काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि पहल गर्ने बताएका छन् । शनिबार बिहान बालुवाटारमा वादी समुदायका अगुवाहरुसँगको छलफलमा उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा वादी समुदायको आत्मसम्मान, जीविकोपार्जन र व्यक्तिगत पुनर्स्थापनाको लागि निर्णय गरेको भन्दै निर्णय कार्यान्वयनमा समस्या देखिएको भए हल गर्ने बताए । ‘इतिहासमै पहिलोपटक राज्यले औपचारिकरुपमा वादी समुदायलाई सम्बोधन गरेको पुस २३ को दिनलाई विजयोत्सवका रुपमा मनाउनुपर्छ’ उनले भने, ‘ वादी उत्थान विकास समितिलाई सक्रिय बनाउँदै समुदायले भोग्नुपरेका समस्या हल गर्न हामी सरकारका तर्फबाट प्रभावकारी पहल गर्छौं ।’ वादी समुदायका प्रतिनिधिहरुले शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता, पुनर्स्थापना र विकास समितिको सक्रियता जस्ता विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
काठमाडौं: नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई आजदेखि प्रशिक्षण दिने भएको छ । शनिबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे एमालेका नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने संसदीय विभाग प्रमुख डा.शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्। एमालेले नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा विषायक अभिमुखिकरण सञ्चालन गर्न लागेको हो। उनका अनुसार पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशनात्मक प्रशिक्षण एवम् सम्बोधन गर्नेछन्। एमालेमा प्रत्यक्ष चुनावबाट ४४ जना र समानुपातिकबाट ३४ जना गरी ७८ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। एक जना स्वतन्त्र सांसद एमालेमा प्रवेश गरेपछि ७९ जना पुगेका छन्।
काठमाडौँ: नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाइएको सांसद सन्तोष चालिसेले जानकारी दिए । दलको बैठकमा प्रतिनिधि सभाको पहिलो बैठकमा कसरी प्रस्तुत हुने, संसदमा प्रधानमन्त्रीलाई विश्वासको मतको कार्यक्रममा कांग्रेसले खेल्ने भूमिका लगायतबारेमा छलफलका लागि बैठक बोलाइएको सांसद चालिसेले जानकारी दिए । यही पुस २५ गते प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ भने पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ ।
काठमाडौं: उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्च अदालतको यो आदेशसँगै लामिछाने विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भए पनि तत्कालका लागि उनको सांसद पद यथावत रहने भएको हो । साथै उपप्रधान र गृहमन्त्री पद समेत कायम रहनेछ । अमेरिकी नागरिकता लिएका लामिछानेले त्यताको नागरिकता त्यागेपनि फेरी नेपाली नागरिकता नलिएकाले उनको नागरिकता कायम नरहेको दावी सहित सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।
काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार कुन ढङ्गले अघि बढ्छ त्यसको विश्लेषण गरेर मात्रै विश्वासको मतबारे निर्णय लिने बताउनुभएको छ। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति व्यक्तिगत रुपमा आफू सकारात्मक रहेको बताउनुभयो। पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले भन्नुभयो, “एमालेसँग एकता गर्ने विषयमा मलाई कसैले पनि केही भनेको छैन्। व्यक्तिगत भावना राख्नेको बेग्लै कुरा भयो। म प्रति सद्भाव राख्नेको बेग्लै कुरा हो, सद्भाव राख्नेहरु सबैलाई धन्यवाद छ। तर त्यो भावना निजात्मक भइदियो भने त्यसको कुनै अर्थ नहुँदो रहेछ।” एकीकृत समाजवादी पार्टी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा अगाडि बढ्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “अब विश्वासको मतको बारेमा हामीले जम्मै प्रश्नको विषयमा विश्लेषण गर्नेछौं। व्यक्तिगत रुपमा प्रचण्डजीप्रति मेरो पोजेटिक नै धारणा छ। जहाँसम्म सरकार कुन ढङ्गले अगाडि बढ्छ, त्यो हेरिकन हामी टुङ्गो गर्छौं।” उहाँले जनता समाजवादी पार्टीसँग तत्काल एकता प्रक्रिया सुरु हुने भन्नुहुँदै साना वामपन्थी दलसँग एकता र सहकार्यका लागि अघि बढ्ने बताउनुभयो। “अब हामी पार्टी निर्माण गर्ने अभियानमा जुट्ने हो। पार्टीलाई सुदृढ गर्ने र विस्तार गर्ने राष्ट्रव्यापाी अभियान लिएर अघि बढ्छौं। हाम्रो ध्यान जनताका इस्युहरु, राष्ट्रका इस्युहरु उठान गर्ने कुरामा केन्द्रीत हुनेछ”, उहाँले भन्नुभयो।
काठमाडौँ: संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न सहमत भएका छन् । शुक्रवार नयाँ बानेश्वरमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकमा यस्तो सहमति भएको कांग्रेस नेता रमेश लेखकले बैठकपछि जानकारी दिए । ‘संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको छ’, लेखकले भने, ‘माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुख चयन गर्ने गरी लगभग सहमति जुटेको छ ।’
