमा म बाट कुनैपनि किसिमको सम्झौता हुँदैन । यस विषयमा गाउँपालिका र वडामा पनि गएर स्थानीयको भनाई बुझ्न आग्रह गर्दछु ।
पोखरा: वि विल राइज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ २०२३ को दोस्रो संस्करणका लागि भिडियो आह्वान गरेको छ । फाउण्डेसनले ओझेलमा परेको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आज २०७९ फाल्गुण १२ (शुक्रबार) देखि ७० दिन अर्थात् २०८० वैशाख २१ गतेसम्मका लागि भिडियो पठाउन आह्वान गरेको हो । विजेता प्रतियोगीहरूको घोषणा १३ जेष्ठ २०८० का दिन काठमाडौँमा हुनेछ । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । सन् २०१९ मा पहिलो पटक आयोजित प्रतियोगितामा देशभरबाट उत्साहजनक रूपमा १३२ वृत्तचित्र सहभागी थिए । सन् २०२० मा प्रतियोगिताका लागि भिडियो आह्वान भए पनि विश्वभर फैलिएको कोभिड १९ महामारीका कारण कार्यक्रम स्थगित हुन पुग्यो । यसअघि सन् २०२० को भिडियो च्यालेञ्जमा सहभागी प्रतियोगीहरूले आफूले पठाइसकेको भिडियोमा परिवर्तन गर्नुपर्ने आवश्यक ठानेमा सो भिडियो सम्पादन गरी वा नयाँ नै पनि पठाउन सक्नेछन् । ‘मेरो गाउँ, मेरो ठाउँ २०२३’ प्रतियोगितामा यसअघि सहभागी नभएका नयाँ प्रतियोगीहरूले समेत सहभागिता जनाउन सक्ने फाउण्डेसनले जनाएको छ । भिडियो निर्माताहरुले प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि गाउँ–ठाउँको प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, खानपान, कलासंस्कृति, जातजातिको पहिचान लगायतका विषयहरूलाई आधार बनाएर भिडियो तयार पार्न सक्नेछन् । वृत्तचित्र अधिकतम ५ मिनेटको हुनुपर्नेछ । प्राप्त भिडियोहरूमध्येबाट निर्णायकले छनौट गरेका उत्कृष्ट दशलाई नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिनेछ । कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्न र यस क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रमको उपादेयता अझ बढेर गएको छ । यस प्रतियोगिताले देशैभर ओझेलमा रहेका पर्यटकीय थलोहरू पहिल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने र प्राप्त वृत्तचित्रहरूको उचित प्रचारप्रसार गर्न सके यो आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि ठूलो सहयोगी हुन सक्नेमा फाउण्डेसन विश्वस्त छ । सहभागीले फाउण्डेसनको आधिकारिक वेबसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी www.wwrf.org.np मार्फत फर्म भरी सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागिता लागि कुनै किसिमको शुल्क लाग्ने छैन ।
पोखरा: पोखरामा जापान फाउण्डेशन दूतावास जापानको आयोजना र भाषा संघ नेपालको सहकार्यमा आजदेखि पोखरामा जापनीज चलचित्र महोत्सव हुने भएको छ । पोखरामा आज (शुक्रबार) र शनिबार हुने जापनीज चलचित्र महोत्सव प्रर्दशन हुने छ भने, काठमाडौंमा शनिबार र आइतबार महोत्सव हुनेछ । पोखरामा पोखरा उद्योग वाणिज्य संघको सभाहल र काठमाडौंको राष्ट्रिय नाचघर जमालमा हुनेछ । महोत्सव अवलोकन निशुल्क रहेको आयोजकले जनाएको छ ।
पोखरा: छँगेली नेवा खल, पोखराको आयोजनामा भैरव नाच कार्यक्रम हुने भएको छ । फागुन २४ गते पोखरा फुलबारीमा नाच आयोजना गर्न लागिएको छँगेली नेवा खल, पोखराका अध्यक्ष शिबलाल मल्लले जानकारी दिए । नाच सम्पन्न गर्नका लागि विभन्न ६ वटा उपसमिती बनाइएको छ । मुल समारोह व्यवस्थापन समितीको संयोजक शिबलाल मल्ल, सदस्यहरुमा तेजकुमार मल्ल, भरत कर्माचार्य, रुद्र मल्ल, विष्णुकुमार श्रेष्ठ , बुद्धी मल्ल, रमेश मल्ल, सुर्य राजभण्डारी विश्णुश्याम मल्ल रहेका छन् । यस्तै पुजा व्यवस्थापन उपसमितीमा सुना मल्लको संयाजकत्वमा सदस्यहरु निर्मला मल्ल नारायणी श्रेष्ठ, लक्ष्मण मल्ल , अन्जु मल्ल, अर्मिला मल्ल, लक्ष्मी मल्ल, शान्ती कर्माचार्य, बिन्दु मल्ल, सरस्वती मल्ल रहेका छन् । प्रचारप्रसार उपसमितीमा सन्जय मल्ल संयोजक तथा जयराम कायस्थ, रामप्रताप मल्ल, मनिराज मल्ल सदस्य छन् । कार्यक्रम सफल बनाउन अर्थिक व्यवस्थापन उपसमितीमा प्रल्हादभक्त कायस्थ संयोजक, हेमन्त मल्ल, श्याम मल्ल, कृष्ण मल्ल सदस्य रहेका छन् । खाना व्यवस्थापन उपसमितीमा बालकृष्ण श्रेष्ठ संयोजक, मिलन श्रेष्ठ, ज्ञाननारायण श्रेष्ठ, लक्ष्मण मल्ल सदस्य छन् । स्वयमसेवक व्यवस्थापन उपसमितीमा संयोजक मोहन मल्ल, सदस्यहरु रविन्द्र मल्ल, सुरेन्द्र मल्ल, सुर्यकुमार श्रेष्ठ, इश्वर कर्माचार्य, सन्जय श्रेष्ठ, सुमन कायस्थ रहेका छन् । तनहुँको साविक छांग गाविसबाट बसाइसराइ गरि पोखरा बसोबास गरेकाहरुले २०७२ सालमा ाछांगेली नेवाः खल पोखराको स्थापना गरेको थियो ।