पोखरा: नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सांसद रेशम जुग्जाली मगर (सुविन) दोस्रो पटक मन्त्री बन्ने पक्का भएको छ । एमाले नेतृत्व सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका जुग्जालीमगर कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बन्ने पक्का भएको हो । ‘मन्त्री मण्डल बिस्तारको सवालमा सत्ता साझेदार दलहरुको सहमति भइसकेको छ, जुग्जाली मगरले सुनगाभा न्यूजसँग भने, 'कांग्रेसको आन्तरिक कुरा मिल्यो भने आजै सपथ हुन सक्छ ।’ उनका अनुसार नेकपा माओवादीबाट यसअघि विना विभागीय मन्त्री बनिसकेकी सुशीला सिम्खडाले सामाजिक विकास तथा स्वस्थ्य मन्त्रालयको जिम्मेवारी पाउनेछन् । बाँकी रहेको अन्य मन्त्रलायमध्ये केन्द्रीय दबाब आएको खण्डमा नेकपा एकीकृत समाजवादीका एक्ला सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) को भागमा पर्नेछ । यद्यपी अहिल्यै टुंगो भने लागेको छैन । मन्त्रिपरिषद् बिस्तारमा माओवादीको तर्फबाट दुइजनाको पक्का भइसकेपनि नेपाली कांग्रेसको तर्फबाट महेन्द्रध्वज जिसी मात्रै मन्त्री बन्ने टुंगो लागेको कांग्रेस निकट स्रोतको भनाई छ । ‘माओवादीको सबै टुंगो लागिसक्यो, स्रोतले भन्यो, ‘नेपाली कांग्रेसबाट आकांक्षी धेरै छन् त्यसकारण अहिलेसम्म एक जनाको मात्रै फिक्स भइसकेको छ । बाँकी छलफलकै चरणमा छ ।’ हालसम्म टुंगो लागेको मन्त्रालयमध्ये मुख्यमन्त्री तथा (आन्तरिक मामिला तथा कानून मन्त्रालय) मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा माओवादी केन्द्रका रेशम जुग्जाली मगर (सुविन), सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सोही पार्टीकै सुशीला सिम्खडाको टुंगो लागिसकेको छ । तर आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारीबारे भने टुंगो लागेको छैन । यसमध्ये नेकपा एकीकृत समाजवादी केन्द्रको दबाब आयो भने एक्ला सांसद राजीव गुरुङ माओवादी केन्द दोस्रो पटक मन्त्री बन्ने मौका आउनसक्छ । अन्यथा यी मन्त्रालय कांग्रेसकै भागमा रहने छ ।
मुस्ताङ: गण्डकी प्रदेशमा प्रदेश सभा सांसद विकल शेरचनले नेपाली कांग्रेस मुस्ताङ कार्यसमिति सचिव पदबाट राजीनामा दिएका छन् । प्रदेश सभा सदस्य निर्वाचित भएपछी राजिनामा दिएका शेरचनको मंगलबार स्वीकृत भएको हो । कांग्रेस मुस्ताङमा सचिव छेवाङ नोर्वू गुरुङले विज्ञप्ती जारी गर्दै शेरचनको राजीनामा स्वीकृत भएको जनाएका हुन् । सांसद शेरचनले नैतिकता र स्वार्थ बाझिने अवस्थाबाट मुक्त रहन सचिव पदबाट राजीनामा दिएको प्रतिक्रिया दिए । उनले स्वार्थ नबाझिऊन् भन्दै कृषक समुह र हिमाली नामको NGO, आदिवासी जनजाति युवा महासंघको संघीय परिषद सदस्य, थकाली युवा परिवार नेपालको केन्द्रीय सचिव पदबाट पनि मंसिर महिना मै राजीनामा दिइसकेका छन् । उनी मुस्ताङ प्रदेश सभा २ बाट निर्वाचित भएका थिए ।
काठमाडौं: भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी संघीय संसद् सचिवालयको सम्पर्कमा आएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सांसद् रायमाझीले स्वास्थ्यमा समस्या भएर अस्पतालमा रहेको जानकारी गराएका हुन् । उनका अनुसार प्रहरीको फरार सूची रहनुभएका रायमाझीले बिरामी बिदा स्वीकृति गरिदिन निवेदन संघीय संसद् सचिवालयमा पठाएका छन् । रायमाझीविरुद्ध प्रहरीले अघिल्लो बुधबार पक्राउ पूर्जी जारी गरेको थियो। त्यसपछि रायमाझी फरार छन् । नेकपा (एमाले) सचिवसमेत रहेका रायमाझीलाई बुधबार एमालेले निलम्बन गरेको छ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको गुनासो गरेका छन् । बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरे । सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताए । ‘हामी संसदमा बोल्न पाउँदैनौं भने कहाँ गएर बोल्ने ?’ राप्रपाका सांसदहरुले प्रश्न गरे । राप्रपा सांसदले पटक पटक समय माग्दा पनि सभामुखले समय नदिएर संसदको नियमित कामकारबाही अघि बढाउन खोजेपछि अगाडि आएर नाराबाजी गरेका छन् । संसदमा राप्रपाको अवरोध जारी रहेका कारण बैठक अघि बढ्न सकेको छैन् ।
