गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

काठमाडौं:  राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपाध्यक्ष अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको हो ।   ‘‘मेरो भूमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने कुराहरुमा एउटा एजेण्डा त्यो हो । प्रभावकारी नै छ पनि । सबै अनुभवी माननीयज्यूहरु हुनुहुन्छ । एउटा भोगाइ, अनुभव सबै बटुलिसकेको जस्तो लाग्छ मलाई राष्ट्रिय सभामा ।उहाँले भन्नुभयो, ‘‘त्यहाँ परिपक्व व्यवहार नै हुन्छ होला । तथापि त्यसमा अझ सहजीकरण के गर्दाखेरी अझ प्रभावकारी बनाउन सकिन्छ ? महिला माननीयज्यूहरुका बीचमा सहकार्यलाई कसरी विकास गरेर जाने यी तमाम चिजहरुमा सोच छ । मैले ०६२÷०६३ सालको आन्दोलनका अगुवाइ पनि गरेँ र त्यो बेलामा मैले एउटा पहल पनि गरेको थिएँ ।’’   उहाँले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताउनुभयो । उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरुबीचको सहकार्यलाई विकास गर्दै जाने बताउनुभयो ।   आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने उहाँको भनाइ छ । त्यस्तै, महिलाहरुका लागि नयाँ नियम, कानुन बनाउने सन्दर्भमा पहलकदमी लिने उहाँले बताउनुभयो ।   ‘‘देशभरिका महिलाहरुलाई सबै पार्टीका एकजुट गराएर लाने । मलाई आज सौभाग्य पनि हो उहाँहरुले भन्नुभयो, मलाई उठ्नु भन्नुभयो मलाई हजुरको विरुद्ध लड्न मन लागेन । सर्वसम्मत गराउनुपर्छ भनेर हामी महिलाहरु नै लाग्यौँ भन्नुभयो । त्यो खुशीको कुरा हो । म यहाँ रहँदाखेरी म यो पार्टी, ऊ पार्टीभन्दा पनि किनभने हामी सबैको योगदान छ, यो देशमा परिवर्तन लिएर आउने हरेक पार्टीका महिलाहरुले जुन योगदान गर्नुभएको छ ।,’’ उपाध्यक्ष अर्यालले भन्नुभयो, ‘‘कति यो ठाउँसम्म नआउँदै हराउनुभयो । सिद्दिनु भयो । कति शहीद हुनुभयो । ती तमामलाई सम्झेर हामीले प्रतिबद्धताका साथ काम गर्नेछौँ । बाँकी महिलाहरुका लागि के कति काम, नयाँ नियम कानुनह बनाउनसक्ने कुरामा पहलकदमी लिने र सहकार्यलाई बढाएर जाने । त्यसको नीतिगत पहलहरुमा भूमिका खेल्ने ।’’   उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाहरुका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाहरुले आफूलाई सर्वसम्मत रुपमा निर्वाचित गराउन भूमिका खेलेकाे बताउनुभयो । आफूलाई सर्वसम्मत बनाउने कुरामा महिला सांसदहरुले आफ्नो पार्टीलाई पनि प्रभावमा पार्न सकेकाले आफू निर्विरोध हुन सकेको उहाँको भनाइ छ ।   उहाँले भन्नुभयो, ‘‘हजुर सर्वसम्मत हुनुपर्छ भनेर उहाँहरुले नै धेरै पहल गर्नुभयो र आ–आफ्नो पार्टीका नेताहरुलाई कन्भिन्स् गर्ने कुरा जे भयो मलाई लाग्छ, मेरो सन्दर्भमा उहाँ अलि बायस हुनुहुन्न, पार्टी बायस पनि हुनुहुन्न र समग्रमा नेतृत्व गर्न सक्नुहोला भन्ने सोचले सायद मलाई सहयोग पनि गर्नुभयो मलाई । मभन्दा सक्षम नेत्रीहरू हुनुहुन्छ त्यहाँ । एउटा त्यो सदाशयता । मलाई सर्वसम्मत बनाउने कुरामा पार्टीलाई पनि उहाँहरुले प्रभावमा पार्नुभयो र म निर्विरोध हुने वातावरण बन्यो ।’’ उपाध्यक्ष अर्यालले आफूले कसैको पक्ष नलिई काम गर्ने कुरामा सबैको विश्वास रहेको बताउनुभयो । 

