काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र भिक्टोरियाबिच भेटवार्ता भएको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले दिनुभयो । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकास प्रयासमा संयुक्त राज्य अमेरिकाले पुराएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । त्यसपछि अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री प्रचण्डलाई हार्दिक बधाइ दिनुहुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले नेपालको विकासमा अमेरिकाले सुरु गरेका विकास परियोजनाहरूलाई अगाडि बढाउन अमेरिका प्रतिबद्ध रहेको धारणा राख्नुभयो । नुल्यान्ड दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आउनु भएको हो । उहाँले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुने यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ। साथै उहाँले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नु हुनेछ। उहाँले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीका रूपमा शपथ लिनुभएको हो। त्यसअघि उहाँ वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत हुनुहुन्थ्यो। उपविदेशमन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैरआवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिक विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसक्नुभएको छ। ३३ वर्षयता अमेरिकी कूटनीतिज्ञ रहनुभएकी उहाँ अमेरिकी राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा सेवारत हुनुहुन्थ्यो। उहाँ अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता हुनुहुन्थ्यो भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत हुनुहुन्थ्यो। उपविदेशमन्त्री नुल्यान्डले सन् २०१० देखि २०११ सम्म युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेष दूत तथा प्रमुख वार्ताकारका रूपमा र सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति डिक चेनीको उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गर्नुभएको थियो। उहाँले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै अमेरिका बाहिर रुस, चीन र मङ्गोलियाका साथै वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहोदामा रही काम गरिसक्नुभएको छ। उहाँले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गर्नुभएको छ।
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अब बलिदान नभई देशका लागि योगदान गर्नुपर्ने बताएका छन् । लैनचौरस्थित शहीद स्मृति पार्कमा सोमबार शहीद दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले अब देशका लागि योगदान गरेर देखाउनु पर्ने बताएका हुन् । शहीदहरुले भावी सन्ततिका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले उनीहरुको सपनालाई पूरा गर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको उनको भनाइ छ । शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर शहीदहरुको आत्माले शान्ति पाउने मेयर साहले बताए । ‘अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएका छौं । । यो दिनलाई मैले महत्वपूर्ण दिनका रुपमा लिएको छु ,’ उनले भने ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए । रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो । सँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो ।
काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हालेका छन् । गत शुक्रबार लामिछानेले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । सत्ता साझेदार दलबाट लामिछानेले गृह लिएपछि माओवादीले परराष्ट्र वा अर्थ मन्त्रालयमध्ये एक लिने तयारी गरेको थियो । प्रधानमन्त्री सफल हुन गृह, अर्थ र परराष्ट्र मन्त्रालयमध्ये एक मन्त्रालय लिनुपर्ने व्यवस्था छ । तर, सत्ता साझेदार दलमा सबैलाई चित्त बुझाउनुपर्ने भएपछि माओवादी तीनमध्ये कुनै महत्वपूर्ण मन्त्रालय लिएन । गृह रास्वपाले लियो भने अर्थ र परराष्ट्र मन्त्रालय एमालेले लियो । अब गृहमन्त्रीबाट लामिछानेले राजीनामा दिएपछि माओवादी लिने दाबी गरेको छ । प्रधानमन्त्रीलाई सफल बनाउनकै लागि पनि गृह माओवादीले लिनुपर्ने नेताहरुले बताएका छन् । तर, पार्टी सचिव एवम् पूर्वमन्त्री देवेन्द्र पौडेलले गृहमन्त्रीका विषयमा सत्ता साझेदार दलसँग छलफल गरेर टुंगो लाग्ने बताए । ‘अहिले रविजीले राजीनामा दिएपछि गृृह मन्त्रालय प्रधानमन्त्रीज्यूले सम्हाल्नुभएको छ’ पौडेलले भने, ‘अब सत्ता साझेदार दलसँग छलफल गरेर टुंगो लगाउँछौं ।’ तर, रास्वपाले गृह मन्त्रालय आफ्नै पार्टीको हुने बताएको छ । गृहमन्त्रीमा को जाने भन्ने विषयमा पार्टीले निर्णय गर्ने सो पार्टीले जनाएको छ । अहिले प्रधानमन्त्रीले गृहसहित वन तथा वातावरण र खेलकुदमन्त्री आफैं राखेका छन् ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा आफ्नो दावी रहने स्पष्ट पारेको छ । नागरिकता विवादमा मुछिएपछि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । लामिछानेले आज पुनः नेपाली नागरिकता प्राप्त गरेका छन्। पार्टी प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयमा आफ्नो दावी यथावत रहेको बताए । गृह मन्त्रालयमा दावी रहेपनि कसलाई पठाउने भन्ने विषयमा छलफल नभएको ढकालको भनाइ छ । सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेपछि ३३ दिनमै राजीनामा दिनुपरेको थियो । सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो। लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए। मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछाने चितवत(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिती बैठक केहिबेरमै बस्दैछ । समसामयिक विषयमा धारणा बनाउन रास्वपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकबाट लामिछानेलाई पार्टी सभापति बनाउने तयारी छ। उनको नागरिकता प्राप्त भएमा लामिछानेलाई सभापति बनाइने केन्द्रीय समितिको तयारी छ। रास्वपाका प्रवक्ता मुकुल ढकालले पार्टी सभापति नागरिकता विवादमा मुछिएपछि त्यसपछिको धारणा बनाउन पार्टीको बैठक बस्न लागेको बताए। नागरिकता विवादमा आएपछि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। गृहमन्त्री जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ। शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेशपछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा।आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो। लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए। मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछाने चितवत–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरूरी भएको बताउनुभएको छ । मानव अधिकारका लागि महिला समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरूको यो कार्यक्रम अन्य कार्यक्रमभन्दा पृथक र मौलिक लाग्यो । यहाँ तपाईंहरूले एकल महिलाका हकअधिकारका पक्षमा जे–जति मुद्दा उठाउनुभएको छ त्यसलाई सम्बोधन गर्ने मेरो प्रयास हुनेछ ।” प्रधानमन्त्रीले संविधानमा एकल महिलाका लागि कोटा छुट्टाउनुपर्ने माग न्यायोचित भएको पनि बताउनुभयो । “यो न्यायोचित माग हो । यसमा हामी छलफल गर्नेछौँ । एकल महिलाको सामाजिक सुरक्षाबारे तपाईहरूले जेजति प्रश्न उठाउनुभएको छ, ती गम्भीर प्रकृतिका छन् । तिनीहरू सम्बोधन गरिनेछ ।” सत्ताइस वर्षको अवधिमा एकल महिला समूहले प्राप्त गरेको उपलब्धि र ख्यातिको प्रधानमन्त्रीले प्रशंसा गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस अवधिमा तपाईंहरूले प्राप्त गरेको उपलब्धि, एकल महिलाको एकता र सहकार्यका