काठमाडौं: नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको हो । सङ्घीय संसद्को पहिलो बैठक पुस २५ गते बस्ने भएपछि त्यसकै तयारीका लागि यो बैठक बोलाइएको हो । बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । साथै स्वतन्त्र सांसदहरूलाई पनि बैठकमा बोलाइएको छ । बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका विषयमा छलफल गर्ने जानकारी संसद् सचिवालयले दिएको छ । त्यस्तै, निर्वाचन भएर गठन भएको नयाँ संसदमा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ । त्यसको व्यवस्था गर्नका लागि पनि सर्वदलीय बैठकमा छलफल हुनेछ ।
काठमाडौं: उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ। राजदूत थम्पसन शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई बधाई दिन पुगेका थिए। राजदूत थम्पसन तीन महिना पहिले मात्रै काठमाडौँस्थित दूतावासमा जिम्मेवारी सम्हालेका हुन्। राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच पुरानो र मजबुत सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भइसकेको बताउनुभएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १७ औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्नसके मात्र मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउनसकिने बताउनुभयो । उहाँले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि नेपाल सरकारले ध्यान दिन जरुरी रहेको जिकिर गर्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘आजको प्रतिस्पर्धी विश्वमा कतिपय अवसरका ढोकाहरू छोटो समयका लागि मात्रै उपलब्ध हुनसक्छन् भने कतिपय अवसरका लागि उत्पादनको विविधीकरण एवम् उपभोक्ताको रुचीमा निरन्तर ध्यान दिनुपर्छ । नेपाल सरकार र उद्यमीहरूबिचमा पर्याप्त साझेदारी निर्माण भई नेपाली उत्पादनको बजार विस्तार एवम् निर्यात अभिवृद्धिमा ठोस उपलब्धि हासिल गर्नका लागि यो प्रदर्शनी उपयोगी माध्यम हुने मैले विश्वास लिएकी छु । मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक छ । नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्नसके मात्र हाल मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ । यसका लागि फुटवेयर उद्योगले पनि महत्त्वपूर्ण भूमिका खेल्नसक्छ ।’’ उहाँले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन कृषि उत्पादन बढाउने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू नेपाल सरकारले अवलम्बन गर्नु अति आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले सरकारले नेपालको अर्थ व्यवस्था विकास गर्न योगदान गर्ने तुलनात्मक लाभका क्षेत्रहरू पहिचान गरिसकेको उल्लेख गर्नुहुँदै उल्लेखित क्षेत्रहरूमा लगानी बढाउन सहजीकरण गर्ने, उद्योगमैत्री नीतिहरू अवलम्बन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरी प्रतिस्पर्धी क्षमता बढाउन सहयोग गर्ने जिम्मेवारी सबैको दायित्व भएको बताउनुभयो । ‘‘स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि नेपाल सरकारले ध्यान पुर्याउनुपर्छ । यसका लागि कृषि उत्पादन बढाउने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने, तथा पर्यटन प्रवर्द्धन जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू नेपाल सरकारले अवलम्बन गर्नु अति आवश्यक छ । नेपालको अर्थ व्यवस्था विकास गर्न योगदान गर्ने तुलनात्मक लाभका क्षेत्रहरू पहिचान गरिसकेका छौँ ।,’’ राष्ट्रपति भण्डारीले थप्दै भन्नुभयो, ‘‘ती क्षेत्रहरूमा लगानी बढाउन सहजीकरण गर्ने, उद्योगमैत्री नीतिहरू अवलम्बन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरी प्रतिस्पर्धी क्षमता बढाउन सहयोग गर्ने जिम्मेवारी हामी सबैको उत्तिकै दायित्व हो । तसर्थ, निजी क्षेत्र र सरकारले आपसमा उच्चस्तरको समझदारी विकास गरी मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउनका लागि सहकार्य गर्नु अत्यावश्यक भएको छ ।’’ निजी क्षेत्र र सरकारले आपसमा उच्चस्तरको समझदारी विकास गरी मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउनका लागि सहकार्य गर्नु अत्यावश्यक छ । राष्ट्रपति भण्डारीले मुलुकको अर्थ व्यवस्था बलियो बनाए केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरू निर्माण हुनुकका साथै रोजगारी र उद्यमशीलताको नयाँ अवसरहरू सिर्जना गरी पुँजी र प्रतिभाको पलायनसमेत रोक्न सकिने उल्लेख गर्नुभयो । उहाँले अर्थ व्यवस्थाको सबलीकरणका लागि राष्ट्रका उद्यमी र किसानको मनोबल सधैँ उच्च राख्न अति आवश्यक रहेको र आफ्नो इतिहासमाथि न्याय गर्नसमेत आफ्नो क्षमताको पहिचान र प्रयोग गर्नु आवश्यक भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले घरेलु उत्पादनको रूपमा रहेका नेपाली फुटवेयर उत्पादनहरूले स्वदेशी जुत्ताचप्पल बजारमा ठूलो स्थान ओगट्न सफल भएको र यसले आधा लाख बढी मानिसलाई रोजगारी प्रदान गरेकोप्रति खुसी प्रकट गर्नुभयो । उहाँले नेपाली उत्पादनलाई गुणस्तरसहित ब्राण्डिङ गर्नसकेको खण्डमा नेपाली फुटवेयर उत्पादनका लागि बजार उपलब्ध हुनसक्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले बजार विस्तारमा प्राप्त हुने अवसरहरूको खोजी गर्दै अवसरको सदुपयोग गर्न उद्यमीहरूलाई आग्रह गर्नुभयो ।