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते विश्वासको मत लिने भएका छन्।    मुख्यमन्त्री रावलले आज सभामुखलाई पत्र पठाउँदै माघ २५ गते विश्वासको मत लिनका लागि संसद बैठक बोलाई दिन आग्रह गरेका छन्।   ‘मुख्यमन्त्रीज्यूको पत्र आएको छ, माघ २५ गते विश्वासको मत लिनका लागि संसद बैठक बोलाइदिन आग्रह गरिएको छ’ सभामुख भीमबहादुर भण्डारीले भने। उनले त्यसका लागि तयारी सुरु भइसकेको बताए।   नेकपा एमाले संसदीय दलका नेता रावललले पुसको २७ गते नेकपा एमालेका १० सांसद, माओवादी केन्द्रका ११ सांसद, नागरिक उन्मुक्ति पार्टीका ७ सांसद र राप्रपाका एक जना गरी २९ सांसदको बहुमत पेस गर्दै शपथ लिएका थिए।    नागरिक उन्मुक्ति पार्टीका कारण मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यमा ढिलाइ भएको हो। उन्मुक्तिले जेलमा रहेको पार्टीका संरक्षक रेशमलाल चौधरीको रिहाईको माग गर्दै आएको छ।    माघ १७ गतेको पेसीमा पनि रेशम चौधरीको मुद्धामा बहस नभएको भन्दै उन्मुक्ति रिसाएको थियो। तर आइतबार रेशम चौधरीको मुद्दाको सुनवाइ भएपछि उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत दिने भएको हो।   विश्वासको मत लिन नसकेकै कारण अहिलेसम्म प्रदेश सरकार विस्तार हुन सकेको छैन। मुख्यमन्त्रीले शपथ खाएका दिन नियुक्त भएका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट र नेकपा एमाले संसदीय दलकी उपनेता सन्तोष थापा शर्माले पनि शपथ लिएका थिए।    उनीहरूको मन्त्रालय तोकिएको छैन। मुख्यमन्त्रीले विश्वासको मत पाएपछि प्रदेश सरकार विस्तार हुनेछ।   

काठमाडौं:  राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ ।   सोमबार बिहान बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।   अर्यालले आइतबार नारायणकाजी श्रेष्ठको प्रस्ताव तथा देवेन्द्र दाहाल र खिमलाल देवकोटाको समर्थकमा उम्मेदवारी दर्ता गर्नुभएको थियो ।

काठमाडौं:  नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी २९ माघदेखि १ फागुनसम्म बस्ने गरि बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।   बैठकको एजेण्डा तय गर्न २६ माघमा सचिवालय बैठक बस्ने भएको छ । संगठन सुदृढीकरण नै बैठकको प्रमुख एजेण्डा बन्ने गुरुङले बताए । आमचुनाव पछि एमालेको पहिलोपटक बैठक बस्न लागेको हो ।  

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले राजीनामा बुझाएका छन् । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटार पुगेर रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले राजीनामा बुझाएका हुन् । यसअघि आजै दिउँसो बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने यथावत् नै राख्ने भएको छ ।

काठमाडौँ:   नेपाली काँग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गरेका छन् ।  आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले नेपाली काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सोही व्यक्तिनै राष्ट्रपति बन्ने बताएका हुन् ।    महामन्त्री शर्माले राष्ट्रपतिमा आफ्नो पार्टीले प्रतिस्पर्धा गर्ने कुरालाई पूर्वाग्रही ढङ्गले नसोच्न पनि एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे ।    उनले आफ्नो पार्टी विपक्ष दल भएकै बेला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव बनेको स्मरण गराउँदै अहिले पनि सो पद आफ्नो पार्टीले नै पाउने तर्क समेत गरे ।  महामन्त्री शर्माले संसदमा एमाले अध्यक्ष ओलीले आवेश र कुण्ठा अनि आक्रोश र गालीलाई व्यक्त गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि अनुरोध गरे ।     ओली काँग्रेस फोवियाबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो । महामन्त्री शर्माले भने, ‘राष्ट्रपति पदमा नेपाली काँग्रेसले उम्मेदवारी दिन चाहन्छ, दिन्छ । नेपाली काँग्रेसले दिएको उम्मेदवार यो देशको राष्ट्रपति बन्नु हुन्छ । राष्ट्रपति पदमा उम्मेदवारी दिइरहँदै गर्दाखेरि त्यसलाई लोकतान्त्रिक अभ्यासको रूपमा नबुझ्ने हो भने त्यो अलोकतान्त्रिक चेत हुन्छ । म के सार्वजनिक रूपमा सम्माननीय पूर्व प्रधानमन्त्री केपी ओलीलाई स्मरण गराउन चाहन्छु भने–विपक्षले राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने कुरालाई नै पूर्वाग्रही सोच्ने, गलत ग¥यो भनेर सोच्ने हो भने यो देशको प्रथम राष्ट्रपति पनि तत्कालीन विपक्ष दल नेपाली काँग्रेसको उम्मेदवार बन्नु भएको थियो । त्यस बेला पनि यो देशका प्रधानमन्त्री कमरेड प्रचण्ड हुनुहुन्थ्यो । नेपाली काँग्रेस पार्टी विपक्षमा थियो । विपक्ष दल नेपाली काँग्रेसले अगाडि सारेको उम्मेदवार डा. रामवरण यादव देशको राष्ट्रपति बन्नु भयो । यसरी कमरेड केपी ओलीले चाहिँ सुनको बालाको कथा हाली राखेर पिँजडाको फलामे साङ्लो अझै बलियो बनाउने कर्म नगरिदिनु भए हुन्थ्यो । अथवा यो सांसदलाई विचार र सिद्धान्त प्रवाह गर्ने थलो हो । यहाँबाट आवेश र कुण्ठालाई, आक्रोश र गालीलाई व्यक्त नगरौँ भन्ने सोचिदिए हुन्थ्यो । अलिकति अनुरोध गर्दैगर्दा चाहिँ मेरो जिल्लावासी कमरेडलाई अर्को जिल्लावासी नयाँ नयाँ सांसदको के अपिल छ भने–काँग्रेस फोवियाबाट मुक्त भई दिनुस् ।’   महामन्त्री शर्माले सत्तारुढ दलहरूप्रति सङ्केत गर्दै संसदमा सुनको बालाको कथा हालेर पिँजडाको फलामे साङ्लो बलियो बनाउने प्रयास नगर्न पनि ओलीलाई सचेत गराए । 

