झापा:  प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले हराउन नसक्ने बताउनुभएको छ।  नेकपा (एमाले) को जिल्लास्...

काठमाडौं:   नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज (बिहीबार) बङ्गलादेश प्रस्थान गर्नुभएको छ । बङ्गलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा (एमाले)का तर्फबाट अतिथिका रुपमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष पोखरेल आज दिउँसो १ बजे ढाका प्रस्थान गर्नुभएको हो । उहाँले भोलि (शुक्रबार) महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ । पोखरेलसँगै नेकपा (एमाले) विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुनुहुन्छ । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल दुई दिनपछि नेपाल फर्कनुहुनेछ ।

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत ५ गते हुने भएको छ ।  त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले स्ववियु चुनाव चैत ५ गते गर्ने निर्णय गरेको हो ।  अब उक्त मिति त्रिवि कार्यकारी परिषद् बैठकले अनुमोदन गर्नेछ । शुक्रबार बस्ने त्रिवि कार्यकारी परिषद् बैठकले अनुमोदन गरेपछि त्रिविले स्ववियु कार्यतालिका सार्वजनिक गर्ने भएको छ । यसअघि चैत २८ गते गर्ने गरी सहमति जनाइएको थियो । तर, लगातार ३४ दिन विदा भएको ५ गते गर्ने गरी सिफारिस गरेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रोफेसर पशुपति अधिकारीले जानकारी दिए ।  त्रिवि कार्यकारी परिषद् बैठकले उक्त मिति अनुमोदन गरेपछि कार्यान्वयनमा आउने र सोही आधार चुनावी कार्यतालिका सार्वजनिक गरिने उनको भनाई छ ।

काठमाडौं: राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को बालुवाटार स्थित सरकारी निवास र सिंहदरबार स्थित कार्यालयमा खटिएका प्रहरीका ३५ चालकलाई फिर्ता गर्ने निर्णय गरिएको छ ।  पुस १९ मा प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेर ३५ जना चालकलाई निरन्तर कामकाज गर्ने गरी अनुरोध गरेको थियो । तर, सो निर्णयबाट प्रधानमन्त्री कार्यालय पछि हटेको हो । गृह मन्त्रालयले पुस १२ मा कार्यविधिमा तोकिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । सो निर्देशनपछि गृह मन्त्रालयमा कार्यरत चालकहरू पनि फिर्ता भएका छन् । गृह मन्त्रालयमा कार्यरत ३१ जना चालक २४ घण्टाभित्र प्रहरी प्रधान कार्यालय फिर्ता भएका थिए । प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत झविन्द्र प्रसाद पाण्डेले पुस १९ मा लेखेको पत्रमा भनिएको छ–‘आदेशअनुसार अर्को व्यवस्था नभएसम्मको प्रधानमन्त्री निवास र कार्यालयमा खटिएका सवारी चालकलाई यस कार्यालयमा निरन्तर कामकाज गर्ने गरी व्यवस्था हुन आदेशअनुसार अनुरोध छ ।’ तर, पत्राचार गरेको दुई दिनमै सो निर्णयबाट पछि हटेर प्रधानमन्त्री कार्यालयले चालकहरूलाई फिर्ता पठाउने भएको छ । 

धनगढी:  नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध निर्वाचित हुनुभएको छ। सो पार्टीका प्रदेश समितिका महामन्त्री नरनारायण शाह मनुका अनुसार आजको चुनावी प्रक्रियामा शाहको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो।  शाह कैलाली क्षेत्र नम्बर २ को ९क० बाट निर्वाचित हुनुभएको हो। दलको नेताका लागि प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मानबहादुर रावल, शिवराज भट्ट, प्रकाशबहादुर देउवा र मेघराज खड्कालगायतले आकांक्षा राख्नुभएको थियो। सुदूरपश्चिममा कांग्रेसका १९ जना प्रदेश सभा सदस्य छन्।  नेपाली कांग्रेस प्रदेश सभामा ठूलो दल हो।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले आज (बुधबार) शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, आजै प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्याप्लरले पनि शिष्टाचार भेट गर्नुभएको छ । सो क्रममा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो ।

