काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा देश विदेशमा रहनुभएको सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकमा उक्त शुभकामना व्यक्त गरेकी हुन् । शुभकामना सन्देशमा भनिएको छ, “‘मातृदेवो भवः, पितृ देवो भवः’ को मान्यताबाट निर्देशित पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्वलाई आत्मसात गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा हार्दिक आह्वान गर्दछु ।” अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज भएको र ज्येष्ठ नागरिकले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्नुपर्ने सन्देशमा उल्लेख छ । ज्येष्ठ नागरिकमा अन्तरनिहीत ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक वातावरण सिर्जना गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक भएको सन्देशमा भनिएको छ । “ज्येष्ठ नागरिकको मर्यादित एवं सहज जीवनयापनका लागि परिवारका सदस्य, समाज, सङ्घ संस्था एवं तीनै तहका सरकारले समन्वयात्मक रूपमा सहकार्य गर्नुपर्दछ”, सन्देशमा भनिएको छ, “नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य, यातायात सेवालगायत सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा व्यवस्था गरेको छुट सहुलियत र सेवा सुविधाको थप विस्तार गर्दै तिनको प्रभावकारी कार्यान्वयन गर्न सम्बद्ध सबैमा आह्वान गर्दछु ।” विसं २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै गत वर्षदेखि नेपाल सरकारको निर्णय बमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष पनि ‘हामी सबैको सरोकारः ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइने भएको छ ।
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रहरुले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई नेपालस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो । नवनियुक्त प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिनुभएको हो । दुवै राजदूतले माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको बधाई दिनुहुँदै उहाँको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताउनुभएको थियो । चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ दिनुभएको छ । भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्याउने बताउनुभएको छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । अध्यक्ष लिङ्देनले आफ्नो पार्टी सरकारमा नगए पनि सरकारलाई समर्थन गर्ने बताए । ‘हामी यो सरकारलाई समर्थन मात्रै गर्छौ, सरकारमा जाँदैनौ’, नयाँबानेश्वरमा सञ्चारकर्मीसँग लिङ्देनले भने ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए । तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ । रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठूलो दल हो ।
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदूत डी.आर. थम्प्सनले बधाई दिएका छन् । उनले आज बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई हार्दिक बधाई । प्रजातन्त्र, मानवअधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा छ ।’ हालसालै नियुक्त भएका राजदूत थम्प्सनले निर्वाचन सम्पन्न भएलगत्तै राजनीतिक दलका नेताहरुसँग बाक्लो भेटघाट गरेका थिए । भेटका क्रममा उनले सत्ता समीकरणका विषयमा चासो राखेका थिए । प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा भारत र चीनले आइतबार नै बधाई दिएका थिए ।
काठमाडौंः नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन छलफल थालेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल भइरहेको छ । एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरे पनि निर्णय हुन बाँकी छ । माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ, तर मन्त्रालयको टुङ्गो लागेको छैन । मन्त्रालयको भागबण्डा टुङ्गो लगाउने गठबन्धनको बैठक पनि आजै बस्दैछ । हिजो प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज बेलुकी ४ बजे शपथ लिने कार्यक्रम पनि छ । आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।
विराटनगर: प्रदेश १ प्रदेशसभाका नवनियुक्त प्रदेश सांसदहरुको शपथग्रहण आज हुँदैछ । शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने संसद सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । जेष्ठ सदस्य गयानन्द मण्डलले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष आजै साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गर्ने कार्यक्रम छ । उनै मण्डलले प्रदेशसभाका अरु सांसदहरुलाई शपथ खुवाउने छन् । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम जेष्ठ सदस्य गयानन्द मण्डलले प्रदेशसभाको अध्यक्षता गर्नेछन् ।
काठमाडौं: नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेश गरेका हुन् ।
काठमाडौंं: नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री बनाउनका लागि निवेदन दर्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा निवेदन दर्ता भएको हो । निवेदनमा जसपाको समर्थन रहने भनिएपनि हस्ताक्षर भने रहेको छैन । ‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि दाबी पेस गर्न आह्वान भएकोमा सोही समय सीमाभित्रै प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता श्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको ब्यहोरा अनुरोध गर्दछौ । हामी हस्ताक्षरकर्ता दलहरूले प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य सङ्ख्या कुल प्रतिनिधि सभा सदस्य सङ्ख्याको बहुमत रहेको हुँदा उहाँलाई संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गरिदिनुहुन अनुरोध छ’, निवेदनमा भनिएको छ । निवेदनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यायदव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर रहेको छ । संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । त्यस्तै प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साह शीतलनिवासमा पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका छन् ।