काठमाडौं:  प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताउनुभएको छ।   रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिनुभएको हो। उहाँले आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमतिनै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा आफू रहेको बताउनुभयो।    प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरेर  देखिएको समस्या तत्काल हल गर्ने बताउनुभयो। सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता अप्ठ्यारालाई छलफल गरेर हल उल्लेख गर्नुभएको हो।    प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन। भर्खरै सुनेँ। मैले बिहान उहाँसँग भएको कुराकानीमा  सरकारलाई दिएको समर्थन फिर्ता चाहिँ होइन, मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो। फेरि हामी छलफल गर्छौं। यसलाई हल गर्नेतिर नै जान्छौं। मेरो कोशिस त थियो–राष्ट्रिय सहमति नै गरौं। हाम्रो सत्ता साझेदार बीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने हो। अदालतको निर्णयपछि उहाँहरुलाई केही असहजता भएकै थियो। अब उहाँसँग फेरि भेटेर कुरा गर्छु।’’   प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग आइतबार (आज) बिहान भएको भेटमा मन्त्री फिर्ता बोलाए पनि सरकारलाईं दिएको समर्थन भने फिर्ता नगर्ने बताउनु भएको स्मरण गर्नुभयो।

काठमाडौं :राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते संघीय संसदनको दुवै सदनलाई संयुक्तरुपमा सम्बोधन गर्ने भएकी छन्।   राष्ट्रपति भण्डारीले संविधानको धारा ९५ बमोजिम शुक्रबार दिउँसो ३ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्‍ता सागर आचार्यले जानकारी दिए।  

काठमाडौं: नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मुलुकका अगाडि देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभएको छ । आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा उहाँले प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन राष्ट्रिय सहमति जरुरी रहेको औँल्याउनुभएको हो  ।   “शान्ति प्रक्रियाका कतिपय काम सम्पन्न गर्नुपर्नेछ । यी काम सम्पन्न गर्न सबै दलबीच राष्ट्रिय सहमति हुनुपर्छ । जनताले निर्वाचनमार्फत मिलेर जान  मत दिएका छन् । एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ”, नेता पौडेल भन्नुभयो ।   सबै राजनीतिक दलको सहमतिबाट मुलुकलाई आजको अवस्थामा ल्याइएको जनाउँदै उहाँले समृद्ध नेपालको जनआकाङ्क्षा पूरा गर्न दलहरुबीच एकता आवश्यक रहेको बताउनुभयो । “शान्ति सम्झौता, गणतन्त्र, धर्म निरपेक्षतालगायत सबै राजनीतिक उपलब्धि सहमतिमा गर्‍यौँ । देशका अगाडि आएका समस्या समाधान गर्न फेरि पनि राष्ट्रिय सहमतिको खाँचो छ”, नेता पौडेलले भन्नुभयो ।   देशको आर्थिक प्रणाली पूरै बिग्रिएको नभई अर्थतन्त्रको केही सूचक उल्टो बाटोमा रहेको जनाउँदै उहाँले विद्यमान समस्यमा समाधानका लागि पनि सबै दल एक ठाउँमा उभिनुपर्नेमा ​जोड दिनुभयो । “अझै पनि ५५ लाख नेपाली वैदेशिक रोजगारीमा छन् । स्वदेशमा रोजगारी सिर्जना चुनौतीका रुपमा छ”, नेता पौडेलले भन्नुभयो ।   गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्वलगायत राजनीतिक उपलब्धि संस्थागत गर्न जनताले गरेको बलिदानीलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले सोही उपलब्धिका आधारमा आजका दिन जनताले प्रेस स्वतन्त्रता, विधिको शासन, बालिग मताधिकारलगायत अधिकारको प्रयोग गर्न पाएको बताउनुभयो ।   “आजको आवश्यकता प्राप्त उपलब्धिको रक्षा र जगेर्ना गर्नु हो”, नेता पौडेलले भन्नुभयो, “केही कमीकमजोरी छन् भने विधिपूर्वक समाधान खोज्नुपर्छ । अहिलेको प्रणालीमाथि प्रश्न उठाउने कामले जनताको भावनामा ठूलो असर गर्छ ।”