निम्ति गरेको प्रयास र अन्तर्राष्ट्रियस्तरबाट प्राप्त गरेको ख्याति र सम्मानको म उच्च प्रशंसा गर्दछु ।” महिला अधिकारका लागि नेपालमा ठूलो बलिदानी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले हजारौँ महिलाले मुक्ति र परिवर्तनका निम्ति सङ्घर्ष गरेको स्मरण गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “गरिब, पिछडिएका महिलाले आफ्नो पहिचान, अधिकार र मुक्तिका निम्ति गरेको सङ्घषघर्षकै कारण समाज र राजनीति यहाँसम्म आएको छ । उहाँहरुले सङ्घर्ष र बलिदानीको उच्च कीर्तिमानी नराखेको रगत नबगाएको भए हामी यहाँसम्म आउने थिएनौँ ।” महिलाको सहभागिता र भूमिकाबिना संसारमा कहीँ पनि परिवर्तन नभएको भन्दै उहाँले महिलाको सङ्घर्षका कारण आज राज्यका सबै अङ्गमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताउनुभयो । “स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व भए पनि यो अझै पर्याप्त छैन । पुरूष सरह महिलाका हकअधिकार स्थापित गर्न थप प्रयत्न आवश्यक छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्रीले कानुनमा भएको प्रगतिशिल व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । उहाँले कानुनको प्रभावकारी कार्यान्वयनमा अहिले पनि चुनौती रहेको स्पष्ट पार्नुभयो । “हाम्रो समाज र संस्कृतिमा रूपान्तरण ल्याएर मात्र यसको प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ । त्यसका लागि सामाजिक जागरणको अभियान जरुरी छ”, प्रधानमन्त्रीले भन्नुभयो ।
काठमाडौं: अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्ड आइतबार दुई दिने भ्रमणका लागि नेपाल आउँदैछिन् । नेपालमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएपछि अमेरिकाबाट हुन लागेको यो उच्च तहको पहिलो भ्रमण हो । उपमन्त्री नुल्याण्डले २८ जनवरीदेखि ३ फेब्रुअरीसम्म दक्षिण एसियाली मुलुकहरू नेपाल, भारत, श्रीलंका र कतारको भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । सोही क्रममा उनी आइतबार नेपाल आइपुग्ने कार्यतालिका छन् । विदेश मन्त्रालयका अनुसार नेपाल भ्रमणका क्रममा उनले यहाँको नवगठित सरकारसँग द्विपक्षीय साझेदारीका वृहत विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । न्युल्यान्डले प्रधानमन्त्री प्रचण्ड र विभिन्न पार्टीका प्रमुखसँग भेट गर्नेछिन् । यसपछि लगत्तै अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगकी प्रमुख सामन्था पावर पनि ५ फेब्रुअरीदेखि नेपाल भ्रमणमा आउने तय भएको जनाइएको छ । को हुन् उपमन्त्री नुल्याण्ड? उपमन्त्री नुल्याण्ड सन् २०२१ को अप्रिलदेखि अमेरिकी विदेशमन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्रीका रूपमा कार्यरत छिन् । त्यसअघि उनी वासिङ्टन डीसीमा रहेको विश्वव्यापी रणनीतिक सल्लाहकार र व्यावसायिक कूटनीति फर्म अबल्राइट स्टोनब्रिज समूहकी वरिष्ठ सल्लाहकार थिइन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार उनी ब्रुकिङ्स इन्स्टिच्युटमा गैरआवासीय वरिष्ठ फेलो र येल युनिभर्सिटीमा ग्रान्ड स्ट्राटेजी अन्तर्गत कार्यरत थिइन् । साथै, ‘बोर्ड अफ द नेशनल इन्ड्वोमेन्ट फर डेमोक्रेसी’ अर्थात, लोकतन्त्रका लागि राष्ट्रिय अनुदान बोर्डकी सदस्य समेत रहिसकेकी छन् । उपमन्त्री नुल्याण्डले अमेरिकी कूटनीतिज्ञका रूपमा बिताएका ३३ वर्षमा तत्कालीन राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री केरीको नेतृत्वमा रहेर सन् २०१३ को सेप्टेम्बरदेखि सन् २०१७ को जनवरीसम्म युरोपेली र युरेसियन मामिलाका लागि सहायक मन्त्रीको रूपमा काम गरेकी थिइन् । त्यसअघि हिलारी क्लिन्टन विदेशमन्त्री हुँदा स्टेट डिमार्टमेन्टको प्रवक्ता रहेकी उनी राष्ट्रपति जर्ज डब्लु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म सैन्य संगठन नाटोका लागि अमेरिकी राजदूतको