पोखरा: लोकतान्त्रिक तमु संघ नेपाल गण्डकी प्रदेश प्रथम प्रादेशिक अधिवेशनले कास्कीका कर्णबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको छ । कास्की जिल्ला माछापुच्छ«े गाँउपालिका वडा नं.१ घाचोक लाम्छाने समाजमा आइतवार सम्पन्न अधिवेशनले कास्की माछापुच्छ«े गाँउपालिकाका निवर्तमान अध्यक्ष गुरुङको अध्यक्षतामा गठित प्रदेश कमिटीको वरिष्ठ उपाध्यक्षमा कास्कीकी पवित्रादेवी गुरुङ, उपाध्यक्षमा कास्की रुपाका टेकबहादुर गुरुङ, मुख्य सचिवमा लमजुङका अर्जुन गुरुङ, सचिवमा स्याङ्जाकी बिष्णुमाया गुरुङ, उपसचिवमा तनहुँका पुजन गुरुङ, कोषाध्यक्षमा स्याङजाका नेमबहादुर गुरुङ चयन हुनुभएको छ । यसरी नै कमिटिको सदस्यहरुमा पर्वतका दर्शन घले, कास्कीकी मिठु गुरुङ, सिमा गुरुङ, लमजुङका दुर्गबहादुर गुरुङ, गोविन्दकुमारी गुरुङ, कास्कीका जगतबहादुर गुरुङ, गंगादेवि गुरुङ, सिमा गुरुङ, गोर्खाका उत्तमबहादुर गुरुङ, तनहुका देबेन्द्रजङ गुरुङ, मिनबहादुर गुरुङ र मुस्ताङकी मञ्जु गुरुङ चयन हुनुभएको छ । निर्वाचन समितिमा संघका संस्थापक उपाध्यक्ष, गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ संयोजक, सदस्यहरुमा लोकतान्त्रिक तमु संघका केन्द्रिय अध्यक्ष गण्डकी प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ, संघका उपाध्यक्षहरु मिना गुरुङ, सर्मिला गुरुङ, संघका महासचिव एवम् लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका सचिव हुमबहादुर गुरुङ र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष सुजन लामा रहनुभएको थियो । नवनिर्वाचित कमिटिलाई नेकपा एमालेका स्थायी कमिटि सदस्य, संगठन विभाग प्रमुख एवम निवर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। नवनिर्वाचित अध्यक्ष कर्णबहादुर गुरुङले संघलाई अत्यन्तै क्रियाशिल नमुना संघको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । संघको गण्डकी प्रदेश प्रथम प्रादेशिक अधिवेशनको प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव, गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शनिवार उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा एमाले स्थायी कमिटिे सदस्य, संघका संस्थापक अध्यक्ष किरण गुरुङ, संघका संस्थापक उपाध्यक्ष गणेशमान गुरुङ, नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष सुजन लामाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सामाजिक व्यक्तित्व, माछापुच्छ«े ३निवासी, घाचोक लाम्छाने समाजका अध्यक्ष जगतबहादुर गुरुङ नेकपा एमालेमा समाहित हुदै पुरानै घर फर्केको र आफुले नेकपा एमाले, लोकतान्त्रिक तमु संघका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रका प्रमुख अतिथि पृथ्वीसुब्बा गुरुङ, विशेष अतिथि किरण गुरुङ, गणेशमान गुरुङ, मनबहादुर गुरुङ, संघका अध्यक्ष बेदबहादुर गुरुङले टिका, फुल, खादा, फेटा लगाएर स्वागत सम्मान गर्नुभएको थियो। संघका अध्यक्ष बेदबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सर्मिला गुरुङ र संचालन महासचिव हुमबहादुर गुरुङले गर्नुभएको थियो । अधिवेशनको दोस्रो दिनका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य, संगठन विभाग प्रमुख, गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले नवनिर्वाचित कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो भने केन्द्रीय अध्यक्ष बेदबहादुर गुरुङ र एमाले सल्लाहकार परिषद सदस्य, संघका संस्थापक उपाध्यक्ष गणेशमान गुरुङले बधाई तथा शुभेच्छा प्रकट गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेको विभिन्न जनसंठनमा हालै निर्वाचित र लोकतान्त्रिक तमु संघको केन्द्रिय सदस्यमा मनोनित व्यक्तित्वहरुलाई बधाई एवम सम्मान समेत राखिएको थियो ।