काठमाडौं: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नभएको बताउनुभएको छ। पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उहाँको प्रष्ट पार्नुभएको हो।  पार्टीको भ्रातृ सङ्गठन युवा सङ्घ, नेपाल काठमाडौं जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले राजनीतिको दृश्य स्पष्ट नभएकाले आफ्नो पार्टीको पोलिटब्युरो बैठकले सो सम्बन्धमा निर्णय नलिएको स्पष्ट पार्नुभयो। प्रचण्डको अनुहार हेरेर भन्दा पनि सरकारको नीति तथा कार्यक्रमलाई हेरेर, त्यहाँ रहेका राजनीतिक दलको गतिविधिलाई हेरर पुस २६ गते नै सो निर्णय गर्न आफूहरु तयार रहेको अध्यक्ष नेपालको भनाइ छ।  अध्यक्ष नेपालले भन्नुभयो, ‘‘अहिलेसम्म हामीले यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा हेर्नै पाएका छैनौं। मान्छेको अनुहार हेरेर गर्ने हो भने प्रचण्डजीको अनुहार हेर्दा ल समर्थन गरिदिउँला भनौंला। तर, अनुहारले मात्रै हुँदैन। त्यहाँ अनेक छन्। के–के गर्छन ? थाहा छैन। हामी पनि नेपालको राजनीतिमा छौं। हामीलाई केही पनि जानकारी छैन। अनि त्यत्तिकै अगाडि सरेर बोल्ने कुरामा के को हतार ? पुस २६ गतेसम्म यो विषय सस्पेन्समै रहोस्। दुनियाँ कुदिरहून्। वास्तवमा यो पार्टीले के भन्छ ? भनेर भनिरहून्। त्यसो हुनाले हामीले हतार नगरेको हो।’’ अध्यक्ष नेपालले सरकारमा जाने बेलामा आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल नगरेको भन्दै गुनासो गर्नुभएको छ। उहाँले सबैको रायसुझाव सुनेर पार्टीले आधिकारिक कमिटीले निर्णय गर्ने उहाँको भनाइ छ।  अध्यक्ष नेपालले भन्नुभयो, ‘‘सबैको रायसुझाव सुनिन्छ। अनि हाम्रो पार्टीको आधिकारिक कमिटीले निर्णय गर्छ। अनि कसैकसैलाई सरकारमा जाने हतार, सरकार बनाउँदा खेरी कसैले सोधेकै छैन। नीति, कार्यक्रम तर्जुमा गर्ने कुरामा मतलबनै राखेको छैन। तैपनि सरकारमा जाने हतार। यी सबै भनेका कुरा के हुन् भने सत्ताबाहेक अरु केही पनि नदेख्ने चिन्तन हो। हाम्रो पार्टी भिन्न छ।’’ अध्यक्ष नेपालले आफ्नो पार्टी सत्तामा जानका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको पनि बताउनुभयो। उहाँले पार्टीका सांसदलाई दलको ह्वीप लाग्ने भन्दै सचेत गराउनुभयो। सरकारलाई विश्वासको मत दिने समय आइरहेका बेला अध्यक्ष नेपालले पार्टीका सांसदलाई दलको ह्वीप लाग्नेतर्फ सचेत गराउनु भएको हो।  उहाँले राष्ट्रिय मान्यता नपाएका दलले पनि पार्टीका सांसदलाई ह्वीप लगाउन पाउने कानुनी र संवैधानिक व्यवस्था रहेको जिकिर गर्नुभयो। राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलका सांसदलाई ह्वीप लाग्दैन भन्ने भ्रम कसैले पनि नछरे हुने अध्यक्ष नेपालको भनाइ छ।  उहाँले भन्नुभयो, ‘‘हामीलाई सोचेजस्तो परिणाम निर्वाचनमा आएन। कतिपय मान्छेको अनुहार कताकता खिस्रिक्क परेजस्तो देखिएको छ। केको आत्तिएको ? प्रत्यक्ष निर्वाचनबाट आएको हाम्रो सिट सङ्ख्या भनेको १०। संसदमा १० सिट आएको भने पनि संसदमा आएको यसको हैसियत कमजोर छैन।’’  अध्यक्ष नेपालले आफ्नो दलले राष्ट्रिय मान्यता प्राप्त गरेन भनेर नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।

धनगढी:  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयन गर्नका लागि आज निर्वाचन गरिदैंछ । सर्वसम्मतले दलको नेता चयन गर्न नसकिएपछि चुनाव हुन लागेको सो दलले जनाएको छ ।  दलका नेताका लागि सात जना आकाङ्क्षी रहनुभएको छ । संसदीय दलका नेताका लागि शिवराज भट्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा, दिवानसिंह विष्ट, बहादुरसिंह थापा, मेघराज खड्का र मानबहादुर रावलको दाबी छ ।   दलको नेता सर्वसम्मतले चयन गर्नकालागि मङ्गलबारसम्मको समय सीमा दिइएको थियो । तोकिएको समय सीमाभित्र संसदीय समितिले दलको नेता चयन गर्न नसकेपछि निर्वाचनबाट नेता चयन गर्न लागिएको प्रदेश सभा सदस्य प्रकाश बमले जानकारी दिनुभयो ।  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश दलको नेता एवम् संसदीय दल कार्यसमितिको निर्वाचन गराउन कांग्रेस प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिले आज अपराह्न ४ देखि ५ बजेसम्म मतदान हुने कार्यपालिका प्रकाशन गरेको छ । प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १९ जना सदस्य हुनुहुन्छ ।