भूमिका निर्वाह गरेकी थिइन् । उनले सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति डिक चेनीको उपराष्ट्रिय सुरक्षा सल्लाहकार र सन् २०१० देखि २०११ सम्म युरोपमा परम्परातग हतियार नियन्त्रण सन्धिमा विशेष दूत र मुख्य वार्ताकारका रूपमा काम गरेकी थिइन् । साथै, वासिङ्टनस्थित अमेरिकी विदेशमन्त्रालय अन्तर्गत रहेर रुस, चीन र मंगालियामा समेत विभिन्न भूमिका काम गरेकी थिइन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार उनले ब्राउन युनिभर्सिटीबाट इतिहास विषयमा स्नातकसम्मको अध्ययन गरेकी छन् ।
कास्की: गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाएसँगै मन्त्रिमण्डल विस्तार भएको छ। विस्तारित मन्त्रिपरिषद्का सात जना मन्त्रीले पदभार ग्रहण गर्नुभएको छ। मन्त्रीहरूले पदभार ग्रहणका क्रममा आफ्नो मन्त्रालयबाट गर्ने कामको पहिलो निर्णय पनि सार्वजनिक गरेका छन्। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले कार्य विभाजनबिना सफल नहुने भन्दै योजना वर्गीकरण गर्नुपर्ने बताउनुभएको छ। ती निर्णयहरूमा हेली उद्धारको कार्यविधिदेखि योजना वर्गीकरणसम्म रहेका छन्। बुधबार पदभार गर्दै चुमानले योजनाको वर्गीकरण गर्ने निर्णय सार्वजनिक गर्नुभएको हो। उहाँले गण्डकी प्रदेशमा विद्युतीय सवारी सञ्चालनसम्बन्धी मापदण्डका लागि एक महिनाभित्र गुरुयोजनामा आधारित योजना प्राथमिकीकरण गर्ने निर्णय गर्नुभएको छ। त्यस्तै बुद्धसिंह मार्गमा पर्ने तनहुँस्थित बन्दीपुर गाउँपालिका–६ कुचिलाफेद र देवघाट गाउँपालिका–३ तनहुँ जोड्ने सडकअन्तर्गत सेती नदीमा पुल निर्माण आरम्भका लागि प्रक्रिया अगाडि बढाउने निर्णय मन्त्री चुमानले गर्नुभएको छ। आर्थिक मामिलामन्त्री सीता सुन्दासले १० वटा निर्णय गर्नुभएको छ। उहाँले गरेको निर्णयको पहिलो बुँदामा आर्थिक कार्यविधि ऐन नियमको अक्षरशः पालना गरी प्रदेश सरकारको वित्तीय अनुशासन कायम गर्ने रहेको छ। प्रदेशको आन्तरिक स्रोत वृद्धि गरी सबल र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, स्थानीय तहबाट सङ्कलन हुने संविधानबमोजिमका साझा क्षेत्रभित्रका कर र नदीजन्य खनिज पदार्थ उत्खनन तथा बिक्रीबाट प्राप्त हुने राजस्वमा वृद्धि गर्ने निर्णय गर्नुभएको छ। प्रशासनिक खर्चलाई मितव्ययी बनाउने, पुँजीगत खर्च वृद्धि गर्नेतर्फ प्रभावकारी रूपमा समन्वय तथा सहजीकरण गर्ने मन्त्री सुन्दासको निर्णय छ। सुन्दासले राजस्व सङ्कलन तथा सेवा प्रवाहलाई अनलाइन प्रणालीबाट सञ्चालन हुने व्यवस्था निकास गर्नेतर्फ जोड दिने निर्णय गर्नुभएको छ। सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले गर्भवती महिलाको उद्धारका निम्ति एयर लिफ्टिङका लागि कार्यविधि तयार गर्ने निर्णय गर्नुभएको छ। गण्डकी प्रदेश सरकारले जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको निःशुल्क हेलिकोप्टर उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। दुर्गमका महिलालाई हेलिकोप्टरबाट पोखराका अस्पतालमा ल्याएर आमा र शिशुको ज्यान जोगाउने काम गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहामगरले शान्तिसुरक्षा, प्रहरी प्रशासन, विपत् व्यवस्थापन, कारागार व्यवस्थापन, प्रदेश अनुसन्धान ब्युरोलगायत कार्य जिम्मेवारसँग सम्बन्धित विषयमा आवश्यक कानुन, कार्यविधि, निर्देशिका आदिको पहिचान गरी मस्यौदा अगाडि बढाउने निर्णय गरेका छन्। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले राष्ट्रिय वनको व्यवस्थापन तथा वन पैदावार सङ्कलन र बिक्री–वितरणसम्बन्धी छुट्टै रणनीतिक योजना बनाउने निर्णय गर्नुभएको छ। कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले कृषि पुरस्कारबारे कार्यविधि स्वीकृत गर्ने र जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको सम्भाव्यता अध्ययन गर्ने निर्णय गर्नुभएको छ।