काठमाडौं: निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ। आयोगले कंसाकारलाई आइतबार सांसदको प्रमाणपत्र समेत दिइसकेको आयोगका उपन्यायाधिवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए। रास्वपाका समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न दुई करोड रुपैयाँ मागेका थिए। उक्त अडिओ बाहिर आएपछि रास्वपाले छानविन गरी उनलाई निलम्बन गरेको थियो। यस्तै पार्टीले उनको सांसद पद समेत नरहने गरी कारबाही गरी विन्दाबासिनीलाई सांसद बनाउने निर्णय गरेको थियो। प्रतिनिधि सभा संसदले पनि समानुपातिक सांसदको पद खाली रहेको जानकारी निर्वाचन आयोगलाई दिन्छ। उक्त जानकारी प्राप्त भएपछि आयोगले ७ दिनभित्र समानुपातिक सांसदको नाम पठाउन माग गर्ने वाग्लेले बताए। त्यसअनुसार नै रास्वपाले विन्दावासिनीको नाम पठाएको थियो। त्यसमा उनलाई सांसद बनाउने आयोगले निर्णय गरेको हो। निर्णय गरेपछि आयोगले यसको जानकारी संघीय संसदलाई पनि दिनुपर्ने र प्रमाणपत्र दिनुपर्ने वाग्लेले बताए। आजै सर्वोच्च अदालतले तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठलाई गरिएको कारबाही तत्काल कार्यान्वयन नगर्न रास्वपालाई अन्तरकालीन अन्तरिम आदेश दिएको छ।
पोखरा: सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले आज (सोमबार) तत्काल कारबाही नगर्न भन्दै रास्वपालाई अल्पकालीन अन्तरिम आदेश दिएको हो । डाक्टर श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीबाट निष्कासित भएका थिए । त्यसपश्चात आफूमाथिको भएको कारबाही न्यायोचित नरहेकाले श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले रास्वपा र अनुशासन समितिसँग श्रेष्ठमाथि कारबाही गर्नुको लिखित कारण पनि मागेको छ । रास्वपाको कारबाहीपछि समानुपातिक सांसद रहेका श्रेष्ठको सांसद पदसमेत रिक्त भइसकेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ मागेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद र साधारण सदस्यबाट हटाएपछि डा. ढाकाकुुमार श्रेष्ठ अदालत पुगेका छन् । श्रेष्ठले पार्टीको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा हालेको रिटको सुनुवाई आज हुँदैछ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा यो मुद्दाको सुनुवाइ हुन लागेको हो। यस विषयमा प्रतिक्रिया दिँदै श्रेष्ठले आफुलाई फसाइएको र आज अदालतबाट न्याय पाउने जनाएका छन् । ‘सबैलाई थाहा छ, मलाई फसाइएको हो’ श्रेष्ठले भने ‘सम्मानित अदालतबाट आज न्याय पाउनेमा विश्वस्त छु ।’ आफु राजनीतिबाटै सेवा गर्ने उद्धेश्यले लागेको भन्दै उनले कत्ति पनि विचलित नभएको बताएका छन् । सुनुवाइको व्यग्र प्रतीक्षामा रहेका श्रेष्ठ काठमाण्डौंमै छन् ।
पोखरा: नेपाली कांग्रेसले गण्डकी प्रदेशको प्रमुख सचेतकमा गोरखाका नन्द प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यौपानेलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा (११) को उपधारा (१) बमोजिम न्यौपानेलाई दलको प्रमुख सचेतकमा नियुक्त भएका हुन् । न्यौपाने गोरखा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए ।